संसदवादी दलभित्र माओवादी राजनीतिका कुरा
नेपालको राष्ट्रिय राजनीतिमा गतसाता मात्र सरकारको नेतृत्व गरिरहेको एमाले र संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भयो । संयोग हो वा त्यसको भित्री रहस्य के छ ? उनीहरूले एकैदिन अलग, अलग स्थानमा बैठक शुरुगरेर एकैदिन अर्थात पुस २१–२३ मा बैठक सम्पन्न गरे । जबकी माओवादी केन्द्रको २४ गतेसम्म बैठक सञ्चालन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो भने एमालेको बैठक केही दिन लम्बिन सक्ने भनिएको थियो । एमालेको बैठकले १४ बुँदे र माओवादी केन्द्रको बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको भनिएको छ । दुबै पार्टीका बैठकमा एकले अर्कोलाई सकेजति आलोचना र विरोध गरे । तुलनात्मकरूपमा एमालेको बैठकमा राष्ट्र र राष्ट्रियताकाबारेमा बढिनै कुराहरू उठे । तर माओवादी केन्द्रको बैठकमा त्यस्ता कुराहरू पनि उठेनन् । दुबै पार्टीका बैठकबाट पारित प्रस्तावहरू यसका उदाहारण रहेका छन् । एमालेको बैठक र निर्णयमा माओवादी आन्दोलनको पटक–पटक विरोध भयो भने माओवादी केन्द्रको बैठकमा जनयुद्ध दिवस मनाउने लगायतका कुराहरू भए । एमाले ०४६ पछिबाटै संसदवादी पार्टी भएका कारण मालेमावादका बारेमा संझना नगर्नु कुनै आश्चर्य भएन । तर माओवादी केन्द्रले पनि मालेमावादको संझना नगरेको देखिँदा कतिपयले आश्चर्य व्यक्त गरे । खासमा सो पार्टी पनि ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा १२ बुँदे सहमति गर्ने बहानामा जनयुद्ध विसर्जन गरेर संसदवादी राजनीतिमा फर्केका कारण जुनयुद्ध र मालेमावादको संझना गरिरहनुको कुनै औचित्य थिएन । किनकी विश्वमा संसदवादी राजनीतिमा फसेका कुनैपनि कम्युनिष्ट पार्टीहरू मालेमावादी रहेका छैनन् । मुखले चर्का नारा दिने तर व्यवहारमा अन्य संसदवादी पार्टीलाई पनि माथ गर्न खोज्ने प्रवृत्तिले गर्दा कम्युनिष्ट आन्दोलनलाई बीचैमा छाडेर संसदवादी भएकाहरू अरुभन्दा अविश्वसनीय देखिने र हुनेगरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको यस पटकको बैठकमा केही सदस्यले जनयुद्धकालीन शैलीको संगठन हुनुपर्ने तर्क गरेको देखिएको थियो । तर त्यसप्रति नेतृत्वले कुनै उत्तर पनि दिएन र त्यो संभव पनि छैन । किनकी संसदवादी र माओवादी राजनीतिका बीचमा आकाश जमिनको फरक रहेको छ ।
संसदवादी राजनीतिमा अभ्यस्त भैसकेकाहरूले माओवाद वा माओवादी शब्दको प्रयोग नगर्दा देश र जनताप्रति बढी न्याय गरेको ठहर्छ । यसै मेसोमा कतिपय नेताहरूले आगामी फागुन एकगते जनयुद्ध दिवस मनाउने र त्यसमा पूर्व माओवादी समूहहरू एकैठाउँमा जम्मा हुन पाए राम्रो हुने कल्पना गरेको पनि सुनियो । खासमा त्यसलाई हवाई कल्पना र दिवा सपना भन्ने गरिन्छ । किनकी पूर्व माओवादी समूहहरू अब फेरी एक ठाउँमा हुने कुनैपनि संभावना छैन । जस्तो कतिपय संसदीय राजनीतिमा चुर्लुम्म डुबेकाहरूले जनयुद्ध सफल भैसकेको ठान्ने गरेका छन्भने