उत्पादन अभियानको ऐतिहासिक महत्व– एक चर्चा
कृषि उपजबिना मानव जातिको अस्तित्व सम्भव छैन । कृषि उत्पादनबाट मात्र कुनै पनि व्यक्ति, समाज र राष्ट्र साँचो अर्थमा आत्मनिर्भर बन्न सक्दछ । आत्मनिर्भरताले मात्र व्यक्ति, समाज र राष्ट्र दीर्घकालीन रुपमा बलियो र स्वाभिमानी बन्न सक्दछ । कृषिमा आत्मनिर्भर बनिसकेपछि उसले उद्योगद्वारा आपूmलाई समृद्धशाली बनाउन सक्छ । हुन त खाडीका मुलुकहरू पेट्रोलियम पदार्थको उत्पादन र निर्यातबाट समृद्ध बनेका देखिन्छन् तर कुनै बेला कृषि उपज माथि बाहिरी राष्ट्रले रोक लगाइदियो भने तिनीहरुको समृद्धि र स्वाभिमान क्षण भरमै समाप्त हुन सक्छ । त्यसैले तिनीहरुले पनि पछिल्लो चरणमा कृषि उत्पादनमा आफ्नो भएभरको शक्ति लगाइरहेका छन् ।
हाम्रो देश नेपाल अत्यन्त उर्वर भूमि, अनुकुल जलवायु र कडा मेहनती जनता भएको कृषिप्रधान देश भएर पनि खाद्यान्नलगायतका कृषि उपजहरुमा दिनप्रतिदिन किन परनिर्भर बन्दै गइरहेको छ ! यसको वास्तविक कारण के हो ! यस्तो अवस्थाबाट कसरी मुक्ति पाउन सकिन्छ !
उपरोक्त प्रश्नहरु हाम्रा अगाडि यक्ष प्रश्न बनेर खडा भएका छन् । आजका सचेत देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरुले ती प्रश्नहरूको सही उत्तर दिन र समस्या हल गर्न लागि परे मात्रै देश र जनताको भविष्य छ । यिनै प्रश्नहरुमा ध्यानाकृष्ट गराउन र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले संचालन गरिरहेको उत्पदन अभियानको ऐतिहासिक महत्वको बारेमा संक्षिप्त रुप मै भए पनि जानकारी गराउने प्रयास गर्नु यस लेखको मुख्य उद्देश्य हो ।
१. परनिर्भरताका कारणहरु
क) राज्य सत्ताको श्रमविरोधी दृष्टिकोण ः उत्पादनको प्रमुख र निर्णायक शक्ति मानवीय श्रमशक्ति हो । हुन त उत्पादन प्रक्रियामा विज्ञान प्रविधि र श्रमका औजारहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसलाई अस्वीकार गर्न किमार्थ सकिँदैन । यद्यपि उत्पादन प्रक्रियामा तिनीहरुको निर्णायक भूमिका हुन सक्दैन । किनभने विज्ञान प्रविधिको खोज अनुसन्धान गर्ने, औजारहरुको निर्माण गर्ने र प्रगोग तथा परिचालन गर्ने
मानिस नै हो । पुँजी त झन श्रमजीवि जनताको अतिरिक्त श्रम समयको शोषण र दोहन गरी निचोरिएको र पुनरुत्पादनमा प्रयोग गरिएको धन राशि हो ।
माक्र्सले पुँजीलाई मृत श्रम भन्नुभएको छ । यस्तो सत्यता लाई ढाकछोप गरी पुँजीलाई नै निर्णायक शक्ति ठान्ने सबै प्रकारका पुँजीवादी शासकहरुको दृष्टिकोण रहिआएकोछ । नेपालको दलाल पुँजीवादी राज्य सत्ताले पनि आफ्ना साम्राज्यवादी मालिकहरु कै अनुसरण गर्दछ ।
श्रमसवन्धी यश गलत दृष्टिकोणलाई परिवर्तन गरी श्रमजीवि जनता नै इतिहासका निर्माता हुन । श्रमजीवि जनताको श्रम शक्ति प्रयोग नगरीकन कुनै पनि वस्तुको उत्पादन पनि हुन सक्दैन र पुँजी संचय पनि हुन सक्दैन भन्नेकुरालाई स्थापित नगरेसम्म र श्रम सम्वधी पुँजीवादी गलत दृष्टिकोणलाई नै नबदले सम्म देश आत्म निर्भर बन्न सक्दैन ।
