कुशल अभिभावक वीरजङ्ग
चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ कम्युनिस्ट आन्दोलनका चर्चित र स्थापित नाम हो । मूलतः पश्चिम नेपालका साविकको पश्चिमाञ्चल, मध्यपश्चिमका धेरै जिल्लाका गाउँँबस्ती र जनताका घरआँगनमा पुग्नुभएका लोकप्रिय नेता हुनुहुन्थ्यो वीरजङ्ग । वीरजङ्ग २०१७ फागुन ७ गते क्रान्तिकारी कम्युनिस्टहरूको आधारक्षेत्र रोल्पा जिल्लाको साविक इरिबाङ गाविसको वडा ६ तल्लो केउरीमा हालको परिवर्तन गाउँँपालिका वडा ३ मा जन्मनुभएको हो । उहाँ बुबा चित्रबहादुर चन्द र आमा आशिकादेवी चन्दको तेस्रो सन्तानको रूपमा जन्मनुभएको थियोे । वीरजङ्गको बुबा चित्रबहादुर १६ गाउँँको जिम्माल हुनुहुन्थ्यो । वीरजङ्ग २०३५ सालमा प्यूठान बासखोलामा निवासी राजकुमारी चन्दसँग विवाह बन्धनमा बाँधिनुभएको थियोे । तीन दाजुभाइ र चार दिदीबहिनीमा तेस्रो सन्तानका रूपमा २ दिदीहरू, २ भाइ र २ बहिनी हुन् । वीरजङ्गको एउटी बहिनी भने घर नजिकै खेल्नेक्रममा माथिबाट झरेको ढुङ्गाले च्यापेर सानो उमेरमा मृत्यु भएको थियोे । वीरजङ्गको कान्छो भाइ नेत्रविक्रम चन्द ‘विप्लव’ नेपालको माओवादी आन्दोलनको चर्चित तथा स्थापित नेता एवम् नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुनुहुन्छ । माइलो भाइ पनि पार्टी निकट अखिल नेपाल खेलकुद महासङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । मूलतः उहाँँको परिवार राजनीतिमा हिजो पनि सक्रिय थियोे र अहिले पनि पार्टी सङ्गठनका विभिन्न जिम्मेवारीमा रहँदै सक्रिय भूमिकामा रहेको छ । वीरजङ्गले २०३३ सालमा एसएलसी पास गरेपछि गाउँँ नजिकैको स्कुल तत्कालीन रोल्पा भाबाङ गाउँँ पञ्चायतको सरकारी स्कुलमा अध्यापन गराउन सुरु गर्नुभयो ।
सानो उमेरदेखि नै निडर, साहसी र दृढ आत्मविश्वास भएका वीरजङ्गले स्कुल पढाउने क्रममा पछाडि गाविस सचिवमा नाम निकाल्नुभयो । केही समय गाविस सचिवमा काम गरिसकेपछि उहाँँलाई आर्मी बन्ने इच्छा जागेर ब्रिटिस आर्मीमा भर्ती हुन जानुभयो । त्यहाँ पनि उहाँँले राम्रो व्यवहार नदेखेपछि तालिम छाडेर फेरि काठमाडौँ फर्किनुभयो । काठमाडौँ आइसकेपछि उहाँँ फेरि नापतौल तथा गुणस्तर विभागको सरकारी जागिर खानुभयो । गुणस्तर विभागको जागिर पनि छाडेर गाउँँ फर्कनुभएको थियोे । यसरी उहाँँले आफ्नो जीवनकालमा धेरै अवसरहरू पाएर पनि छाडेर आन्दोलन र सङ्घर्षमा होमिएको बलियो इतिहास र तथ्य उहाँँमा देखिन्छ । वीरजङ्गको बहिनी घरनजिकै ढुङ्गाले