पूर्व क्षेत्रमा नियोजित अशान्ति र देशमा पैदा हुन सक्ने संकट

२०८० आश्विन १५ गते, सोमबार

सुमनसिंह सी

एमसीसी संसदबाटै पास भएपछि कानुन नै बनेर लागू भैरहेको अमेरिकी परियोजनाले नेपालको राजनीतिलाई अन्तर्राष्ट्रिय ध्रुवीकरणतर्फ प्रवेश गराएको छ । पुँजीवादी विश्व आतंक, अमेरिकी दादागिरी र साम्रज्यवादी निकृष्टताविरुद्ध चुनौतिको रुपमा उदाइरहेको चीन विरुद्ध परिलक्षित हुनु हिन्द प्रशान्त रणनीतिको मुख्य उद्देश्य हो र त्यही रणनीतिलाई प्रवेश गराउने योजनाको रुपमा एमसीसी नेपालमा आएको छ । अमेरिकालाई विश्व पुँजीवाद विरुद्ध संघर्षशील कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नेपालको प्राकृतिक श्रोतको दोहन गर्न (युरेनियम, पानी आदी) र नेपालको भूमि प्रयोग गरेर तिब्बत फ्री आन्दोलन चर्काउँदै चीनमा गृह युद्धको वातावरण बनाउन र त्यसबाट बन्ने अस्थिरतासँगै युद्ध थोपर्न कुनै पनि मूल्य चुकाएर नेपालमा आफ्नो सैन्य उपस्थिति गराउनु छ । अमेरिका उक्त कार्यमा एकपछि अर्को गर्दै तीव्र गतिमा आइरहेको छ । र प्रायजसो योजनाहरुमा अमेरिका सफल पनि बनिरहेको देखिन्छ ।

नेपाली जनताको उल्लेख्य विरोध र प्रतिकारको बाबजुत अगाडि बढिरहेको अमेरिकी योजनालाई मुख्य चुनौती भनेकै नेपाली देशभक्त जनता, प्रगतिशील तप्का, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु हुन् । त्यसकारण अमेरिका सबैभन्दा पहिला यो प्रवृत्तिको कत्लेआम गर्न चाहन्छ । यसको निम्ति प्रायोजित रुपमा नेपालमा संकट पैदा गराउँदै आएको अमेरिकाले जनताको असन्तुष्टिमा खेल्ने र पुराना नेतृत्व र दलको ठाउँमा नयाँ पात्र र नयाँ दल, व्यवस्था परिवर्तनको आवश्यकताको ठाउँमा सुधारको विषयलाई अगाडि सारेर नयाँ पार्टीहरु जन्माएको छ । जसमा अमेरिकाले सुविचारित ढंगले राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी जस्ता पार्टीहरुलाई तयार गरेको छ ।

यति मात्र होइन कि उसले सामाजिक अभियन्ता भनिनेहरुलाई पनि जोडतोडले परिचालन गरिरहेको छ । मधेशमा, सुदूरपश्चिममा समेत नयाँ दृश्यसहित पात्र र पार्टीहरु खडा गर्ने काम भएको छ । एउटा समय अमेरिकी योजनाले अझ अगाडि बढेर नयाँ पार्टीहरु, संसदवादी दलभित्रका दलालहरु, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, अभियन्ता भनिने तत्वहरु लगायतलाई मिलाएर अर्को पार्टी बनाउन सक्ने सम्भावना पनि छ । नेपालमा पछिल्लो चरण नेपालकै संसद्वादी दलकै नेताहरु समेत खुलेआम रुपमा एमसीसी र अमेरिकाको दलाली गरिरहेका छन् । खास गरेर पूर्व क्षेत्रमा पछिल्लो समय अनौठो र अप्रत्याशित घटनाहरु घटिरहेका छन् । यसले पनि समग्र नेपालको आगामी समयलाई बुझ्न मद्दत गर्छन् । अमेरिकी खतरनाक चालको चपेटामा परिरहेको नेपालको रक्षा हामीले कसरी गर्ने ? यो विषयलाई ध्यान दिएर काम गर्न जरुरी भएको छ । आउनुस् केही चर्चा गरौं ।

