सी संस्कार : संस्कृति र चाडपर्व

२०८० कार्तिक २५ गते, शनिबार
रामलाल सी

१. संस्कृतिको निर्माण
कुनै विशेष संस्कृति कुनै समाज विशेषको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो । कार्ल मार्क्सले भने झैं पुँजी र सम्पत्ति जहाँ केन्द्रित हुन्छ, राजनीतिको पनि त्यहीं केन्द्रीकरण हुने भएकाले स्वभाविक रुपमा त्यसले संस्कृतिमा पनि प्रभाव पार्छ । कुनैपनि सामाजिक परम्परा, चाडपर्व र संस्कार-संस्कृति समाज विकासका निश्चित चरणमा तत्कालीन समाजको विकास र आवश्यकताका कारण अस्तित्वमा आएका हुन् । संस्कृति परिवर्तनशील विषय भएकाले समाज विकासको चरण अर्को स्तरमा पुग्दा तिनीहरू परिवर्तन हुन्छन् वा लोप हुन थाल्छन् । त्यसपछि समाज विकासको आवश्यकताअनुसार नयाँ चाडपर्व र संस्कृति अस्तित्वमा आउँछन् । नेपाली समाजका कैयौं चाडपर्वहरू समयानुकूल लोप हुँदै गएका छन् । कतिपय चाडपर्वले मौलिकता गुमाउँदै गएका छन् जसमा बजार स्वार्थ र पुँजीवादी मनोविज्ञान मात्र थपिएको देखिन्छ । बसाई सराइ, विविध जाति, धर्म र सम्प्रदायको अन्तर्घुलनले पनि संस्कृति र चाडपर्वलाइ प्रभाव पार्छ । संस्कृति समयानुकूल फेरबदल हुँदै जान्छ र यसलाई आन्दोलन वा क्रान्तिको माध्यमबाट पनि फेरबदल गर्ने गरिन्छ । अहिले नेपालमा भूमण्डलीकृत पुँजीवादका कारण व्यापारिक स्वार्थ र भूमण्डलीकृत संस्कृतिको प्रभावस्वरूप विदेशी चाडपर्वको प्रभाव पनि पर्न थालेको छ । नयाँ संस्कृति निर्माणको कुरा गर्दा यसको मौलिकता र व्यापकता लाई बिर्सनु हुँदैन । नयाँ संस्कृतिको अर्थ आजको विद्दमान संस्कृति भन्दा एककदम राम्रो वा प्रगतिशील संस्कृति भन्ने बुझ्नुपर्दछ । यसको अर्थ उत्पीडित वर्ग, जाति र समुदायको नेतृत्वमा बिशाल जनसमूहको सामन्तवाद र साम्राज्यवाद विरोधी संस्कृति हो । वर्तमान नेपाली जनक्रान्ति बिश्व समाजवादी क्रान्तिको एउटा अङ्ग भएको हुनाले वैज्ञानिक समाजवादमा निर्माण हुने संस्कृति बिश्व समाजवादी संस्कृतिको अङ्ग र सहयोगी हुन्छ र हुनुपर्छ । यो संस्कृति विषयवस्तुमा प्रगतिशिल र शैलीमा रास्ट्रिय हुनुपर्दछ ।
यसले नेपाली मौलिकता लाइपनि आत्मसात गर्न सक्नुपर्दछ । मौलिकताको बहस गर्दा त्यसले युगको आवश्यकतालाई पनि त्यत्तिकै सम्बोधन गर्न सक्नुपर्छ । तर नयाँपन र आधुनिकताको अर्थ बजारको स्वार्थ र पुँजीवादी विकृति-विसंगति एवं दासता भने हुनुहुन्न । यसलाई नेपाली विशेषता वा नेपाली मौलिकताको संस्कृति पनि भन्न सकिन्छ ।

