संसदीय राजनीतिमा सुन तस्करीको विवाद

२०८० श्रावण २९ गते, सोमबार

डा. केशव देवकोटा

नेपालको खासगरी संसदीय राजनीतिमा सुन तस्करीलगायतका जे जस्ता विवादहरु निस्कने गरेका छन्, त्यसले बिद्यमान व्यवस्थाको खिल्ली उडाएको देखिएको छ । देशमा अन्य कतिपय दीर्घकालीन असर गर्ने राजनीतिक मुद्दाहरु रहेका छन् । तर, संसदवादी दलहरुको ध्यान त्यसतर्फ गएको छैन । सुन काण्डमा भने संसदमा रहेका सबै दलको ध्यान जानु आफैँमा आश्चर्यको विषय भएको छ । काठमाडौँँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट बाहिरबाट गत २ गते एक क्विन्टल सुन बरामद गरिएको विषयलाई लिएर नेपालमा मात्र नभएर छिमेकी चीन र भारतलगायतका देशहरुमा ठूलो हलचल भैरहेको देखिएको छ । नेपालमा सुनको तस्करीको इतिहास लामो रहेको छ । जसलाई केलाउँदै जाने हो भने पञ्चायत कालसम्म पुग्छ । त्यसैले सुन तस्करीकाबारेमा सरकारले एकै पटक नीतिगत निर्णय गर्नु उपयुक्त हुने देखिएको छ । हुन त भारतबाट लागूऔषध र नेपाली तथा भारतीय नक्कली नोट नेपालमा धेरै भित्रिने गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको तथ्यांकले स्पष्ट गरेको छ । नेपाल लागूऔषध र नक्कली नोट खपत हुने मुलुक होइन । केवल नेपाली भूमि प्रयोग गरेर तस्करी मात्र हुनेगरेको छ । नेपालबाट बेलाबखत गाँजा सीमा पारी गए पनि अन्य विभिन्न नामधारी लागूऔषध भारतबाटै नेपाल आउने गरेको प्रहरीको पक्राउ सूची र समाचारबाट देखिएको छ । नेपालको सरकारले उक्त कारोवारहरु पूर्णरुपले नियन्त्रण गर्न÷गराउनका लागि प्रभावकारी प्रयास गरेको पनि देखिएको छैन । त्यसैगरी नेपाली भूमि प्रयोग गरेर सुन तस्करी मात्र हुने हो । यहाँ ठूलो परिमाणमा सुन खपत हुनसक्ने अवस्था छैन । त्यसैले उचित भन्सार शुल्क लिएर सुनको आयात खुल्ला गर्ने होभने तस्करीको बाटो बन्द हुनसक्ने अवस्था छ । नेपालको भन्सारमा सुन सयौं पटक पार भएपछि एकाद पटक समातिने र त्यसको छानविन पनि हल्का हुने गरेको देखिएको छ । भनिन्छ यस पटक पनि साउन ३ गते एयरपोर्ट भन्सारबाट पारभएर उपरोक्त परिणामको सुन बाहिर आइसकेपछि काठमाडौँँमा रहेको भारतीय दूतावासले उच्च तहमा दिएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन पक्राउ गरेको भनिएको थियो । जसले गर्दा काठमाडौँँको त्रिवि बिमानस्थलमासमेत भारतीय खुफिया एजेन्सी रअको चलखेल रहेको र सो एजेन्सीको नेपालका उच्च पदस्थसम्म पुग्ने सहज पहुँच रहेको स्पष्ट गरेको छ । सुन कुनै लागूऔषध र बिष्फोटक पदार्थ नभएका कारण नेपालले त्यसलाई खुलेयाम ल्याउनबाट रोक्नु र निरन्तर तस्करी मात्र हुन दिनुको कुनै अर्थ छैन । यदि सुनको आयातलाई वैधानिकता दिने होभने नेपाल सरकारलाई ठूलो आम्दानी हुने स्पष्ट छ । क्विन्टलका क्विन्टल सुन सहजै एयरपोर्टबाट बाहिर आइरहेको तर वैदेशिक रोजगार वा विदेश घुमेर आएकाहरुले ल्याएको दुईचार ग्राम सुन प्रहरीमार्फत् बरामद गराएर नेपाली नागरिकलाई दुःख दिने काम काम भैरहेको छ । करिव एक क्विन्टल सुन बरामद भएको यो झण्डै चार हप्ताको अवधीमा निजी खोजकर्ताहरुले सुन तस्करीमा सत्ता र प्रतिपक्षमा रहेका विभिन्न पार्टीका ठूला नेताहरुको संलग्नता रहेको प्रमाणसहितको विवरण सार्बजनिक गरेका छन् । कतिपय तस्विरहरु पनि सार्बजनिक भैसकेका छन् । तर, सरकारले उनीहरुमाथि अनुसन्धान कारवाही अगाडि बढाउन सकिरहेको छैन । साथै बढाउनेजस्तो छाँट पनि छैन । त्यसैले सुन तस्करीमा जहिले पनि सरकारमा रहेकाहरुको प्रत्यक्ष÷परोक्ष संरक्षण रहने गरेको देखिएको छ ।

सरकारले खास तस्कर पक्राउ गरेर कारवाही गर्न नसकिरहेको बेला छायाँ सरकार मानिने प्रमुख प्रतिपक्षी दल एमालेले किटेरै त्रिबि बिमानस्थलको सुरक्षाको जिम्मा रहेका गृहमन्त्रीको राजीनामाको माग गरेको छ । त्यसो त भन्सार र राजश्व विभागको जिम्मेवारीमा रहनुभएका अर्थमन्त्रीको समेत राजीनामाको माग भएको छ । उहाँहरुले यो झण्डै चार हप्ताको अवधीमा खास तस्करलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्दथ्यो । अब छानविनको जिम्मा नेपाल प्रहरीको सिआइबीलाई दिइएका कारण छानविनका लागि कम्तीमा पनि ६० दिन लाग्ने भएको छ । त्यतिबेलासम्ममा सो घटना सेलाइसकेको हुने छ । पछिल्लो सुन तस्करीका बारेमा शुरुमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र खास तस्करको नजिक पुगेको भनिएको थियो । जिम्मेवारी र अधिकारका हिसावले पनि राजश्व अनुसन्धान विभागभन्दा सिआइबी कमजोर निकाय हो । जसलाई संविधान र कानूनले स्वतन्त्र निकायकारुपमा छानविन गर्ने अधिकार समेत दिएको छैन । यसअघि ललिता निवास प्रकरणमा सिआइबीले धेरै मेहनतका साथ अनुसन्धान गरेर सरकारी सम्पति हिनामिना गर्नेहरुमाथि सख्त कारवाही अगाडि बढाउने उम्मेद राखेको देखिएको थियो । तर, पछिल्लो समयमा सरकारले सिआइबीको अनुसन्धान र सिफारिसअनुसारको कारवाही अगाडि बढाएन । जानाजान सरकारी सम्पति हिनामिना गर्नेगरी निर्णय गर्ने र त्यसको कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिने पूर्वप्रधानमन्त्रीहरुमाथि कुनै कारवाही भैरहेको छैन । विभिन्न मन्त्रालयका सचिवदेखि तल्लो तहका खरिदार र सुब्बाहरुमाथि मात्र कारवाही हुन थाले पनि झण्डै कर्मचारी आन्दोलन भड्किएको थियो । हाल आएर गिरफ्तार भैसकेकाहरुलाई पनि विस्तारै तारेखमा छाड्दै लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण पनि विस्तारै सेलाउँदै गएको छ । त्यसैले पछिल्लो सुन काण्डको छानविन सिआइबीले गरेपनि त्यसको कुनै अर्थ रहने देखिएको छैन ।