कतिपयले जनयुद्ध सफल हुन बाँकी रहेको मूल्यांकन गरेका छन् । दुबैथरीले ०५२ सालमा दीर्घकालीन जनयुद्धका लागि उठाइएका ४० सूत्रीय मागहरूको संझना समेत गर्न छाडेका छन् । जनयुद्धमा सहभागी भएर ०६३ को परिवर्तनपछि सत्ता र शक्तिमा पुगेकाहरू परोक्षरूपमा उक्त मागको विपक्षमा लागेको देखिएको छ । जस्तो कतिपयले विश्व साम्राज्यवादका नीतिहरू अंगाल्नु यसको ताजा उदाहारण हो । जनयुद्धकालीन नेताहरू चार पटक देशको कार्यकारी प्रमुख हुँदा पनि ४० सूत्रीय माग पूरागर्नु त कता हो कता त्यसको संझनासमेत नहुनु पनि उपरोक्त कुराको दोश्रो ताजा उदाहारण नै हो । कसैले पनि एकैपटक दुईवटा डुंगामा खुट्टा राखेर जलयात्रा गर्न सक्दैन । कतिपयले त्यस्तो यात्रा गर्न खोज्दा दुर्घटना ब्यहोर्नु पनि परेको छ । कतिपय बिद्वानहरूले भनेका पनि छन–बेमेलपूर्ण कार्यदिशाले समाजको सही नेतृत्व गर्दै अग्रगामी निकाश पहिल्याउन सक्दैन । माओवादी राजनीतिक दृष्टिकोण र संसदवादी कार्यदिशाबीच सैद्धान्तिक, राजनीतिक, बैचारिकरूपमा तादातम्यता मिल्छकि मिल्दैन ? भन्नेमा स्पष्ट हुनु जरुरी छ । भौतिवादी दर्शनको सामान्य अध्ययन गरेकाहरूलेसमेत बुझेको कुरा हो कि माओवाद र संसदवाद दुई अलग विषय हुन् । उक्त दुईलाई मिलाउने अथवा मिसाउने प्रयास गरियो भने त्यो सधैँ दुर्घटना र असफलताको कारक हुनजान्छ । हाल कतिपय समूहको राजनीतिमा त्यहीनै भएको छ । ०४६ सालको परिवर्तनपछि तत्कालीन माले केही संसदवादी नेताहरूलाई पार्टीमा भित्र्याएर एमाले बन्यो । एमाले बनेपछि बसेको केन्द्रीय समितिको एउटा बैठकले औपचारिकरूपमा नै निर्णय गरेर माओ विचारधारा परित्याग ग¥यो ।
बहुदलीय संसदीय व्यवस्थामा अभ्यस्त हुने कार्यनीति तयभएकाले होला उसले पार्टीको नीतिनै जनताको बहुदलीय जनवाद बनायो । जुन बिचारधारा तत्कालीन अवस्थामा नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादको नक्कल थियो । ०४६ को परिवर्तनबाट सत्ता र शक्ति पाएपछि नेकांलेसमेत प्रजातान्त्रिक समाजवादको सिद्धान्तनै परित्याग ग¥यो, त्यो अर्कै कुरा हो । त्यसपछि एमालेले आफ्नो पार्टी कार्यालयमा राखिएका कम्युनिष्ट राजनीतिका संस्थापक र अन्तर्राष्ट्रिय नेताहरूको तस्वीरहरू पनि हटायो । हुँदा हुँदा पार्टीको नामबाट नेकपा हटाएर सामाजिक जनावादी पार्टी राख्ने प्रयास भएको थियो । तर पछि नाम फेर्ने कामचाहीँ भएन । हालको अवस्थामा एमालेले आपूmलाई ‘सैद्धान्तिक’ नभएर ‘पपुलिष्ट’ अर्थात नाममात्रको कम्युनिष्ट पार्टी मान्ने गर्दछ । जुन कुरा एमालेका अध्यक्ष केपी ओलीले गत चितवन महाधिवेशनमा सार्वजनिकरूपमै स्वीकार पनि गर्नुभएको थियो । त्यसैले एमालेको बिचार र ब्यवहार मिलेकाले उ हालसम्म यथावतरूपमा चलिरहेको छ । तर कतिपय संसदवादी पार्टीका नेताहरूले भएभरका ‘क्रान्तिकारी’ कुरागर्ने तर ब्यवहारमा नेपाली काँग्रेसलाई गुरुमान्ने गर्दा उनीहरूले पाइला, पाइलामा ठेस खानुपरेको छ । अवसरवादी र अविश्वसनीयको भनाई ब्यहोर्नु परेको छ । माओवादी राजनीतिले संसदवादी कार्यदिशा पनि स्वीकार गर्दैन र संसदवादी कार्यदिशाले माओवादलाई चिन्दा पनि चिन्दैन । राजनीतिक दृष्टिकोण र कार्यदिशाकाबीचमा तादात्म्य नमिलेपछि राजनीतिक जीवन व्यवहार अस्वाभाविक हुँदै जानु कुनै आश्चर्यको विषय होइन । माक्र्सवाद–लेनिनवादका आधारभूत मान्यतालाई चिनियाँ विशिष्टतामा लागू गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै र समाजवादी निर्माण अभियानकाक्रममा देखापरेका हरेक किसिमका बिचलन र विसंगतिका विरुद्ध संघर्ष गर्दै माओले माक्र्सवाद–लेनिनवादको रक्षा, विकास र समृद्धिमा पु¥याएको योगदानसित माओवाद सम्बद्ध रहेको छ । माओको अवसानपछि विश्वभरिका माक्र्सवादी–लेनिनवादीहरूले माओले दर्शन, वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र, सैन्यविज्ञान, जनदिशा तथा निरन्तर क्रान्तिकारूपमा चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत् माक्र्सवाद–लेनिनवाद र विश्व क्रान्तिमा पु¥याएको योगदानलाई चीनको विशिष्टतामामात्र सीमित नगरी हालको विश्वक्रान्तिको आम दिशाकारूपमा लिनुपर्छ । माओ बिचारलेमात्र पुग्दैन, माओवादका रूपमा यसलाई स्थापित र आत्मसात गर्नुपर्छ भनेर संश्लेषण गरेका हुन् । माओवादका पक्षधरले माओवाद माक्र्सवादको तेश्रो चरण, आजको माक्र्सवाद हो र अबको समयमा माओवादी नभईकन कसैले पनि आपूmलाई माक्र्सवादी भएको दाबी गर्न सक्तैन भन्ने निष्कर्ष निकालेको पाइन्छ ।
सबैभन्दा पहिले पेरु कम्युनिष्ट पार्टीका नेता गोञ्जालोले सन् १९८३ मा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पेरु क्रान्तिको पथप्रदर्शक सिद्धान्तकारूपमा दस्ताबेजीकरण गरेको पाइन्छ । त्यसपछि सन् १९९३ मा ‘क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) ले माओवादलाई दस्ताबेजीकरण गरेको हो । पथप्रदशर्कक सिद्धान्तकारूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार (क्रान्तिकारी पार्टी, संयुक्त मोर्चा र जनसेना) र दीर्घकालीन जनयुद्ध माओवादी आन्दोलनका अभिन्न अंगहरू हुन् । यस्तो अवस्थामा हाल संसदवादी राजनीतिमा चुर्लुम्म डुबिसकेकाहरूले केवल शब्दलाई मात्र टपक्क टिपेर माओवाद, माओवादी र जनयुद्ध शब्दबाट आपूmलाई क्रान्तिकारी र जनप्रिय देखाउने प्रयास गरिरहेका छन् । पार्टी संगठनमासमेत जनवादी केन्द्रियता, बर्ग संघर्ष, मित्र शक्ति र शत्रु शक्ति बीचको भेद, माक्र्सवादी राजनीतिका सीमालगायतका विश्व कम्युनिष्ट राजनीतिका कुनैपनि मूल्य, मान्यता र आदर्शको ख्याल हुन छाडेको छ । त्यस्तो अवस्थामा माओवादी नाम र जनयुद्धको जप गरेर संसदीय सुख सुविधा प्राप्तिको प्रयास गर्नु चरम राजनीतिक बेइमानी हो । जसले यस्तो दाहोरो चरित्र अपनाएका छन्, उनीहरूले आफ्नै हितका लागि भएपनि आफ्नो ब्यवहार अनुसारको खास किनारा स्पष्ट गरुन ।
( उपरोक्त लेखमा ब्यक्त विचार लेखकका निजी हुन् ।)