दर्शनशास्त्रको मौलिक प्रश्न
“दर्शनशास्त्रको सम्पूर्ण इतिहास परस्पर विरोधी स्कुलहरु आदर्शवाद र भौतिकवादबीच संघर्ष र विकासको इतिहास हो । सबै दार्शनिक धाराहरु र स्कुलहरस यी दुई आधारभूत स्कुलका अभिव्यक्तिहरु हुन् ।” – माओ त्सेतुङ
यस आलेखमा दर्शनशास्त्र भनेको के हो ! यसको जन्म र विकास कहिले र कसरी भयो ! दर्शनले मानिसलाई के ज्ञात गराउँदछ ! मानिसलाई दर्शन किन आवश्यक पर्दछ ! दर्शनशास्त्रको मौलिक प्रश्न के हो ! अर्थात् मानिसले विश्वलाई हेर्ने उसको विश्वदृष्टिकोण के हो ! किनभने मानिसलाई दर्शन आवश्यक पर्दछ । भनिन्छ नि “दर्शनविनाको मानिस जराविनाको रुख जस्तै हो” । आदि विषयमा जानकारी लिनु दर्शनसँग सम्बन्धित विषय भएकोले सर्वसाधारण पाठक र अध्ययताहरुले समेत बुझ्न सजिलो होस् भनेर सकेसम्म सरल भाषामा यो आलेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको संसारलाई हेर्ने, बुझ्ने, व्याख्या – विश्लेषण र संश्लेषण गर्ने एवं संसारलाई बदल्ने साधन भएकोले यो मानिसको भित्री आँखा हो । यसले सर्वहारा वर्गलाई विश्वदृष्टिकोण प्रदान गर्दछ । त्यसैले यसको गहन अध्ययन गर्न जरुरी हुन्छ र यो मानव जातिका लागि अत्यावश्यक विषय हो ।
दर्शनशास्त्र एक प्राचीन विज्ञान हो । दास युगको जन्मसँगै अर्थात् दासस्वामी समाजको जन्मसँगै दर्शनको उत्पत्ति भएको हो । मानव समाजमा उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो । दासस्वामी समाजको विकास प्रक्रियाकाबीचबाट प्राचीन युनान, भारत, नेपाल, चीनमा सँगसँगैजसो दर्शन विकसित हुँदै आएको पाइन्छ । बुझ्ने भाषामा दर्शन भनेको संसारलाई हेर्ने, बुझ्ने, व्याख्या – विश्लेषण गर्ने र यसलाई बदल्ने वैज्ञानिक ज्ञान प्रदान गर्ने साधन हो । विश्व ब्रह्माण्ड अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ! प्रकृति र मानिस समाजको विकास कसरी भयो ! प्रकृति मानव समाजलाई कुन शक्तिले चलाइरहेको छ ! साथै प्रकृति र मानव समाजमा कुनै व्यवस्था र नियमसंगति छ ! मानव जीवनका उद्देश्य, आदर्श, ईच्छा, आकांक्षा, कर्तव्य र मूल्य के हुन् ! के मान्छेले प्रकृति र समाजको सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्छ ! के मानिस आफ्नो ज्ञान र व्यवहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ । यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञाशावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
दर्शन संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । अंग्रेजीमा दर्शनलाई फिलसोफी भनिन्छ । दर्शनशास्त्र मानव चेतनाका रुपहरुमध्ये एक हो । त्यसैले वैज्ञानिक साम्यवादका सिद्धान्तकार एवं दार्शनिक कार्ल माक्र्सवादी (१८१८ – १८८३) ले “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिकसार र संस्कृतिको जीवन्त आत्मा हो” भन्नुभएको छ ।
पहिलो – दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने विश्वदृष्टिकोण हो ।
दोस्रो – दर्शन भनेको संस्कृति र मानव समाजका एवं चिन्तनका चालकवा सामान्य नियमहरुको विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ ।
तेस्रो – दर्शन भनेको सिंगो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धति हो । यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।
एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलसोफी शब्दको प्रयोग गरेका थिए । फिलोसु (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो, जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ । फ्रेडरिक एंगेल्स (१८२० – १८९५) ले यस प्रकारको दर्शनलाई ‘विश्वदृष्टिकोण’ भन्नुभएको छ । दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप भएकोले वर्गसमाजमा सामाजिक चेतनाको रुप वर्गीय हुन्छ । ठिक यसै कारण दर्शनको स्वरुप पनि वर्गीय हुन्छ । वर्गसमाजमा हरेक वर्गले आ–आफ्नो विचार, उद्देश्य, मत, संकल्प, भावना एवं क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै आौचित्य पुष्टि गर्ने काम गर्दछ । तसर्थ हरेक दार्शनिक प्रणाली भित्र मूलतः तीन तत्व पर्दछन् ः वर्गीय पक्षधरता, सिद्धान्त र पद्धति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो । यसरी दर्शन के हो ! यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ! दर्शनको विषयवस्तु, अर्थ र महत्व के हो ! दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र यिनका बीचमा कसरी संघर्ष चल्दै आएको छ ! यी प्रश्नहरुको आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नका विषयमा गहन अध्ययन गर्न जरुरी छ ।
