०६३ को शान्ति सम्झौता र राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण

२०८० कार्तिक १३ गते, सोमबार

डा. केशव देवकोटा

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका लागि आज कात्तिक १२ गते काठमाडौँ आइपुग्दै हुनुहुन्छ । नेपालको ०६३ को तत्कालीन नेकपा (माओवादी) र सात दलबीचको शान्ति सम्झौतालाई टुंगोमा पु¥याउन फेरि यहाँ राष्ट्रसंघका प्रतिनिधिलाई आमन्त्रण गर्ने अभिप्रायले सरकारले महासचिव गुटेरेसलाई आमन्त्रण गरेको देखिएको छ । उहाँले नेपाल भ्रमणका क्रममा यहाँका खासगरी संसदमा प्रतिनिधित्व रहेका विभिन्न पार्टीका प्रमुखसँग भेटवार्ता गर्ने र आगामी १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रसंघका महासचिवले विचार गर्नुपर्ने केही प्रसंगहरु रहेका छन् । पहिलो नेपालको ०६३ मा गरेको शान्तिप्रक्रिया हालको अवस्थामा कहाँ र कुन अवस्थामा रहेको छ भन्ने विचार गरिनु पर्दछ । खासमा त्यतिबेलाको शान्ति सम्झौताका हस्ताक्षरकर्ता माओवादी र सात दल दुबैमा गम्भीर प्रकृतिका विभाजनहरु भएका छन् । तत्कालीन सात दलमा रहेका पार्टीहरुमध्ये कतिपय सत्ता र कतिपय प्रतिपक्ष तथा कतिपय संसदबाट बाहिर रहेका छन् । त्यसैगरी तत्कालीन नेकपा (माओवादी) मा पनि बिभाजन भएर केही सत्तामा र केही संसद बाहिर आमूल परिवर्तनकारी आन्दोलनमा रहेका छन् । माओवादीले ०५२ सालमा तत्कालीन सरकार समक्ष प्रस्तुत गरेका ४० सूत्रीय माग हालसम्म पूराभएको छैन । संसारमा कहीं पनि क्रान्तिकारीका मागको सम्बोधन नभईकन शान्ति आएको उदाहरण छैन । त्यसैले राष्ट्रसंघले सत्ता र शक्तिमा रहेकाहरु मात्र होइन, त्यस बाहिर रहेका शक्तिहरुसँग पनि परामर्श गर्नुपर्ने अवस्था छ । यतिबेला नेकांका सभापति शेरबहादुर देउवाले भन्दैमा सात दलका घटकहरुले सहजै मान्ने र माओवादी केन्द्रका अध्यक्ष दाहालले भन्दैमा सबै माओवादी घटकले मान्ने अवस्था छैन । दोश्रो कुरा यसअघि नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन नेपालमा आएको राष्ट्रसंघीय मिसन (अनमिन) चरम विवादमा परेर फर्किएको घटना रहेको छ । आज पनि त्यो विवाद कायमै छ ।

