ज्ञान विज्ञान विश्वका साझा

२०८० आश्विन ८ गते, सोमबार

भेषराज सी

प्रत्येक देशका सच्चा कम्युनिस्टहरुले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण र मालेमावादी मार्गदर्शक सिद्धान्तलाई आत्मसात गर्दछन् । जसका कारण कम्युनिस्टहरुमाथि विदेशी व्यक्तिहरुको पछि लागेको आरोप लगाउने गरिन्छ । यस प्रकारका तुच्छ आरोप लगाउनेहरुको बौद्धिक दरिद्रता भए पनि सर्वसाधारण जनतामा भ्रम पर्ने गरेको छ । सामाजिक सजाल प्रयोगकर्ता युवा वर्ग पनि जान वा अनजानमा यसबाट प्रभावित भएको पाइन्छ ।

(१) सर्वप्रथम के कुरामा स्पष्ट हुन आवश्यक छ भने विश्वका कुनै पनि भूभागका व्यक्तिले गरेका खोज अनुसन्धान र नया आविष्कारहरु चाहे ती प्रकृति विज्ञानका क्षेत्रमा होउन् चाहे ती समाज विज्ञानका क्षेत्रमा होउन् ती सबै सिङ्गो मानव समाजका साझा सम्पत्ति हुने गर्दछन् । यद्यपि भूमण्डकृत पुँजीवादी साम्राज्यवादले तमाम वैज्ञानिक आविष्कारहरुलाई पनि आफ्नो लुटको सत्ता बचाइराख्न प्रयोग गरिरहेको छ ।

(२) प्रकृति विज्ञानका क्षेत्रका कोपर्निकस, ग्यालेलियो ग्यालिली, न्यूटन, आइस्टाइन, थम्स एल्वा एडिसन, म्याक्स्पलंक, हाइजेनवर्ग, डार्विन, मेडमक्यूरी स्टैफिनहकिन्स लगायतका वैज्ञानिकहरुले गरेका आविष्कारहरु के नेपालका शैक्षिक क्षेत्रमा अध्यापन र व्यहारिक जीवनमा प्रयोग गरिएको छैन ?

के ती सबै वैज्ञानिकहरु नेपाली हुन ?

त्यसैगरी समाज विज्ञानको क्षेत्रमा थेल्स, हेराक्लाइटिस, डिमोक्राइटिसदेखि लिएर सुकरात, अरस्तु, प्लेटो, मोर्गान, बाखोफेन, हेगेल, फायरबाख, एडम स्मिथ, मार्शल, रबिन्स जेएस मिल, माल्थसलगायतका अनुसन्धानहरुलाई के नेपालमा अध्ययन र अनुशरण गरिएको छैन ?

(३) धार्मिक क्षेत्रका कुरा गर्दा नेपालमा बौद्ध धर्मका संस्थापक सिद्धार्थ गौतम बुद्धबाहेक कुन धर्मका संस्थापक नेपालका हुन ? राम, कृष्ण भारतका, ईशाहमसी जेरुसेलम, मोहम्मद पैगाम्बर सौदी अरब, गुरुनानक भारतको पंजाब, महाबीर जैन भारत कै होइनन् र ? के रामायण, महाभारत, बाइबल, कुरान पाठ गर्नेहरुले नेपाल कै अध्ययन गरिरहेका छन् । के तिनका लेखक नेपाली हुन ? नेपाली गीत संगीत तथा चलचित्रलाई छाडेर हिन्दी गीत संगितमा रमाउने र अंग्रेजी अश्लील चल चित्र हेर्नेहरुले जनमुक्ति को मार्ग देखाउने माक्र्सवादी साहित्यलाई विदेशी देख्नु बौद्धिक टाट्पल्टाईको कुतर्कबाहेक अरु के हुन सक्छ ।

(४) उपरोक्त प्रकृति विज्ञान, समाज विज्ञान र धार्मिक क्षेत्रहरुका व्यक्तिहरुलाई मान्दा विदेशी नहुने तर समाज विज्ञानको क्षेत्रमा आजसम्मको सबैभन्दा उत्कृष्ट अनुसन्धान गरी प्रयोगद्वारा पुष्टि भएको, संसारका मानव जातिलाई मुक्ति दिलाउने सिद्धान्तलाई अनुसरण गर्दा विदेशी माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओको पछि लागेको ठहर्ने ? यसको एउटा मात्र कारण के हो भने मालेमावादको सिद्धान्तबाहेक अन्य कुनै पनि सिद्धान्त वा बिचारले पुँजीवादी साम्राज्यवाद र दलाल पुँजीवादी शोषणकारी राज्यसत्ताको विरोध गर्दैनन्, अझ अनेक प्रकारका रंगीचंगी धर्महरुले त उनीहरुको जनविरोधी सत्ता टिकाउन भरपुर मद्दत गर्दछन् । त्यस कारण परजीवितापूर्ण बिलासी जीवन व्यतित गरिरहेको पुँजीवादी वर्गले जनताको मुक्ति संघर्षको आधारभूत तथा निर्णायक संघर्ष वर्गसंघर्षलाई कमजोर बनाउन अनेक प्रकारका षड्यन्त्र, भ्रम र दमनका हतकण्डा अपनाउने गर्दछ । त्यसैको एउटा रुप यो पनि हो ।

पुँजीवादी साम्राज्यवादका षड्यन्त्रहरुलाई बुझ्न नसक्दा पुँजीवादी शोषणका सिकार भएकाहरुले समेत कम्युनिस्टहरुको विरोध गर्न आफ्नो श्रम र शक्ति खर्च गरिरहेको विडम्बनपूर्ण अवस्था रहेको छ । कुनै पनि विषयमा टिकाटिप्पणी गर्नु पूर्वविषयवस्तुको गहिराइमा पुगेर अध्ययन गरौ । अन्यथा कच्चा वैद्यको मात्र । यमपुरीको यात्रा भन्ने उखान चरितार्थ हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]