नेपालमा साम्राज्यवाद विरोधी अभियानको आवश्यकता
नेपालमा केही वर्ष यता साम्राज्यवाद नाङ्गोरुपमा देखापरेको भन्दै विभिन्न पार्टीका नेता तथा वाम बुद्धिजीविहरुले चिन्ता र चासो देखाउनु भएको छ । गत १३ गते विवादास्पद अमेरिकी योजना एमसीसी कार्यान्वयन भएको घोषणा भएयता मात्रै दुईवटा उच्चस्तरीय अमेरिकी टोलीले नेपालको भ्रमण गरिसकेका छन् भने अमेरिकी सेनाको एक टुकडी २१ गते काठमाडौँ उत्रिएको छ । हालसम्म नेपाल आएका अमेरिकी टोलीको चासो नेपालको राजनीतिक वातावरणमा केन्द्रित रहने गरेको देखिन्छ । अब नेपालमा अमेरिकाका लागि सहज हुनेगरी राजनीतिक वातावरण तयार गर्न प्रयास हुने सम्भावनाहरु देखिएका छन् । नेपालमा साम्राज्यवादी हस्तक्षेप तीब्र भए पनि त्यसको गहिराई र फैलावटलगायतका विषयमा कुनै पनि क्षेत्र र पक्षबाट अध्ययन र अनुसन्धान भने भइरहेको छैन । हालसम्मका चर्चा परिचर्चा र टिप्पणीहरु सतहमा मात्र रहेको देखिने गरेका छन् । २०६३ को राजनीतिक परिवर्तनपछि सत्ता र शक्तिमा आएकाहरुले नेपालको राष्ट्रिय राजनीतिमा जे–जस्तो भूमिका खेलिरहेका छन् र हाल देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था जे–जस्तो छ, त्यसलाई विश्लेषण गरेरहेर्दा नेपालमा साम्राज्यवादी हस्तक्षेप भएकोभन्दा पनि गराइएको मान्नुपर्ने हुन्छ । जस्तो एमसीसी नेपालकै केही नेताहरुको जोडबलमा आएको देखिएको छ । जसलाई उनीहरुले केहीवर्ष लगाएर परिमार्जन गर्दै नेपालको संविधान र ऐन कानूनभन्दा माथि पु¥याउने प्रयास गरेका छन् । ००७ सालपछि नेपालमा भारतीय विस्तारवाद हावी रहेको मानिन्थ्यो भने हाल आएर अमेरिकी साम्राज्यवादको हस्तक्षेप नाङ्गोरुपमा देखापरेको अवस्था छ । विगतमा भारतले नेपालका विभिन्न राजनीतिक पार्टीमाथि दबाब दिएर आफ्नो साम्राज्यवादी÷विस्तारवादी उद्देश्य पूरा गर्न प्रयत्न गर्दै आएको थियो । अब नेपालमा प्रत्यक्षरुपले विभिन्न राजनीतिक पार्टी बनाएरै आफ्नो अभिष्ट पूरा गर्ने÷गराउने प्रयासहरु थालिएका छन् । साम्राज्यवादीहरु अत्यन्तै निर्मम हुन्छन् भन्ने कुरा यसअघि विश्वका विभिन्न देशमा घटेका घटनाहरुले स्पष्ट गरेका छन् । इराकलगायतका कतिपय मुलुकमा लाखौँ मानिसको कत्लेआमसमेत भएको थियो । पछिल्लो समयमा नेपालमा साम्राज्यवाद एमसीसी, एसपीपी र क्रिश्चियन धर्मको माध्यमबाट भित्रिएको स्पष्ट छ ।
नेपालमा साम्राज्यवादको प्रबेशपछि यहाँको राष्ट्रियता, जनतन्त्र र जनजीविका एकैसाथ संकटमा परेको देखिन्छ । दलाल पुँजीवादीहरुमा जब आपूmहरु शक्तिशाली भएको र क्रान्तिकारी तथा देशभक्त शक्तिहरु कमजोर भएको भानपर्छ, त्यसपछि साम्राज्यवादलाई आफ्नो देशमा हस्तक्षेपका लागि आमन्त्रण गर्ने गर्दछन् । नेकपालगायतका केही दलहरुले नेपालमा भइरहेको साम्राज्यवादी घुसपैठको विरोध गर्दै वर्तमान सरकारलाई कूटनीतिक पहलबाट साम्राज्यवादलाई पछि हटाउन आह्वान गरिरहेका