यस दार्शनिक आलेखमा विशेषगरी दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा आधारित भएर विषयवस्तु पस्किने प्रयत्न गरिएको छ । यहाँ चर्चा गर्न खोजिएको दर्शनशास्त्रको मौलिक प्रश्नको हो । दर्शनशास्त्रको मौलिक प्रश्न सम्बन्धि विषय ज्यादै महत्वपूर्ण विषय हो । दर्शनशास्त्रको फाँटमा दुईवटा यस्ता प्रश्नहरु खडा छन्, जसको जवाफले मानिसलाई दर्शनका दुईवटा कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ ।
पहिलो प्रश्न ः सत्ता (सत्ता भनेको सम्पूर्ण विश्व जगत) र चिन्चन (मान्छेको चेतना, भावना, विचार, संकल्प, आदर्श, मूल्य, समवेदना आदि) मध्ये कुन प्राथमिक ( पहिलो) हो ! र जसले सत्ता अर्थात् पदार्थलाई प्रधान (पहिलो) हो भन्दछ, त्यो भौतिकवादी हो र जसले चिन्तन अर्थात् चेतनालाई प्रधान (पहिलो) हो भन्ने मान्दछ, त्यो आदर्शवादी हो ।
जब आदिम साम्यवादको अन्त्य भएर दासमालिक युगको उदय भयो, तबदेखि जीवन र जगतलाई बुझ्ने दुई दर्शनशास्त्रीय प्रणालीको पनि उदय भयो । ती दुई दर्शनशास्त्र (दार्शनिक प्रणाली) मा भौतिकवाद र आदर्शवाद मुख्य हुन् । यी दुई दर्शनमध्ये दार्शनिकहरुलाई पनि दुई भिन्न (विपरीत) कित्तामा उभ्याई दिन्छ । जस्तै– पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थ कै विकसित रुप हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु भौतिकवादी कित्तामा उभिन पुग्छन् भने चेतना पहिलो हो र पदार्थ चेतनाको उपज हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु आदर्शवादी कित्तामा उभिन पुग्दछन् ।
त्यस्तै दुईवटा यस्ता प्रश्न छन् जसको जवाफले मानिसलाई दर्शनका दुई कित्तामध्ये एउटा कित्तामा उभ्याई दिन्छ । त्यसमध्ये पहिलो प्रश्न हो सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतनामध्ये कुन प्रमुख हो ! यसको सही उत्तर हो जसले सत्ता अर्थात् पदार्थलाई प्रधान हो भन्दछन्, ती भौतिकवादी कित्तामा खडा हुन्छन् र जसले चिन्तन अर्थात् चेतनालाई पहिलो भन्ने मान्दछन् ती आदर्शवादी कित्तामा खडा हुन्छन् । तसर्थ पदार्थलाई आदि तत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शास्वत छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतनाचाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरुको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु आदर्शवाद (आध्यात्मवाद) सित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले नै पदार्थलाई जन्माएको हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । भौतिकवादी दार्शनिकहरुले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने आदर्शवादी दार्शनिकहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन् ।
दर्शनशास्त्रको मौलिक प्रश्नका बारेमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ, “समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो ।” – माक्र्स, एंगेल्स, संकलित रचनाएं, खण्ड ३, भाग २, पृष्ठ २२३, प्रगति प्रकाशन मास्को १९७८ ।
मूलतः चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको प्रश्न हो । यसरी यहाँ चिन्तन र सत्ता जसता दुईवटा महत्वपूर्ण शब्दहरुको जसरी उल्लेख गरिएको छ । हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी हुन्छ । तसर्थ यहाँ प्रयोग गरिएको चिन्तन पदावली अर्थात् समवेदना, अनुभव, ईच्छा, संकल्प, विचार, अवधारणा, सिद्धान्त, दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरस पर्दछन् । सत्ता भनेको अस्तित्व हो, विश्व हो । यसअन्तर्गत प्रकृति र समाज पर्दछन् । यस अर्थमा सत्ता र चिन्तनको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।