राष्ट्रसंघले नेपालमा फेरि नयाँ मिसन पठाउने हो भने त्यतिबेला अनमिनप्रति असन्तुष्टि ब्यक्त गर्ने पक्षहरुसँग छलफल गर्नुपर्दछ । तेश्रो कुरा तत्कालीन माओवादीका नेता तथा कार्यकर्ता र पीडितहरुको अझै व्यवस्थापन हुन सकेको छैन । त्यसैगरी अन्य पक्षको पनि सही ढंगले व्यवस्थापन हुनसकेको छैन । त्यतिबेलाका पीडित पक्षहरुको भनाई के छ भन्ने कुरामा पनि राष्ट्रसंघ संवेदनशील हुन सक्नुपर्ने अवस्था छ । चौथो कुरा ०६३ पछि नेपालमा लागू गराइएको राजनीतिक व्यवस्था र ०७२ को संविधान दुबै असफल भएका छन् । नेपालमा तत्कालीन अवस्थामा शर्तसहितको संविधानसभाको निर्वाचन गराइएको र सोहीअनुसारको संविधान निर्माण गरिएका कारण कतिपय पक्षहरुले गम्भीर प्रश्न उठाएका छन् । दलहरुका बीचमा सहमति भई ०७२ को संविधानमा संशोधन हुन सकेको खण्डमा मात्र छोटो बाटोबाट यहाँको राजनीतिक समस्याको समाधान हुनसक्छ । तर, संसदवादी दलहरुकै बीचमा सहजै सहमति हुने कुनै संभावना छैन । ०७९ मंसिर चारको निर्वाचनले दिएको जनादेश बिपरित सरकार गठन भएका कारण त्यसलाई सच्याउनुपर्ने अवस्था छ । अर्कातिर नेकपालगायतका कतिपय पार्टीले सो निर्वाचनमा भाग नलिएकाले आमसहमतिका लागि सो निर्वाचनलाई नै अमान्य घोषणा गरेर संसदमा रहेका र नरहेका क्रियाशील पार्टीहरुको सर्बदलीय र सर्बपक्षीय सरकार गठन हुनुपर्ने अवस्था छ । पाँचौँ कुरा यतिबेला सरकारमा ०६३ को बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुबै पक्षका नेता रहेकाले तत्कालीन बिद्रोही पक्षको प्रतिनिधित्व हुन सक्ने अवस्था छैन । नेपाल भ्रमणमा आउनु भएका राष्ट्रसंघका महासचिवले यी समग्र पक्षमा ध्यान दिनुपर्ने अवस्था छ । यदि नेपालको ठोस परिस्थिति र सबै पक्षका भनाईहरुको ठोस बिश्लेषणबिना केही पक्षहरुको आग्रहकै भरमा राष्ट्रसंघले फेरि यहाँ आफ्नो मिसन खटाएको खण्डमा त्यो असफल हुने कुरामा विवाद गर्ने ठाउँ छैन । यसअघि पनि राष्ट्रसंघका महासचिव र प्रतिनिधिहरुले नेपालको भ्रमण गरेर आ–आफ्नो निचोड निकाल्नु भएको थियो । त्यो पनि हालको अवस्थामा मननीय हुन सक्छ । मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी तत्कालीन प्रमुख मिशेल ब्याचलेटले सन् २०२० मै नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताउनु भएको थियो । त्यतिबेलानै उहाँले नेपाल सरकारलाई संक्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिनुभएको थियो । त्यतिबेलानै उहाँले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन नेपालको सरकारले असल नियत लिएर द्वन्द पीडित र नागरिक समाज सम्मिलित बृहत् छलफल अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । तर, हालसम्म पनि त्यस्तो छलफल गरेर सहमति कायम गर्ने÷गराउने प्रयास हुन सकेको छैन । संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, द्वन्द्व पीडितको सरोकार र घरेलु यथार्थका आधारमा सम्बोधन गरिनुपर्ने अवस्था छ ।

कुनै सीमित पक्षले चाहँदैमा मात्र शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्ने अवस्था छैन । बृहत् छलफल नगर्ने र पीडितलाई विश्वासमा लिने काम नभएकाले नै नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको हो । बर्तमान सरकार गठन भएको ११ महिना भैसकेको छ । तर, हालसम्म सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगमा पदधिकारीको व्यवस्था हुन सकेको छैन । हालको सत्तापक्ष र संसदको प्रमुख प्रतिपक्षका बीचमा सहमति कायम हुन नसकेकाले उक्त आयोगहरुले पदाधिकारी पाउन नसकेका हुन् । नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय हस्तक्षेप निम्त्याउनका लागि आयोगहरुले पूर्णता नपाएको आशंकाहरु पनि बढिरहेका छन् । १३ वर्षअघि नेपालले बिदाई गरेको संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले शान्ति प्रक्रियामा पुनः जोडिन चाहेको देखिएको छ । अझ भन्ने हो भने केही पक्षहरुले जोड्न चाहेका छन् । यसअघि ०७५ सालमा अनमिनका पूर्वप्रमुख इयान मार्टिनले मंसिर २८ देखि पुस पाँचसम्म गरेको नेपाल भ्रमणको भित्री कारण पनि उच्चायुक्तको कार्यालय पुनस्र्थापनामै केन्द्रित थियो । उहाँले संक्रमणकालीन न्यायका क्षेत्रमा क्रियाशील केही अधिकारकर्मी, द्वन्द्वपीडित र उच्च राजनीतिक पहुँचका नागरिक अगुवालाई भेटेर नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघीय सहायता लिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले पनि त्यतिबेलै शान्ति प्रक्रिया सहजै टुंगिनेमा गहिरो आशंका व्यक्त गर्नुभएको थियो । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकहरुले पनि यहाँका उच्च सरकारी अधिकारीसँग ओएचसीएचआरको युनिट राख्न बारम्बार लबिङ गर्दै आएको देखिएको छ ।

