अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र स्टालिन
विश्व सर्वहारावर्गका महान् नेतामध्ये एक कमरेड स्टालिनलाई गत साता अर्थात डिसेम्बर १८ (पुस २ गते) विश्वभरका कम्युनिष्ट पार्टीहरुले फेरि एक पटक संझना गरे । विभिन्न कार्यक्रमहरुको आयोजना गरेर स्टालिनको १४५ औँ जन्म दिवस मनाइयो । स्टालिन सन् १८७८ को डिसेम्बर १८ मा जन्मनु भएको थियो । उहाँको निधन सन् १९५३ मा ७५ वर्षको उमेरमा भएको थियो । उहाँ सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीको सदस्य, १९२० बाट राजकीय नियन्त्रणसम्बन्धी जनकमिसार, सन् १९२२ देखि १९५२ सम्म पार्टीको केन्द्रीय महासचिव हुनुभएको थियो । महासचिव पदमा रहेर स्टालिनले सोभियत संघमा समाजवादको निर्माणको लागि ठूलो संघर्ष र योगदान गर्नुभएको थियो । खासगरी कम्युनिष्ट पार्टीविरोधी विचारहरु मुख्यत दक्षिणपन्थी अवसरवादका विरुद्ध उहाँले सञ्चालन गरेको विचारधारात्मक संघर्ष आज पनि त्यतिकै महत्वपूर्ण रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो समयमा दक्षिणपन्थी अवसरवादले टाउको उठाएको अवस्था छ । त्यसैले पनि स्टालिनका ति योगदानहरु स्मरणीय रहेका छन् । यतिबेला नेपालमा पनि कम्युनिष्ट पार्टीभित्र पन्पिएका दक्षिणपन्थी अवसरवादका विरुद्ध निर्मम संघर्षको आवश्यकता छ । शोभियत संघमा समाजवाद स्थापना गर्नका लागि कठीन र निर्मम संघर्ष गर्नुभएकै कारण हाल आएर उहाँलाई कतिपय विरोधीले नरसंहारकारी नेताका रुपमा चर्चा गर्ने प्रयास गरेका छन् । नेपालमा स्टालिन कार्यशैली र उहाँको योगदानको आलोचना गर्नेहरु हाल आएर विश्वबाटै कम्युनिष्टहरु लोप हुने कल्पना गर्न थालेका छन् । स्टालिन नामको अर्थनै लौहपुरुष हुन्छ । स्टालिनले जुन तरिकाले विश्व कम्युनिष्ट आन्दोलनमा योगदान गरेर विश्वकै दक्षिणपन्थी शक्तिहरुको सत्तालाई हल्लाउने काम गर्नुभएको थियो । त्यसले उहाँको नामनै सार्थक भएको मान्न सकिन्छ । उहाँले आफ्नो कार्यकालमा रुसलाई यति संगठित र शक्तिशाली बनाउनु भएको थियो कि दोश्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाईसमेत पराजित गरिदिनु भयो । स्टालिनले कम्युनिष्ट अन्तर्राष्ट्रियमार्फत् विश्वभरनै माक्र्सवाद–लेनिनवादको प्रचार र विकासमा योगदान दिनुभएको थियो । स्टालिनको जीवन यात्रा पनि प्रेरणदायी रहेको पाइन्छ । बीसौँ शताब्दीको शुरुवातमा स्टालिनले तिफ्लसको मौसम विभागमा एक कर्मचारीकारुपमा कामगर्न शुरु गर्नुभएको थियो । त्यहाँ उहाँले आपूmलाई साम्राज्यवादको विरोधीकारुपमा प्रस्तुत गर्नुभयो । त्यहाँ पनि उहाँले हडताल र विरोध प्रदर्शनहरुमा संलग्नता देखाउनु भएको थियो ।
जारको गुप्तचर बिभागलाई उहाँका क्रान्तिकारी क्रियाकलापबारेमा सूचना प्राप्त भएपछि उहाँ भूमिगत हुनुपरेको थियो । सोहीक्रममा उहाँ बोल्शेभिक पार्टीमा प्रवेश गर्नुभएको थियो । सन् १९०५ मा स्टालिनले साम्राज्यका विरुद्ध गुरिल्ला युद्धमा भाग लिनुभएको थियो । बोल्शेभिक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसँग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भएको थियो । लेनिन त्यतिबेला उहाँको प्रतिभा देखेर निकै प्रभावित हुनुभएको थियो । सन् १९०७ मा स्टालिनले तिफ्लिसमा एक बैंकबाट साढे दुई लाख रुबल कब्जा गरेर जार विरोधी आंदोलनमा खर्च गर्नुभएको थियो । तिफ्लिसको बैंक