वर्गसंघर्ष तथा क्रान्तिको कार्यदिशा

२०८१ श्रावण १३ गते, आईतवार
हस्तबहादुर केसी

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरु छैनन् भने ती पन प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पुरै जाल खुल्दछ ।” – माओ त्सेतुङ

सर्वहारा वर्गको राजनीतिक सँगठित अग्रदस्ता कम्युनिस्टले सामाजिक क्रान्तिको सफल नेतृत्व गर्दछ । त्यो नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनुपर्छ । नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी माक्र्सवाद– लेनिनवाद–माओवादको मार्गदर्शन र निर्देशनमा सञ्चालित हुन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कम्युनिस्ट पार्टीको दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । कम्युनिस्ट पार्टीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई अबलम्बन मात्र गर्दैन, बरु उसले वास्तविक जीवनमा प्रयोग पनि गर्दछ । तसर्थ यो दर्शनले सर्वहारा वर्गले सञ्चालन गर्ने वर्गसंघर्ष र उसले अख्तियार गर्ने कार्यदिशासँग अभिन्न रुपमा गाँसिएको छ ।

 यस लेखमा सर्वहारावर्गको राजनीतिक सँगठित अग्रदस्ता कम्युनिस्ट पार्टीको सञ्चालन गरिने वर्गसंघर्ष र त्यसमा कम्युनिस्ट पार्टीले अबलम्बन गर्ने कार्यदिशाकाबारेमा सबै पाठकहरु र आम जनसमुदायले समेत सरल ढंगले बुझ्न सक्ने हेतुले सकेसम्म सरल भाषा र वाक्यांश प्रयोग गरेर लेख्ने प्रयत्न गरिएको छ ।

 क्रान्तिकारी कम्युनिस्ट पार्टीले सामाजिक क्रान्तिको रणनीतिक लक्ष्य प्राप्त गर्नका निम्ति अबलम्बन गरिने कार्यदिशा सही क्रान्तिकारी विचार र राजनीतिसित सम्बन्धित हुन्छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशाबारे माओत्सेतुङद्वारा प्रस्तुत गरिएका, जो यस लेखको शुरुमा राखिएको छ, ती विचारहरु अत्यन्तै सारगर्भित रहेकाले छन् ।

 क्रान्तिको कार्यदिशा के हो ? भन्नेबारेमा हामीले बुझ्नुपर्ने हुन्छ । क्रान्तिको कार्यदिशा भनेको कम्युनिस्ट पार्टीद्वारा अबलम्बन गरिने नीति, कार्यक्रम र योजनाको समग्रता हो । नीति दुई प्रकारका हुन्छन्– रणनीति र कार्यनीति । कार्यक्रम पनि दुई प्रकारका हुन्छन्– अधिकतम र न्युनतम । त्यसैगरी योजना पनि रणनीतिक र कार्यनीतिक दुबै हुने गर्दछन् । हामीले बुझ्ने कुरा के हो भने कम्युनिस्ट पार्टीले अबलम्बन गर्ने यसप्रकारका रणनीति र कार्यनीति राजनीतिक । फौजी आदि हुने गर्दछन् । कार्यनीतिका सम्बन्धमा स्टालिनले भन्नुभएको छ, “राजनीतिक रणनीति र साथै कार्यनीति मजदुर वर्गीय आन्दोलनसँग सम्बन्धित छन् । तर मजदुर वर्गीय आन्दोलन स्वयंका दुईवटा तत्वहरु छन् ः वस्तुगत र मनोगत तत्व । वस्तुगत तत्व भनेको सर्वहारा वर्गको सचेत तथा नियामक संकल्पबाट स्वतन्त्र रुपमा हुने प्रक्रियाहरुको समूह हो । मुलुकको आर्थिक विकास, पुँजीवादको विकास, पुरानो शासनको छिन्नभिन्नता, सर्वहारा वर्ग र त्यसको वरिपरिका वर्गहरुको स्वोत्पन्न आन्दोलन वर्गहरुको द्वन्द्व आदि । यी सब यस्तो परिघटना हुन्, जसको विकास सर्वहारा वर्गको संकल्पमाथि भर पर्दैन । यो आन्दोलनको वस्तुगत पक्ष हो । तर आन्दोलनको मनोगत, सचेत पक्ष पनि हुन्छ । आन्दोलनको मनोगत पक्ष भनेको मजदुरहरुको मनमा परेको आन्दोलनका स्वोत्पन्न प्रतिक्रियाहरुको प्रतिबिम्ब हो, एउटा कुनै निश्चित लक्ष्यतर्फ सर्वहारावर्गको सचेत तथा व्यवस्थित आन्दोलन हो ।” स्टालिनका छानिएका रचनाहरु, पृष्ठ ७०, पैरवी प्रकाशन काठमाडौं, २०६४ ।

 यहाँनिर स्टालिनद्वारा प्रस्तुत विचारहरुबाट यो विषय स्पष्ट भयो कि मजदुर आन्दोलनका वस्तुगत र आत्मगत पक्षबारे राम्रो प्रकाश पारिएको छ । यो कुरा पनि स्पष्ट छ कि मजदुर आन्दोलनको वस्तुगत पक्षसँग कार्यक्रम र आत्मगत पक्षसँग नीतिको सम्बन्ध हुन्छ ।

 कम्युनिस्ट द्वारा निर्धारित नीति, कार्यक्रम, संघर्षको बाटो, योजना जस्ता विषयहरु वर्गसंघर्ष वा क्रान्तिको कार्दिशा अन्तर्गत पर्दछन् । नीति मूलतः दुई किसिमका हुन्छन्– रणनीति र कार्यनीति । साथै नीतिलाई आम र ठोस र तात्कालिक नीतिका रुपमा प्रस्तुत गर्न सकिने विषय हो ।

नीतिलाई कसरी बुझ्न सकिन्छ भने नीतिको सम्बन्ध आन्दोलनको प्रहारको लक्ष्य, निशाना, दुश्मन तथा मित्रहरूको किटानी, संयुक्त मोर्चा, सँगठन र संघर्षका रुप, नारा र कारवाहीको निर्धारण जस्ता विषयसँग सम्बन्धित हुन्छ । नीतिको काम आन्दोलनलाई त्यसको लक्ष्यसँग जोड्नु हो ।

 लक्ष्य भनेको क्रान्तिको उद्देश्य हो । जसमा सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायका हितहरु प्रस्तुत गरिएका हुन्छन् । त्यसप्रकारका कार्यक्रमहरु प्राप्त गर्ने तरिकालाई संघर्षको बाटो अर्थात् संघर्षको दिशा भनिन्छ । सर्वहारा वर्गको राजनीतिक पार्टीले यसप्रकारका संघर्षहरुमा आफ्ना मित्रहरू र नजिकका राजनीतिक शक्तिहरुसँग संयुक्तमोर्चा कायम गर्दछ । यसप्रकारका संयुक्त मोर्चाहरु पनि आम, ठोस र तत्कालीन रुपमा हुने गर्दछन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालन गरिने भीषण वर्गसंघर्षको कार्यदिशा पुरानो राज्यसत्ताको ध्वंस र नयाँ राज्यसत्ताको निर्माणसँग, अन्ततः मानव जातिकै नौलो संसार वैज्ञानिक साम्यवादमा जाने प्रक्रियासँग सम्बन्धित रहेको हुन्छ

 सामाजिक क्रान्ति, आन्दोलन वा युद्धको प्रक्रियामा रणनीति र कार्यनीतिको विशेष महत्व हुन्छ । रणनीति र कार्यनीति आन्दोलनको सचेतन पक्षसँग सम्बन्धित रहेका हुन्छन् । रणनीति र कार्यनीतिकाबारेमा स्टालिन लेख्नु भएको छ, “सर्वहारावर्गको वर्गसंघर्षमा नेतृत्व सम्बन्धि विज्ञान हो ।”– स्टालिनका छानिएका रचनाहरु, पृष्ठ १४१, पैरवी प्रकाशन, काठमाडौं,२०६४ ।

 सर्वहारा वर्गको नेतृत्वमा सञ्चालन गरिने वर्गसंघर्षमा वर्गसंघर्षमा रणनीतिको सम्बन्ध कार्यक्रमसित हुन्छ । आम कार्यक्रम र ठोस कार्यक्रम अनुरुप रणनीतिको चरित्र पनि आम र ठोस हुने गर्दछ । रणनीति क्रान्तिको आम वा ठोस चरणको ऐतिहासिक दिशासंंँग जोडिएको हुन्छ र कार्यनीतिले त्यसै रणनीतिको सेवा गर्दछ । रणनीति क्रान्तिको निश्चित ऐतिहासिक अवधिभरी परिवर्तन हुँदैन, तर कार्यनीति भने आन्दोलनको आरोह–अवरोहसितै बदलिने गर्दछ ।

 अब जाऊँ कार्यनीतिको चरित्रको बारेमा । कार्यनीति राजनीतिक, फौजी लगायतका हुने गर्दछन् । सर्वहारा वर्गले वर्गसंघर्षद्वारा सत्ता प्राप्त गर्न कार्यनीति कस्तो हुने भन्ने कुराले निर्धारण गर्दछ । लेनिनले पार्टीको कार्यनीतिलाई सामान्यतः “पार्टीको राजनीतिक आचरण”– लेनिन संकलित रचनाएँ, चार खण्ड मे, खण्ड १, पृष्ठ ६९, प्रगति प्रकाशन, मास्को, १९८८– बताउनु भएको छ । लेनिन कै भनाइबाट के कुरा प्रष्ट हुन्छ भने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ रणनीतिक परिस्थितिमाथि ध्यान दिँदै क्रान्तिको नयाँ कार्यभार प्रस्तुत गर्नका लागि सही कार्यनीति अबलम्बन गर्नुपर्ने अनिवार्य सर्त हुन आउँछ । त्यसप्रकारको सही कार्यनीतिले नै रणनीतिको सेवा गर्दछ ।

 क्रान्तिको प्रक्रियामा निश्चित रणनीतिक योजनाको निर्धारण गर्ने काम पहिलो सर्त हुन्छ । त्यसप्रकारको योजना क्रान्तिको उद्देश्य, नेतृत्व, संयुक्त मोर्चा, प्रहारको निशाना र शक्ति विन्याससँग सम्बन्धित रहेको हुन्छ । रणनीतिक योजनाको निर्माण र कार्यान्वयनमा नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ ।

 सम्बन्धित देश वा समाजको विकासको ऐतिहासिक चरण, त्यसको विकासप्रक्रिया, त्यस समाजका प्रधान अन्तर्विरोधहरुको अध्ययन जस्ता कुरामा आधारित रहेर क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यक्रम वा कार्यदिशा निर्धारण गर्नुपर्ने हुन्छ । यसरी हेर्दा हामीले के पाउँछौं भने क्रान्तिका कार्यदिशा विभिन्न रुप र प्रकारका हुने गर्दछन् । जस्तो ः अर्धसामन्ती तथा अर्ध– नवउपनिवशिक मुलुकका लागि नयाँ जनवादी क्रान्तिको कार्यदिशा, पुँजीवादी मुलुकहरुका लागि वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा ठोस गरिन्छ । यी सबै स्तरका क्रान्तिका कार्यदिशाकाबारेमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओले विषद रुपमा लेख्नुभएको छ ।

 सर्वहारा क्रान्तिको अधिकतम कार्यक्रम वा लक्ष्य वैज्ञानिक साम्यवाद हो । त्यसको प्राप्तिको लागि वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेपछि लामो ऐतिहासिक अबधिकाबीचमा गएर नै हुन्छ । वैज्ञानिक समाजवादी क्रान्ति पनि पुँजीवादी क्रान्तिको प्रक्रिया पुरा भएर मात्रै सम्पन्न हुन्छ ।

 क्रान्ति सम्पन्न गर्नेछ कुरा कसैको व्यक्तिगत चाहानामा होइन, ऐतिहासिक रुपमा विकसित समाजको वस्तुगत अवस्थामा अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धद्वारा निर्धारित सम्बन्धित समाजको वास्तविक अवस्थामा आधारित हुन्छ । सामन्तवाद र आम जनसमुदाय बीचको अन्तर्विरोधको समाधान पुँजीवादी जनवादी क्रान्तिको कार्यदिशाद्वारा हुन्छ । पुँजीपतिवर्ग र सर्वहारावर्गबीचको अन्तर्विरोधको समाधान वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाद्वारा हुन्छ । यसबीचमा क्रान्तिकारीहरुले के कुरा भुल्नु हुँदैन भने समाज विकासका प्रक्रिया र क्रान्तिको बाटो जटिल, बाङ्गोटिङ्गो गरी अगाडि बढेको हुन्छ, त्यसप्रकारको अवस्थाले गर्दा क्रान्तिको नेतृत्व गर्ने शक्तिले त्यही ढंगका कार्यदिशा निर्धारण गर्नुपर्ने हुन्छ ।

 यी भिन्न भिन्न स्तरका क्रान्तिका बारेमा विविध प्रकारका भ्रमहरु छन् । तिनको समाधानकाबारेमा माक्र्स–एंगेल्स, लेनिन, माओत्सेतुङले स्पष्ट पार्नु भएको छ । जस्तो ः कार्ल माक्र्स (१८१८–१८८३) – फ्रेडरिक एंगेल्स (१८२०–१८९५), लेनिन (१८७०–१९२४) र माओत्सेतुङ (१८९३–१९७६) प्रष्ट पार्नु भएको छ । जस्तो कि माक्र्स–एंगेल्सले पुँजीवादको पहिलो ऐतिहासिक विकासप्रक्रियासँग सम्बन्धित जनवाद र समाजवादका कार्यदिशाबारे स्पष्ट पार्नु भएको छ । जब पुँजीवादले साम्राज्यवादको रुप धारण ग¥यो त्यो स्थितिमा साम्राज्यवादमाथिका विशेषताहरुमाथि ध्यान दिँदै लेनिनले जनवादी र वैज्ञानिक समाजवादी क्रान्तिका कार्यदिशालाई नयाँ ढंगले विकसित तुल्याउनु भयो । सामन्तवादक तथा साम्राज्यवाद विरुद्धको जनवादी क्रान्तिको कार्यदिशाबारे माक्र्स–एंगेल्स र साथै लेनिन पनि राम्रो प्रकाश पार्नु भएको थियो । लेनिनद्वारा विकसित आम सशस्त्र विद्रोहको सिद्धान्त पनि विकसित देशकै सन्दर्भसँग जोडिएको थियो । अविकसित देशहरूमा क्रान्तिको बाटोबारे लेनिनले स्पष्ट रुपमा बताउनु भएको थिएन । लेनिनले आफ्नै नेतृत्वमा सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ क्यालेन्डर अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो ।

 पुँजीवादको साम्राज्यवादमा विकास हुनु पुँजीपतिवर्गले प्रतिक्रियावादको रुप धारणा गर्नु र साम्राज्यवादद्वारा अविकसित राष्ट्रहरुमा उत्पीडन कायम गरिनुको कारण सामन्तवादको अवस्थामा गरेका कैयौं देशहरूमा सामन्तवर्गका साथै नोकरशाह तथा दलाल पुँजीपतिवर्ग पैदा भएको जटिल स्थितिमा माओत्सेतुङले नयाँ जनवादी क्रान्तिको रुपमा विकसित गर्नु भयो र त्यो क्रान्ति दीर्घकालीन जनयुद्धसम्म हुने कुरा बताउनु हुँदै माओत्सेतुङले नयाँ जनवादी क्रान्तिको कार्यदिशा गाउँदेखि शहर कब्जा गर्ने दीर्घकालीन जनयुद्धको कार्यक्रमदिशाकाबारेमा स्पष्ट पार्नु भयो ।

 कार्ल माक्र्स–एंगेल्सले वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादबारे सर्वहारा वर्गको अधिनायकत्वमा विशेष जोड दिनु भएको थियो र लेनिनले अक्टोबर क्रान्तिको व्यवहारकाबीचबाट सर्वहारा अधिनायकत्व पनि पुष्टि गर्नु भएको थियो । कसरी भने महान् रुसी अक्टोबर समाजवादी क्रान्तिद्वारा विश्व मै पहिलोपटक सर्वहारा वर्गले आफ्नो राज्यसत्ता प्राप्त मात्रा गरेको थिएन, विश्व मै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व समेत स्थापित गरेको थियो । यसरी महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो ।

 लेनिनले समाजवादी समाजको भए पनि हारेको पुँजीपति वर्गले त्यसै चुप्प लागेर नवस्ने प्रतिक्रान्तिका लागि मैदानमा आउने कुरामाथि राम्रोसँग संश्लेषण गर्नुभएको थियो र यसै सन्दर्भमा साँस्कृतिक क्रान्तिका क्रान्तिको आवश्यकता पनि आौल्याउनु भएको थियो । स्टालिनको मृत्यु पश्चात् सन १९५६ मै निकिता ख्रुश्चोवद्वारा रुपमा प्रतिक्रान्ति गरेर रुसमा पुँजीवादको स्थापना भयो ।

 रुसमा भएको प्रतिक्रान्तिको विषय सैद्धान्तिक संश्लेषण आवश्यक बन्न गयो र त्यो आवश्यकता माओवाद त्सेतुङबाट सम्पन्न भयो । यसरी हेर्दा क्रान्तिको कार्यदिशा निर्धारणसम्बन्धी कैयौं जटिलताको समाधान गर्ने आवश्यकता हुन्छ । तदनुरुप माओत्सेतुङले अर्धसामन्ति तथा अर्धउपनिवेशिक देशहरूमा विद्यमान एकातिर सामन्त, नोकरशाह एवं दलाल पुँजीपति वर्ग र आम जनसमुदाय तथा अर्कोतिर उत्पीडित राष्ट्र र उत्पीडक राष्ट्र बीचका आधारभूत प्रधान अन्तर्विरोधहरुको समाधान समग्रमा नयाँ जनवादी क्रान्तिद्वारा हुने कुरा बताउनुभएको मात्र होइन आफ्नै नेतृत्वमा सन् १९४९ अक्टोबर १ तारिखका दिन महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व कायम गर्दै चीनमा वैज्ञानिक समाजवादी क्रान्तिको ढोका खुलिदिनु भएको थियो । यस अतिरिक्त माओत्सेतुङले समाजवादी समाजमा पुँजीवादपन्थीहरु र सर्वहारा वर्गबीचको समाधान सर्वहारा अधिनायकत्व अन्तर्गत सर्वहारा साँस्कृतिक क्रान्तिद्वारा हुने कुरा पनि स्पष्ट पार्नु भयो सन् १९६६ देखि १९७६ सम्म महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सफलतापूर्वक सञ्चालन गरेर निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो, जसलाई “माओवाद” को रुपमा संश्लेषण गरियो र आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त बन्न पुगेका छ ।

 यसरी आज विश्व सर्वहारा वर्ग सैद्धान्तिक तथा दार्शनिक रुपले र रणनीतिक कार्यदिशा, कार्यक्रम र योजनाका साथ समृद्धशाली छ । र, क्रान्ति सम्पन्न हुनका लागि सही विचारका साथै सही कार्यदिशा हुनुपर्छ भन्ने कुरा प्रमाणित हुन पुगेको छ ।

–लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक–लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

[anycomment]