कम्युनिष्ट धान्ने सवाल
कम्युनिष्ट बन्नु सजिलो छैन । कम्युनिष्टको गुदी भनेको विचार र सिद्धान्त हो । कार्यदिशा हो । आपूmलाई बदलेर समाज बदल्नु हो कम्युनिष्ट । बदलेर मात्र होइन रक्षा गर्नु पनि हो कम्युनिष्ट । यसको वर्गीय धरातल हुन्छ । सर्वहारा वर्गीय चरित्र हो कम्युनिष्ट । सिद्धान्ततः कम्युनिष्टले सम्पत्तिको आर्जन गर्दैनन् । सम्पत्तिको लोभ लालसा गर्दैनन् । तर ब्यबहारिक रुपमा यस्तो हुनसक्दैन । कम्युनिष्ट होल टाइमरले भने गाउँमा जहाँ जान्छ त्यहीं उसको बास हुन्छ । गास हुन्छ । जनताले नै यसलाई पालेका हुन्छन् तर जबर्जस्तीले होइन । समाज बदल्ने जनताको सपना हुन्छ । त्यसैले उनीहरुले कार्यकर्तालाई सहयोग गरिरहेका हुन्छन् । कम्युनिष्ट भन्दैमा सबै एकै हुँदैनन् । कोहीले कम्युनिष्टको भारी धान्न सकेका हुँदैनन् । उनीहरुलाई कम्युनिष्ट पहाड बनेको हुन्छ । जसरी भए पनि उनीहरुले आफ्नो अस्तित्व देखाउनु परेको हुन्छ । कम्युनिष्ट सिर्जनशील होइन, खोपीको देवता बनेको हुन्छ । त्यही खोपी संसार बन्छ । बदलिदो परिस्थितिमा उनीहरु बग्न सक्दैनन् । त्यसैले पार्टी सानो हुँदै गएर चुलो चौकामा बदलिन्छ । २–४ जना मानिस लिएर रत्नपार्कको शान्तिबाटिकामा अथवा माइतीघर मण्डलामा झण्डा बोकेर प्रहर्सन गरेका हुन्छन् ।
साम्राज्यवादविरुद्ध लड्ने त के कुरा सम्राज्यवादविरुद्ध लड्नेविरुद्ध जेहाद छेडेका हुन्छन् । खोइरो खनेका हुन्छन् । एक्ले वीर बनेर दुनियाँ हसाएका हुन्छन् । अहिले साम्राज्यवादले घेरा हाल्न लागेको बेला साम्राज्यवादविरुद्ध लड्ने मोर्चा बनाउँदा उनीहरुको होस–हवास उड्छ । अहिले ३–४ पार्टी मिलेर समाजिक मोचा बनाउँदा उनीहरुको सातोपुत्लो गएको हुन्छ । वास्तवमा समाजवादको तयारी गर्न समाजवादी मोर्चा आवश्यक हुन्छ । अहिले नेकपा, माओवादी केन्द्र, जसपा र समाजवादी एस मिलेर एउटा मोर्चा निर्माण भएको अवस्था छ । यसलाई छिन्नभिन्न पार्न यथास्थितिवादी तथा संशोधनवादीले प्रोपोगण्डा मच्चाइरहेका छन् । संसदीय चुनाव बहिष्कार गर्दा पनि विरोधका स्वरहरु नआएका होइनन् । संसदवादी पार्टीहरुले त विरोध गरे नै । यसको पराकाष्ठा पार्टीमाथि प्रतिबन्ध लगाएर सयौं कार्यकर्तालाई जेलमा राखे । यो संसदीय व्यवस्थाविरुद्धको एउटा संघर्ष थियो । कम्युनिष्टमा एकता, संघर्ष र रुपान्तरण हुन्छ । नयाँ आधारमा नयाँ एकता हुन्छ । समाजमा वर्गसंघर्ष रहँदासम्म कम्युनिष्ट हराउँदैन अथवा धनी र गरिब हुँदासम्म कम्युनिष्ट हराउँदैन । एउटा बारीको सुर्को रहँदासम्म सम्पत्तीको मोह हराउँदैन । त्यसैले मानिसहरु कम्युनिष्टमा आउन सक्दैनन् । मानौं एकलाख गुमाउँछ मानिस तर एक हजारमा माया हुन्छ । आए संसार आउँदछ गए एउटा जीवन ।
समाजवादमा योग्यताअनुसार काम, कामअनुसार माम हुन्छ । तर, साम्यवादमा भने योग्यताअनुसार काम आवश्यकताअनुसार माम हुन्छ । साम्यवाद धेरै टाढाको कुरा हो । अहिले हामीहरु समाजवादको लागि लडिरहेका छौं । अझ भनौं भने वैज्ञानिक समाजवादका लागि । यसमा निःशुल्क शिक्षा हुन्छ । स्वस्थ्य निःशुल्क हुन्छ । निजीकरणको अन्त्य हुन्छ । गास, बास, कपासको गरेन्टी हुन्छ । संसदीय व्यवस्थामा जस्तो भ्रष्टाचार कमिशनखोर हुँदैन । सबै कुुरा सामाजीकरण हुन्छ । बलात्कारीलाई दण्ड दिइन्छ । समाजिक सुरक्षा हुन्छ तर नेपालमा भने एउटा कम्युनिष्ट पार्टीले अर्को कम्युनिष्ट पार्टीको खुइरो खनेको हुन्छ । नामधारी हुन्छन् धेरै जसो कम्युनिष्टहरु । कम्युनिष्टको साइनबोर्ड हुन्छ बस । एउटा कम्युनिष्ट दलाल बनेर पुँजीवादको सेवा गरिरहेको हुन्छ । सय किलो बढी सुन एयरपोर्टबाट बाहिर आउँदछ । ठूला भनाउँदाहरुको मिलेमतोबिना यो काम हुन सक्दैन । यसको बारेमा सरकारले जबाफ दिनसक्नु पर्छ । अन्यथा सरकार जबाफदेही हुन्छ । नेपालमा लूटको धन्दा हुन्छ । यसलाई लूटको स्वर्ग पनि भनिन्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको कब्जामा रहेको छ । आयातमा मुद्रासंचिति छ । अहिले भारतले नाकामा नेपाल आउने चामल रोकिरहेको अवस्था छ । यसमा खै सरकारको प्रतिकृया ? गठबन्धनको सरकार यस्तै हुन्छ कि ?
यी तमाम बिकृति, बिसंगतिविरुद्ध नेकपाले विरोध गरेकको सुनिन्छ तर कम्युनिष्ट भनाउँदाहरु मौन बसेका छन् । अब यस प्रकारको असफल संसदीय व्यवस्था खारेज गर्नु पर्छ । संसदीय व्यवस्थामा भाग लिएर केही हुनेवाला छैन । भाग लिएमा यस्तै हुने हो । एमसीसीको संझौता दलालहरुले गरिसके । अब सबै सच्चा बामहरु एकजुट भएर काम गर्नुपर्छ । कुर्सी मात्र खोजेर हुँदैन । कुर्सीको लोभमा नै कम्युनिष्टहरु फाटेका हुन् । देशको परिस्थितिअनुुसार कम्युनिष्टहरु सिर्जनशील हुनुपर्छ । अब सानो चौको बस्न हुँदैन । यो एउटा बृद्ध पंक्तिकारको भनाई हो ।