नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादको असर

२०८० भाद्र ४ गते, सोमबार

डा. केशव देवकोटा

जो कम्युनिष्ट दार्शनिक र सैद्धान्तिक पक्षबाट बिचलित भैसकेका छन्, उनीहरु कम्युनिष्ट होइनन् । विचारधारात्मकरुपमा स्खलित भएपछि उनीहरु संगठनात्मक प्रणालीबाट समेत च्युत हुँदै जान्छन् । त्यस्ता पार्टीमा बिधि र पद्धतिको खोजी गर्नुको कुनै अर्थ रहँदैन । उनीहरुको सांगठनिक प्रणाली खुल्मखुल्लारुपमा झगडा गर्ने र गुटबन्दी गर्नेमा परिणत भैसकेको हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा खासगरी ०४६ को परिवर्तनपछि एकातिर क्रान्तिकारी र अर्कातिर संसदवादीहरुका बीचमा निरन्तर सघर्ष चल्दै आएको छ । जुन यद्यपि जारी छ र ०६३ को राजनीतिक परिवर्तनपछि त्यो झन् तीब्र भएको छ । व्यक्तिको पद, प्रतिष्ठा र सत्ताका लागि चलेको संघर्ष खासमा चरम अवसरवाद हो । नेपालका केही कम्युनिष्ट समूहहरुले नै यसको नेतृत्व गरिरहेका छन् । कम्युनिष्टहरुले संशोधनवादीहरुसँग मात्रै नभएर कतिपय अवस्थामा साम्राज्यवादीहरुसित समेत तालमेल गरेका उदाहरणहरु पनि छन् । स्टालिनले अमेरिकी र ब्रिटिस साम्रज्यसँग तालमेल गरेर हिटलरका विरुद्ध लडेका उदाहरणहरु पनि छन् । तर, त्यहाँ कम्युनिष्टहरु आफ्नो दार्शनिक र सैद्धान्तिक अडानमा दृढ रहेका थिए । उनीहरुले सत्ताका लागि नभएर क्रान्ति र परिवर्तनका लागि क्षणिक कार्यगत एकता गरेका थिए । कुनै बेला कम्युनिष्ट आन्दोलनमा सक्रिय भए पनि दक्षिणपन्थी र अवसरवादी बाटो अपनाइसकेकाहरुबाट देश र जनताको पक्षमा काम होला भन्न सकिँंदैन । किनकि उनीहरुमा अवसरवादले राम्रैसँग घर गरिसकेको हुन्छ । उनीहरुले क्रान्तिकारी खेमाबाट दक्षिणपन्थी खेमामा संक्रमणगर्नका लागि अवसरवादकै सहारा लिएका हुन्छन् । कतिपय दक्षिणपन्थी पार्टीमा रहेका इमान्दार राजनीतिककर्मीहरु कम्युनिष्ट खेमामा आउन सक्छन् । तर कम्युनिष्ट खेमाबाट बिग्रेर दक्षिणपन्थी भएकाहरु फेरि सुध्रिएर कम्युनिष्ट खेमामा आउने संभावना हुँदैन । त्यस्तो उदाहारण आजसम्म संसारमा कहीँ पनि देखिएको छैन । अबसरवाद समग्र राजनीतिको महारोग हो । जसले त्यो राजनीतिलाई भष्म बनाउने काम गर्दछ । नेपालका कतिपय कम्युनिष्ट पार्टीहरुले समेत संसदवादको उपयोग गर्दै आएका छन् । तर, उनीहरुले आफ्ना सीमाहरुलाई नाघ्ने काम गरेका छैनन् । त्यसैले आफ्नो स्थानमा दशकौं टिक्न सकेका छन् । तर, कतिपयले संसदीय राजनीतिमा प्रबेश गर्ना साथ पुराना दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टीलाई पनि माथ गर्ने काम गरेका छन् । जसले राजनीतिमा लागेर अवसरवादी चरित्र अपनाउँछ उसको आफ्नै नाश हुन्छ । कोही कुनै बेला घटनाक्रमले शक्तिशालीजस्तो देखिनु ठूलो कुरा होइन । जस्तै नेपालमा राजा महेन्द्र पनि कुनै बेला शक्तिशाली थिए । कुनै अवस्थामा हिटरल पनि शक्तिशाली भएको देखिन्थ्यो । तर, सिद्धान्त कमजोर भएकाले उनीहरु समयक्रममा पतन भए ।