यहाँ दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्वपूर्ण पहलुहरु छन्, जस्तो पहिलो पहलुअन्तर्गत चिन्तन र सत्ताबीच प्राथमिकताक्रम निर्धारण गर्ने कुरा आउँछ । दोस्रो पहलुअन्तर्गत चिन्तन र सत्ताबीचको आपसी अन्तरक्रिया उद्घाटित गर्ने कुरा गर्दछ । ‘आत्मा’ प्रकृतिमा प्राथमिक कुन हो ! के ईश्वरले विश्वको सृष्टि गरेको हो ! या विश्व अनन्तकालदेखि नै अस्तित्वमा छ ! यी प्रश्नहरुको उत्तर दिनेक्रममा दार्शनिकहरुलाई दुई ठूलो विपरीत शिविरमा खडा गरिदियो । जसलाई प्रकृतिको सट्टामा ‘आत्मा’ लाई प्राथमिकता दिए र कुन कुनै विश्वको सृष्टि स्वीकारे, उनीहरूको अलग्गै आदर्शवादी शिविर खडा भयो ।
अर्कोथरी जसले प्रकृतिलाई प्राथमिकता दिए, ती दार्शनिकहरु भौतिकवादका विभिन्न शाखाहरुमा खडा ( सामेल) भए । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको जवाफ दिने सन्दर्भमा दार्शनिकहरु कसरी आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा विभाजित भए भन्ने कुरा प्रष्ट रुपमा जान्न सकिन्छ । साथै यस अतिरिक्त आदर्शवाद र भौतिकवादको बीचमा समन्वय कायम गर्ने, दुबैलाई समानन्तर रुपमा लिने वा तटस्थ रहने तेस्रो धार पनि पाइन्छ । तसर्थ दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो प्रश्नको उल्लेख गर्ने सन्दर्भमा मूलतः ती प्रवृत्ति पाइन्छन् जस्तै ः आदर्शवाद, भौतिकवाद र बीचका धारा । यसरी बीचका धाराअन्तर्गत द्वैतवाद, तटस्थतावाद वा समन्वयवाद रहेका छन् ।
दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो प्रश्नको विवेचना गर्दा यसको उत्तर दिने र चिन्तन र सत्ताको तादाम्यता यस प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र ज्ञेयवादको श्रेणीमा पर्दछन् र नकरात्मक उत्तर दिनेहरू अज्ञेयवादी श्रेणीमा पर्दछन् । तसर्थ चिन्तन र सत्ताको तादाम्यसँग सम्बन्धित प्रश्न विश्व, त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसँग सम्बन्धित प्रश्न हो । यो प्रश्नको जवाफ दिनेमा भौतिकवाद, आदर्शवाद र विभिन्नबीचका धाराहरुका आ–आफ्नै मान्यता रहेका छन्, जस्तै ः अद्वैतवाद, द्वैतवाद, बहुलवाद । तसर्थ दार्शनिक प्रवृत्तिहरुलाई छुट्याउने मूल आधार प्राथमिक तत्वको संख्या न भई दर्शनशास्त्रको मौलिक प्रश्नको विवेचना नै हो । दार्शनिकहरुको विवेचना गर्नुपर्दा प्राचीनकालका भारतीय दार्शनिक चार्वाक, प्रमाणु प्रमुख हो भन्ने ग्रीक दार्शनिक डेमोक्रिट्स, प्रकृति प्रमुख हो भन्ने चिनिया दार्शनिक लाओत्से सबै भौतिकवादी दार्शनिक हुन् । पदार्थलाई प्रधान मान्ने थेल्स, एपिक्युरस, फायरवाख, माक्र्स, एंगेल्स आदि दार्शनिकहरु सबै भौतिकवादी हुन् । परम् विचारलाई प्रधान मान्ने ग्रीक दार्शनिक प्लेटो, निरपेक्ष विचारलाई प्रधान मान्ने जर्मन दार्शनिक हेगेल, इच्छा शक्तिलाई प्रधान मान्ने जर्मन दार्शनिक नित्से आदर्शवादी दार्शनिक हुन् । “ब्रह्म सत्य जगत मिथ्या” भन्ने अद्वैत वेदान्त आदर्शवादी दर्शन पनि रहेको छ । दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थता प्रकट गर्नेमा मूलतः नेपालका दार्शनिक गौतम बुद्ध रहेका छन् ।
अन्त्यमा, विश्व ब्रह्माण्ड ज्ञेय छ, अर्थात् विश्वलाई जान्न सकिन्छ, बुझ्न सकिन्छ, बदल्न सकिन्छ भन्नेहरु भौतिकवादी दार्शनिक हुन् । यसमा संसार ज्ञेय छ भन्ने प्राचीन ग्रीक दार्शनिक अरस्तु भौतिकवादी हुन् । यसको विपरीत जसले यो संसारलाई जान्न सकिँदैन, बुझ्न सकिदैन, बदल्न सकिदैन भन्दछन् ती आदर्शवादी हुन् । स्कटल्याण्डका दार्शनिक ह्युम र जर्मन दार्शनिक काण्ट आदर्शवादी हुन् । तिनीहरूलाई अज्ञेयवादी पनि भनिन्छ । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नकाबारेमा प्रष्ट रुपमा बोध गर्न सकिन्छ । यसर्थ आदर्शवादी दर्शन शोषक फटाह, सामन्त, प्रतिक्रियावादी तथा पुँजीपतिहरुको पक्षधर रहेको छ भने भौतिकवादी दर्शन श्रमजीवि, सर्वहारा वर्गको पक्षधर रहेको छ । माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन श्रमजीवि, सर्वहारा वर्गको पक्षधर दर्शन हो ।