काण्डपछि स्टालिन जर्जियानै छोडेर भाग्नुपरेको थियो । त्यसपछि उहाँ अजरबैजानको बाकू शहरमा बस्न थाल्नुभयो । बिद्रोही भएको आरोपमा स्टालिनलाई कैयन पटक गिरफ्तार गरिएको थियो भने १९१० मा साइबेरियासमेत पठाइएको थियो । सन् १९१७ मा लेनिनको अगुवाईमा रुसमा अक्टोबर क्रान्ति सफल भएको थियो । सो क्रान्तिमा पनि स्टालिनको ठूलो योगदान रहेको थियो । त्यसक्रममा उहाँ बोल्शेविक पार्टीको पत्रिका प्राब्दाको सम्पादकसमेत हुनुभएको थियो । जब उहाँले जारको सेनाबाट लेनिनलाई मुक्त गरेर फिनल्यान्ड पुग्न मद्दत गर्नुभयो, त्यसपछि पार्टीमा समेत स्टालिनको प्रभाव बढेको थियो । जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भएको थियो । त्यसमा पनि स्टालिनको भूमिका महत्वपूर्ण र निर्णायक रहेको थियो । सन् १९२४ जनवरीमा लेनिनको मृत्यु भएपछि स्टालिनले उहाँको उत्तराधिकारीका रुपमा काम थाल्नुभएको थियो । त्यसपछि उहाँको देशभक्तिपूर्ण माक्र्सवादी अडान र ब्यवहारका कारण लियोन ट्रटस्कीको पराजय भएको थियो । बिसौ शताब्दीको शुरुको दशकमै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको विकासको थालनी गर्नुभएको पाइन्छ । उहाँ सोभियत संघमा औद्योगीकरण नभए कम्युनिष्ट अक्टोबर क्रान्ति असफल हुन्छ, देश बर्बाद हुन्छ र छिमेकका पुँजीवादीहरुले देशले कब्जा गर्छन् भन्ने धारणा राख्नुहुन्थ्यो । स्टालिनकै शासनकालमा सोभियत संघमा कोइला, तेल र स्टीलको उत्पादन कैयौं गुणा बढेको थियो । देशले द्रूतगतिमा आर्थिक प्रगति गर्न सकेको थियो । स्टालिनको पञ्चवर्षीय योजनाबाट सन् १९३० को दशकमा विश्व महामन्दीबाट समेत सोभियत संघ जोगित सफल भएको थियो । स्टालिन सत्तामा आएपछि खेतीको आधुनिकीकरण थाल्नुभएको थियो । उहाँले जमिनको राष्ट्रियकरण गर्नुभएको थियो । शुरुमा कतिपय किसानहरुले त्यसको विरोध पनि गरेका थिए । त्यो विरोधका बाबजुद जमिन पूर्णतः राष्ट्रियकरण भएको थियो भने अन्नको उत्पादनमा उल्लेख्य बृद्धि भएको थियो । दोश्रो विश्वयुद्धमा समाजवादको विजयले विश्वको एकतिहाई भूभागमा समाजवादी सत्ता स्थापना भएको थियो । विश्वमै औद्योगिकरणको लहरनै चलेको थियो । देशको भौगोलिक बनावट, उपलब्ध कच्चा पदार्थ र बजारको अवस्था हेरी विश्वका तमाम साना र गरिव देशहरुका जनताका समस्याहरुको समेत समाधान गर्न लत्ताकपडा, पाठ्यपुस्तक, शैक्षिक सामग्री उत्पादन र वितरण गर्ने औद्योगिक प्रतिष्ठानहरु स्थापना भएका थिए । सोही लहरकाक्रममा नेपालमा पनि रुस र चीनको सहायतामा विभिन्न महत्वपूर्ण उद्योगहरु खोलिएका थिए । दोश्रो विश्वयुद्धमा समाजवादीहरुको विजयको परिणामस्वरुप साम्राज्यवादीहरु पछि हट्न बाध्य भएका थिए । विश्वमै साम्राज्यवादी देशहरुको एकाधिकारलाई नियन्त्रण गर्न सन् १९४५ को अक्टोवर २४ मा सोभियत रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिका र उपनिवेशबाट मुक्त भएका कतिपय देशहरुसहित ५० देशहरुको उपस्थितिमा संयुक्त राष्ट्रसंघको समेत निर्माण गरिएको थियो । आज पनि साम्राज्यवादका विरुद्ध मुक्तिकामी जनताको एकता आवश्यक रहेको छ
सन् १९३९ को डिसेम्बर २० मा माओले स्टालिनको जन्म दिवसको अवसरमा स्टालिन र तत्कालीन सोभियत संघका जनतालाई चिनियाँ जनताका सच्चा मित्रकारुपमा परिभाषित गर्नुभएको थियो । चिनियाँ मुक्तिका पछाडि स्टालिनको ठूलो प्रेरणा र योगदान रहेको मानिन्छ । माओत्सेतुङले चीनमा अगाडि सारेको चिनियाँ क्रान्तिको मोडेल र रुसी क्रान्तिको मोडेलकाबीचमा केही भिन्नता र मतभेदहरु पनि रहेका थिए । तर, पनि रुसी र चिनियाँ कम्युनिष्ट पार्टीहरुका बीचमा असल र दर्बिलो भाइचारा सम्बन्ध र सहयोग रहेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले जापानी साम्राज्यवादका विरुद्ध मुक्तियुद्ध लड्नेक्रममा स्टालिन नेतृत्वको सोभियत संघले वायुयान र रासनपानीको लगायतको ठूलो सहयोग गरेको थियो । जसले गर्दा चीनको जापानी साम्राज्यवाद विरोधी मुक्तियुद्ध सफल भएको थियो । पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा दक्षिणपन्थी शक्तिहरुले टाउको उठाउने प्रयास गरिरहेका छन् । कतिपय कम्युनिष्ट पार्टीहरुमा संशोधनवाद र अवसरवादको बोलवाला बढेर गएको छ । कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट विरोधी गतिविधि गर्नेहरु पनि देखापर्न थालेका छन् । विश्वका कतिपय कम्युनिष्ट पार्टीहरुले समेत स्टालिनलाई वामपन्थी संकीर्णवादी कोणबाट आक्रमण गर्न थालेका छन् । कतिपयले विश्व कम्युनिष्ट आन्दोलनका पाँचजना प्राधिकार माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको ब्लकबाट एंगेल्स र स्टालिनको तस्विर हटाउने प्रयास पनि गरिरहेका छन् । नेपालकै कतिपय कम्युनिष्ट पार्टीहरुले कुनैबेला आफ्नो लेटरप्याडमा तीनजनाको तस्विर मात्र प्रयोगगर्ने प्रयास पनि गरेका थिए । त्यो भनेको घुमाउरो पाराले माक्र्सवाद–लेनिनवादमाथिको प्रहार थियो । माक्र्सवादलाई माक्र्स र एंगेल्सको संयुक्त मष्तिष्कको उपज मानिन्छ भने लेनिनवादमा स्टालिनको उल्लेख्य योगदान रहेको थियो ।
माक्र्सवादको भाष्यबाट एंगेल्सको भूमिकालाई नजरअन्दाज गर्ने होभने माक्र्सवाद अपाङ्ग बन्नजान्छ । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको सैद्धान्तिक र संगठनात्मक अस्त्र हो । लेनिनवादको निर्माण र विकासमा पनि स्टालिनको महत्वपूर्ण योगदान रहेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । स्टालिनले दर्शन, संगठन, युद्ध, शान्ति र वैज्ञानिक समाजवादको प्रयोग तथा विकासमा ठूलो योगदान दिनुभएको थियो । सोभियत संघ विघटन भएर रुस मात्र रहेको छ । रुसमाथि पनि अन्तर्राष्ट्रिय साम्राज्यवाद खासगरी अमेरिकी साम्राज्यवादको आक्रमण केन्द्रित रहेको छ । रुसमा आज कम्युनिष्ट पार्टी सत्तामा नरहेपनि स्टालिनका नीति तथा कार्यक्रमहरुले काम गरिरहेका छन् । सोभियत रुसमा कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण, राष्ट्रियकरण र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा स्टालिनको उल्लेख्य योगदान रहेको थियो । आजको रुस त्यसैको जगमा उभिएर अमेरिकासँग पौंठाजोरी खेलिरहेको छ । चीनमा माओ हुनुहुन्न । त्यहाँ पनि माओकालीन राजनीति छैन । तर पनि चीन र रुसको मित्रता कायमै रहेको छ । उनीहरु आज पनि विश्वमा शक्ति राष्ट्रकारुपमा रहिरहेकै छन् । आज रुसमा स्टालिनको नेतृत्वमा स्थापना भएको वैज्ञानिक समाजवाद छैन । तर, पनि वैज्ञानिक समाजवादी व्यवस्थाको पुनस्र्थापनाका निमित्त प्रयासहरु भैरहेका छन् । पछिल्लो समयमा पूर्बसोभियत संघका राष्ट्रहरुमा स्टालिनप्रति श्रद्धा बढ्दै गएका कतिपय समाचारहरु बाहिर आउने गरेका छन् । उहाँको जन्म दिवसको अवसरमा उहाँका योगदानहरुलाई फेरि एक पटक चिन्तन मनन गरौं ।