२. मानव जाति र संस्कृति

क) के हो संस्कृति ?
मानव जातिले उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग गर्ने क्रममा प्राप्त आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरि निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरु भौतिक र अभौतिक(वैचारिक) गरि दुई किसिमका हुन्छन् । दुबै किसिमका सिर्जनाहरुलाइ संस्कृतिका रुपमा सम्बोधन गर्ने गरिन्छ । विभिन्न शब्द कोशमा कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन, चाडपर्व, संस्कार, विभिन्न रीतिरिवाज, मूल्य मान्यता, परम्पराको एकमुष्ट नाम वा स्वरुपलाई संस्कृति भनेको पाइन्छ । यस्तै कुनैपनी राष्ट्र वा जाति दुबैको परम्परागत कला-कौशल, बौद्धिक विकास, आचार-विचार आदिको परिस्कृत रूप संस्कृति हो पनि भनिन्छ । संस्कृति भित्र बोली वा भाषा, उत्पादन पद्धति, निर्माण पद्धति, संरक्षण पद्धति आदि अन्तरनिहीत रहन्छन् । संस्कृति मानव बुद्धि र अभ्यासको प्रतिफल हो । संस्कृतिमा शारीरिक श्रम र बौद्धिक श्रम दुबैको लगानी अपरिहार्य रहन्छ । संस्कृति मानव समाजको सामूहिक अनुभवको संगालो हो ।
ख) नेपाली समाज र संस्कृति
नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र १०३ भन्दा बढी जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आआफ्नै विशिष्ट संस्कृति छन् । तिनमा आआफ्नै खालका चाडपर्वहरू पनि अस्तित्वमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडपर्वका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ । तर नेपालका सन्दर्भमा अर्काे बिर्सनै नसकिने तथ्य के पनि छ भने नेपालको प्रतिक्रियावादी शासकवर्ग शताब्दियौं अघिदेखि हिन्दू धर्मावलम्बी रहेको छ र त्यसले आफ्नो धर्म र संस्कृतिलाई अन्य सबैमाथि लाद्ने र आफ्नै संस्कृतिलाई नेपालको संस्कृतिका रूपमा चिनाउँदै आएको छ । मल्लकालदेखि जातिप्रथालाई विशेष रूपले स्थापित गर्ने प्रयास भए तापनि ‘असिल हिन्दूस्तान’ बनाउने उद्देश्यसहित गरिएको पृथ्वीनारायण शाहको पालादेखि एकल शासक वर्गीय संस्कृतिलाई सबै जात-जाति र समुदायमा विस्तार गर्ने अभियानको परिणामस्वरूप शासक वर्गको संस्कृति अन्य भाषाभाषी, जाति र समुदायमा विस्तारित भएको छ र त्यसको प्रभुत्व अहिले सबैतिर देखिन्छ । चाडपर्वका हकमा पनि यही कुरो लागू हुन्छ ।

