पार्टीहरुमा उठेको संगठन सुदृढीकरणको प्रश्न

२०८० श्रावण ८ गते, सोमबार

डा. केशव देवकोटा

नेपालका विभिन्न राजनीतिक दलहरुमा पछिल्ला दिनमा पार्टी संगठन सुदृढीकरणको सवाल गम्भीररुपमा उठेको छ । नेतृत्व बाहिरका नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो पार्टीको पहिचान खोज्न थालेका छन् । नेपालका कतिपय पार्टीका नेताहरु पछिल्लो समयमा सत्तामुखी र विदेशपरस्त हुँदै जाँदा उनीहरुको पार्टी संगठन लथालिङ्ग भएको अवस्था छ । पछिल्लो समयमा केही पार्टीहरुले आफ्नो शक्ति छ भने जे गरे पनि हुन्छ भन्ने मान्यतालाई नेपाली समाजमा स्थापित गराउन खोज्दा अधिकांश पार्टीका नेता तथा कार्यकर्ताहरुमा स्वेच्छाचारी प्रबृत्ति बढेर गएको हो । खासमा सबै काम र कुराहरुका आआफ्ना सीमाहरु हुन्छन् । त्यो सीमा नाघेर गएपछि दुर्घटनामा परिन्छ । त्यही सीमा निर्धारणका लागि पार्टीहरुले आ–आफ्नो पार्टीको विधान र नीति तथा कार्यक्रमहरु तयार गरेका हुन्छन् । सो विधान र नीति तथा कार्यक्रमअनुसार अगाडि बढेमा पार्टी आफ्नो लक्षमा पुग्न सक्छ भन्ने आंकलन गरिएको हुन्छ । तर, पछिल्लो समयमा अधिकांश दलहरुले आफ्नो पार्टी र राजनीतिको मूल्य, मान्यता र आदर्श नाघेर काम गर्न थालेका कारण हालको अवस्थामा को कांग्रेस र को कम्युनिष्ट भनेर छुट्याउनसमेत कठीन हुने अवस्था सिर्जना भएको छ । अझ गत मंसिर चारको निर्वाचनको प्रचारका क्रममा केही नेताहरुले त मतदाता माझ पुगेर कम्युनिष्ट र कांग्रेस भनेका उस्तै पार्टी हुन्भन्दै एक अर्कालाई भोट मागेपछि जनस्तरमा हरेक पार्टीका विधान, नीति र सिद्धान्तमाथि अविश्वासको सिर्जना भएको छ । गत साता नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक भयो । सो बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टीको घोषित नीति र विधानमा उल्लेख भएका कतिपय विषयकाबारेमा ध्यानाकर्षण गरेको देखिएको थियो । कतिपयले पार्टी सत्ताका लागि जोसँग पनि मिल्न थालेकाले पार्टीको अनुशासन र आदर्श हराउँदै गएको प्रश्न पनि उठाए । कतिपयले बैठकमा आफ्नो राजनीतिक लिक छाडेको कांग्रेसलाई कसरी सही बाटोमा ल्याउने भन्ने रुपान्तरणको अध्ययन प्रतिवेदननै बुझाएका थिए । सत्ता स्वार्थ र विदेशीको दलालीका लागि पार्टीको विचार र पद्धति बिगारेको भनेर नेकांका केन्द्रिय सदस्यहरुले नेतृत्वको कटु आलोचना गरेको पाइएको छ । त्यसैगरी असार २९ गतेदेखि केवल तीन दिनका लागि भनेर बोलाईएको सत्तारुढ एकीकृत समाजवादीको सचिवालय बैठक पनि पार्टीको सुदृढीकरणको विषयले लम्बियो । त्यहाँ पनि पार्टी सुदृढीकरणकै कुराले समय लिएको देखिएको छ । सचिवालयका अधिकांश सदस्यहरुले पार्टीको विधान तथा विचार र नीतिकै विषयमा कुरा उठाएको देखियो । तर, नेतृत्वले त्यसको उचित जवाफ भने दिन सकिरहेको छैन । यसअघि भएका अन्य पार्टीका बैठकमा पनि पार्टीको सिद्धान्त र सीमाहरुकै विषयमा प्रश्न उठेको देखिएको थियो ।