पूर्वका केही घटनाहरुलाई सरसर्ती हेरौं–

१) कोशी प्रदेशको नामांकन

जनताहरुको व्यापक विरोध र आन्दोलनको कारण लामो समयदेखि कोशी प्रदेशको नामाङ्कन सम्भव भएको थिएन वा–केही बिढङ्गो गराउने उपयुक्त समयको लागि त्यसलाई थाती राखिएको थियो । अमेरिकी प्रभाव उत्कर्षमा पुगेको समय पारेर जनताको विरोध र बलिदानको बीचैबीच जबर्जस्ती रुपमा कोशी प्रदेशको नाम राखियो । अधिकांश दल र संसदले कोशी प्रदेश नाममा सहमति जनाए । त्यसपछि पूर्वक्षेत्र तरङ्गित बन्यो र वातावरणलाई अशान्त बनाइयो । पूर्वक्षेत्रमा मिलेर बसेका जनताको मनोविज्ञानलाई नियोजित रुपमा विभाजित गर्ने कामको आरम्भ गरियो । हामी सबैले ध्यान दिनु पर्ने कुरा नाम यस्तो समयमा राखिएको छ कि अमेरिकालाई नेपाल अशान्त हुनुपर्ने परिस्थिति चाहिएको छ । कोशी नाम राख्न संघ, प्रदेशका सबै मुख्य नेताहरुकै भूमिका रहेको छ । जनताको मनोभावमा खेल्ने प्रपञ्च कोशी प्रदेशको नामाङ्कन थियो र जसको फाइदा अमेरिकाले उठाइरहेको छ ।

२) धरानमा हिन्दू मन्दिर अगाडि चर्च निर्माण

धरानको विजयपुरमा रहेको एक हिन्दू मन्दिर अगाडि चर्च बनाएको घटना सतहमा आयो । यो पनि धार्मिक क्षेत्रलाई असहिष्णु बनाउने चलखेलको रुपमा आयो र यस कार्यमा धरानका मेयर हर्क सम्पाङ स्वयम् धार्मिक आस्थामा खेल्दै जनतालाई उत्तेजित बनाउन अगाडि आए । कतिपय सूचनाअनुसार धरानका मेयर क्रिश्चियन धर्मका अनुयायी रहेको समेत पाइएको छ । चाहे जेहोस् तर यो विवादलाई चरमोत्कर्षमा पु¥याइयो । यसमा जनताको मनोभावनामाथि खेल्दै पूर्वलाई आशान्त बनाउन बल पु¥याउने हेतु अमेरिकाले नै फाइदा लिइरहेको प्रष्ट छ ।

३) धरानमा गाई काटेको घटना

धरानमा गाई काटेको घटनाले चर्चा पायो । यसअघि पनि गाई गोरु नखाइएका होइनन् । नेपालमा धेरै जनताले गाई गोरुको पनि मासु प्रयोग गर्ने गरेका छौं । कतिपय जात सम्प्रदायमा त यो अनिवार्य नै छ । यसलाई वैध रुपमा खाने विधिबारे राज्यले सोच्नु पर्छ तर जनताको मनोविज्ञानलाई उत्तेजित पार्ने गरी सार्वजानिक रुपमा गाई काट्ने र खाएको भिडियो सामाजिक संजालमार्फत् पोस्ट गर्ने साथै खुल्ला विवादमा समाजलाई उतार्ने काम भयो । यसले त हिन्दू सम्प्रदायका मानिसहरुलाई ठूलो संख्यामा धरान प्रवेश गर्न उत्तेजित पार्ने र त्यसको प्रतिकारको निम्ति पनि गाई खानु पर्छ भन्ने तप्का तयार हुने अवस्था बन्यो । सरकारले निषेधाज्ञा जारी गर्दै ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्नु पर्ने अवस्था बन्यो । यसमा पनि अमेरिकी स्वार्थ स्पस्ट हुन्छ । चाहे गाई काट्ने होस् वा त्यसको विरोध गर्ने यो दुवै अतिलाई उकास्न र उत्तेजित बनाउँदै भिडन्तमा प्रवेश गराउन एउटै तत्व कही न कही कृयाशिल छ, जसको नाभी अमेरिकी स्वार्थसँग जोडिएको छ र यो घटना छिमेकी मुलुक भारतको मणिपुरमा जारी साम्प्रदायिक हिंसाको मोडेलमा लैजान गरिएको प्रयत्नको प्रारम्भिक चरण हो भन्न सकिन्छ । यो षड्यन्त्रलाई हामीले कुनै पनि हालतमा रोक्नै पर्छ । समाजमा मौलाएका सबै प्रकारका अतिवादहरुलाइ निषेध गर्नै पर्छ ।