ग) चाडपर्व र धर्म-संस्कार
आजको वैज्ञानिक युगमा ईश्वर छ, धर्म शास्त्रमा व्याख्या गरिएका देवीदेवता यथार्थ हुन्, तिनै ईश्वरले हामीलाई जन्माएको हो भन्नु गलत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय शिक्षित जमात यसैको पक्षधर छन् किनभने यसो गर्दा पुरानो सत्तालाई बचाउन सकिन्छ र आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न सकिन्छ ।
परम्परागत चाडपर्वले धार्मिक अन्धविश्वास, भाग्यवाद, अवतारवाद, स्वर्ग–नरकजस्ता शोषणकारी सोचलाई नै बढाउने र तिनलाई दरिलो पार्ने काम गर्दछन् । यो शोषणलाई स्थायित्व दिने चिन्तनको परिणाम हो । नेपालमा प्रचलनमा रहेका अधिकांश चाडपर्व धर्मसित गाँसिएका छन् । तिनका बारेमा प्रचलनमा रहेका धार्मिक, पौराणिक कथाहरू र व्यवहार आदिले नै तिनको प्रकृतिका बारेमा पर्याप्त जानकारी गराउँछन् । कतिपय चाडपर्वले जातीय र लैङिगक अभिमान र विभेदमाथि जोड दिने गर्दछन् । अधिकांश पर्वहरू धार्मिक, तान्त्रिक र पौराणिक आधारका छन् । पछिल्लो कालमा आएर सत्ताधारी वर्गले मानिसलाई धार्मिक अन्धविश्वास, तान्त्रिक अन्धविश्वासको भ्रममा पारेर शोषण गर्ने र आफ्नो स्वार्थसिद्धि गर्ने गर्दै आए । नेपालमा विविध प्रकृतिका चाडपर्वहरू चलनचल्तीमा छन् । फागु, माघे सङ्क्रान्ति, नववर्ष जस्ता चाडहरू मौसम परिवर्तनसित सम्बन्धित छन् भने बुद्धजयन्ती, शिवरात्री, कृष्णजन्माष्टमी, रामनवमी जस्ता चाडहरू धार्मिक व्यक्तित्व वा कथित ईश्वरीय शक्तिसित सम्बन्धित छन् । दशैं, तिहार जस्ता कतिपय चाडपर्वहरू पौराणिक आख्यानसित गांसिएका छन् । जनैपूर्णिमा र तीजजस्ता चाड लैङि्गक विभेदमा आधारित छन् । कतिपय चाडपर्वहरु कृषिसित अन्तर्सम्बन्धित छन् । यी सबै चाडपर्वले मनोरञ्जन दिने, जनसमुदायको विश्रामको आवश्यकतालाई परिपूर्ति गर्ने र सामाजिक सम्बन्धलाई दरिलो बनाउने काम पनि गर्दछन् । यसका अतिरिक्त ती चाडपर्वले एउटा निश्चित वर्गको विचार र सन्देश समेत सम्प्रेषित गर्दछन् र ती विचारले मुख्यतः प्रतिक्रियावादी शासक वर्गको हितलाई सुरक्षा, संरक्षण र सम्बर्द्धन गर्ने र शासक वर्गको स्वार्थलाई दरिलो बनाउने कार्य गर्दछन् । यहाँ हाम्रो सरोकारको मुख्य विषय यही हो र हामीले त्यसलाई रूपान्तरण गरेर आम जनसमुदायको हितसित गाँस्ने प्रयास गर्नु उचित हुन्छ । पुरानो संस्कृतिको ध्वंस र नयाँ संस्कृतिको निर्माण गर्न चाहने र शासक वर्गको होइन आफ्नै वर्ग, आम उत्पीडित जनसमुदाय र श्रमिक वर्गको संस्कृति निर्माण गर्न चाहने प्रगतिशील समुदायले पुरानो संस्कृति र चाडपर्वबाट मुक्त हुने प्रयास अपरिहार्य रूपले गर्नैपर्दछ । यो अहिलेको साँस्कृतिक क्रान्तिको अहम् सवाल पनि हो ।