च्यापेर सानै उमेरमा बितेको पीडाले आमा आशिकादेवी चन्दलाई निकै ठूलो तनावपूर्ण बनाइरहेको बुझेपछि चन्द परिवार २०३९ सालतिर कपिलवस्तुतिर झर्ने योजना बनाएको देखिन्छ । यद्यपि उहाँँहरूको सबै परिवार भने २०४५ तिर मात्रै कपिलवस्तु शिवगढी झर्नुभएको हो । मध्यम परिवारमा जन्मनुभएका वीरजङ्गको परिवारलाई खान, लगाउन धेरै समस्या थिएन । बुबा गाउँको जिम्माल, त्यसमाथि आर्थिक अवस्था धेरै कमजोर पनि थिएन । उहाँँको परिवारसँग २०४२–०४४ सालतिर झन्डै ४४–४५ तोला सुन, चाँदी रहेछ । पछि वीरजङ्गले परिवारको सल्लाहबमोजिम आफ्नो साला पर्ने राजेन्द्रप्रताप शाहलाई लिएर उक्त सुनचाँदी बेच्न रोल्पाबाट भैरहवा आउनुभयो ।
भैरहवामा प्रतितोला ७ सय रुपियाँमा सुन किन्ने मान्छे भेटियो तर त्यो मूल्यभन्दा काठमाडौँमा अलि बढी मूल्य पर्छ भन्ने सुनेपछि उहाँँको भिनाजु नाता पर्ने जयबहादुर शाहीसहित ३ जना नाइट बस चढेर काठमाडौँ पुग्नुभएको रहेछ । पछि १३ सय रूपैयाँ तोला सुनचाँदी बेचेर कपिलवस्तु फर्केपछि बल्ल जग्गा जमिन किन्नुभएको रहेछ । त्यो बेलामा त्यही सुन बेचेको पैसाले कपिलवस्तु शिवगढीमा झन्डै ८–१० विगाह जग्गा किन्नुभएको उहाँँहरूसम्बद्ध स्रोतले बताएको थियोे । जग्गाजमिन, बसोबास सबै मिलाएपछि सबै परिवार कपिलवस्तु बस्दै आउनुभएको हो । वीरजङ्ग सानो उमेरदेखि नै अफ्ठ्यारो परेका मान्छेलाई सहयोग गर्ने, हेपाइ कसैको सहन नसक्ने, साना–ठुला सबैलाई समान व्यवहार गर्ने, गरिब, दीनदुःखीलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो । जब शिक्षक, गाविस सचिव, आर्मी, गुणस्तर विभागको जागिर सबै त्यागेर जब जनताको काम गर्ने जुन दृढ अठोट लिनुभयो, तब वीरजङ्ग शिवगढीका जनताका समस्यामा सहयोग गर्ने, आफ्नो निजी सम्पत्ति खर्चेर आर्थिक हिसाबले विपन्न परिवारलाई सहयोग गर्ने, धान चामल, तेल बाँढ्ने, दुःख परेको बेलामा दिन–रात आफैँ जुटेर सहयोग गर्ने सहयोगी स्वभाव र स्थानीय जाली, फटाहाका जनविरोधी हर्कतको खुलेर प्रतिरोध गर्ने स्वभावका कारण उहाँलाई धेरै जनताले मन पराउने गर्दथे, जसको कारण वीरजङ्ग शिवगढीमा जनताको बीचमा लोकप्रिय हुनुभएको थियोे भने दुश्मनका बीचमा सत्रु देखिनुभएको थियोे । यद्यपि वीरजङ्गको जनताप्रतिको अगाध विश्वास र भरोसाका बीच २०४९ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट गाविस अध्यक्षमा भारी मतले विजयी हुनुभएको थियो ।
