नेकपामा देखिएका विवाद र ध्यान दिनुपर्ने कुराहरु
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको आगामी १० गते ७५ वर्ष पूरा भएर ७६ औं वर्षमा लाग्दै छ । कुनैपनि राजनीतिक संगठनका लागि ७६ वर्षको समयावधीलाई कम मान्न सकिँदैन । नेपालमा सबै कम्युनिष्ट पार्टीको मतको गणना गर्दा करिव ६५ प्रतिशतभन्दा बढी रहेको मानिन्छ । संसदमा भाग लिएका बाम पार्टीहरुले विभिन्न आवधिक निर्वाचनमा प्राप्त गरेको मतसंख्यालाई मात्र गणना गर्ने हो भने पनि उपरोक्त कुराको पुष्टि हुन्छ । यतिबेला एकातिर सरकारको नेतृत्वमा कम्युनिष्ट पार्टी रहेको छभने अर्कातिर संसदको प्रमुख प्रतिपक्षी दल पनि कम्युनिष्ट नै रहेको अवस्था छ । संसदमा रहेका कूल १४ पार्टीमध्ये कम्युनिष्ट पार्टीहरुको संख्या नै पाँचभन्दा बढी छ । यस्तो अवस्थामा पनि एकातिर कम्युनिष्ट पार्टीहरुका बीचमा एकता कायम हुनसकेको छैनभने अर्कातिर नेपालमा कम्युनिष्ट पार्टीहरु रक्षात्मक अवस्थामा पुगेको टिकाटिप्पणी पनि भैरहेको छ । कतिसम्मभने स्थापना भएको ७६ वर्ष हुँदा पनि यसको स्थापनाको खास मितिका बारेमासमेत कुनै टुंगो लाग्न सकेको छैन । कतिपयले अप्रिल १० लाई मान्ने गरेका छन् भने कतिपयले सेप्टेम्बर १३ लाई मान्ने गरेका छन् । त्योभन्दा पनि आपत्तिको विषय त के छभने यहाँका कुनै पनि कम्युनिष्ट पार्टीहरुले आपसी विवादहरुको निरुपण गर्ने(गराउने पहलसमेत गरिरहेका छैनन् । बरु कतिपयले बिवाद चर्काउने र कम्युनिष्ट शक्तिका बीचमा विभाजन ल्याउने प्रयास गरिरहेको देखिएको छ । प्राप्त दस्तावेजहरुका आधारमा छलफल गरेर नेकपाको स्थापनालगायतका कतिपय बिवादित विषयहरुलाई टुंगोमा पु¥याउन सकिने अवस्था रहेको छ । नेपालमा जहिले पनि बाम एकता एक आकर्षक नारा हुने गर्दछ तर ब्यवहारमा भने कतिपय कम्युनिष्ट पार्टीहरुकै बीचमा शत्रुता रहँदै गएको देखिन्छ । देशमा गणतन्त्र स्थापना भएर कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएकै अवस्थामा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेका उदाहारणहरु पनि रहेका छन् । इतिहासलाई फर्केर हेर्दा २००६ साल वैशाख १० गते नेकपाको गठन भएको थियो । निरंकुश राणा शासन, सामन्तवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गर्ने उद्घोषका साथ यसको स्थापना भएको देखिएको छ । तर राणा शासन र राजाको शासन गएपनि निरंकुशताभने जान सकेको छैन । सरकारमा जुन पार्टी पुगेपनि निरंकुशताको प्रदर्शन गर्ने गरेका छन् । आज पनि सामन्तवादका अवशेषहरु कायमै रहेका छन् । देश साम्राज्यवादीहरुको चंगुलमा फसेको छ ।
नेपालका कम्युनिष्टहरुले आपसमा एकता पनि कायम गर्न–गराउन नसकेको र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध आफ्नो प्रयासलाई केन्द्रितसमेत गर्ननसकेको अवस्था छ । कतिपय समूहहरुले साम्राज्यवादीको नेपाल नीतिअनुसार काम गरिरहेको देखिएको छ । जस्तो नेपालका सन्दर्भमा ०६३ पछि जे–जस्ता नीतिहरु लागू गरिएका छन्, ति साम्राज्यवादीका फुटाउ र शासन गर भन्नेमा आधिारित रहेको देखिएको छ । संघीयता, जातीय समावेशी, समानुपातिकसहितको