३. साँस्कृतिक रुपान्तरणको प्रश्न

क) साँस्कृतिक रुपान्तरणको उद्देश्य

समाजमा विद्दमान प्रत्येक कुरा जस्तै संस्कृति पनि वर्गीय हुन्छ । त्यसैले परम्परागत सामन्ती संस्कार र प्रवृत्तिका विरुद्ध नजुधी तिनका ठाउँमा नयाँ संस्कार र संस्कृतिहरू निर्माण एवं स्थापित नगरी वा पुरानालाई रूपान्तरण नगरी र कतिलाई नहटाई नयाँ प्रगतिशील संस्कृतिको निर्माण हुन सक्तैन । सांस्कृतिक रूपान्तरण सहज कार्य होइन यो एकदमै जटिल र दीर्घकालीन प्रकृतिको समेत हुन्छ र यसलाई निरन्तर जारी राख्नु पर्ने हुन्छ । शताब्दीयौं अघिदेखि संस्कारका रूपमा व्यक्तिभित्र हस्तान्तरित हुँदै आएका परम्परा, रीतिरिवाज, आस्था र बिश्वासहरूलाई भत्काउन र नयाँ संस्कृतिलाई संस्कारकै रूपमा लागु गर्नु अति कष्टकर कार्य हो । भौतिक वस्तुहरूलाई झैं संस्कृतिलाई तत्काल भत्काउन सकिन्न । यसका लागि निरन्तरको सचेतन प्रयास र निरन्तरको क्रान्तिको आवश्यकता हुन्छ । सांस्कृतिक रूपान्तरणको अर्थ क्रान्तिमा भएका कमी, कमजोरी र विचलनहरूसित सङ्घर्ष गर्नु र तिनलाई सच्याउनु, पुरानो संस्कृतिलाई नवीन रूप दिनु र नयाँ संस्कृतिको निर्माण गर्नु भन्ने बुझिन्छ । यी तिनवटै काम गर्नका लागि प्रतिक्रियावादी शासकवर्गीय विचारधाराको विरोध र श्रमिक जनता एवं क्रान्तिकारी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक हुन्छ । नेपालमा शासकवर्गीय विचारधाराका रूपमा सामन्तवादी तथा साम्राज्यवादी विचारधारा प्रभुत्वशाली रहँदै आएको छ भने त्यसको विरोधमा कम्युनिस्ट विचारधारा क्रियाशील हुँदै आएको छ । कम्युनिस्ट विचारधारालाई आम उत्पीडित श्रमिक वर्गको विचारधारा पनि भन्न सकिन्छ । वर्तमान नेपालमा शासकवर्गीय विचारधाराले प्रतिगमनको पक्षमा र यथास्थितिवादलाई बचाउने कार्य गरिरहेको छ भने मार्क्सवादी विचारधाराले सबै उत्पीडित जनवर्गसहित सिङ्गो मानवजातिको मुक्ति र क्रान्तिको पक्षमा काम गर्दै आएको छ । यही कारणले नेपाली जनताको मुक्ति र क्रान्तिका लागि, संस्कृतिको क्षेत्रमा सांस्कृतिक रूपान्तरणका लागि दर्शन, राजनीति, नैतिकता, कानुन, साहित्य–कला लगायतका संस्कृतिका सबै क्षेत्रमा शासक वर्गीय वा प्रतिध्रुवीय विचारधाराको विरोध र मार्क्सवादी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक छ । यही क्रममा नै उत्पीडन, दमन, रूढिवाद, अन्धविश्वास आदिमा आधारित जनविरोधी, रास्ट्रघाती र अवैज्ञानिक विचार, मूल्यमान्यता र संस्कार, बानीबेहोरा, रूचि आदि विषयहरूमा परिवर्तन ल्याउन आवश्यक हुन्छ । समाज विकास हुँदै गएपछि नयाँ विचार र मान्यता पनि विकास हुन्छ । विकासको प्रक्रियामा नयाँ विचार आउने हुन् । नयाँ विचार र बिश्व दृष्टिकोणले सम्पन्न भएको नयाँ पिँढीसँगै नयाँ संस्कार र संस्कृति जन्मन्छ । अनि समाज सांस्कृतिक क्रान्तिको दिशातिर उन्मुख हुुन्छ । सांस्कृतिक क्रान्ति गर्ने भनेको जनतालाई बुझाउने र रूपान्तरण गर्ने प्रक्रिया हो । पुराना विचार, आनीबानी, व्यहोरा, रीतिरिवाज, यी सबैलाई छाडेर एउटा आमूल परिवर्तन गर्नु नै सांस्कृतिक क्रान्ति हो ।