ख) उत्पादन मूलक श्रमलाई घृणा गर्ने दलाल पुँजीवादी संस्कृति ः मुख्यतः कृषि उत्पादन मानव सभ्यता र अस्तित्वरक्षाको आधारभूत शर्त हो । उत्पादनमुलक श्रमकार्यमा सहभागी हुनुलाई इज्यत, सम्मान र गौरवको विषय बनाइनुपर्दथ्यो । उत्पादन मूलक श्रमलाई एउटा महान पेशाको रुपमा राज्यले पुरस्कृत गर्ने संस्कृतिको विकास गर्नुपर्दथ्यो । तर, परजीवि वर्गको शासन सत्तामा त्यसकुराको कल्पना पनि गर्न सकिँदैन । भौतिक सम्पदा माथि स्वामित्व कायम गरेको पुँजीवादी वर्गले वैद्धिक सम्पदामाथि पनि अधिपत्य कायम गरेको हुन्छ । जसको कारण आम श्रमजीविहरु पनि उसैको संस्कृतिबाट प्रभावित बनिरहेका हुन्छन् । त्यसैको परिणाम देशका श्रम शक्तिका खानी युवाहरुमा कृषि क्षेत्रको उत्पादनमा पटक्कै आकर्षण नहुनुको पछाडि त्यस गलत संस्कृतिले पनि काम गरेकोछ ।
ग) अव्यवहारिक शिक्षा प्रणाली लागू गर्नु ः नेपाल एउटा कृषिप्रधान देश हो । कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ कुनै ध्यान दिन चाहँदैन । विगतमा माध्यामिक तहमा कृषि विद्यालय जुन सीमित मात्रामा थिए ती पनि अहिले हटाइएका छन् । देशको आवस्यकताअनुसारका दक्ष जन शक्ति उत्पदन गर्नुभन्दा पनि साम्राज्यवादी हरुको आवस्यकतालाई ध्यानमा राखेर शिक्षा नीति निर्माण गरिन्छ । आजको २१औँ शताब्दीमा पनि मिथकहरु र किम्बदन्ती कुराहरुलाई पाठ्यक्रममा समावेश गरिन्छ । हरेक जनताको जीवन स्तरलाई भौतिक र सांस्कृतिक दुबै हिसाबले उन्नत बनाउन श्रम, शिक्षा र चरित्र निर्माणलाई एकीकृत गरी शिक्षा नीति निर्माण गरी लागू गर्नु पर्दछ । तर, वर्तमान दलाल पुँजीवादी राज्य सत्ताको शिक्षा नीति श्रमबाट कटेको, जीवन व्यवहारका आवश्यक सीप र क्षमताबाट कटेको, उपभोक्तावादी, निराशा र छडा संस्कृतितर्फ लाग्न प्रेरित गर्ने शिक्षा नीति लागू गरेकोछ । जसको कारण अध्ययन गर्न पाएका सिमित युवाहरुमा कृषि क्षेत्रको उत्पादनमूलक श्रमप्रति न त सम्मान नै छ न त उत्साह नै छ । गलत शिक्षा नीतिका कारणले पनि देश दिनप्रतिदिन परनिर्भर बन्दै गइरहेको छ ।
घ) राज्य सत्तामा दलाल प्रवृत्ति हावी हुनु ः दलाल प्रवृत्ति भनेको त्यसतो प्रवृत्ति हो जसले स्वदेशी श्रम र पुँजीलाई निरुत्साहित गर्दछ । उत्पदनमूलक श्रममा सहभागी हुनु आफ्नो अपमान ठान्दछ । साम्राज्यवादी पुँजी परिचालन गर्दछ । कमिशन, घुस, भ्रष्टाचार र लुट खसोटबाट परजीविता पूर्ण विलाशी जीवन बिताउँदछ । राज्य सत्तामाथि हावी भएको यस प्रवृत्तिका कारण देशका सम्पूर्ण क्षेत्रमा यही प्रवृत्ति मौलाउँदै र झागिँदै जानुले हरेक क्षेत्रका टाठाबाठा, पढेलेखेका र पुरै उत्पादनमा लाग्न सक्नेहरु उत्पादन मूलक शारीरिक श्रमबाट कट्दै जानु, बरु दिनभरी लखर–लखर चोक चौराहामा डुल्नु, बेतुकका गफ लगएर भुल्नु क्यारेम्बोर्ड खेलेर दिन बिताउनु कतै ठेक्कापट्टाबाट कमिशन पाउने, जग्गा दलालीबाट केही पाइन्छ कि भनेर दौडिने तर उत्पानमूलक श्रमकार्यप्रति पुरै कट्नाले पनि परनिर्भरता बढ्दै गएको छ ।