पछिल्लो समयमा नेपाली राजनीतिमा कम्युनिष्ट र कांग्रेस पार्टीको भेद हराउँदै गए पनि सबै पार्टीभित्र आफ्नो पार्टीको विचार र विधानका दायराहरुकाबारेमा गम्भीररुपले पुनरविचार गर्नुपर्ने आवाजहरु उठेका छन् । पछिल्लो समयमा प्रायः ठूला पार्टीहरुले आआफ्नो पार्टीको संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने प्रयास गरे । तर, त्यो सफल हुन सकेन । त्यसैले कतिपय नेताहरुका लागि आफ्नो अस्तित्व कसरी जोगाएर राख्ने भन्ने ठूलो समस्या परेको देखिएको छ । जसलेगर्दा उनीहरु आफ्नो अस्थित्व जोगाउनका लागि अन्य जायज÷नाजायज उपायको खोजीमा लागेका छन् । यतिबेला देशको समग्र राजनीतिक वातावरण धमिलिएको छ । कुनै पनि पार्टी वा देशकै राजनीतिक वातावरण धमिलिएको खण्डमा गलत तत्वहरुले घुस्ने र खेल्ने मौका पाउँछन् । हाल नेपालको राष्ट्रिय राजनीतिमा समेत त्यस्तो अवस्था देखियो । नेपालका मुख्य–मुख्य राजनीतिक पार्टीहरु आ–आफ्नो पार्टीको मूल्य, मान्यता र आदर्शअनुसार चलेको भए हालकोजस्तो विदेशी हस्तक्षेपको कटु अनुभव गरिरहनु पर्ने थिएन । कतिपयले त विदेशीहरुको सहजताकै लागि देशको राजनीति निरन्तर धमिल्याउने गरेको पनि देखिएको छ । उनीहरुले देशको राष्ट्रिय राजनीति धमिल्याउनका लागि कतिपय अस्त्रहरु प्रयोग गरेका छन् । त्यसैगरी देशको आर्थिक अवस्था संकटपूर्ण छ । कुनै पनि पार्टीको राजनीति अर्थात विचार सही ढंगले अगाडि नबढेपछि आर्थिक स्थिति पनि ठीक ढंगले अगाडि बढ्दो रहेनछ भन्ने कुरा देशको समसामयिक अवस्थाले स्पष्ट गरेको छ । त्यसैगरी राजनीतिक र आर्थिक दूरावस्था बढेपछि सामाजिक अवस्था पनि खस्केर जाँदोरहेछ । नेपालको पछिल्लो राजनीतिक परिस्थितिले उपरोक्त कुराहरुको पुष्टि गरेको छ । त्यसैले हरेक पार्टीका बैठकहरुमा पार्टीको स्पष्ट नीति, कार्यक्रम र कार्यदिशासहितको लक्ष्य निर्धारणमा जोड दिनेगरिएको पाइन्छ । सैद्धान्तिक÷वैचारिक र कार्यक्रमिक हिसाबले पार्टी कमजोर बन्दै गएपछि अन्य कुनै पनि कुराहरु नियन्त्रणमा आउन सक्दैनन् भन्ने कुरा पुराना अनुभवहरुले पनि स्पष्ट गरेका छन् । एक प्रकारले भन्ने होभने पछिल्ला दिनमा नेकां र एमालेसहितका प्रायः सबै पार्टीहरु तदर्थवादमा चलेको अवस्था छ । अब उनीहरुलाई आ–आफ्नो पार्टीलाई पुरानै लिकमा ल्याउनका लागि ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । जसरी पनि सत्तामा पुग्ने सोचका कारण दलहरुले आफ्नो विचार लिएर जनतामा जाने र त्यस आधारमा चुनिएर जनताका प्रतिनिधि बन्ने प्रयासनै गरेनन् । उनीहरुका लागि पदका अगाडि आफ्नो पार्टीको झण्डा, चुनाव चिन्ह, विधान र नीति तथा कार्यक्रमको खासै मतलव पनि भएन । आपूm पदमा पुग्नका लागि राजनीतिलाई दाउमा लगाउनेसम्मका कामहरु भए । स्वार्थमा लागि राजनीतिकरुपले बिपक्षीहरुसँग गला मिलाए । त्यसैको परिणामस्वरुप आज पार्टीले आफ्नो पुरानो लिक छाड्यो । अब त्यसलाई सही लिकमा ल्याउनका लागि पार्टीको नेतृत्वमा ब्यापक परिवर्तन गर्नुपर्ने टड्कारो आबश्यकता देखिएको छ । दलहरुले सर्बसाधारण जनतालाई आकर्षित गर्नका लागि विभिन्न किसिमका नयाँ–नयाँ आकर्षक नाराहरु दिइरहेका छन् । तर, दलहरुको कार्यदिशा, नीति, सिद्धान्तनै अव्यवस्थित रहेकाले उनीहरुको नाराले मात्र जनतामा आकर्षण दिन सकेको छैन । नेपालका कम्युनिष्टहरुले आफ्नो समाजको बर्ग बिश्लेषण गर्न छाडे । अझ भन्ने हो भने त्यस्ता प्रयासनै भैरहेका छैनन् । जसलेगर्दा प्रधान शत्रु र मित्रुको पहिचान र भेद हुन छाडेको छ । पछिल्लो समयमा प्रमुख दलहरु एक प्रकारले पञ्चायतकालीन बर्ग समन्वयको मार्गमा हिँडिरहेका छन् ।