ख) अन्तर्राष्ट्रिय साँस्कृतिक क्रान्तिको अनुभव

नेपाली जनतामाथिको सामन्त, दलाल पुँजीपति र साम्राज्यवादीहरुको शोषण–उत्पीडन अहिले पनि यथावत् छ, व्यवहारमा अझैपनि सामन्ती सामाजिक सम्बन्ध र स्वामित्वको अन्त भएको छैन । बरु यो नव-सामन्त र दलाल चिन्तन प्रवृत्तिमा परिवर्तन भएको छ । वर्गीय, जातीय, लैँगिक, वर्णगत र क्षेत्रीय उत्पीडन अहिले पनि उस्तै नै छ । सारमा नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थामा आधारभूत परिवर्तन आएको छैन । साँस्कृतिक रुपान्तरणको क्षेत्रमा कुनै ठाेस नीति सहितको पहल नगरिनुको कारणले यसो हुन गएको हो । यसका लागी संस्कृतिको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवहरुबाट शिक्षा लिएर अघि बढ्न जरुरी छ । सर्वहारा सांस्कृतिक क्रान्तिका पाठहरू भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरूको सार र संश्लेषण हो । समाजवादी क्रान्तिकालको वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको ऐतिहासिक अनुभव भएको कारणले यसलाई समाजवादी कालमा मात्र क्रियान्वयन गर्ने हो भन्ने किसिमको गलत चिन्तनबाट माथि उठ्नु पर्दछ ।
सांस्कृतिक रूपान्तरणको समस्या भनेको आजको सन्दर्भमा प्रतिक्रियावादी शासक वर्गका विचार, भावना र संस्कृतिको उत्पीडित श्रमिक वर्गका विचार, भावना र संस्कृतिमा रूपान्तरणको समस्या हो । सांस्कृतिक रूपान्तरणको अभियान सारमा समग्र समाजको भौतिक र विचारधारात्मक मूल्यहरूको रूपान्तरण गर्ने अभियान हो । हामीले यस अभियानलाई सही ढंगले अघि बढाउन अहिलेदेखि नै एकातिर प्रतिक्रियावादी तथा संशोधनवादी चिन्तनमाथि सशक्त रूपले आक्रमण र प्रहार गर्न र अर्काेतिर आफैंमा विद्यमान तमाम वैचारिक तथा सांस्कृतिक पछौटेपन र विकृति विरुद्ध सङ्घर्ष चलाउनुपर्ने हुन्छ । सांस्कृतिक क्रान्ति वैज्ञानिक समाजवाद तथा साम्यवाद निर्माणको प्रक्रियामा समाजको विचारधारात्मक जीवनमा मूलभूत परिवर्तनको एक मात्र माध्यम हो । समाजवादी क्रान्तिले मात्र सांस्कृतिक क्रान्तिका निम्ति सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ । सांस्कृतिक क्रान्ति समाजवादी क्रान्तिको प्रक्रियामा नै राजनीतिक तथा आर्थिक रूपान्तरणहरूको आधारमा, श्रमिक जनताले सत्तामा नियन्त्रण कायम गरेपछि र सम्पूर्ण भौतिक तथा विचारधारात्मक मूल्यहरू जनताका हातमा स्थानान्तरण भएपछि मात्र सम्पन्न गर्न सम्भव हुन्छ । सन् १९२३ तिर सोभियत सङ्घको व्यावहारिक अनुभवका क्रममा नै सांस्कृतिक क्रान्ति भन्ने पदावली प्रयोगमा आइसकेको थियो । पुरानो समाजको विचार, संस्कार, आनीबानी र संस्कृतिलाई वर्गसङ्घर्षका क्रममा परित्याग गर्न प्रयत्न गर्ने, सही अर्थमा समृद्ध विचार र संस्कृतिको निर्माण गर्ने र व्यक्तिको चौतर्फी विकासका लागि सम्भावनाहरू जुटाउने यसको उद्देश्य थियो । यस्तै सन् १९६६ देखि शुरु भएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति पनि यसै उद्देश्यद्वारा अभिप्रेरित थियो । तत्कालका निम्ति यसको सारतत्व संस्कृतिका सबै उपलब्धिहरूमाथिको बुर्जुवा पुँजीपति वर्गको एकाधिकारलाई उन्मूलन गर्नु, विचारधारात्मक मूल्यका सम्पूर्ण विषयहरूलाई आम जनताको पहुँचभित्र ल्याउनु, समाजवादी बुद्धिजीवी समुदायको सृजना गर्नु र श्रमप्रति नयाँ दृष्टिकोण विकास गर्नु थियो । निश्चय नै चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति पुँजीवादको पुनर्स्थापना रोक्ने कार्य र संशोधनवाद एवं अवसरवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति थियो । यो पार्टी, सेना, सरकार, शिक्षा र संस्कृतिका फाँटमा घुसेका र लुकेर बसेका वा प्रच्छन्न वर्ग शत्रुहरू, पुँजीवादपन्थीहरूका विरुद्ध परिचालित थियो । बम्बार्ड दि बुर्जुवा हेडक्वार्टर भनेर राजनीतिको केन्द्रमा आक्रमण गर्ने निर्देशनका साथ थालिएको भए तापनि विचार, संस्कृति, परम्परा वा रीति र बानीबेहोरा जस्ता चार पक्षमा नै यो आधारित थियो । सम्पूर्ण पुराना विचारका विरुद्ध, गलत तत्त्व र प्रवृत्तिका विरुद्ध सांस्कृतिक क्रान्ति गर्दै गएपछि वैज्ञानिक समाजवादलाई स्थापित गर्दै साम्यवादमा पुगिन्छ भनेर सांस्कृतिक क्रान्ति सुरु गरिएको थियो । सांस्कृतिक क्रान्ति भनेको आमूल परिवर्तन गर्ने कुरा थियो र हो ।

ग) साँस्कृतिक रुपान्तरणको विधि र प्रक्रिया

सांस्कृतिक रूपान्तरणको प्रक्रियामा पुराना सबै परम्परा र संस्कार-संस्कृतिको पूर्ण ध्वंस गरेर मात्र नयाँ विकल्प दिनुपर्छ भन्ने ठान्नु नितान्त अव्यवहारिक र गलत छ । यिनीहरू मध्य केही रूपान्तरित हुन्छन्, केहीलाई परित्याग गर्नुपर्ने हुन्छ र कति नयाँ थपिंदै वा निर्माण हुँदै जान्छन् । धर्म, आध्यात्मिकता र पारलौकिकतासित नगाँसिएका र प्रतिक्रियावादी शासकवर्गको हितलाई प्रबर्द्धन नगर्ने चाडपर्वहरूलाई हामीले त्यसमा भएका सामाजिक कुरीति र अन्धबिश्वासलाई हटाएर मात्र पनि मनाउन सक्तछौं । तर धर्म, आध्यात्मिकता र पारलौकितासित सम्बद्ध चाडपर्वहरूलाई भने हामीले यति सहज रूपमा मान्न सक्तैनौं । प्रथमतः, तिनमा रहेका धार्मिक रूपलाई अलग्ग्याएर मात्र अर्थात् नवीकरण गरेर मात्र हामी तिनमा संलग्न हुन सक्तछौं । दोस्रो कुरो दशैं जस्ता चाडपर्वलाई एकदमै सरल बनाइनु पर्दछ, यसलाई त्यति धेरै दिन मनाइनुको कुनै औचित्य छैन, त्यस्ता चाडपर्वहरूलाई मनाउने समयावधि छोट्याइनु पर्दछ । जटिल विधिविधानलाई सरल बनाइनु पर्दछ । तेस्रो कुरो तिनलाई कम खर्चमा सम्पन्न हुने गरी मनाइनु पर्दछ । चौथो कुरो सकेसम्म जननीतिलाई ख्याल गरेर चाडपर्वहरूलाई रूपान्तरित गर्ने प्रयास गर्नु पर्दछ । तत्कालको स्थितिमा हामीले यति मात्रै काम गर्न सकिएमा चाडपर्वलाई प्रगतिशीलकरण गरेको हुनेछ । आम जनतामा भने लचिलो नीति अवलम्बन गरिनुपर्दछ । यस नीतिलाई आम जनताका बीच प्रचारात्मक रूपमा लगिनु पर्दछ र तिनलाई पनि यही दिशामा अघि बढ्न प्रशिक्षित गरिनु पर्दछ । जनवादी पद्धति, छलफल, आलोचना, प्रोत्साहन र शिक्षाको पद्धति जस्ता उपायबाट उनीहरूलाई धर्म, धार्मिक आस्था, धर्ममा आधारित चाडपर्व र अन्धबिश्वासबाट मुक्त पार्ने प्रयास हामीले गर्नुपर्ने हुन्छ । जनतालाई करकाप गरेर, प्रशासनिक आदेश दिएर वा डरधम्की देखाएर पुरानो संस्कार-संस्कृति परित्याग गर्न र नयाँ संस्कार-संस्कृति अवलम्बन गर्न बाध्य पार्नु ठीक होइन । चाडपर्वका सन्दर्भमा हामीले केही पुरानालाई नवीनीकरण गर्ने, केहीलाई परित्याग गर्ने मात्र होइन, नयाँ चाडपर्वको निर्माण समेत गर्नुपर्ने हुन्छ । मानिसको जन्म, विवाह र मृयु लगायतका संस्कारहरुको हकमा पनि यही नीति लागू गर्नुपर्दछ ।

४. सी संस्कार:संस्कृति र चाडपर्व

क) के हो सी संस्कृति ?