जब वीरजङ्ग ठूलो जनमतका साथ गाविस अध्यक्ष निर्वाचित हुनुभयो, त्यसपछि उहाँले जनताका काममा झनै जागरुक भएर लाग्नुभयो । जुनबेला वीरजङ्ग गाविस अध्यक्ष हुनुभएको थियोे, त्यो समयमा उहाँँले आफ्नै घरको पैसा खर्चेर शिवगढीका धेरै जनताको काम गर्नुभयो । सामान्य परिवारका सदस्यलाई लिएर आफैँले खर्च हालिदिएर नागरिकता बनाउन तौलिहवा जाँदा आमाले “यसले आफ्नो जग्गा, जमिन बेचेर भ्याउने भयो” भन्दै धेरैपटक गुनासो गरिरहेका स्थानीयले बताउँछन् । वीरजङ्गले २०४५ तिर किनेको शिवगढीको जग्गा राजनीति र जनताका पक्षमा काम गर्दा गर्दै ५–६ बिगाह बेचेको त्यहीका स्थानीय बताउँछन् । राजनीतिमा लागेर धनी र सम्पन्न बन्ने होड चलिरहेका बेला वीरजङ्गले भएको सम्पत्ति बेच्दै राजनीतिमा होमिनुभएको थियोे भने कतिपय जमिन आपूm पार्टी पूर्णकालीन भएपछि पारिवारिक व्यवस्थापनमा खर्चन बाध्य हुनुभयो । त्यो पनि छोरा, आमा, परिवारका सदस्यहरूको उपचारमा खर्च भएको बुझिन्छ ।
क. वीरजङ्गसँग मेरो पहिलो भेट २०६१ सालमा भएको थियोे । जनयुद्धको उत्कर्ष थियोे । म स्याङ्जाबाट काम विशेषले रूपन्देही गएको थिएँ । मेरो बुबा एमाले पृष्ठभूमिको हुनुहुन्थ्यो तथापि मेरा दुई दाइहरू माओवादी आन्दोलनमा अप्रत्यक्ष जोडिनुभएको थियोे । पछि मेरो दाइ भूमिगत हुनुभयो । म अखिल क्रान्तिकारीको स्कुल एकाइ अध्यक्ष थिएँ । त्यो हिसाबले पनि रूपन्देही गएको बेला माओवादी नेता–कार्यकर्ताहरूसँग भूमिगत भेटघाट हुने मौका मिलेको थियो । धेरै कुरा नभए पनि रूपन्देहीको जिल्ला इन्चार्ज भनेर हात मिलाएर लाल सलाम गरेँ । “मेरो घर स्याङ्जा हो, विद्यार्थीमा छु” भनेर परिचय दिएको थिएँ । उहाँँले दह्रोसँग हात मिलाएको मलाई अझै याद ताजै छ । ठ्याक्क हेर्दा अलि कडा स्वभावको जस्तो लागेको थियोे । २०६९ मा स्याङ्जाबाट पार्टी सङ्गठन सरुवा भई रूपन्देही आउँदा उहाँँको कार्यक्षेत्र कपिलवस्तु थियोे । २०७१ मा कमरेड किरणसँग छुट्टै अलग पार्टी बनाएपछि उहाँँ लगत्तै लुम्बिनी ब्युरो इन्चार्ज हुनुभयो । म पत्रकार सङ्गठनको ब्युरो संयोजक थिएँ । त्यसपछि उहाँँसँगै हुने अवसर मिल्यो । म ‘लालकलम’ साप्ताहिकको सम्पादक थिएँ । उक्त पत्रिका पार्टी विभाजनपछि किरण कमरेडतिर लागेका साथीहरूसँगको कानुनी स्वामित्वमा परेको थियोे । पछाडि कमरेड वीरजङ्ग, कृति, प्रज्वलन, बन्धु, सङ्गम, जुझारु, शरद, धिरजलगायतका लुम्बिनी ब्युरोका नेताहरूसँग सल्लाह गरेर हामीले ‘गर्जन पोस्ट’ साप्ताहिक सुरु गरेका थियौँ ।
