नयाँ जनवाद–वैज्ञानिक समाजवाद र साम्यवाद

२०८१ चैत्र २५ गते, सोमबार

हस्तबहादुर केसी

“ क्रान्ति बाहेक सबै कुरा भ्रम हो ।“   – लेनिन

विश्व सर्वहारा क्रान्ति अर्थात् वैज्ञानिक साम्यवाद नै विश्व सर्वहारा वर्गको अन्तिम लक्ष्य हो । वैज्ञानिक साम्यवादमा पुग्नुभन्दा पहिले सर्वहारा वर्गीले क्रान्तिका कुन कुन र कतिवटा क्रान्तिका चरणहरु पार गर्नुपर्दछ ? यो ज्यादै महत्वपूर्ण प्रश्न हो । विश्व सर्वहारा क्रान्तिको ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको विश्व सर्वहारा वर्गले जान्नैपर्ने र कार्यान्वयन गर्नैपर्ने अनिवार्य विषय पनि हो । यी विषयहरुको जानकारी नभएमा विश्व सर्वहारा वर्गले विश्व सर्वहारा क्रान्तिको ऐतिहासिक जिम्मेवारी पुरा गर्न असम्भव हुन्छ । यस आलेखमा विश्व क्रान्तिका लागि पार गर्नुपर्ने विविध चरणहरुकाबारेमा लेख्ने प्रयास गरिएको छ ।

माथि लेनिनले भन्नुभएको छ, “क्रान्ति बाहेक सबै कुरा भ्रम हो ।” वास्तविकता यही नै हो । त्यसैले महान् लेनिनले भन्नुभएको कुरा सही छ । त्यसैले विश्व सर्वहारा वर्गले आफ्नो कामको सम्पूर्ण योजना क्रान्तिका निम्ति मात्र तय गर्नुपर्ने हुन्छ । किनभने क्रान्तिबाहेक अरु गफ गर्नु भ्रमबाहेक केही पनि होइन ।

 कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा माक्र्सवादको प्रतिपादन भएको हो । उहाँहरुद्वारा सन् १८४८ फेब्रुअरी २१ का दिन लण्डनबाट “कम्युनिस्ट घोषणापत्र” जारी गर्नु भएको हो । त्यस घोषणापत्रमा विश्व सर्वहारा वर्गका सम्पूर्ण लक्ष्य, उद्देश्यहरु प्रष्ट पारिएको छ । साथै सर्वहारा विश्व क्रान्तिका निम्ति बहन गर्नुपर्ने ऐतिहासिक कार्यभारका बारेमा पनि प्रष्ट पारिएको छ । त्यसै कम्युनिस्ट घोषणापत्र मार्फत् विश्व सर्वहारा वर्गले मुक्तिको पथप्रदर्शक सिद्धान्त प्राप्त ग¥यो ।

अब त्यही विश्व सर्वहारा वर्गको मुक्ति सिद्धान्त माक्र्सवादका आलेकमा उभिएर गरिने क्रान्तिका चरणका बारेमा चर्चा गर्न आवश्यक छ । यसैमा बुझ्नैपर्ने अति महत्वको विषय के हो भने माक्र्सवाद परिवर्तनशील, गतिशील एक वैज्ञानिक सिद्धान्त हो । र, आज माक्र्सवादले विकासका तीन चरण पार गरिसकेको छ । जस्तो कि माक्र्सवादको पहिलो चरण, दोस्रो चरण लेनिनवादको चरण र तेस्रो र नयाँ तथा उच्च चरण माओवाद । तसर्थ आज माक्र्सवाद– लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्षको मुक्तिको मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । त्यसैले अब विश्व सर्वहारा वर्गले माक्र्सवाद–लेनिनवाद–माओवादको दार्शनिक, सैद्धान्तिक आलोक माथि उभिएर विश्व सर्वहारा क्रान्तिका विविध चरणहरुकाबारेमा आपूmलाई खडा गरेर मात्रै आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्न सक्नेछ ।