छन् । तर, सरकारमा रहेकाहरु भने कानमा तेलहालेर बसेको अवस्था छ । किनकी उनीहरु विभिन्न मितिमा गरिएका सन्धी, संझौता र सहमतिले हात बाँधिएको अवस्थामा रहेका छन् । त्यसैले अब नेपालका साम्राज्यवाद विरोधी एवं देशभक्त शक्तिहरुले मोर्चा बनाएर नेपालमा जरा गाड्दै गरेको साम्राज्यवाद र उसका नेपाली दलालहरुका विरुद्ध धक्का दिनुपर्ने आवश्यकता रहेको छ । खासमा आजको युगलाई नै साम्राज्यवाद र सर्वहारावर्गबीचको संघर्षको युग भन्ने गरिन्छ । पछिल्ला दिनमा नेपालमै पनि साम्राज्यवाद र सर्वहारावर्ग आमने–सामने भएको देखिएको छ । यतिबेला उक्त दुई विपरीत वर्गका बीचमा वर्ग संघर्ष चलिरहेको छ । त्यसमा बिचौलियाहरु मयुरको प्वाँख लगाएका काला कागहरुझैँ जनतामा विभिन्न भ्रमहरु छर्दै घुमिरहेका छन् । उनीहरु हेर्दा जनपक्षीय र क्रान्तिकारीजस्ता देखिन्छन् भने कार्यक्षेत्रमा जनविरोधी र क्रान्ति विरोधी रहँदै पनि आएका छन् । समसामयिक विश्व साम्राज्यवाद भूमण्डलीकृत अवस्थामा परिणत भइसकेको अवस्था छ । तर, पनि अमेरिकी साम्राज्यवादलाई नै अन्तर्राष्ट्रिय जगतले मुख्य साम्राज्यवादका रुपमा लिने गरेको छ । दोश्रो महाशक्ति मानिएको रुस सन् १९९१ मा सोभियत मोडलको समाजवादको पतनसँगै केही समय खुम्चिए पनि फेरि फैलँदो अवस्थामा रहेको छ । त्यसैगरी नेपालको छिमेकी चीन झण्डै तेश्रो महाशक्तिकारुपमा उदाउँदै गएको छ । त्यसैगरी नेपालको अर्को छिमेकी भारत पनि विश्व राजनीतिक रंगमञ्चमा उदाउँदै गएको देखिएको छ । अमेरिकाले हालसम्म पनि जापान, दक्षिण कोरिया, जर्मन, बेलायत र फ्रान्सलगायतका पुँजीवादी देशहरुलाई साथमा लिएर विश्वभर आफ्नो साम्राज्यवादी नीतिको कार्यान्वयन गर्ने÷गराउने प्रयास गर्दैआएको छ । जसले गर्दा नेपालजस्ता साना राष्ट्रहरु पनि अमेरिकी साम्राज्यवादको शोषण र उत्पीडनमा पर्दैगएका छन् ।
नेपालजस्ता देशहरुका लागि आफ्नो रोजाईको राजनीतिक व्यवस्था उपयोग गर्न नदिने कामहरु भइरहेका छन् । साना मुलुकका प्राकृतिक श्रोत÷साधन र सम्पदाहरु संकटमा परेका छन् । अफगानिस्तान करिव २० वर्षको अवधीमा जसरी लुटियो, त्यसले अन्य साना र कमजोर राष्ट्रहरुलाई त्राहिमाम बनाएको अवस्था छ । साम्राज्यवादी चक्रब्युहमा परेर अरेवियन मुलुकहरु तवाह भएका छन् । तहसनहस भएको अवस्था छ । उत्तर कोरियाले आफ्नो देशको सुरक्षा र आत्मनिर्णयको अधिकारको रक्षाका लागि विभिन्न जोखिमहरु उठाउनु परेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले भारतीय विस्तारवादी शासकहरुलाई अगाडि सारेर यस क्षेत्रका प्रायः मुलुकहरुमा आफ्नो हैकम जमाउने प्रयास गर्दै आएको छ । अमेरिकाले उदाउँदो चीनलाई टक्कर दिन इन्डोप्यासिफिक सैन्य रणनीति अगाडि सारेको छ । त्यसैअनुसार दक्षिण एशियाली देशहरुमा एमसीसी र एसपीपीजस्ता कार्यक्रमहरु लाद्ने प्रयास भइरहेको छ । श्रीलंकाले आफ्नो देशमा एमसीसी लागू गर्न नमानेपनि त्यहाँ अमेरिकाका अन्य परियोजनाहरु सञ्चालन गर्ने÷गराउने प्रयासहरु भइरहेका छन् । अमेरिकाले नेपालमा एमसीसीको कार्यान्वयन र सुरक्षाको बहानामा सैन्य क्रिडास्थल बनाउने सम्भावना प्रबल बन्दैगएको छ । त्यसो भएको खण्डमा नेपाल अमेरिकाको अघोषित नवऔपनिवेशि देश हुनसक्ने खतरा पनि बढेको छ । नेपालमा बढ्दो अमेरिकी गतिबिधिले गर्दा छिमेकी चीन पनि सशंकित भएको देखिएको छ । जुन कुरा चिनियाँ अधिकारीहरुको बारम्बारको नेपाल भ्रमण र उनीहरुले दिएका अभिव्यक्तिहरुले स्पष्ट गरेका छन् । प्रम पुष्पकमल दाहालको आसन्न चीन भ्रमणकाक्रममा धेरै कुराहरुको खुलाशा हुने छ । नेपालको संसद्बाट एमसीसी पारित भएको नाटकीय घोषणा गराउन प्रमुख भूमिका निर्वाह गरेकाहरुले चीनको स्वशासित क्षेत्र तिब्बतमासमेत घुसपैठ गरिसकेको देखिएको छ । यस्तो अवस्थामा नेपालका सम्पूर्ण देशभक्त, वामपन्थी तथा प्रगतिशील शक्ति एकजुट हुनुपर्नेमा त्यस्तो एकता कायम हुन सकिरहेको छैन । देशको वामपन्थी र देशभक्त शक्तिहरुलाई समेत छिन्नभिन्न बनाउनका लागि अनेक प्रयत्नहरु भइरहेका छन् । सत्तामा रहेका कतिपय नेताहरुको दोहोरो चरित्रले गर्दा जनसाधारणमा भ्रमको अवस्था रहेको छ ।
यस्तो अवस्थामा अमेरिकाको साम्राज्यवादी नीति र गतिविधिका विरुद्ध विश्वभरका उत्पीडित राष्ट्रहरु, न्यायकामी एवं मुक्तिकामी जनसमूदाय र एकजुट हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । नेपालमा पछिल्लो समयमा साम्राज्यवाद विरोधी आन्दोलनहरु छिटफुटरुपमा भइरहेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपाजस्ता पार्टीहरु क्रमशः साम्राज्यवाद विरोधी आन्दोलनमा जोडिदै गएको देखिएको छ । जसमा अन्य साना कम्युनिष्ट समूहहरुको साथ सहयोग पनि रहेको छ । तर नेपालमा यसरी छिटफुटरुपमा विरोध प्रदर्शन गरेरमात्र केही पनि हुनेवाला छैन । यदि नेपालमा बढ्दो साम्राज्यवादी हस्तक्षेप र उनीहरुका हर्कतलाई जरैदेखि उखेलेर फ्याक्ने हो भने स्थायीरुपमै साम्राज्यवाद विरोधी मोर्चाको गठन हुनुपर्ने तड्कारो आवश्यकता देखिएको छ । त्यस्तो मोर्चाको गठन गरेर नेपालमा बढ्दो साम्राज्यवादी हर्कतको गहिराई र फैलावटका बारेमा राम्रो अध्ययन र अनुसन्धान गरी जनतामा तथ्यगत जानकारी गराउन सक्ने हो भने आमजनता आन्दोलनमा उत्रन सक्ने र नेपालमा साम्राज्यवाद विरोधी आँधी–बेहरीको सिर्जना हुने अवस्था छ । विस्तारै नेपालमा बढ्दो विदेशी हस्तक्षेपका बारेमा जनसाधारण पनि जानकार हुँदै गएका छन् । विभिन्न सञ्चारमाध्यमहरु खुलेर अभिव्यक्त हुन थालेका छन् । साम्राज्यवादीहरुको चलखेलका साथै तिनका नेपाली दलालहरुको पनि विरोध बढ्दै गएको छ । ढिलो–चाँडो नेपालमा साम्राज्यवाद विरोधी उभार सिर्जना हुनेवाला छ । त्यसैले त्यसलाई संगठित गरेर सही ढंगले परिचालन गर्न÷गराउनका लागि संगठित प्रयासको आवश्यकता देखिएको छ ।