मार्क्सवादले सबैखाले शोषण र विभेदको अन्त्यका लागि वर्गविहीन, जातिविहीन र अन्ततः राज्यविहीन समाजको परिकल्पना गरेको छ । संसारमा अहिले विद्यमान जातिको स्थानमा अन्तराष्ट्रिय नयाँ मानव जाति निर्माणको अवधारणा अघि सारेको छ । सामूहिकतामा निरन्तर गतिशील र रुपान्तरण भइरहनु नै कुनै पनि वस्तु, समाज र विज्ञानको नियम हो । सबै जाति पुरानो पहिचान र अस्तित्वबाट माथि उठेर नयाँ अन्तर्राष्ट्रिय मानव जातिमा विकास वा परिवर्तन हुनुपर्दछ । र त्यसको साझा आधार श्रम र सामूहिकता हुन सक्छ । श्रम गर्ने र सामूहिकताको जीवन बाँच्ने मानवहरुको नयाँ मानव जाति ।
कम्युनिष्टहरुले रणनीतिक रुपमा राज्यको विलोपीकरणको कुरा गरे पनि कार्यनीतिक रुपमा कम्युनिष्ट राज्यसत्ता निर्माणको कुरा गरे जस्तै रणनीतिक रुपमा सबैखाले जाति उन्मूलनको कुरा गर्दा कार्यनीतिक रुपमा नयाँ कम्युनिष्ट मानव जाति निर्माण गर्ने वस्तुवादी, वैज्ञानिक र अपरिहार्य हुन आउँछ । लेनिन र रोजा लक्जेम्बर्ग बीचको बहस पनि विषयलाई रणनीति र कार्यनीतिमा कुरा बुझ्नेमा थियो ।
संसारमा मानव जातिलाई विभाजित र विखण्डित गर्ने मूल आधार अर्थसम्बन्ध र त्यसबाट सृजित वर्ग विभाजन हो जसलाई वर्गीय राज्यसत्ताले संरक्षण गरिराखेको हुन्छ । तर मानव समाजलाई वर्गले मात्र होईन सामन्तवादी जात प्रथाले पनि विभाजित गरेको छ ।
जात-जाति बिचको अन्तरविरोधमा मूलतः वर्गीय राज्यसत्ता र आर्थिक स्वामित्वको प्रभाव रहेको छ तर हजारौं वर्ष देखि चलिआएको जात व्यवस्था र सामाजिक परम्पराका कारणले मानव जातिलाई साँस्कृतिक एवं मनोवैज्ञानिक रुपमा पनि विभाजित गरेको छ । जात व्यवस्था सामन्तवादको उपज हो भने यो पुँजीवादको संरक्षणमा टिकिराखेको छ । जात व्यवस्थाको सम्बन्ध निश्चय पनि सामन्ती एवं पुँजीवादी सत्ता र राजनैतिक व्यवस्था सँग छ तर जात प्रथाले समाजलाई यसरी गाँजिसकेको छ कि केवल सत्ता र व्यवस्थाको परिवर्तन गरेर या कानूनमा समानता लेखेर मात्र हजारौं वर्षदेखिका विभेद र विभाजन समाधान हुँदैनन् ।
पुराना जात-जातिहरु, परम्परा, चाडपर्व, संस्कार र संस्कृति विचको अन्तरविरोध नयाँ जातिको आधार सृजना गर्न आवश्यक छ । एकिकृत जनकान्ति मार्फत दलाल पुँजीवादको अन्त्य गर्दै समाजवादी सांस्कृतिक कान्ति मार्फत वैज्ञानिक समाजवादको स्थापनासँगै पुरानो जातिलाई रुपान्तरण र विकास गरि वैज्ञानिक समाजवादी जातिको स्थापना उपयुक्त र अपरिहार्य देखिन्छ । सोही अनुसार पुराना चाडपर्व, संस्कार, संस्कृति र समग्रमा मानव सभ्यता नै रुपान्तरण र विकास गरि नयाँ बनाउन जरुरी छ । कम्युनिस्टहरुले नै विभेदको अन्त्य र समानताको विचार सबैभन्दा वैज्ञानिक तरिकाले बोक्ने भएकाले कम्युष्टि (communist) को पहिलो अक्षर ‘सी'(c) अर्थात साम्यवादी बाट सी(C) जाति को अवधारणा अघि सारिएको छ । यसलाई हामी साम्य जाति र त्यसको संस्कृतिको रुपमा बुझ्न सक्छौं । मानवशास्त्रीय, समाजशास्त्रीय र दार्शनिक कोणबाट हेर्दा वर्तमान विकसित अवस्थामा यो निश्कर्ष निकाल्न सकिन्छ कि सी जाति निर्माण गर्नु नै अहिले वस्तुवादी, वैज्ञानिक र उपयुक्त छ ।

