नेपाल कम्युनिस्ट पार्टीको नयाँ आर्थिक मार्ग

२०८१ माघ १ गते, मंगलवार
दयाराम सी


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनहरूमा घटेका घटनाक्रमहरू र विगत लामो समय देखिका आफ्नै ज्ञान, श्रम, उत्पादन र संघर्षबाट प्राप्त गरेका अनुभवहरूबाट पछिल्लो समयमा एकीकृत स्वामित्व प्रणाली सहितको नयाँ आर्थिक मार्ग अर्थात New economic Track (NET) को सश्लेषण गरेर आफ्नै पार्टीभित्र प्रयोगमा ल्याएको छ । नेपाल कम्युनिस्ट पार्टीका सबै नेताकार्यकर्ताहरू एकीकृत स्वामित्व प्रणाली अन्तरगत हिमाल, पहाड र तराई गरी देशैभरी सयौं बिगाहा जग्गा भाडामा लिएर आफै स्वयम श्रम र उत्पादनमा सहभागी हुँदै हजारौं क्विन्टल खाद्य बाली उत्पादन गरेर पार्टीसँगै नेता–कार्यकर्ता पनि आर्थिक रूपमा आत्मनिर्भर बन्दै गइरहेका छन । यो ‘NET’ बाट आम बौद्धिक समुदाय र नेपाली जनताको बीचमा देशैभरी चर्चा र बहसको विषय बनेको छ ।
अर्थतन्त्र
समग्र राज्य व्यवस्था सञ्चालनका लागि एउटा असल अर्थतन्त्र आवश्यक पर्दछ । अर्थतन्त्र अर्थ+तन्त्र मिलेर बनेको हुन्छ । अर्थ भन्नाले पैसा, वित्त, धन, सम्पत्ति भन्ने बुझिन्छ र यो एउटा बिनिमयको माध्यम हो । तन्त्र भन्नाले प्रणाली, विधि तथा पद्धति भन्ने बुझिन्छ ।
अर्थतन्त्रको समग्र परिभाषा गर्नुपर्दा कुनै पनि मुलुकभित्र वस्तु तथा सेवाको उत्पादन, स्वामित्व, विनियम, वितरण र उपभोगको नीति, विधि, पद्धति, प्रक्रिया तथा प्रणाली भन्ने बुझिन्छ । जुन राज्यद्वारा नियन्त्रित हुन्छ । समग्र राज्य व्यवस्था सञ्चालन तथा परिचालनका लागी अर्थतन्त्रले राज्यको रक्त सञ्चारको भूमिका निर्वाह गर्दछ । अर्थतन्त्रलाई बुझ्ने र लागू गर्ने सवालमा मुख्य गरी तीन वटा बिचारहरूलाई आधार बनाइन्छ ।
१. खुला अर्थतन्त्र (पुँजीवादी)
२. बन्द अर्थतन्त्र (समाजवादी)
३. मिश्रित अर्थतन्त्र
खुला अर्थात पुँजीवादी अर्थतन्त्रको सञ्चालनका लागि मुख्य गरी चार इकाईहरू आवश्यक पर्दछन ।
१. उपभोक्ता–घरपरिवार
२. व्यवसाय क्षेत्र
३. सरकार
४. अन्तर्राष्ट्रिय बजार
उपभोक्ता–घरपरिवार–रोजगारीका लागि श्रम बेच्ने, औद्योगिक उत्पादनका लागी कच्चापदार्थ उत्पादन गर्ने, वस्तु तथा सेवाको उपभोग गर्ने,
व्यवसाय क्षेत्र–वस्तु तथा सेवाको उत्पादन गर्ने, भण्डारण गर्ने, विनियम गर्ने र सम्पूर्ण स्वामित्व लिने ।
सरकार–नीति बनाउने, नितिको कार्यान्वयन गर्ने, नीतिको पालना गर्न लगाउने, नियमन गर्ने, कर लिने, करको वितरण गर्ने । शक्तिशाली देशहरूले अन्तराष्ट्रिय खुला बजारको नीतिका आधारमा आफ्नो देशमा उत्पादित वस्तु तथा सेवाहरू कमजोर तथा साना देशहरूमा निर्यात गरेर पैसा कमाउने र ती देशको स्थानीय उत्पादनलाई कमजोर पार्ने ।
अमेरिकी एक धुर्वीय नियन्त्रणमा रहेको विश्वले विश्वमा खुला बजार अर्थतन्त्रलाई मलजल गर्दा समाजमा पुँजीपति वर्ग र श्रमिक वर्ग पैदा भयो । साम्राज्यवादको संरक्षणमा रहेको पुँजीवादले सीमित पुँजीपतिहरूलाई निरन्तर सत्ताको मालिक बनाएर राज्यसत्ता सञ्चालन गर्दा यसले समाजमा असमानता, विभेद र अन्याय पैदा ग¥यो । जति नै उत्पादन, श्रम, मेहनत र संघर्ष गरेपनि आधारभूत वर्ग आफ्ना न्युनतम अनिवार्य आवश्यकताहरू पनि पूरा गर्न नसक्ने अवस्थामा पुगे भने पुँजीपति वर्ग बिना श्रम, मेहनत र संघर्ष झन बढी झन धनि हुँदै गए ।