क्रान्तिका चरणहरुका बारेमा हामीले कुरा गरिरहँदा समाजको वर्ग विश्लेषण गर्न जरुरी हुन्छ । कुन वर्गीय समाजमा क्रान्तिको चरणका बारेमा तयारी गर्ने भन्ने कुरा आउँछ । अर्ध सामन्ती र अर्धआौपनिवेशिक वा नवआौपनिवेशिक समाज विद्यमान भएको समाजमा क्रान्तिको कुन चरण सञ्चालन गर्ने ? पुँजीवादी तथा साम्राज्यवादी मुलुकमा कुन चरणको क्रान्तिको चरण सञ्चालन गर्ने भन्ने प्रश्न नै सबैभन्दा महत्वपूर्ण प्रश्न हो । यी विषयहरुमा अलमल भयो भने सर्वहारा वर्गीयले क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्न सक्दैन र त्यस अवस्थामा एकातिर उग्रवामपन्थी भड्काऊतिर जाने, दक्षिणपन्थी वा वाम अवसरवादतिर पुग्ने खतरा बढेर जान्छ । त्यसै सर्वहारा वर्गको पहिलो कर्तव्य विद्यमान समाजको वैज्ञानिक ढंगले विश्लेषण गर्ने र त्यही अनुरुपको क्रान्तिको चरण तय गर्ने र त्यसलाई पुरा गर्न क्रान्तिकारी कार्यदिशा ठोस गर्नु उसका अनिवार्य कर्तव्य हुन जान्छ । यस विषयमा चनाखो बन्नैपर्छ विश्व सर्वहारा वर्ग । किनकि क्रान्तिको तथापि देश, काल परिस्थिति अर्थात् वस्तुगत अवस्था र आत्मगत अवस्थाका आधारमा मात्र क्रान्तिको थालनी गर्नु पर्ने हुन्छ । यसविषयमा तलमाथि भयो भने क्रान्तिले दायाँ बायाँ बाटो लिने खतरा हुन्छ । किनभने क्रान्ति कसैको व्यक्तिगत चाहनाले नभई मुलुकको विशिष्ट वस्तुगत अवस्था र आत्मगत अवस्थाले मात्र निर्धारण गर्दछ । र क्रान्तिको तयारी र थालनी सचेततापूर्वक मात्र गरिन्छ, कसैको लहड र चनहनाले होइन । यो नै क्रान्तिको माक्र्सवादी–लेनिनवादी–माओवादी नीति हो । र यसलाई माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा हेर्ने, विश्लेषण गर्ने र संश्लेषण गर्नु नै माक्र्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारी कम्युनिस्टहरूको मुख्य दायित्व बन्न पुगेको छ ।

विश्व सर्वहारा क्रान्तिका चरणहरुः

विश्व सर्वहारा क्रान्तिका तीन चरण छन् । जो यसप्रकार रहेका छन् ः–

पहिलो चरण ः नयाँ जनवादी क्रान्ति

दोस्रो चरण ः वैज्ञानिक समाजवादी क्रान्ति

तेस्रो चरण ः वैज्ञानिक साम्यवाद

पहिलो चरण ः नया“ जनवादी क्रान्ति ः

वर्ग विश्लेषण ठोस भइसकेपछि जुन देश अर्ध सामन्ती र अर्ध आौपनिवेशिक अवस्थामा छ, त्यस देशमा गरिने क्रान्तिको चरण भनेको नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा किसान–मजदुर एकताको आधारमा गरिन्छ ।

सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादी घरेलु प्रमुख दुश्मनका रुपमा रहेको हुन्छ भने बाह्य प्रमुख दुश्मनका रुपमा साम्राज्यवाद, विस्तारवाद र प्रभुत्ववाद रहेको हुन्छ । यसरी नयाँ जनवादी क्रान्तिका निम्ति यी दुईवटा पर्खालहरु अजङ्गका रुपमा खडा भएका हुन्छन् ।

क्रान्तिका मित्र शक्तिहरुमा राष्ट्रिय पुँजीपति वर्गदेखि लिएर आौद्योगिक सर्वहारा वर्गसम्मका वर्गहरु रहेका हुन्छन् । यस भित्र मध्यम वर्ग, निम्न मध्यम वर्ग शहरीया गरीबहरु, सुकुम्बासी आदि पर्दछन् र अर्कोतिर मध्यम किसान वर्ग, निम्न मध्यम किसान वर्ग, गरीब किसान वर्ग, भूमिहिन सुकुम्बासी किसान वर्ग आदि पर्दछन् । यसमा मुख्य भूमिका र दायित्व भने किसान–मजदुर वर्गको पर्दछ ।