मिश्रित निर्वाचन प्रणाली र धर्मनिरपेक्षतालाई एकातिर कतिपयले आफ्ना उपलब्धी भनिरहेका छन्भने अर्कातिर देशका लागि प्रमुख समस्या बन्दैगएका छन् । जातीय संघर्ष वर्ग संघर्ष भित्रको एउटा अंसमात्र हो । तर पहिचानको आवरणमा जातीयतालाई उचालेर वर्ग संघर्षको राजनीतिलाई ओझेलमा पार्ने कामहरु पनि भैरहेका छन् । समानुपातिक निर्वाचन पद्धति र धर्म निरपेक्षताको ब्यापक दुरुपयोग भएको छ । कम्युनिष्ट पार्टीहरुमा जनवादी केन्द्रियताको नीतिको उल्लंघन भएको देखिएको छ । मित्र शक्ति र शत्रुशक्ति छुट्याएर काम गर्ने शैलीको पनि खुलेयाम उल्लंघन गरिएको छ । कम्युनिष्ट हुनुको नाताले पालना गर्नुपर्ने अनुशासनका नियमहरुको पनि उल्लंघन भएको छ । संस्थापक महासचिव पुष्पलालकाबारेमा समेत बिभिन्न किसिमका बिवादहरुको सिर्जना गर्ने–गराउने प्रयासहरु भैरहेका छन् । संस्थापक सदस्य नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य र नारायण विलास जोशी लगायतका भूमिकाका बारेमा पनि विभिन्न विवादको सिर्जना गराउने प्रयास भैरहेको छ । त्यसको पनि निराकरण गर्दै जानुपर्ने अवस्था छ । इतिहासलाई हेर्दा नेकपा स्थापनाको दुई वर्षपछि नै २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउँदा उहाँले पार्टीभित्रै संघर्षको बाटो रोज्नु परेको थियो । त्यतिबेला पुष्पलालको गणतन्त्र र मनमोहनको संवैधानिक राजतन्त्रको लाइनले पार्टीमा फुटको बीउ रोपेको थियो । कस्तो देखिएको छभने नेपाल कम्युनिष्ट पार्टीको स्थापनानै विभिन्न खाले विवादहरुका बीचमा भएको थियो । २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा स्वयं संस्थापक महासचिव पुष्पलाल नै रहनु भएको थियो । उहाँमाथि माक्र्सवादको अध्ययन र प्रचारमा लागेकाहरुलाई नजरअन्दाज गरेर पार्टी खोलेको गंभिर आरोप लागेको थियो । भारतको कलकत्तामा रहनु भएका पुष्पलालले नेपाली राष्ट्रिय काँग्रेसबाट राजीनामा दिएर माक्र्सवादको अध्ययनमा जुटेको देखिएको छ । त्यसो त पछिल्ला दिनमा पनि कतिपय नेताहरु काँग्रेसबाट कम्युनिष्ट पार्टीमा आएको पाइएको छ । त्यसमध्ये कतिपय हालसम्म पनि कम्युनिष्ट पार्टीमा रहनु भएको छभने कतिपय फेरी कम्युनिष्ट पार्टी त्यागेर काँग्रेस निकट पुगेको अवस्था पनि छ । कतिपय नेताहरुले हालसम्म पनि कम्युनिष्टको विरोध गर्दै नेपाली काँग्रेसलाई आफ्नो मित्रशक्ति ठान्ने गरेका छन् । उनीहरुले गत ०७९ मंसिर चारको निर्वाचनमा जनयुद्धकालीन माओवादीका आधार इलाकाहरुमा गएर माओवादी र नेपाली काँग्रेस भनेका उस्तै पार्टी हुन्भन्ने प्रचार गरेकोसमेत देखिएको थियो ।
कतिपयले आफ्नो पार्टी कार्यालयबाट विश्व कम्युनिष्ट आन्दोलनका संस्थापक नेताहरुका तस्वीर हटाएर मालेमावादको नामसमेत लिन छाडेका छन् । तर पनि उनीहरुले आफ्नो पार्टीको नाममा कम्युनिष्ट शब्द कायमै राखेको देखिएको छ । इतिहासलाई हेर्दा नेकपाका संस्थापक महासचिव पुष्पलालले २००५ सालको चैत २३ गते कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद प्रकाशन गर्नुभएको पाइन्छ । जसलाई नेपालीमा प्रकाशित पहिलो