श्रमिकहरूको मेहनत र परिश्रमले उत्पादन गरेको वस्तु तथा सेवामा पुँजीपतिहरूको स्वामीत्व, नियन्त्रण, बिनियम र वितरण हुँदा श्रमिकको पहुँच भन्दा टाढा भयो ।
समाजवादी अर्थतन्त्र
समाजवादी अर्थतन्त्रमा श्रमिकले उत्पादन गरेको वस्तु तथा सेवामाथीको बिनियम र वितरणको अधिकार स्वयम श्रमिक वर्गमा निहित हुनु पर्दछ । निश्चित ज्यालादारीमा श्रमिकहरुलाई रोजगारीमा राखेर राज्यलाई आवश्यक पर्ने उत्पादन स्वयम् राज्यले नै गर्नु पर्दछ । त्यसको स्वामित्व, विनियम, भण्डार र वितरणको जिम्मेवारी राज्यले लिनु पर्ने मानिन्छ । वस्तु तथा सेवा माथिको सम्पूर्ण अधिकार नीजि क्षेत्रलाई दिएर जनतामाथी अन्याय हुँदा राज्य मुकदर्शक भएर बस्नु हुँदैन भन्ने मान्यता राख्दछ । समाजवादी अर्थतन्त्रले आफुलाई आवश्यक पर्ने वस्तु तथा सेवाहरू आफै उत्पादन गर्नु पर्दछ । स्थानीय उत्पादनको प्रयोगमा बढी जोड दिनुपर्छ । विदेशी उत्पादन र सेवामा भरपर्नु हुदैन आत्मनिर्भरता सहितको गौरवको जीवन बाँच्नु पर्दछ भन्ने उद्देश्य राख्द छ ।
शक्ति निर्माण र पतन
विश्वमा भएका ठूला आन्दोलन र युद्धहरूबाट कैयौंको मानवीय तथा धनजनको क्षति बेहोरेर कम्युनिस्टहरूले निर्माण गरेका ठूला सत्ता पनि छोटो समयमा पुँजीवादमा पतन हुन बाध्य भए । यसको मुख्य कारण कम्युनिस्टहरूले क्रान्ति, आन्दोलन, विद्रोह र युद्धमा जित हासिल गरे पनि श्रमजीवी वर्गलाई समाजवादी आर्थिक शिक्षा, भौतिकवादी चेतनाको संस्कृति र वैज्ञानिक समाजवादी जीवन बारे सही तरिकाले शिक्षा दिन नसक्नु र बुझाउन नसक्नु थियो । नेपालमा पनि संसदवादी कम्युनिस्टहरूले समाजवादका बारे जनतालाई भाषण र तर्कद्वारा मात्रै पुष्टि गरे । कम्युनिस्टको समाजवादको लक्ष्यलाई कार्यक्रमको भाषण र चुनावको नारा बनाउदै आफु नेता बन्ने, सत्तामा पुग्ने, पद हत्याउने र भ्रष्टाचार र कमिसनको खेलोमेलो मिलाउन तिर अग्रसर भए । यस कारण जनतामा समाजवादका बारे कैयौं भ्रम र आसंकाहरू पैदा भए ।
नयाँ आर्थिक मार्ग New Economic Track (NET)
यिनै आशंका, भ्रमहरू र समस्याहरूलाई दृष्टिगत गरेर विप्लव नेतृत्वको नेकपाले पुँजीवादको विभेद र उत्पीडनमा बाचेका वर्ग समुदायहरूलाई ब्यवहारिक समाजवादी आर्थिक जीबवनमा प्रवेश गराउने उद्देश्यले लामो समयको अध्ययन, अनुसन्धान, अनुभव, संघर्ष र बलिदानबाट एकीकृत स्वामित्व सहितको नयाँ आर्थिक मार्ग New Economic Track (NET) को संश्लेषण गरेर प्रयोगमा ल्याएको छ । नेकपाले पार्टी भित्र NET को प्रयोग गर्दा कृषि उत्पादन र आर्थिक रूपले समग्र पार्टीलाई फाइदा गरेको छ । कपिलवस्तु र काठमाडौंमा सी गार्मेन्ट सञ्चालनमा ल्याएर कपडा सीलाउने काम सुरु गरेको छ । काठमाडौं लगायत देशका मुख्य सहरहरूमा कृषि ब्यापार मार्ट सञ्चालन गर्ने तयारीमा जुटेको छ । आफ्नै गार्मेन्टबाट उत्पादित एकै नासको तयारी पोसाक लगाएर पार्टी भित्र समानता र एकता कायम गरेको छ । हिमाल र पहाडमा फलफुल तथा तराइमा धान उत्पादन गरेर नेपालमा पहिलो पटक कृषि क्रान्ति सुरु गरेको छ । यसबाट धेरैले रोजगारी पाउनुका साथै नेकपाका सबै नेताकार्यकर्ता उत्साहित र खुसी भएका छन् ।