त्यसैगरी पछिल्लो समयमा भन्ने गरिएको लोकतन्त्र नाम मात्रको छ । जो पञ्चायत कालमा अभ्यास गरिएको प्रजातन्त्रभन्दा पृथक देखिन सकेको छैन । हाल देशमा जुन सरकार छ, त्यसले पनि समाजमा विभिन्न किसिमका भ्रमहरु दिइरहेको छ । नेताहरुको निहित स्वार्थका लागि विचारको पर्खाल नाघेको भन्ने कुराहरु उठेका छन् । जसले नेपालको राष्ट्रिय राजनीतिलाई दिनप्रतिदिन अविश्वसनीय बनाउँदै लगेको छ । ०४६ सालको परिवर्तन अधिको नेपालको कम्युनिष्ट पार्टीको सामाजिक प्रभाव र आजको अवस्थालाई दाँजेर हेर्ने हो भने धेरै कुराहरु स्पष्ट हुन पुग्दछन् । हिजोको प्रतिबन्धित अवस्थामा समेत जनतामा राम्रो प्रभाव कायम गर्न सफल दलहरु आज खुल्ला राजनीतिक परिबेशमा किन अविश्वसनीय बन्दै गैरहेका छन् ? यो सबै दलका लागि खोजीको विषय भएको छ । जो जसले सत्ता प्राप्त गरेका छन् उनीहरुका लागि सबै किसिमका क्रान्तिहरु सम्पन्न भइसके भन्ने छ । जो सत्ता बाहिर छन् उनीहरुका लागि अझै जनक्रान्तिको आवश्यकता रहेको छ । देशमा लोकतान्त्रिक गणतन्त्र रहेको भन्ने गरिए पनि जनताबाट उठेका आवाजका बारेमा सबै क्रियाशील दलहरुका बीचमा छलफल गर्ने र सोअनुसार आपूmहरुलाई परिस्कृत बनाउँदै लाने संस्कृतिको विकास नै हुन सकेको छैन । त्यस्तो संस्कृतिको स्थापनाका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था छ । धेरैले अनुभव गरेको कुरा हो अहिले देश चौतर्फी संकटमा फसकेको छ । अझ भन्ने हो भने केही शक्तिहरुका कारण फसाइएको छ । राजनीतिक दिशाहीनताको अवस्था छ । आर्थिक, सामाजिक र सांस्कृतिक संकट बढ्दो छ । पछिल्लो समयमा देशकै अस्तित्वमाथि प्रश्नहरु उठ्न थालेका छन् । सत्ताका लागि विचारबिहीन गठबन्धन बनाउनेहरुले नेपालमा बढ्दो विदेशी हस्तक्षेपका बिरुद्ध गठबन्धन बनाउन सक्लान ? गम्भीर खालका प्रश्नहरु उठिरहेका छन् । सबै पार्टीले यस्ता प्रश्नहरुको उत्तर आफ्नै पार्टीभित्र खोजुन । त्यसपछि मात्र सबै पार्टी आ–आफ्नो पार्टीको विधानअनुसार अगाडि बढ्न सक्षम हुन्छन् । पार्टीको सुदृढीकरण हुन्छ । समस्या धरतिमा छ, समाधान आकाशमा खोजेर केही पनि हुनेवाला छैन ।

प्रतिक्रियाहरु

[anycomment]