क्रान्तिका चार तयारी पुरा गर्नुपर्ने हुन्छ । पहिलो ः सैद्धान्तिक तयारी । दोस्रो ः साँगठनिक तयारी । तेस्रो ः प्राविधिक तयारी । र चौथो ः योजना कार्यान्वयनको तयारी ।

लेनिनले “क्रान्तिका निम्ति क्रान्तिकारी सिद्धान्त“ आवश्यक पर्ने कुरा बताउनु भएको छ भने, माओले “क्रान्तिका निम्ति क्रान्तिकारी पार्टी” आवश्यक पर्ने बताउनु भएको छ । साथै माओले क्रान्तिका निम्ति तीन जादुमयी हतियार ः पार्टी, सेना (जनमुक्ति सेना) र संयुक्त राजनीतिक मोर्चाबारे बताउनु भएको छ । उहाँहरुका यी भनाइहरु सत्य र अत्यावश्यक सर्त हुन् । नयाँ जनवादी क्रान्तिको तयारी र नेतृत्व गरिरहेको नयाँ ढंगको कम्युनिस्ट पार्टीले यी सर्त र शिक्षाहरु पुरा गर्न जरुरी हुन्छ । क्रान्तिकारी कम्युनिस्टहरू माक्र्सवाद–लेनिनवाद–माओवादका पथप्रदर्शनमा सामाजिक क्रान्तिका कामहरू सम्पन्न गर्दै अगाडि बढ्नेबारे गंभीर, सचेत एवम् क्रियाशील बन्न जरुरी हुन्छ । सर्वहारा वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नै क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्दछ ।

यस नयाँ जनवादी क्रान्ति गाउँदेखि केन्द्रीय सत्ता कब्जा गर्ने गुरिल्लावार (छापामार युद्ध) को रणनीति अन्तर्गत पर्दछ । माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शकमा निर्देशित कम्युनिस्ट पार्टीको नेतृत्व र पहलमा छापामार दस्ता हुँदै जनमिलिसिया दस्ता निर्माण गरेर ग्रामीण छापामार युद्ध सञ्चालन गर्ने र गाउँदेखि शहर कब्जा गर्ने नयाँ जनवादी क्रान्तिको रणनीतिक कार्यदिशा भएकोले ग्रामीण इलाकाहरुमा छापामार युद्ध, (चलायमान युद्ध) सञ्चालन गर्ने, ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्माण गर्ने, जनमुक्ति सेना (लाल सेना) निर्माण र परिचालन गर्ने, नयाँ जनसत्ता, अनअदालत, जनकम्युन र जनसरकारहरु निर्माण गरेर कार्यान्वयनमा ल्याउनु पर्ने हुन्छ ।

अन्तिममा केन्द्रीय सत्ता कब्जा गरिसके पछि सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ । सामन्त तथा जमिनदार वर्गको जमिन जफ्त गरेर किसानहरुलाई वितरण गरिन्छ । किसानहरुलाई जमिनको मालिक बनाइन्छ ।

दलाल तथा नोकरशाही पुँजीपति वर्गले कब्जा गरेर राखेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरिन्छ र जनताको साझा सम्पत्ति बनाइन्छ । र “जमिन जोत्नेको घर पोत्नेको” कम्युनिस्ट पार्टीको नारा कार्यान्वयन गरिन्छ । र सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गलाई सम्पत्तिबिहिन, शक्तिविहिन बनाएर राज्यको नियन्त्रणमा लिएर निषेधको सिद्धान्त अवलम्बन गरिन्छ ।

उदाहरणका रुपमा चिनियाँ क्रान्तिलाई लिन सकिन्छ । चीनमा २८ वर्षे दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट सन् १९४९ अक्टोबर १ का दिन कमरेड माओको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र त्यस लगत्तै जनताको जनवादी अधिनायकत्व स्थापना गरियो । सन् १९५४ मा चीनको संविधान बनाइयो र माओत्सेतुङलाई चीनको अध्यक्ष घोषणा गरियो र जनताको जनवादी अधिनायकत्वको सिद्धान्त अनुसार योजना कार्यान्वयन गर्न थालियो ।