ङ) राष्ट्रिय स्वतन्त्र उत्पदन प्रणाली नहुनु ः दलाल पुँजीवादी राज्यसत्ता भएका पिछडिएका देशहरूले आफ्नो स्वतन्त्र राष्ट्रिय उत्पदन प्रणाली गुमाएका हुन्छन् र भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी हस्तक्षेप र नियन्त्रणलाई खुल्ला छुट दिएका हुन्छन् । भूमण्डलीकृत साम्राज्यवादले समाजका सम्पूर्ण आर्थिक क्षेत्रमा आधिपत्य कायम गर्न राज्यसत्ताका सबै अङ्गहरुमा आफ्ना दलालहरु स्थापित गराएको हुन्छ । यसरी देश नवउपनिवेश बन्न पुग्दछ । नेपाल पनि त्यही दिशामा अगाडि बढिरहेको छ । उदारीकरण, निजीकरण र स्वतन्त्र प्रतिस्पर्धात्मक खुल्ला माथि बजारको साम्राज्यवादी आर्थिक प्रणाली स्वीकार्न पुगेको छ । यसको साम्राज्यवादी उद्देश्य हाम्रो जस्तो देशका राष्ट्रिय उद्योगहरु निजीकरणको नाममा बिक्री गर्न लगाउनु, राष्ट्रिय पुँजीपति वर्गका उद्योगहरुलाई स्वतन्त्र प्रतिस्पर्धाका नाममा धराशयी बनाइदिनु । कृषि उपजहरु पनि निर्वाद रुपमा आयात गर्न लगाएर आफ्नो पूर्णरुपमा यान्त्रिकीकरण गरिएको राज्यबाट प्रशस्त सेवासुविधा लिइएको र ठूलो परिणामको उत्पादनसँग प्रतिस्पर्धा गर भन्ने कथित नीति बनाएर कृषि उत्पादनलाई पनि तहसनहस बनाउने गरेकोछ । परम्परा ढंगको कृषि उत्पादनले आजका आवश्यकता पूरा हुन सक्दैनन । व्यवसायिक कृषि उत्पादन गर्न राज्यको कुनै सेवा सुविधा छैन, वास्तविक किसानसँग खेतीयोग्य जमीन छैन । जसले आफ्नै वा लिजमा जमिन लिएर कृषि क्षेत्रमा हात हाले केही अपवादबाहेक वैदेशिक कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसकेर पलायन भए । कृषि उत्पादनका लागि लिएको ऋण तिर्न वैदेशिक रोजगारीमा जानू पर्ने बाध्यतामा पुगे । जसका कारण आमयुवाहरुमा कृषि उत्पादनमा लाग्ने चाहन नहुनुले पनि देश परनिर्भर बन्दै गएको छ ।
उपरोक्त कारणहरुले गर्दा नै देश परनिर्भर बनेको हो । ती कारणहरुको समाधान नगरेसम्म देश आत्मनिर्भर बन्न सक्दैन । त्यसको शुरुवात कसैले न कसैले त गर्नै पर्दछ । अबको दुनियाँमा विचार मात्र दिएर पुग्दैन । विचार अघि बढाउनेले त्यसलाई कार्यान्वयन गर्न आफैँ तयार हुनुपर्दछ । उत्पादनमूलक शारीरिक श्रमप्रति सम्मान गर्ने र श्रममा सहभागी बन्नु एउटा महान् पेशा हो भन्ने दृष्टिकोणलाई स्थापित गर्न, स्वेच्छ्याले श्रममा सहभागी बन्ने संस्कृतिको विकास गर्न, साम्राज्यवादी हस्तक्षेप र नियन्त्रणका विरुद्ध संगठित रुपमा प्रतिवाद गर्न, आमजनसमुदायमा छाएको निराशालाई आशावादमा बदल्न, अविश्वासलाई विश्वासमा बदल्न र पार्टीका नेता, कार्यकर्ता हुँदै आमजनतालाई आत्मनिर्भर बनाउनका निम्ति उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका तीनवटै महान् आन्दोलनहरुलाई एकीकृत गरेर मात्रै संभव छ । हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको उत्पादन अभियानको एतिहासिक महत्व यसैमा अन्तर्निहित छ ।