अमेरिका, बेलायत, नर्वे, जर्मन, फ्रान्स, फिनल्यान्ड, स्वीट्जरल्यान्ड, अष्ट्रेलिया र युरोपियन यूनियनसँगै राष्ट्रसंघले सन् २०१९ मै नेपालको संक्रमणकालीन न्यायिक प्रक्रिया अगाडि बढाउने योजना प्रष्ट्याउन आग्रह गर्दै संयुक्त विज्ञप्ति नै निकालेका थिए । यसरी अन्तर्राष्ट्रिय क्षेत्रले घचघच्याए पनि नेपालको शासन सत्तामा पुगेकाहरुले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सकिरहेका छैनन् । पछिल्लो समयमा विदेशी हस्तक्षेप बढेका कारणले शान्ति प्रक्रिया बिथोलिएको देखिएको छ । खासमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नेपाल आफैँ सक्षम रहेको छ । मुख्य राजनीतिक दलहरुबीच सहमति भएर सोअनुसार काम भएको खण्डमा शान्ति प्रक्रिया टुंग्याउन त्यति कठिन पनि छैन । यस कार्यमा अब फेरि विदेशी शक्तिको प्रबेश भएमा यो आगामी १०–१५ वर्ष लम्बिन सक्ने अवस्था पनि छ । यसअघि आफ्नो क्षेत्राधिकार बाहिर गएको आरोप लागेपछि सरकारले सन् २०११ को डिसेम्बर आठमा ओएचसीएचआरलाई बिदाई गरेको थियो । त्यसैलाई समातेर नेपालको शान्ति प्रक्रियाको बिट मार्ने बेलामा राष्ट्रसंघले आफ्नो प्रत्यक्ष संलग्नता खोजेको हुन सक्छ । विस्तृत शान्ति सम्झौतामा समेत शान्ति प्रक्रियाको अनुगमन राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले गर्ने भन्ने उल्लेख छ । तर, शान्ति प्रक्रिया नटुंगिदै अनमिन र ओएचसीएचआर बर्हिगमन हुनुमा उनीहरुकै कतिपय कमजोरी रहेकाले ती निकायलाई नेपालमा फेरि स्थापना गराउनु विवादलाई निम्त्याउनु मात्र हुन्छ । नेपालको शान्ति प्रक्रियालाई सघाउन सन् २००७ को जनवरी २३ मा स्थापना भएको राष्ट्रसंघीय मिसन (अनमिन) माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला सन् २०११ को जनवरी १५ मा हटेको थियो । त्यसको ११ महिनापछि सन् २०११ को डिसेम्बर आठमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) पनि हटेको थियो । त्यसैले अबका दिनमा पनि उनीहरुको पुनस्र्थापना विवादको विषय हुने निश्चित छ । आज नेपाल भ्रमणका आउनु हुने राष्ट्रसंघका महासचिवले नेपालको शान्ति प्रक्रिया नेपालकै दलहरुलाई आपसमा मिलेर टुंग्याउन सुझाव र सल्लाह दिनु उपयुक्त हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]