त्यतिबेला वर्गीय अन्तर्विरोध बदलिएको भए पनि राजनीतिक क्रान्ति निरन्तर जारी राख्ने पहिलो र आर्थिक क्रान्ति दोस्रो भनिएको थियो । तर नवसंशोधनवादतिर अग्रसर भइरहेको ल्यू शाओ चि मण्डलीले चीनमा अब राजनीतिक क्रान्ति पुरा भइसकेको र आर्थिक क्रान्ति प्रमुख हो भन्ने विचार अगाडि सारे पछि चीनमा ठूलो विवाद उत्पन्न भयो । यही बीचमा हतारमै चीनलाई समाजवादतिर अगाडि बढाइयो । संशोधनवादीहरुको हमलाका कारण चीनमा जनताको जनवादी अधिनायकत्वलाई योजना अनुरुप लागु हुन सकेन ।

सन् १९५६ मा पार्टीको आठै महाधिवेशन शुरु भयो । त्यस महाधिवेशनमा आधुनिक संशोधनवादी ख्रुश्चोवका चेला ल्यू–दङ मण्डलीले पुँजीवादी कार्यदिशा प्रस्तुत ग¥यो । त्यस महाधिवेशनमा दङ श्याओ पिङले त “बिरालो कालो र सेतो हुनुले फरक पार्दैन मुसा मारे हुन्छ” भनेको थियो । त्यसपछि पार्टी भित्र महाविवाद शुरु भयो । नव संशोधनवादीहरुले पार्टी भित्र र सरकारको उचतहमा समेत पहुँच पु¥याएपछि कमरेड माओले त “हेडक्वाटरमा बमबार्ड गर” समेतको आह्वान गर्नुभएको थियो ।

चिनियाँ समाजवाद भित्र संशोधनवादले जरा गाडी सकेपछि त्यसका जराहरु उखेलेर फ्याक्ने उद्देश्यले सन् १९६६ देखि १९७६ सम्म कमरेड माओत्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो ।

 नेपालमा कम्युनिस्ट आन्दोलन शुरु भएको ७६ वर्ष भइसकेको छ । यस ऐतिहासिक अवधिसम्म पनि नेपालमा महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न भइसकेको छैन । क्रान्ति भनेको एउटा वर्गले अर्कोतिर वर्गको सत्तामा पल्टाउनु हो, शोषित वर्गले शोषक वर्गको राज्यसत्ता पल्टाउनु क्रान्तिका हो । तर नेपालमा यसप्रकारको क्रान्ति भएको छैन । झापा संघर्ष, महान् दश वर्षे जनयुद्ध सञ्चालन गरिए पनि ती जनविद्रोह र जनयुद्धहरुले निर्णायक परिणाम अर्थात् नयाँ जनवादी क्रान्ति पुरा नगर्दै संझौंतामा टुंग्याइयो । २००७ साल साल, २०३५–३६ साल, २०४६–४७ र २०६२–६३ सालका राजनीतिक परिवर्तनहरु पनि पुरानै सत्ता र वर्ग कै बीचको संझौतामा टुंग्याइयो । यद्यपि मुलुकको आर्थिक अवस्था पार्टी स्थापना हुनेबेला जस्तो छैन एकहदसम्म परिवर्तन त भएको छ, तर नेपाल अहिलेसम्म पनि देश अर्ध सामन्ती र अर्ध उपनिवेशिक–नवआौपनिवेशिक अवस्थामै छ ।

यसप्रकारको अवस्था भएको मुलुकमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हो र नेपालमा नयाँ जनवादी क्रान्ति जारी छ । तर नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (ए समाजवादी) लगायतका संसदवादी नक्कली कम्युनिस्ट पार्टीहरुले नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो, अब गर्ने भनेको आर्थिक क्रान्ति हो भन्दै यही वर्तमान दलाल संसदीय व्यवस्थाबाटै समाजवाद स्थापना गर्नु पर्छ भन्दै छन् । यो महान् नयाँ नेपाली जनवादी क्रान्तिलाई भाँड्ने र रोक्ने षड्यन्त्र मात्र हो । सैद्धान्तिक दार्शनिक दृष्टिकोणले उनीहरूको समाज स्थापना गर्ने भन्ने विचार मिलेराँवादी–ख्रुश्चोवी विचार हो ।