जब ‘गर्जन’ साप्ताहिक सुरु भयो, तब वीरजङ्ग दाइसँग झनै नजिकबाट सहकार्य र काम गर्ने अवसर मिल्यो । पार्टी सङ्गठनको हिसाबले मात्रै होइन, म उहाँँसँग पारिवारिक हिसाबले समेत निकै नजिक हुँदै गएँ । जति–जति उहाँँको नजिक भएर उहाँँका विगतबारे मैले थाहा पाएँ, त्यति उहाँँप्रति ममा सम्मान र आदरभाव बढ्दै गयो । उहाँँ एउटा नेताभन्दा कुशल अभिभावकजस्तो रहेर मलाई सल्लाह, सुझाव र निर्देशन दिनुहुन्थ्यो । वीरजङ्ग दाइसँग म लुम्बिनीका दर्जनौँ कार्यक्रममा सहभागी भएको छु । उहाँँका सबै कार्यक्रमका अभिव्यक्तिमा जनताप्रतिको इमानदारिता झल्किन्थ्यो । उहाँमा सरलता र कार्यकर्ताप्रतिको माया देखिन्थ्यो । सङ्गठन संरचनाको हिसाबले नेता जो कोही पनि हुन सक्छन् । तर जनता, कार्यकर्ताको मनोविज्ञान, अवस्था र परिस्थिति बुझेर योजना बनाउने र परिचालन गराउने विशिस्ट क्षमता वीरजङ्ग दाइसँग थियोे । इमानदारिता, पारदर्शिता, विचारमा दृढता थियोे । पछि जब आन्दोलन थप पेचिलो बन्दै गयो, तब देशभर सरकारले नेता–कार्यकर्तामाथि धरपकड र गिरफ्तारी बढाउँदै लग्यो । वीरजङ्ग दाइ लुम्बिनी ब्युरोबाट पश्चिम कमान्ड इन्चार्ज हुनुभयो ।
२०७४ को निर्वाचनमा पार्टीले निर्वाचन बहिष्कार गरेको थियोे । सोही समय उहाँँका जेठा छोरा बीएस गम्भीर बिरामी हुनुभयो । बिरामी छोराको उपचारको सिलसिलामा काठमाडौँ गएको बेला दाइ काठमाडौँबाट गिरफ्तार हुनुभयो । २०७१ मा विप्लव नेतृत्वको नयाँ पार्टी नेकपा माओवादीका पार्टी महासचिव विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याउनुभयो । कमरेड वीरजङ्गले विप्लवको नेतृत्वमा अगाडि बढेको एकीकृत जनक्रान्तिलाई थप उचाइमा पु¥याउन अभिभावकीय भूमिका निभाउनुभएको थियोे । कम्युनिस्ट पार्टी र आन्दोलनमा लागेका नेता–कार्यकर्ताले वीरजङ्ग दाइबाट धेरै कुरा सिक्न र व्यवहार अनुशरण गर्न आवश्यक छ । सरकारले नेकपालाई २०७५ फागुन २८ गते असंवैधानिकरूपले प्रतिबन्ध लगायो । सविधान विपरीत एउटा राजनीतिक पार्टीलाई सरकारले राजनीतिक गतिविधि गर्न नदिनेगरी प्रतिबन्ध लगाएको विरोधमा देशभर पार्टी तथा नागरिकस्तरमा सरकारको विरुद्ध आन्दोलन चर्किएको थियोे । देशभित्र र बाहिरका विभिन्न कम्युनिस्ट शक्तिहरूले प्रतिबन्धको विरोध गरिरहेका थिए । तर, सरकार फौज परिचालन गरेर भए पनि नेकपालाई थप दबाउने, पक्राउ गर्ने, झुट्टा मुद्दा लगाएर कमजोर पार्ने योजनामा लागेको थियोे । तर, नेकपा देशभर सशक्त प्रतिरोधको तयारीमा लागिरहेको थियोे । यसै सन्दर्भमा पश्चिम कमान्डअन्तर्गत राप्ती ब्युरोको बैठक बसिरहेको बेला दाङको कोइलाबास नजिकैबाट वीरजङ्गलगायत २१ जना नेता–कार्यकर्ता गिरफ्तारीमा पर्नुभयो ।
वीरजङ्ग दाइ गिरफ्तार पर्नुभएको दिन म कैलाली कारागारमा रहनुभएकी नेतृ बन्धु चन्दलाई भेट्न जाँदै थिएँ । पक्राउ परेको खबर पछि चिसापानीबाट दाङ फर्कियो । पक्राउपछि वीरजङ्गलगायत नेताहरूलाई जिल्ला प्रहरी कार्यालय, दाङको हिरासतमा राखिएको रहेछ, त्यहाँ भेट्न दिइएन । अर्को दिन, अदालत ल्याउनेक्रम मसहित दाङका ६–७ जना पत्रकारसहितको टोली अदालत पुगियो । वीरजङ्ग दाइलगायत सबै नेता–कार्यकर्ताको स्वास्थ्य अवस्थाबारेमा कुराकानी भयो र नेपाल बार एसोसियसनका पदाधिकारीसँग भेटघाट गरी उहाँँहरूको हिरासतको अवस्थाबारे तपाईंहरूले विशेष ख्याल राखिदिन अनुरोध गरेर कपिलवस्तु फर्कियौँ । अर्को दिन वीरजङ्ग दाइ बिरामी हुनुभएको खबर आयो । दाङका स्थानीय पार्टी, पत्रकार साथीहरूको पहलमा नजिकैको हस्पिटल लगेर उपचारको व्यवस्थापन भयो । दाङमा सबै कानुन प्रक्रिया पूरा गरिसकेपछि उहाँलाई अदालतले छाड्ने आदेश दियो तर प्रहरीले उहाँलाई पुनः पक्राउ गरेर देशका विभिन्न जिल्लामा झुट्टा मुद्दा तयार गर्दै अदालतले छाड्ने आदेश दिए पनि पटक–पटक पक्राउ गर्दै चर्को मानसिक यातना दिइराख्यो । पछि जिल्ला प्रहरी कार्यालय, ललितपुरको हिरासतमा भएको बेला म, तत्कालीन जनपत्रकार सङ्गठनका महासचिव हिम विष्ट र पत्रकार मित्र किरण आचार्य भएर भेट्ने गयौँ । तत्कालीन ललितपुर प्रहरीका एसएसपीसहित उहाँकै कक्षमा बसेर “वीरजङ्ग सरको स्वास्थ्य एकदमै अफ्ठ्यारो भयो, एसएसपी साप, जसरी पनि उपचारको व्यवस्था मिलाउनुपर्ने भयो” भनेपछि उहाँँले राम्रो सहयोग गर्नुभयो । उहाँँले “भोलि अदालत पेश गर्ने कुरा छ । अदालत पेश गरेपछि त के हुन्छ खै, मेरो जिम्मेवारीको कुरा हुँदैन तर आज र भोलि अदालत पेश नगर्ने बेलासम्म उपचार गराउनू” भनेर एकजना असई भाइलाई जिम्मेवारी दिनुभयो अनि प्रहरीको गाडीमा नै हस्पिटल लगियो ।
उपचार चलिरहेको थियोे । म, हिम विष्ट, पछि जयन्द्र चन्द दाइलगायत परिवारका अन्य सदस्य आउनुभयो । हामीले सल्लाह ग¥यौँ– यदि मिल्छ भने यस्तो स्वास्थ्य अवस्था गाह्रो छ । वकिलहरूमार्फत् कुरा गरेर उपचारको व्यवस्था मिलाउन प्रयास किन नगर्ने भनेर तर हामीले बनाएको योजनाअनुसार भएन । अदालतले छाड्ने आदेश दियो । दाइको अस्वस्थ अवस्थामा प्रहरीले जबर्जस्ती पुनः पक्राउ ग¥यो । विभिन्न जिल्ला घुमाउँदै नवलपरासी लगेपछि त्यहाँ जेलरसँग कुराकानी भयो । “स्वास्थ्य अवस्था बिग्रेकोले अवस्था अलि गाह्रो भएको छ सर, उहाँलाई उपचारको व्यवस्था मिलाउन पर्नेछ” भनेर म र एकजना स्थानीय कानुन व्यवसायी साथी कृष्ण क्षेत्री भएर गयौँ । हामीले उहाँँ जेल सरुवा गराउने र चितवन पठाउने योजना गराएका थियौँ । चितवनमा डाक्टर प्रकाश चन्द, जो वीरजङ्ग दाइको भतिज भएपछि उपचारमा विशेष ख्याल पुग्छ भन्ने थियोे र परिवारको योजना पनि त्यही देखिन्थ्यो । नवलपरासी जेलरले “विभागमा कुरा गर्नुपर्छ सरुवाको लागि” भनेपछि हामीले विभागमा गएर कुरा गरियो । जे होस्, विभागका हाकिमले सकारात्मक कुरा गर्नुभयो, “हुन्छ २–३ दिनमा सरुवाको व्यवस्था मिलाउँछु” भनेपछि हामी ढुक्क भयौँ ।
वीरजङ्ग दाइलाई भनियो, “दाइ चितवन जेल सरुवाको कुरा भएको छ । उता भएपछि अलि ख्याल पनि हुन्छ । प्रकाश चन्द भाइ पनि छन् । हस्पिटल र डाक्टरहरूको पनि सहज पहुँच हुन्छ ।” दाइले “ठिकै छ, अझै भर नगर्नुहोला जेलरलाई ताकेता गर्नुहोला प्रकाशजी” भन्नुहुन्थ्यो ! मैले “हुन्छ दाइ, जेलरसँग कुरा गरिरहन्छु” भनेर बुटवल लागेँ । अर्को दिन जेलरले “भोलि नै लैजाने तयारी छ सर, रातीमा हुन्छ होला” भनेर लैजाने खबर गरे । दाइ चितवन गएपछि उपचार हुन्छ, सबै हिसाबले केही सहज होला भन्ने भयो । तर, दाइको स्वास्थ्य दिन–प्रतिदिन झन्भन्दा झन् कमजोर हुँदै गइरहेको रहेछ । विभिन्न जेल तथा हिरासत भेटघाटमा दाइले पार्टी आन्दोलनप्रति चिन्ता राखिरहनुहुन्थ्यो । जब २०६८ फागुन २१ मा केपी ओलीको नेतृत्वको सरकारसँग ३ बुँदे सहमति भयो, हामीलाई लाग्यो– अब सबै नेता–कार्यकर्ता छुट्छन् । परिस्थिति सहज हुन्छ । तर, सरकारले ३ बुँदे सहमतिप्रति ईमानदारिता देखाएन । नेता–कार्यकर्ता छाड्ने विषयलाई सरकारले कानुनसम्मत ढङ्गले व्याख्या गराउन सुरु ग¥यो । हामीलाई लाग्यो– सरकारले ३ बुँदेमा पार्टीसँग छलछाम ग¥यो । हामीलाई ठूलो आशा थियोे– वीरजङ्ग दाइलगायतका सबै नेता–कार्यकर्ता छुट्नु हुन्छ भन्नेमा ।
तर, विडम्बना ! वीरजङ्ग दाइलगायतका दर्जनौँ नेता छुट्नुभएन । कानुनी प्रक्रियामार्फत् भएपनि छुट्न प्रयास गर्ने भन्नेर वीरजङ्ग दाइलाई नेताहरूले अनुरोध गर्नुभयो तर वीरजङ्ग दाइले मान्नुभएन । छुट्ने हो भने राजनीतिक सहमतिमा आधारमा छुट्नुपर्छ । होइन भने बरु म यहीँ बस्छु भनेर अडान कस्नुभयो । यसले देखाउँछ, दाइ साँच्चै आन्दोलनप्रतिको एउटा इमानदार पुँजी हो । पछि पटक–पटक नेताहरू र परिवारले आग्रह गरेपछि कानुनी प्रक्रियामार्फत् वीरजङ्ग दाइ रिहा हुनुभयो । रिहाइपछि पारिवारिक भेटघाटको लागि शिवगढी जानुभयो । घरमा हुँदा पनि स्वास्थ्य झनै समस्याग्रस्त भएपछि बुटवल आउनुभयो । शरद वली दाइले बुटवलको क्रिमसन हस्पिटलमा लैजानुभयो । त्यहीँ बेला शरद दाइको घरमा २–३ दिनसँगै भयौँ । प्रतिबन्ध, दाङको गिरफ्तारी, देशभरका जेल–हिरासतमा भएका अनुभव तथा अनुभूति, ३ बुँदे सहमति, पार्टी–पङ्क्तिलगायतका विषयमा लामो कुराकानी भयो । दाइले निरन्तर भनिरहनुहुन्थ्यो– दायाँ बायाँ गर्ने छुट कसैलाई छैन्, दायाँ बायाँ गरे–यत्रो त्याग, तपस्या गरेर जनतालाई धोका दिन पाइँदैन, बरु मर्न तयार हुनुपर्छ । यदि वीरजङ्ग दाइ आन्दोलनप्रति गद्दारी गरेर छिट्टै रिहाइ भएर उपचारमा लागेको भए, उहाँँ अहिले जीवित पनि हुन सक्नुहुन्थ्यो । तर, उहाँले पार्टी आन्दोलन र क्रान्तिप्रति धोका र गद्दारी गर्नुभन्दा बरु स्वाभिमानीपूर्वक मृत्युको बाटोमा हस्ताक्षर गर्नुभयो ।
रिहाइपछि पनि निरन्तर उहाँँको स्वास्थ्य सुधार नभएपछि उहाँलाई उपचारको क्रममा दिल्ली लगियो । मुटुको समस्या भएपछि अप्रेसन पनि भयो । अप्रेसन सफल पनि भयो तर पछि घाउमा सुधार हुन सकेन । दसैँको बेला थियोे । जताततै रमाइलो थियोे । म स्याङ्जा घरमा गएको थिएँ । एक्कासी खबर आयो– वीरजङ्ग दाइ बित्नुभयो रे ! मैले पत्याउनै सकिनँ । असिन–पसिन भएँ । जताततै अँध्यारोजस्तो भयो । मलाई पार्टी नेता होइन, मेरो एउटा पारिवारिक अभिभावक गुमाएको पीडाबोध भयो । घरमा सबै कुरा जानकारी गराएर कपिलवस्तुतिर लागेँ । जब कपिलवस्तु पुगेँ, भर्खरै वीरजङ्ग दाइको शव ल्याइएको रहेछ । विप्लव दाइलगायतका सबै नेता–कार्यकर्ताहरू स्तब्ध हुनुहुन्थ्यो । जताततै रुवाबासी थियोे । देशभरका नेता–कार्यकर्ताहरू शिवगढीमा जुट्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रम सुरुआत भयो । जब पार्टी महासचिव एवम् वीरजङ्ग दाइको कान्छो भाइ विप्लवले श्रद्धाञ्जली मन्तव्य राख्न सुरु गर्नुभयो जब वीरजङ्ग दाइले हस्पिटलको बेडबाट ‘आन्दोलनलाई धोका नहोस्, यो कुरा सुनाइदिनू’ भनेको भावसहितको भाषण महासचिवले गर्नुभयो, तब हामी सबै भावविह्वल र मर्माहत भयौँ । उठेर बोल्नुहुन्छ कि जस्तो गरी दाइ निदाएको जस्तो देखिनुहुन्थ्यो । तर उहाँ सदाका लागि निदाइसक्नुभएको थियोे । आदरणीय वीरजङ्ग दाइ, तपाईंको भौतिक शरीर हामीसँग नभए पनि तपाईंको विचारप्रति सधैँँ सम्मान प्रकट गर्दछौँ ।