कतिपय कम्युनिष्ट नामधारी पार्टीमा पछिल्लो समयमा शक्ति सघर्ष र सत्ताको दाउपेच चलेको छ । त्यसले पार्टीलाई मात्रै होइन देशलाई समेत राम्रो गर्दैन । विचारवान् कम्युनिष्टहरु त्यसलाई माक्र्सवादी तरिकाले हल गर्दछन् । तर, जसले माक्र्सवाद त्यागेर अवसरवाद अवलम्बन गरिसकेका हुन्छन्, उनीहरुले त्यसलाई सही तरिकाले हल गर्न सक्दैनन् । मुखले माक्र्सवादको कुरा गर्नु ब्यवहारमा त्यसलाई नअपनाउनु, भौतिकवाद विरोधी सिद्धान्तलाई अपनाउनु आधुनिक संशोधनवादका लाक्षणिक विशेषताहरु हुन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, बर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सको दर्शननै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनमा आधारित रहेको छ । त्यसको बिपरित जानु संशोधनवाद हो । जसले अबसरवादको रुप पनि धारण गर्दछ । पछिल्लो समयमा दक्षिणपन्थी नवसंशोधनवाद सर्वहारा क्रान्तिका लागि मुख्य बाधक बनेको छ । इतिहासलाई पल्टाएर हेर्दा खु्रश्चेभी संशोधनवादको दार्शनिक आधार बहुलवाद थियो । संसदीय व्यवस्थालाई आफ्नोे कार्यनीति बनाउँदै जाँदा उक्त सोचाइले तत्कालीन सोभियत संघलाईनै बिघटनमा पु¥याई दियो । हालसम्मको अभ्यासले देखाएको छ कि माक्र्सवादका तीनवटै अंग ‘दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद’को तोडमरोड गर्नु अथवा अपब्याख्या गर्नु संशोधनवाद हो । जसको मुख्य श्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । विश्वमानै संशोधनवादको साम्राज्यवादसँग घनिष्ठ सम्बन्ध रहँदै आएको पाइन्छ । पछिल्ला दिनमा नेपालका कपितपय संशोधनवादी कम्युनिष्टहरुले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसँग घाँटी जोड्नुको कारण पनि त्यहीनै हो ।

संशोधनवादमा अराजकतावाद र अवसरवाद प्रबल रहेको हुन्छ । इतिहास साक्षी छ समयक्रममा माक्र्स र ऐङ्गेल्सलेसमेत आफ्नै जीवनकालमा कम्युनिष्ट आन्दोलनमा घुसेका संशोधनवादीहरुका विरुद्ध कडा संघर्ष चलाउनु परेको थियो । रुसमा तत्कालीन अवस्थामा खु्रश्चेभमार्फत् आधुनिक संशोधनवादको जन्म भएको मानिन्छ । जसले सत्ता हत्याएपछि पहिलो त क्रान्तिकारीहरुमाथि आक्रमण गरे, दोश्रो शान्तिपूर्ण संक्रमणका नाममा दक्षिणपन्थीको राजनीतिको बाटो रोजे । सम्पूर्ण जनताको पार्टी, जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्तभन्दै वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध हमला गरेको देखिएको थियो । पछि गएर सोही कुराले रुसी र चिनियाँ कम्युनिष्ट पार्टीकै बीचमा गंभीर मतभेदहरु देखापरे । जसले त्यतिबेला विश्व कम्युनिष्ट आन्दोलननै दुई धारमा बिभाजित गरिदिएको थियो । खु्रश्चेभदेखि गोर्वाचोवसम्म आइपुग्दा सन् १९९० मा सोभियत शैलीको समाजवाद पतनको हुनपुगेको थियो । त्यसपछि खु्रश्चेभी संशोधनवादको प्रभाव विश्वका कैयन देशहरुमा पर्न जाँदा शुरुमा कम्युनिष्ट शासन र क्रमशः कम्युनिष्ट पार्टीहरुनै पतन भए । आजसम्म पनि विश्व कम्युनिष्ट आन्दोलन र राजनीतिलाई खु्रश्चेभी संशोधनवादले पिरोलेको छ । नेपालमा पनि २०१९ सालमा भएको नेकपाको तेश्रो राष्ट्रिय महाधिवेशनले नयाँ जनवादी क्रान्तिको कार्यक्रमको साटो ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गरिदिँदा नेपालको कम्युनिष्ट आन्दोलन पनि छिन्नभिन्न हुन पुगेको थियो । पछि चौथो महाधिवेशनले त्यसलाई ठीक बाटोमा ल्याउने प्रयास गरेको हो । तर, चौममा पनि समयक्रममा छद्मभेषीहरुको प्रबेशलाई रोक्न नसक्दा ०३९÷०४० बाट त्यसमा पनि क्षयीकरणको थालनी भएको थियो । हालसम्म पनि नेपालको कम्युनिष्ट राजनीतिले तेश्रो महाधिवेशनदेखिको बिभाजनको असर ब्यहोर्नु परिरहेको छ । सन् १९५६ मा चिनियाँ कम्युनिष्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा ल्यू शाओ चि र देङ श्याओ पिङले पुँजीवादी कार्यदिशा घुसाएका कारण चीनमा पनि संशोधनवादले जरा गाडने मौका पाएको थियो ।

नेपालमा पनि खासगरी ०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेले संसदीय व्यवस्थालाई कार्यनीति बनाउँदै अगाडि बढ्दा समग्र कम्युनिष्ट आनदोलननै बिकृत हुनपुग्यो । जुन ०६३ को परिवर्तनपछि तीब्र ढंगले अगाडि बढिरहेको छ । संशोधनवाद क्रमशः सामाजिक फासीवादतर्फ जाने कुरालाई नेपालका संसदवादी पार्टीहरुले पुष्टि गर्दै लगेका छन् । रुसमा भएको पछिल्लो परिवर्तनलाई ख्याल गरेर माओत्सेतुङले चीनमा पुँजीवादको पुनस्र्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । त्यसैअन्तर्गत सन् १९६६ देखि १९७६ सम्म दश वर्षे सर्वहारा सांस्कृतिक क्रान्ति भयो । तर, नेपालमा १० बर्षे जनयुद्ध भए पनि त्यसले निरन्तरता पाउन सकेन । जसले सुरुमा अगाडि सारेका मागहरुसमेत पूरा हुन सकिरहेका छैनन् । शुरुमा जो जसले ४० सूत्रीय मागलाई जोड तोडका साथ उठाएका थिए, आज उनीहरुनै ती माग पूरा गर्न÷गराउनतिर नभएर त्यसकै बिपरित गइरहेका छन् । कतिपयले पार्टीको नाम कम्युनिष्ट राखे पनि राजनीति नेपाली कांग्रेसको अपनाउन थालेको देखिएको छ । उनीहरुले जानाजान दुईवटा काम गरिरहेका छन् । पहिलो काम नेपालको राष्ट्रिय राजनीतिलाई अस्तब्यस्त बनाउनु हो भने दोश्रो कम्युनिष्टहरुलाई छिन्नभिन्न पार्नु हो । अब नेपालका कम्युनिष्टहरुले आफ्नो राजनीतिक अस्तित्वलाई जोगाउने हो भने उनीहरुले सबैभन्दा पहिले छद्मभेषी कम्युनिष्टहरुकै बिरुद्ध निर्मम र निरन्तर संघर्ष चलाउनु पर्दछ । माथि पनि भनियो कि संशोधनवादीहरुको मुख्य आधार भनेको विश्व साम्राज्यवाद हो । जसको आडमा उनीहरु आफ्नो झुठको राजनीतिलाई जोगाएर राख्न चाहन्छन् । हाल नेपालकै कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुले साम्राज्यवादीहरुसँग गला जोडेका ताजा उदाहरणहरु छन् । त्यसैले कम्युनिष्ट पार्टीहरुले नेपालमा बढ्दो साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपबिरुद्ध यहाँको देशभक्त शक्तिसँग कार्यगत एकता गरेर त्यसलाई रोक्ने प्रयत्न गर्नु पर्दछ । साम्राज्वादी र विस्तारवादीका नेपाल नीतिहरुको पहिचान गरेर त्यसको भण्डाफोर गर्नुपर्दछ । अन्यथा कम्युनिष्ट राजनीतिको पनि कुनै अर्थ रहँदैन ।

प्रतिक्रियाहरु

[anycomment]