माक्र्सवादी रचना पनि मानिन्छ । तर सो दस्तावेजकाबारेमा हाल नेपाली कम्युनिष्ट पार्टीहरुका बीचमा चर्चासमेत हुन छाडेको छ । के भनिन्छ भने २००६ साल अघिनै केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कूलमा अध्ययनरत केही नेपाली बिद्यार्थीहरुले माक्र्सिष्ट स्टडी सर्कल गठन गरेका थिए । जसमा बनारसमा अध्ययनरत मनमोहन अधिकारी समेत संलग्न हुनुभएको थियो । रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत रहनु भएको थियो । जसको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो । सो पार्टी खोल्नेबारेमा छलफल भैरहेकै अवस्थामा पुष्पलालले उपरोक्त सर्कलका साथीहरुलाई थाहानै नदिई गुप्त ढंगले अरु चार जनालाई सम्मिलित गराई नेकपा स्थापना गरेको भनिएको छ । नेकपाको स्थापना २००६ सालको बैशाख १० मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । पुष्पलालले आफ्ना कतिपय रचनाहरुमा आपूmले नेकपाको स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णयअनुसार माक्र्सवादी अध्ययन मन्डल गठन गरेको उल्लेख गर्नुभएको पाइएको छ । पार्टी खोले पनि यसलाई गोप्य नै राखिएको र २००६ सालको भदौ ३० मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइएको पनि भनिएको छ । पार्टी स्थापनाको जानकारी सार्वजनिक गरिँदा त्यसअघिका पाँचजना संस्थापक भनिएकामध्ये पुष्पलालबाहेक अरु कोही उपस्थितसमेत थिएनन् । सो दिन घोषित केन्द्रिय कमिटीमा भाइसाहेब भनिने भारतीय नेता अयोध्या सिंहसमेतलाई राखिएको थियो । अयोध्या सिंहलाई भाकपाका प्रतिनिधि भनिएको छ ।
त्यसैले नेकपाको स्थापनामा भाकपाले भूमिका खेलेको सहजै अनुमान गर्न सकिने अवस्था छ । यसरी नेपालको कम्युनिष्ट आन्दोलन भित्र शुरुदेखि नै विभिन्न विवादहरु रहेका हुनाले यसले शसक्त ढंगले काम गर्न–गराउन नसकेको देखिएको छ । २०४६ सालको परिवर्तन अघिका नेपालका कम्युनिष्ट पार्टी र हालका कम्युनिष्ट पार्टीका नीति, कार्यक्रम र व्यवहार दाँजेर हेरेको खण्डमा उपरोक्त कुराहरुको पुष्टि हुन्छ । नेपालको हालको सन्दर्भमा भन्नुपर्दा यहाँको समग्र कम्युनिष्ट राजनीतिको समीक्षा अनिवार्य भएको छ । जसका लागि कम्युनिष्ट नामधारी सम्पूर्ण समूहहरुको गोलमेच सम्मेलन गरेर निष्कर्ष निकालिनु पर्दछ । त्यसका आधारमा नेपालको कम्युनिष्ट राजनीतिलाई पुनः नयाँ ढंगले संयोजन गरिनु आवश्यक छ । हालको अवस्थामा नेपालका कम्युनिष्टहरुका दुईवटा स्पष्ट कार्यभार रहेका छन् । त्यो भनेको पहिलो छद्मभेषि कम्युनिष्टहरुको निर्मम ढंगले भण्डाफोर र दोश्रो सम्पूर्ण आन्दोलन साम्राज्यवादीहरुका विरुद्ध केन्द्रित गर्न–गराउन सक्नु हो । यसरी देशभित्रै शुद्धिकरण आन्दोलन नचलाउने होभने नेपालमा नाममात्रका कम्युनिष्टहरु रहने छन् । जसबाट शोषित पीडित नेपाली जनताले आशा र भरोषा गर्ने कुनै पनि कुरा बाँकी रहने छैन । त्यसैले नेकपा स्थापनाको ७६ औं वर्षगाँठ मनाइँदै गर्दा विवाद र समस्याहरुको कसरी निराकरण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्नेबारेमा शोच्नु आजको मुख्य आवश्यकता भएको छ ।