ख) सी संस्कृतिको क्षेत्र
सी जातिको अवधारणा दास युग, सामन्ती युग, पुँजीवादी युग, हजारौं वर्ष देखिको जात व्यवस्था र जात विभाजनको क्रमभङ्ग हो । पुराना जातहरुलाई रुपान्तरण गरि नयाँ जातिको विकास गर्नु हो । माओको दार्शनिक भाषामा भन्दा पुराना जातिहरुको नयाँ जातिमा संश्लेषण हो । यो आफैमा युगान्तकारी कदम र नयाँ मानव सभ्यताको आरम्भ पनि हो। सी जातिको विकासले स्वभावतः नयाँ समाजको रचना गर्नेछ । यसले सी जातिको दृष्टिकोण, अर्थसम्बन्ध, सभ्यता, संस्कार र संस्कृति सृजना गर्नेछ ।
ती सारभूत रुपमा साम्यवादकै विशेषता हुनेछन् । यद्यपि यसले विषयहरुलाई यति सुसंगठित, सृजनात्मक र रचनात्मक बनाउने छ र मानव जातिले नयाँ आधारमा नयाँ एकता एवं समानता प्राप्त गर्नेछ ।
सी जातिको बिश्व साम्यवादी समाजव्यवस्था हुनेछ, त्यसको पहिलो चरणमा संक्रमणकालीन राज्यव्यवस्था को रुपमा वैज्ञानिक समाजवादी व्यवस्था रहने छ । यस जातिको आफनै “वैज्ञानिक समाजवादी अर्थप्रणाली” हुनेछ जो श्रम र सामुहिकतामा आधारित राष्ट्रिय आर्त्मनिभरतामा आधारित हुनेछ ।
यस जातिका आफ्नै सभ्यता, संस्कार, संस्कृति र चाड-पर्वहरु रहनेछन् । समाजवादी संस्कृति सुस्पष्ट, ठोस, सरल र व्यवहारिक हुन्छ र हुनुपर्दछ । वैज्ञानिक जीवन पद्दति, अध्ययन एवं श्रमकार्य, निजी, पारिवारिक एवं सामाजिक कामहरु, राजनैतिक एवं संगठनात्मक कार्यहरु सबै समाजवादी संस्कृति भित्र पर्दछन् । विचारलाई भौतिकवादी एवं वैज्ञानिक बनाउनु, जीवनलाई अध्ययन र श्रममा जोड्नु, राजनैतिक कार्यलाई उत्पादन कार्यमा जोड्नु, निजी जीवनलाई सामाजिक जीवनसँग जोड्नु, पुरानो जातिलाई नयाँ सी जातिमा रुपान्तरण गर्न र पुराना संस्कृतिलाई नयाँ जनसंस्कृतिमा बदल्नु सांस्कृतिक कार्यका क्षेत्र हुन् ।

ग) सी संस्कार र चाडपर्वहरु

सी जाति अन्तरगत जन्म, विवाह, मृत्यु संस्कार-संस्कृति र चाड-पर्वहरु बारे केही प्रारम्भिक अवधारणा निम्नानुसार अघि सारिएको छ ।
(क) सी जातिले शिशु जन्मिदा खुशियालीमा बधाई दिने कार्यक्रम गर्ने, छ महिनामा सुस्वास्थ्य र शुभकामना प्रदान कार्यक्रम गर्नुपर्दछ
(ख) सी जातिमा विवाह गर्दा परिवार, इष्ट-मित्र र पार्टी पँक्ति भेला हुने, वर-वधुले एक-अर्कालाई माला लगाई दिने, जीवनभर सुख-दुखमा एक-अर्कालाई साथ दिने प्रतिबद्धता व्यक्त गर्ने, कुनै बिरुवा रोप्ने, उपस्थित सबैले वर-वधुलाई अविरावरण सहित शुभकामना दिने र खुशियाली मनाउने ।
(ग) सी जातिका आफन्तको मृत्यु हुँदा पहिलो दिन शोक सभा आयोजना गर्ने, दोश्रो दिन वृक्षरोपण(फूल, फल, जडीबुटी रोपाई) गर्ने, तेश्रो दिन सहयोग वितरण कार्यक्रम गर्ने, चौथो दिन अक्षयकोष खडा गर्ने र पाँचौं दिन श्रद्धान्जली कार्यक्रम गर्ने गर्नुपर्दछ । सी जातिका सबै मृतक आफन्तहरुको सम्झनामा असोज २५ गते देशभरी नै विभिन्न रचनात्मक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गर्नु पर्दछ ।
(घ) सी जातिले पर्वको रुपम फागुन १ गते जनयुद्ध दिवस(फागुन १४-२१ शहिद सप्ताह), फागुन २४ गते(८ मार्च) अन्तराष्टिय श्रमिक महिला दिवस, बैशाख १८ गते मे दिवस, जेठ १ गते विद्यार्थी दिवस, जेठ ७ गते वेपत्ता योद्धा स्मृति दिवस विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउनु पर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]