समयले देशमा आफ्नै उत्पादन सहितको आर्थिक मोर्चाबाट समग्र राजनीतिक कमाण्डको नेतृत्व गर्ने बेला आएको छ । जनताले नयाँ आर्थिक मार्ग खोजीरहेको समयमा NET को अर्थ र महत्व अत्यन्तै बढेर गएको छ । यसको लक्ष्य श्रमिकहरूले उत्पादन गरेको वस्तु तथा सेवाको विनियम, वितरण र स्वामित्व अर्थात मालिक स्वयम् श्रमिक वर्ग नै हुनपाउनु पर्दछ भन्ने हो । पुरानो आर्थिक आधारलाई भत्काउँदै नयाँ अर्थात समाजवादी आर्थिक सम्बन्धको निर्माण गर्ने र आम जनतालाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास गर्दछ । यसलाई एकीकृत स्वामित्व, सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नयाँ मार्ग भन्न सकिन्छ । अत्यधिक समृद्धि उसको क्षमता र न्युनतम जीवन व्यवस्थापन राज्यको दायित्व भित्र राख्दछ ।
‘NET’ ले नेताकार्यकर्तालाई एकीकृत स्वामित्वबाट सामुहिक स्वामित्वतिर र जनतालाई नीजि स्वामित्वबाट एकीकृत स्वामित्वतिर अगाडि बढाउने उद्देश्य लिएको छ । यो दलाल पुँजीवादी अर्थ प्रणालीका विरुद्ध आम जनतालाई संगठित गर्दै समाजवादी व्यवस्थाको अर्थ शिक्षा अर्थात आर्थिक जीवन बारे शिक्षित, प्रशिक्षित र संगठित गर्दै गरिव तथा श्रमजीवी जनताको जीवनस्तर बदल्ने बलियो पुल अर्थात एकीकृत जनक्रान्तिको एक शक्तिशाली आधुनिक हतियार हो ।
नयाँ आर्थिक मार्ग ‘NET’ ले स्वदेशमा उत्पादित वस्तु तथा सेवा माथी श्रमजीवी वर्गको स्वामित्व, विनियम र वितरणको अधिकार कायम गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै, अन्तर्राष्ट्रिय व्यापार सन्तुलन कायम गर्दै, मुद्रा संचिति र मौद्रिक नीतिलाई कुल ग्रास्त उत्पादन GDP को विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ । NET अधिक सामुहिक र केही प्रगतिशील नीजि पुँजी तथा व्यक्तिगत उत्तरदायित्वको एकीकृत स्वरूप हो । यसमा कसैलाई पनि अन्याय नगरी क्षमता अनुसारको काम र आवस्यकता अनुसारको दामको व्यवस्था गरिन्छ । यो दलाल पुँजीवादी अर्थ व्यवस्थाको आधारहरू भत्काउदै जनतालाई बिस्तारै समाजवाद तिर अग्रसर गराउने एकीकृत जनक्रान्तिको नयाँ आर्थिक नीति हो । यो समाजवादी अर्थ व्यवस्था निर्माणको सुरुवाती भ्रूण पनि हो । यो नेपाली जनतालाई दलाल पुँजीवादबाट बैज्ञानिक समाजवादमा पु¥याउने एक बलियो भ¥याङ पनि हो ।
अन्तमा नेकपाले एकीकृत स्वामित्व, सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वका आधारमा नेपालको समग्र अर्थतन्त्रलाई आफ्नै श्रम, मेहनत र उत्पादनको प्रयोग गरेर कृषि उत्पादनद्वारा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक उत्पादनद्वारा समृद्धि निम्त्याउने महान लक्ष बोकेको छ । आम नेपाली जनताको श्रम र मेहनतबाट जनतालाई धनी र सम्पन्न बनाउँदै मुलुकको अर्थतन्त्रलाई बलियो बनाएर नेपालबाट विश्वलाई छुट्टै सन्देश तथा उदाहरण दिन खोजेको हुँदा नेकपाले सश्लेषण गरेको एकीकृत स्वामित्व सहितको नयाँ आर्थिक मार्ग ‘NET’ को थप विकास र सफलताका लागि बौद्धिक समुदाय, शिक्षक तथा बुद्धिजीवी वर्ग, राजनीति कर्मी, विद्यार्थी र आमजनसमुदायबाट गहन बहसको विषय बनेर सकारात्मक सुझाव र सल्लाहको अपेक्षा राखेका छौं ।

प्रतिक्रियाहरु

[anycomment]