सुन पक्रेको करिव दुई हप्ता बितेपछि तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले साउन २१ बाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने जुन निर्णय ग¥यो, त्यसले अनेक प्रश्नहरुको सिर्जना गरेको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्ठिकृत निकाय हो । तर, सो निकाय प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा चल्नुपर्ने भएकाले असहज अवस्थामा छ । सुन बरामद भएपछि सो घटनामा राजश्व चुहावट देखिएको थियो । त्यसैले त्यसको अनुसन्धानबाट राजश्व अनुसन्धान विभागलाई हटाउनु हुने थिएन । अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्वसमेत फेला परेको हो भने सिआइबीलाई समेत त्यसैमा जोडेको भए केही फरक पर्ने थिएन । कानूनी व्यवस्थाअनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गरे पनि राजश्व चुहावटको पाटो राजश्व अनुसन्धान विभागले हेरेकै हुनुपर्छ । के भनिन्छ भने राजश्व अनुसन्धान विभागले साउन तीनगते त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । जसमा चिनियाँ, भारतीय र नेपाली नागरिकसमेत पक्राउ परेका छन् । विभागले करिव तीन हप्ता राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ अनुसार अनुसन्धान अघिबढाइरहेको थियो । त्यसमा संगठित गिरोहको संलग्नता देखिएको र भारतीय तथा चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्नेभन्दै सीआईबीलाई जिम्मा लगाइएकाले अब अनुसन्धान प्रक्रिया केही महिना लम्बिनेतर्फ अगाडि बढेको छ । स्मरणिय कुरा के छभने सीआईबीका केही अधिकारीहरुले सुनका पुराना मुद्दाहरुसँग समेत जोडेर थप अनुसन्धान हुने बताउन थाल्नु भएकाले पछिल्लो सुन काण्ड ढिसमिसतिर गएको संकेत देखिएको छ । त्यसैले पछिल्लो सुन काण्ड तत्कालका लागि थान्को लागेको मान्नुपर्ने भएको छ । सुनसहितका सामग्री बरामद गर्दा सामग्री बाहिर ल्याउने ट्याक्सी चालक, भन्सार जाँच पासमा संलग्न एजेन्ट, सुनसहितको सामग्री ल्याउने रेडी ट्रेड प्रा.लि.का आधिकारिक सञ्चालक, निजका केही नातेदार र साथीहरु र एकजना तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलगायत पक्राउ परेर थुनामा रहेका छन् । त्यसपछि विभिन्न स्थानमा छापासमेत मारिएको छ । त्यसो त प्रहरीले गत असारमै पनि सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । जसमा भरिया, होटल सञ्चालक, सुन व्यवसायी र हुण्डी कारोबारीलगायत थिए । सो काण्डको कनेक्सन कतारदेखि काठमाडौँँ हुँदै सिरहासम्म पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो । यसअघि पनि ८८ किलो र ३३ किलो सुन काण्ड चर्चामा रहेको थियो ।

संयुक्त अरब इमिरेट्सबाट अबैधरुपमा काठमाडौँ भित्रिँदै गरेको ३३ किलो सुन र सुनका गहना त्यतिबेला पनि त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार नजिकैबाट बरामद भएको थियो । बिमानस्थलको भन्सार चेकजाँच तथा सुरक्षा घेरा पार गरी बाहिरिँदै गरेको अवस्थामा दुईवटा सुटकेसमा लुकार्ई ल्याइएको उक्त परिमाणको सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले नै बरामद गरेको थियो । नेपाल खुला सीमाना भएको छिमेकी मुलुक भारत मात्र नभएर तेश्रो मुलुकका कतिपय कुख्यात अपराधीहरुको आश्रयस्थलसमेत बन्दै आएको देखिएको छ । सहज आवागमन, विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदारता प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् । संसारका अन्य मुलुकमा कुनै विदेशी व्यक्ति मुलुकभित्र छिर्दा कुन उद्देश्यले आएको हो, उसको संलग्नता, पेशा, व्यवसाय वा आबद्धता कुन क्षेत्रमा छ भन्ने जस्ता विषयमा विस्तृत जानकारी लिने गरिन्छ । तर नेपालमा भने न त त्यस्तो जानकारी लिने चलन छ, न आपराधिक गिरोहको निरन्तर अनुसन्धान भैरहेको छ । नेपालमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरुको तस्करी हुने गरेको देखिएको छ । खासमा सरकारले चाहने हो भने त्यसलाई नियन्त्रण गर्न÷गराउन सकिन्छ । तर, सरकारमा पुग्नेहरुले त्यसलाई दीर्घकालीनरुपले नियन्त्रण गर्ने प्रयास नगर्ने भएकाले यस्ता समस्याहरु निरन्तर बल्झिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]