४) कोशी सरकारको गठन विघटन

कोशी सरकार यतिबेला गठन विघटनको झमेलाका बीच गुज्रिरहेको छ । यसमा अदालतले भूमिका खेलिरहेको छ । स्मरणरहोस् अमेरिका एमसीसी अनुमोदनमा बहुमत जुटाउन असम्भव भएपछि अदालतको प्रत्यक्ष प्रयोग गरेर पार्टीहरु फुटाउने, सरकार गिराउने, बनाउने र आपूm अनुकुलको बहुमत बनाउने खेल खेल्दै आएको थियो । त्यस्तै कोशी प्रदेशमा पनि अहिले अदालत कृयाशिल छ । र अदालतले फेरि एमाले ठूलो दल भएको हुनाले सरकार गठनको अधिकार एमालेलाई नै दिएको छ । अहिले हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । अब फेरि एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नु पर्ने छ । यदि विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा कथित कोशी प्रदेश ताजा जनादेशको नाममा मध्यावधी निर्वाचनमा जानु पर्ने संवैधानिक बाध्यतामा फस्ने छ । किनकि कोशी प्रदेशमा अमेरिका मध्यावधि चाहन्छ । कोशी प्रदेशमा बहुमत बन्न नदिने, मध्यावधिमा लैजाने, र आफ्ना पात्रहरुलाई ल्याउने (सिंगो देशलाई देखाउन) खेलमा अमेरिका छ । कथित कोशीका नेताहरुमा थोरै पनि बुद्धि छ भने सहमति जुटाएर सरकार बनाउनु र मध्यावधि रोक्नु उपयुक्त देखिन्छ ।

५) पूर्वमा रवि लामिछानेको दौडधुप

कोशी प्रदेशको सरकार गठन, विघटनको अवस्था आएपछि कोशीलाई मध्यावधिमा लाने र रविहरुलाई खडा गरेर कोशी कब्जा गर्ने, सिंगो नेपाललाई आफ्नो शक्तिको सन्देश प्रवाह गर्ने र पूर्वलाई आवश्यकताअनुसार बितण्डतामा प्रवेश गराउने अमेरिकी योजनाअनुसार पूर्वमा रवीको दौडधुप तीव्र बन्यो । पूर्वसुनसरी, उदयपुर, मोरङ, झापा, इलाम, ताप्लेजुङ्सम्म रवि अभियान संचालित बन्यो । रविको पार्टीमा गएका पूर्वक्षेत्रका मित्रहरु सोझै भन्छन्– अब चुनावमा जाने, चुनावको तयारी गर्ने, संसद मन्त्री बन्ने हो । पूर्व क्षेत्रका जनताहरुको गतिशिलता र क्रान्तिको सम्भावना पूर्वमा रहेको बुझेको अमेरिकी साम्राज्यवाद र उसका कारीन्दाहरु पूर्व क्षेत्रमार्फत् आफ्नो शक्तिलाई उदय गराउन र सम्भवत संघको निर्वाचनमा पनि केही समयपछि मध्यावधि गराउने र आफ्ना पात्रहरुलाई अगाडि ल्याउने खेलमा लागेको देखिन्छ । यो पनि अमेरिकी योजना भित्रै छ ।

६) दुर्गा प्रसाईको अभियान

अमेरिकी योजनाभन्दा अरु धेरै नभैरहेको समकालीन समाजमा दुर्गा प्रसाईंलाई पनि नजरअन्दाज गर्न हुँदैन । उनले धर्म र नागरिक बचाउ अभियान भन्ने नारा दिएर एउटा अभियानको सुरुवात गरे र त्यसको उद्घाटन पूर्वबाट भयो । उनले बोलिरहेका र बाहिर ल्याइरहेका कतिपय तथ्यहरु जायज र ठिक पनि छन् । तर, त्यसको निकासको अस्पष्टता भने उनमा छ । उनले राजालाई पुनस्र्थापना गर्नुपर्ने आवाज पनि ओकलेका छन् । वित्तिय क्षेत्रका विकृतिविरुद्ध पनि प्रसाईंले बोलिरहेका छन् । मारवाडी व्यवसायीविरुद्ध पनि उनी उत्रिएका छन् ।