यसका अतिरिक्त नेपालका आपूmलाई माओवादी क्रान्तिकारी भन्न रुचाउने छद्म संशोधनवादीहरुले “नयाँ जनवाद क्रान्तिको खुड्किलो पार गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्छ” भन्दै आफ्नो वाम अवसरवाद फैलाएको पाइन्छ । यसप्रकारका विचार राख्नेहरु सबै माक्र्सवाद–लेनिनवाद–माओवादलाई विकृत तुल्याउने ख्रुश्चोवपन्थी नव संशोधनवादी नै हुन् । तिनीहरूले पनि मालेमावाद भित्र घुनको काम गरिरहेका छन् । नेपालमा महान् नयाँ नेपाली जनवादी क्रान्ति पुरा गरेर जनताको जनवादी अधिनायकत्व कायम गरेर, त्यसले आफ्नो लक्ष्य पुरा गरिसकेपछि मात्र वैज्ञानिक समाजवादमा प्रवेश गरियो भने मात्र वैज्ञानिक समाजवाद भित्र पैदा हुन सक्ने प्रतिक्रान्तिलाई रोक्न बलियो आधार बन्दछ ।

दोस्रो चरण ः वैज्ञानिक समाजवादी क्रान्ति ः

 माक्र्सवादको मान्यता अनुसार पुँजीवादी क्रान्ति सम्पन्न भइसकेका देशहरुमा मात्र समाजवादी क्रान्ति अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ । त्यसो भएर नै वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले “पहिलोपटक बेलायत, फ्रान्स र जर्मनीमा समाजवादी क्रान्ति हुनेछ,” भन्नुभएको थियो । किनभने त्यतिबेला बेलायत, फ्रान्स र जर्मनीमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको थियोे । तर लेनिनको पालामा सन् १९१७ रुसमा अक्टोबर समाजवादी क्रान्ति भयो । एकदमै पिछडिएको देश चीनमा माओत्सेतुङको नेतृत्वमा सन् १९४९ महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । भियतनाममम हो चि मिन्हको नेतृत्वमा भियतनामी क्रान्ति सम्पन्न भयो ।

पुँजीवादले चरम विकास गरिरहेको अवस्थामा लेनिनले पुँजीवादको चरम विकासलाई “साम्राज्यवाद” नामाकरण गर्नु भयो र साम्राज्यवादलाई एकाधिकारी पुँजीवाद “सढेगलेको पुँजीवादी, मरणासन्न पुँजीवाद” भन्नुभयो र साम्राज्यवादीलाई समाजवादी क्रान्तिको पूर्वबेला भन्नु भयो । र आफ्नै नेतृत्वमा सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ क्यालेन्डर अनुसार सन् १९१७ नोभेम्बर ७) दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो ।

 महान् अक्टोबर समाजवादी क्रान्तिकारी एक युगान्तकारी परिघटना थियो । यस क्रान्तिले संसारभर नयाँ तरंग र उत्साह पैदा गरिदियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र विश्व सर्वहारा वर्गलाई उत्साहित तुल्यायो । त्यसपछि विश्वका दर्जनौं मुलुकहरुमा कम्युनिस्ट पार्टीहरु स्थापना हुन पुगे । पूर्वी युरोपका ३० औं देशहरुमा सोभियत मोडेलको समाजवाद लागु गरिएको थियो । त्यस्तै सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा क्रान्ति भएको थियो भने सन् १९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएकोमा थियोे । त्यसपछि कम्वोडिया, क्युवामा क्रान्ति सम्पन्न भएका थिए ।

यसरी माक्र्सवाद–लेनिनवाद–माओवादको मान्यता अनुसार वैज्ञानिक समाजवादी क्रान्ति पुँजीवादी क्रान्ति सम्पन्न भएका देशहरूमा र साम्राज्यवादमा पतन भइसकेका देशहरूमा मात्र वैज्ञानिक समाजवादी क्रान्तिका सम्पन्न गर्न सकिन्छ ।

तर रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनस्र्थापना भइसकेको छ । रुस र चीन लगायतका समाजवादी शासन सञ्चालन गरिएका देशहरूमा किन प्रतिक्रान्ति भयो ? त्यहाँका कम्युनिस्ट पार्टीहरुले किन प्रतिक्रान्तिलाई रोक्न असफल तुल्याउन सकेनन् ? कम्युनिस्ट क्रान्तिकारीहरुले ती देशहरुमा किन प्रतिक्रान्तिका ज्वार–भाटाहरुलाई चक्नाचूर पार्न सकेनन् ? यी विषयहरुमा विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो बहस, छलफल र निष्कर्ष निकालिसकिएको छ । यी नकारात्मक परिघटनाहरुबाट पाठ सिकेका क्रान्तिकारी कम्युनिस्टहरूले वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाई नै राखेका छन् ।

माक्र्सवादी मान्यता अनुसार विश्वका सबै देशहरूमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि मात्र वैज्ञानिक साम्यवादी स्थापना हुन्छ । वैज्ञानिक समाजवाद मात्र वैज्ञानिक साम्यवादमा प्रवेश गर्ने बाटो तय गर्ने अन्तिम अवस्था हो ।

तेस्रो चरण ः वैज्ञानिक साम्यवाद ः

वैज्ञानिक साम्यवाद भनेको मानवजातिको विकासको क्रममा वर्गविहिन, राज्यविहिन समानतामूलक, सभ्य, सुसंस्कृत मानव समाज हो । वैज्ञानिक साम्यवाद भन्ने वित्तिकै अर्को अवैज्ञानिक साम्यवाद थियोे वा छ कि भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी हुन्छ । मानव समाजको प्रारम्भिक अवस्थादेखि लामो अवधिसम्म वर्गविहिन मानव समाज थियो भन्ने इतिहास छ । जसलाई माक्र्सवादीहरुले त्यस समाजलाई आदिम साम्यवाद भन्ने गरेका छन् भने बुर्जुवाहरुले जंगलको अवस्थाको मानव समाज भन्ने गर्दछन् । आदिम साम्यवादी समाजमा वर्गको जन्म भइसकेको थिएन । मानिसले बाँच्नका लागि प्रकृतिसँग निर्भर र आश्रित थियो । विस्तारै मानिसले श्रम गर्न थाल्यो र नयाँ–नयाँ चिजको आवश्यकता बढ्दै गयौं । राम्रो–राम्रो वस्तुको चाहना बढ्न थाल्यो । त्यसले यो मेरो, त्यो तेरो भन्ने भावनाको विकास हुँदै जानेक्रममा निजी सम्पत्ति प्रति मान्छे लालची हुँदै जानेक्रममा वर्ग जन्मियो र मानव समाज वर्गीय समाजमा परिणत भयो ।

आदिम साम्यवाददेखि भविष्यको वैज्ञानिक साम्यवादसम्म ः

मानव समाज शुरुदेखि नै सामाजिक बन्दै आएको छ । मानवजातिको मानवजातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको वैज्ञानिक साम्यवादसम्म उन्मुख रहेको छ । यो इतिहासको लामो प्रक्रियामा सर्वप्रथम गोत्रबाट कविला र वर्गको विकाससंगै मानव समुदाय विभिन्न रुपमा विभाजित हुँदै आएको छ । विकासको यो लामो र ऐतिहासिक प्रक्रियामा मानिसद्वारा मानिसमाथि हुने विविध प्रकारका शोषण र उत्पीडन देखापर्दछन् र पितृसत्तात्मक कबिलातन्त्रीय समाजमा पुरुष समुदायद्वारा महिला समुदायमाथि उत्पीडनको प्रक्रिया शुरु हुन्छ ।

 दासमालिक समाजमा दासमालिक वर्गले दास वर्गमाथि, सामन्तवादी जमिनदार वर्गले किसान वर्गमाथि तथा पुँजीवादी समाजमा पुँजीपति वर्गले सर्वहारा वर्गमाथि शोषण उत्पीडन गर्दै आएका छन् । यो सिंगो ऐतिहासिक प्रक्रियामा वर्गीय अन्तर्विरोधका साथै लैङ्गिक, जातीय, क्षेत्रीय, नस्लीय तथा जातव्यवस्थापनसम्बन्धी अन्तर्विरोधहरु पनि विद्यमान रहेका छन् ।

दक्षिण एशिया साथै भारत र नेपालमा वर्ण व्यवस्थापनको जन्मसंगै शूद्रजात अर्थात् दलित समुदायमाथि उत्पीडन हुँदै आएको छ । अन्ततः मानवसमुदायका बीचमा रहिआएका सबै शोषण तथा उत्पीडनहरुको अन्त्य र मानवीय मुक्ति साम्यवादमा गएर नै हुन्छ । तसर्थ मानिसजातिले निर्माण गर्न खोजेको नौलो संसार भने कै वैज्ञानिक साम्यवाद हो ।

– लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु