विदेशी प्रभावित व्यवस्था र समाजवादको नारा
नेपालमा पछिल्ला दिनमा विचित्रका राजनीतिक गतिविधिहरु हुने गरेका छन् । खासगरी ०६३ को परिवर्तनपछि नेपालमा आकर्षक र क्रान्तिकारी नाराहरुको आवरणमा विदेशी प्रभावित राजनीतिक ब्यवस्थाको स्थापना हुनपुग्यो । हाल नेपालका हरक्षेत्रमा विदेशीको प्रभाव बढ्दैगएको छ । यस्तो अवस्थामा नेपाली बिशेषताको समाजवादको नारा दिनु आफँैमा गलत हुन्छ । खासमा भन्नेहोभने नेपालको हालको अवस्था अर्धसामन्ति र अर्ध औपनिवेशिकनै रहेको छ । नेकपाका संस्थापक पुष्पलालको समयदेखिनै यहाँ अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था रहेको ब्याख्या गरिँदैआएको छ । जसलाई ०४६ र ०६३ को परिवर्तनले कुनै तात्विक परिवर्तन गराउन सकेका छैनन् । अझ ०६३ को परिवर्तनपछि नेपालमा विदेशी हस्तक्षेप चरम रुपमा बढेको छभने यहाँका मुख्यत संसदमा रहेका प्रमुख दलहरु ‘विदेशीका दलाल राजनीतिक शक्ति’मा परिणत भएका छन् । ‘विदेश पहिलो’भन्ने कुरालाई प्रमुखता दिनथालिएको छ । विदेशीको प्रभावमा रहेकामध्ये कतिपयले नेपालमा समाजवादको नारालाई अगाडि सारेर जनमानसमा भ्रम सिर्जनागर्ने प्रयास पनि गरिरहेका छन् । हाल नेपालमा जे–जस्तो राजनीतिक अवस्था विद्यमान रहेको छ, त्यसको समाधान नौलो जनवादी क्रान्तिलेमात्र गर्नसक्छ । तर नेपालका कतिपय पार्टी र शक्तिहरुले नौलो जनवादी क्रान्ति आवश्यक नभएको भनिरहेका छन्भने कतिपय शक्तिहरुले नौलो जनवादी क्रान्तिको चरण पूरा भएकोले समाजवादतर्फ अगाडि बढ्नुपर्छ भन्ने खालको बिचारलाई अगाडि सारेका छन् । छिमेकी चीनमा माओले सन् १९४० को चिनियाँ राष्ट्रिय प्रतिरोध युद्घको समयमा अघि नौलो जनवादको राजनीतिक कार्यक्रम अगाडि सार्नुभएको देखिन्छ । जतिबेला चीनमा जापानी साम्राज्यवादको हस्तक्षेप तीब्र थियो । हाल नेपालमा भारतीय विस्तारवादको साथमा अमेरिकी साम्राज्यवादको दबदबा बढेको छ । जसले गर्दा सन् १९४० को चीनको अवस्था र आजको नेपालको अवस्थामा धेरै समानता र केही अन्तरहरु समेत रहेका छन् । त्यतिबेला चीनमा माओले पार्टीभित्रको दुई लाइनको संघर्षमा सबैखाले अवसरवाद विरुद्ध सम्झौताहीन संघर्ष गर्दै अगाडि बढ्नु परेको थियो । उहाँले जापानी साम्राज्यवादबाट चीनलाई मुक्त गर्ने र च्याङ काइसेकजस्ता प्रतिक्रियावादी शासकमाथि विजय हासिल गर्दै चीनमा कम्युनिष्ट सत्ता स्थापित गर्ने–गराउने काम गर्नुभएको थियो । चीनमा भएको नयाँ जनवादी क्रान्तिको सफलता, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग र समाजवादको विकासमासमेत उहाँको महत्वपूर्ण योगदान रहेको थियो । त्यसबाट नेपालीहरुले धेरै शिक्षा लिनसकिने अवस्था छ । जस्तो यतिबेला नेपालमा पनि कतिपय चरम अवसरवादीहरुले ‘क्रान्तिकारी जामा’ पहिरिएर कम्युनिष्ट पार्टीहरुलाई छिन्नभिन्न गराउने र साम्राज्यवादीहरुका नेपाल नीतिको कार्यान्वयनमा जोडदिने गर्दैआएका छन् । जसले गर्दा विदेशी हस्तक्षेप र तिन्का नेपाली दलालका विरुद्ध निर्मम संघर्ष आजको प्रमुख आवश्यकता भएको छ । त्यसैगरी नेपालको कम्युनिष्ट राजनीतिमा मालेमावादलाई अवसरवादले बिस्थापित गर्दै लगेको कुरामा ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । पुष्पलालले नेपाली समाजको प्रधान अन्तरविराध सामन्ती व्यवस्थासँग रहेको र सामन्ती वर्गको नेतृत्व राजतन्त्रले गरेको निक्र्यौल निकाल्नु भएको थियो ।
आज राजतन्त्र छैन । तर राजतन्त्रका अवशेषहरु भने कायमै छन् । सत्तामा पुग्ने हरेकले आपूmलाई राजा ठान्ने प्रवृत्ति कायमै छ । त्यसैले नेपालमा राजतन्त्र हट्नु र नहट्नुमा कुनै अन्तर देखिएको छैन । पछिल्लो समयमा नेपालमा आधुनिक पूँजीवादी उत्पादन सम्वन्धको प्रवेश भइसकेकाले यहाँको समाजको चरित्र अर्धसामन्ती बन्नपुगेको छ । यिनै राजनीतिक र सामाजिक चरित्रको आधारमा पुष्पलालले नेपाली जनता र अर्धसामन्ति र अर्धऔपनिवेशिक राज्यसत्ताबीचको अन्तरविरोध, नेपाल राष्ट्र र साम्राज्यवादबीचको अन्तरविरोध, नेपाली जनता र वैदेशिक हस्तक्षेप र प्रभुत्ववाद विरुद्धको अन्तरविरोध, सामन्ती जमिन्दार र किसानवीचको अन्तरविरोध, दलाल तथा नोकरशाही पूँजीवाद र नेपाली श्रमजीवी वर्गबीचको अन्तरविरोधनै नेपाली समाजका प्रधान अन्तरविरोधहरु भएको ब्याख्या र बिश्लेषण गर्नुभएको थियो । आज त्योस्तरको वर्ग विश्लेषण गर्ने र नेपालको यथार्थताको पहिचान गरेर अगाडि बढ्ने प्रयाससम्म पनि हुनसकेको छैन । माक्र्स र एैङ्गेल्सल्सकै बिचारलाई आधार मान्ने होभने पनि समाजवाद एउटा राजनैतिक तथा आर्थिक सिद्धान्त हो । जसमा वस्तुको उत्पादन, वितरण र विनिमयको स्वामित्व केवल समाजलेमात्र ग्रहणगर्ने गर्दछ भन्ने मान्यता राखिन्छ । समाजमा कुनैपनि ब्यक्तिले निजी सम्पत्ति राख्न पाउनु हुदैनन्भन्ने यसको खास निचोड हो । उहाँहरुको उपरोक्त भनाइ तत्कालीन अवस्थामा जोन लकको बिचारभन्दा फरक थियो । लकले व्यक्तिगत सम्पत्ति राख्न पाउनु मानिसको नैसर्गिक अधिकारभन्ने मान्यता स्थापित गरेको देखिएको थियो । त्यसैका आधारमा सन् १७८९ को मार्च चारमा अमेरिकन संविधानको निर्माण भएको थियो । आज पर्यन्त अमेरिका र उसका समर्थकहरु सोही मान्यतामा रहेका छन् । विभिन्न समयमा विभिन्न दार्शनिकहरुले समाजवादलाई फरक, फरक तरिकाले परिभाषित गरेको पाइन्छ । जसलाई पछिल्लो समयमा दुई ढंगले हेर्ने गरिएको छ । जुन वैज्ञानिक समाजवाद र काल्पनिक समाजवाद हुन् । नेपालमा ००७ सालको परिवर्तनपछि ०४६ सम्म नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा दिएको थियो । त्यो काल्पनिक समाजवादी धारणा थियो ।
०४६ सालपछि जब उसले साम्राज्यवादी नीतिलाई नेपालमा प्रबेश गरायो, त्यसपछि उसले उपरोक्त नारानै परित्याग गरिदियो । ०६३ को परिवर्तनबाट केही पार्टीहरुले जब साम्राज्यवादीहरुलाई नेपालमा थप जरा गाड्ने अवसर प्रदान गरे, त्यसपछि उनीहरुले पनि त्यसलाई ढाक्नका लागि नेपाली विशेषताको समाजवादको नारा दिएका छन् । माक्र्सवाद–लेनिनवादका तीन संघटक अंग दर्शन (द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद), राजनीतिक अर्थशास्त्र (माक्र्सवादीय अर्थशास्त्र) र वैज्ञानिक समाजवादलाई मानिन्छ । सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारीराख्दै वर्गविहीन, राज्यविहीन वैज्ञानिक साम्यवादी समाजको स्थापना गर्ने व्यवस्थाको नामनै वैज्ञानिक समाजवाद हो । विश्वभरनै क्रान्तिकारीहरुले सोही वैज्ञानिक समाजवादको स्थापनाका लागि जीवनमरणको संघर्ष गर्दै आइरहेका छन् । वैज्ञानिक समाजवादमा सर्वहारा वर्गको अधिनायकत्व कायम भएको हुन्छ । त्यतिबेला सर्वहारा वर्ग सत्ताधारी वर्ग हुन्छभने पूँजीपति वर्ग प्रतिपक्ष वर्गमा झरेको अवस्थामा हुन्छ । वैज्ञानिक समाजवादका तीन प्रमुख विशेषता रहेका हुन्छन् । माक्र्सवादी मान्यताअनुसार साम्यवादमा पुग्ने अस्थायी साधननै वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद लामो र निरन्तर संघर्षको प्रक्रियामार्फत् रुपान्तरित उन्नत सामूहिक चेतनाको विकासपछिमात्र सम्भव हुन्छ । पुरानै शोच र मनोविज्ञानमा आधारित पछौटे उत्पादन सम्बन्धमा समाजवाद स्थापना हुँदैन । जनताका मौलिक अधिकारमा राज्यले दायित्व लिनुमात्र पनि वैज्ञानिक समाज होइन । यो आमजनताको औषत चिन्तन, मनोविज्ञान, शोच र स्वार्थबाट माथिउठेको उन्नत सामूहिक तथा मानवीय प्रगतिशील चेतबाटमात्र सम्भव हुन्छ । जसका लागि सामूहिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुँदै मानवीय उन्नत चेतनाको विकास हुनु जरुरी हुन्छ । छोटो शब्दमा साम्यवाद स्थापना हुनु अघिको संक्रमणकालीन सामाजिक आर्थिक व्यवस्थालाईनै वैज्ञानिक समाजवाद भनिन्छ । वैज्ञानिक समाजवाद भीषण वर्गसंघर्षको माध्यमबाटमात्र स्थापना गर्न सकिन्छ । सन् १९१७ मा रुसमा भीषण वर्गसंघर्ष (आम सशस्त्र जनविद्रोह) को माध्यमबाट महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर विश्वमै पहिलोपटक वैज्ञानिक समाजवादको स्थापना गरिएको थियोे ।
त्यसैगरी सन् १९४९ अक्टोबर एकमा महान् चिनियाँ नयाँ जनवादीक्रान्ति सम्पन्न भएपछि वैज्ञानिक समाजवादमा संक्रमण गराइएको थियोे । त्यस्तै हो चि मिन्हको नेतृत्वमा भियतनाम पनि वैज्ञानिक समाजवाद स्थापना गरिएको थियोे । वैज्ञानिक समाजवादको स्थापनाका लागि दुईवटा बाटाहरु रहेको मानिन्छ । पहिलो क्रान्तिको बाटो हो । दोश्रो पूँजीवादी क्रान्ति भइनसकेका र अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थामा रहेका देशहरुमा कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर र किसानबीचको एकताका आधारमा गरिने नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गरेपश्चात् वैज्ञानिक समाजवादमा पुग्न सकिन्छभन्ने हो । तर नेपालको कम्युनिष्ट राजनीतिमा यतिबेला अवसरवाद र विश्व साम्राज्यवादको दबदवा तीब्र भएकाले पहिलो बाटोमात्र उपयोगी हुनसक्ने देखिएको छ । नेपाल आज पनि अर्धसामन्ति र नवऔपनिवेशिक अवस्थामै रहेकाले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गरेपछिमात्र वैज्ञानिक समाजवादमा संक्रमण गर्ने परिस्थिति निर्माण हुनसक्ने देखिएको छ । विश्व साम्राज्यवादले जहिलेपनि कम्युनिष्ट शक्तिलाई दबाउने र छिन्न भिन्न पार्ने प्रयास गरिरहेको हुन्छ । हालको अवस्थामा नेपालमा त्यहीनै भैरहेको छ । करिव एकदर्जन कम्युनिष्ट नामधारी पार्टीरहेपनि कसैकाबीचमा मेल छैन । यो हुन नसकेको होइन, हुन नदिइएको हो । पछिल्लो समयमा नेपालका कम्युनिष्ट पार्टीहरुभित्र मालेमावादी सिद्धान्तको सही ढंगले अभ्यास हुनछाडेको र साम्राज्यवादी घुसपैठ अधिक भएका कारण कम्युनिष्ट पार्टी र शक्तिहरु छिन्नभिन्न भएका हुन् । त्यसैले जबसम्म नेपालमा विदेशी हस्तक्षेपका विरुद्ध एकीकृत क्रान्ति हुनसक्दैन तवसम्म वैज्ञानिक समाजवाद त के सामान्य प्रजातान्त्रिक व्यवस्था पनि स्थापना हुनसक्दैन । विदेशी प्रभावित हालको विद्यमान राजनीतिक व्यवस्थाले समाजवादमा जान दिँदैन । त्यसैले अरु मोर्चा होइन साम्राज्यवाद विरोधी मोर्चामा जोड दिनुपर्छ । जसको अर्को विकल्प छैन ।