यी सबै भएर पनि दुर्गा प्रसाईंको प्रचार झन बढ्दो छ किन ? अमेरिका कुनै पनि मूल्यमा जनतालाई एकताको सन्देश पैदा गराउने प्रकारको राजा ल्याउन चाहँदैन । पुँजीवाद जनतालाई टुक्रा–टुक्रा पार्ने र लुटी खाने प्रवृत्ति हो । राजा यो नीतिको प्रतिकुल हुन्छ र हुने भएकाले ‘सिआइए’ ले विरेन्द्रको वंशनास गरेको हो । तर, प्रायोजित रुपमा निराशा फैलाइएको नेपाली समाजमा आजको अवस्थाभन्दा हिजोको राजा नै ठिक थिए कि कतै भन्ने एउटा मनोविज्ञान पनि बन्दै गयो र त्यो बितृष्णालाई एउटा समयसम्म नियन्त्रण गर्न, जोगाइराख्न र आपूm अनुकुल प्रयोग गर्न पनि राजावादी पार्टी र दुर्गा प्रसाईं जस्ता मानिसहरु अमेरिकालाई चाहिन्छन् । भारतलाई थोरै भए पनि दबाबमा राख्न अमेरिकालाई यो प्रवृत्ति जहिलै आवश्यक छ । त्यसो भएको हुनाले दुर्गा प्रसाईंमार्फत् मारवाडीहरुको विरोध गर्न लगाएर एउटा भास्य खडा गर्न खोजिएको छ । यद्यपि मारवाडी एकाधिकार नेपालमा सह्यै छैन र यसको विरोध गर्नु पर्छ । दुर्गा प्रसाईंको अभियान स्वयम् उनलाई यसको उपादयताबारे थाहा नहुन सक्छ तर यसबाट पनि अमेरिकाले फाइदा हेरिरहेको छ । त्यसैले निर्वाध छ प्रसाईं अभियान ।

७) राजावादी पार्टीको पूर्वी कृयाशिलता

सायद राजसंस्थाबारे वकालत गर्ने पार्टी पूर्व र त्यसमा पनि झापा नै अगाडि होला । झापाका एकजना कट्टर राजावादी मित्रले खुलेआम निरन्तर एमसीसीको विरोध गर्दै आएका थिए । हाम्रो सिंगो पार्टी एमसीसी विरुद्ध निरन्तर लड्दै थियो । उनले मसँग भेटमा भने राजेन्द्र लिङ्देन दाइले मलाई भेट्न बोलाउनु भयो र भन्नू भयो कि “ एमसीसीको अब विरोध नगर्नु, यसले राम्रो गर्दैन” । चेतावनीको भासामै एमसीसीको विरोध नगर्न लिङ्देनले उनलाई भनेको मलाई सुनाएका थिए । ती मित्रले उक्त पार्टी छाडेर अहिले पनि एमसीसीविरुद्ध वकालत गरिरहेका छन् । हो राजावादी पार्टीभित्र पनि देशभक्ति छ, त्यहा पनि धेरै राम्रा मान्छेहरु छन् तर राजावादी मुद्दालाई समेत कब्जामा राख्नु र आपूm अनुकुल चलाउन सकियोस् भन्ने अमेरिकी योजना रहेको छ । मनिषा कोइराला कांग्रेसको कार्यक्रम छाडेर राप्रपाको चुनावी प्रचार र राप्रपा नेतृत्वलाई स्थापित गर्ने अभियानमा लाग्नुलाई पनि विज्ञहरु शंकाको नजरले हेर्छन् । पछिल्लो चरण अमेरिकाको योजनाबद्ध प्रयत्नको रुपमा च्याउ झैं नेपालमा उदाएका सामाजिक अभियन्ताहरुको नाभी खोज्दै जानू भयो भने अमेरिकी केन्द्रमा भेटिन्छ । हो त्यहीबाट कुर्लंदै आएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बने । यहाँ कसले के कसरी बोल्छ र व्यवहार कसरी कहाँ जोडिन्छ र सम्बन्धित छ भन्ने विषयलाई ध्यान दिनु भयो भने सबै स्पष्ट हुन्छ र राजावादी मुद्दामा केन्द्रीत जनताको मनोविज्ञानलाई भ्रमित हुन नदिन पनि प्रयत्न गर्न पर्ने आवश्यकता छ ।

अतः हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले यतिबेला अन्तरविरोध बदलिएको निष्कर्ष निकालेको छ । अहिले अमेरिकी साम्राज्यवाद र नेपाली जनताबीचकोे अन्तरविरोध नै मुख्य बनेको सबै तथ्यहरुले प्रष्ट हुँदै आएका छन् । यस्तो बेला हरेक घटनाहरुलाई शृंखलामा हेर्नु र सम्भावित संकटको आँकलन गर्दै समाधन वा निकास दिने गरी जनताको नेतृत्व गर्नु हाम्रो कर्तव्य हुन आउँछ । अमेरिका नेपाललाई अशान्त बनाउन चाहन्छ । आफ्नो सैन्य शक्तिलाई खर्च नगरी जनतालाई भिडाउने, हिंसा मच्चाउने र आफ्नो परियोजना सुरक्षाको नाममा वा हिंसा व्यवस्थापनको नाममा हतियारसहितको सेना उतार्ने चालबाजीमा अमेरिका रहेको छ ।

यसमार्फत् अमेरिका नेपाली जनतामा व्याप्त निराशामा खेल्दै अबको विकल्प नयाँ पार्टी, नयाँ पात्र भन्दै जनतालाई भ्रमित पार्ने र नवजेलेन्सकीहरु सहजै जन्माउने योजनामा रहेको छ । पुराना संसद्वादीहरुलाई जेलमा थुन्ने, कम्युनिष्ट र देशभक्तहरुको हत्या गर्ने, नेपाललाई अराजकता र द्वन्द्वको भुङ्ग्र्रोमा होम्ने काम अमेरिकाले आपूm अनुकुल सत्ता सुदृढ गर्ने बित्तिकै सुचारु गर्ने छ । मिसन ०८४ भन्दै निरन्तरतामा नेपाली राजनीतिलाई हेरिरहेकाहरुले आँखाको पट्टी खोल्न आवश्यक छ । प्रायोजित विद्रोह, मध्यावधि या कुनै आकस्मिक संकट पैदा गराएर तीव्रतामा अमेरिकाले आफ्नो सत्तालाई सुदृढ गर्ने छ । एक पटक मात्रै अमेरिकाले आफ्नो सत्ता सुदृढ गर्ने अवस्था बन्यो भने नेपाल अग्रगमन, क्रान्ति, कम्युनिष्ट आन्दोलन वा स्वाधीनताको रक्षा जे भन्नुहोस् यो यति धेरै रक्षात्मक बन्ने छ कि जसको कल्पना पनि गर्न सकिन्न ।

यतिबेला हरेक घटनाहरुलाई बदलिएको अन्तरविरोध र त्यसको समाधानको आँखाबाट हेर्ने प्रयत्न गर्नु पर्छ । यसो ग¥यो भने हाम्रो बुझाइ सही बन्छ । पूर्वको गतिशिलता, क्रान्तिको उर्वर सम्भावना र आजको पुँजीवादसँग मुकाविला गर्न सक्ने पूर्वको परिदृश्यलाई केलाएर पश्चिमाहरुले पूर्वमा पछिल्लो दशक सबै विषयहरुमा मसिनो गरी मिहेनत गरेका छन् ।

माथि उल्लेख गरेका घटनाहरु प्रतिनिधि घटना हुन् । अमेरिका आज घरको समस्यामा समेत प्रवेश गरेको छ । मसिना मामलाहरुलाई समेत समातेर पूर्वलाई अशान्त बनाउन लागेको हिन्द प्रशान्त रणनीति, अमेरिका र उसका कारिन्दाहरुको हर्कतहरुको शृङ्खलाबद्ध अध्ययन, निष्कर्ष र त्यसको समाधानमा पूर्वमा कृयाशिल सबै जिम्मेवार नागरिकहरु गम्भीर बनेर लाग्न जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु