संभावित भारत पाकिस्तान युद्ध र नेपालमा पर्ने असर
भारतको जम्मू कश्मीरको पहलगाममा गतसाता मंगलबार एकजना नेपाली र २५ जना भारतीय नागरिकसहित २६ जनाको ज्यान जानेगरी भएको हमलापछि भारत र पाकिस्तानका बीचमा युद्ध भड्किने स्पष्ट संकेतहरु देखिएका छन्् । यदि भारत र पाकिस्तानका बीचमा युद्ध भएको खण्डमा त्यसमा बंगलादेश समेत मुछिन्े र नेपालमा ठूलो असर पर्ने संभावना छ । उक्त आक्रमणपछि भारतले समस्या समाधान गर्ने कुनै वैकल्पिक उपायको खोजी नगरी एकाएक पाकिस्तानसँगको सिन्धु जलसन्धि लिनम्बन गर्ने, दिल्लीमा रहेको पाकिस्तानी दुतावास र इस्लामावादमा रहेको भारतीय दूतावास बन्द गर्ने, भारतमा रहेका पाकिस्तानीहरुलाई ४८ घण्टाभित्र देश निकाला गर्ने लगायतका घोषणा गरेका कारण भारत आफै पाकिस्तानसँग युद्धका लागि लालायित रहेको र उपरोक्त घटनालाई बहानामात्र बनाएको देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा गतसाता बुधबार नयाँ दिल्लीमा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले लिएका उपरोक्त निर्णयप्रति पाकिस्तानले पनि तत्काल आपत्ति जनाउँदै त्यस्तै खालका निर्णयहरु लिएको थियो । त्यसपछि गत बिहीबार नै पाकिस्तानको सुरक्षा संयन्त्रको बैठक बसेर भारतका कुनैपनि कदमको सामना गर्न आपूmहरु तयार रहेको जनाएको थियो । कश्मिरमा घटेको उक्त घटना लगत्तै नेपालले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भारतीय पक्षधरता देखाएको थियो । सो घटनाकाबारेमा नेपाल र भारतका प्रधानमन्त्रिकाबीचमा तत्काल टेलिफोन वार्ता पनि भएको थियो । सो घटनाले भारतले नेपालबाट खतराको महशुस गरेको देखिएको थियो । त्यसैले अब नेपालमा उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने र त्यस्तै परेको खण्डमा भारत पाकिस्तान बिवाद साम्य नभएसम्म संकटकालको घोषणा गर्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ । भारतीय प्रधानमन्त्रीका भनाई र निर्णय बाहिर आएपछि छिमेकी नेपाल बाहेकका अन्य मुलुकहरुले खासै प्रतिक्रिया दिएका छैनन् । तर पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता तथा पाकिस्तानका पूर्व सूचना तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले भारतले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको प्रशंग उठाउनु भएको थियो । पहलगामको घटनालगत्तै भारतीय वायुसेनाले ‘एक्सरसाइज आक्रमण’ अन्तर्गत सैन्य अभ्यास थालेको घटनाले पनि भारत के चाहन्छभन्ने कुराको संकेत गरेको छ । आकाश र जमिनका लक्ष्यमा हवाई आक्रमणको अभ्यास गरिएको घटनालाई भारतका छिमेकी राष्ट्रहरुले गंभिरताका साथ लिनुपर्ने अवस्था छ । उक्त युद्ध अभ्यास हाल केन्द्रीय क्षेत्रमा चलिरहेको देखिन्छ । सो अभ्यासमा वायुसेनाका पाइलटहरुले आकाश र जमिनका लक्ष्यमा आक्रमण गर्ने अभ्यास गरिरहेका छन्् । भारतको पूर्वी क्षेत्रबाट धेरै वायुसेनाका उपकरणहरु मध्यक्षेत्रमा पठाइएका समाचारहरु पनि बाहिर आएका छन्् ।
भनिन्छ पाइलटहरुले वास्तविक युद्धमै जस्तोगरी अभ्यास गरिरहेका छन्् । उक्त युद्ध अभ्यासलाई ‘आक्रमण’को नामसमेत दिइएको छ । जसको अर्थ आक्रमण गर्नु र आक्रमण क्षमतालाई बलियो बनाउनु होभन्ने स्पष्ट छ । अभ्यास आक्रमणमा एकाएक राफेल लडाकु विमान र सुखोई–३० लडाकु विमान सहभागी गराइएको देखिएको छ । इतिहासलाई पल्टाएर हेर्दा यसअघि सन् १९४७ मा इष्ट इण्डियाबाट स्वतन्त्रता पाएदेखि नै भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको देखिन्छ । जसअनुसार सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक भारत र पाकिस्तानबीच युद्ध भैसकेका छन्् । जसमध्ये तीनवटा युद्धहरु सन् १९४७, १९६५ र १९९९ का युद्धहरु कश्मीरकै विषयलाई लिएर भएका थिए । सन् १९७१ को युद्ध तत्कालीन पूर्वी पाकिस्तान अर्थात हालको बंगलादेशको स्वतन्त्रताको विषयलाई लिएर भएको थियो । अब फेरि कश्मीरको विषयलाई लिएर हुने चौथो युद्ध हुने संभावना देखिएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको निर्देशनअनुसार भारतीय नागरिकहरुलाई पाकिस्तानको यात्रा नगर्न कडा सल्लाह दिइएको छ । त्यसैगरी पाकिस्तानमा रहेका भारतीयहरुलाई घर फर्कन भनिएको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका रक्षा–सैन्य, नौसेना र वायुसेना सल्लाहकारलाई अवाञ्छित व्यक्ति घोषित गरिएको छ । उनीहरुलाई भारत छोड्न एक हप्ताको समय दिइएकोमा उक्त समय प्रायः समाप्त भएको छ । भारतले इस्लामावादस्थित आफ्नोे उच्चायोगबाट रक्षा–सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरुलाई पनि फिर्ता बोलाइ सकेको अवस्था छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी आक्रमणमा संलग्नहरुलाई कल्पनाभन्दा ठूलो सजाय दिइने बताउनुभएको छ । उक्त हमलापछि गत बिहीबार बिहारको मधुबनीमा आयोजित एक सार्वजनिक कार्यक्रममा उहाँले भारतले प्रत्येक आतंककारी र तिनीहरुलाई समर्थन गर्नेहरुलाई पहिचान गर्नेछ र सजाय दिने छ भन्नु भएको थियो । मोदीको नेपालको सीमा नजिकैको मधुबनीमा भएको भ्रमणलाई समेत अर्थपूर्ण मानिएको छ । गत मंगलबारबाट घटनाक्रमहरु कसरी विकास भएका छन् भने जम्मु–कश्मीरको पहलगाममा भएको सो घटनाकाबारेमा एकातिर भारतीय नेताहरुकै बीचमा मत विभाजन देखिएको छ । अर्कातिर उक्त हमलाका बारेमा टिप्पणी गरेको आरोपमा आसाम प्रहरीले अल इण्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का विधायक अमिनुल इस्लामलगायतलाई गिरफ्तार गरेर मुद्धासमेत चलाइसकेको छ ।
विधायक इस्लामको टिप्पणीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । आसामका मुख्यमन्त्री हिमन्त शर्माले विधायक अमिनुल इस्लामलाई पहलगाम आतंकवादी हमलामा पाकिस्तान र यसको संलग्नताको बचाउ गरेको आरोपमा पक्राउ गरिएको पुष्टिसमेत गर्नुभएको छ । भारतले आक्रमणको दोष पाकिस्तान माथि लगाउँदै कडा प्रतिक्रिया दिएपनि पाकिस्तानले त्यसलाई स्वीकार गरेको छैन । उसको भनाईमा जम्मु–कश्मीरको पहलमा भएको सो घटना भारतको आन्तरिक द्वन्दका कारण भएको भन्ने छ । भारतले घटना लगत्तै आक्रमणकारीहरुको तत्काल स्केच सार्वजनिक गरेपनि खास आक्रमणकारीकाबारेमा बताउन सकेको छैन । ति पाकिस्तान समर्थित हुन कि होइनन्भन्ने पनि खुलिसकेको छैन । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि नै पाकिस्तान सरकारले गतसाता बिहीबार भारतका कदमहरुको कडा प्रतिवाद गरेको थियो । प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाएर छलफल गराउनु भएको थियो । जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो बैठकपछि जारीगरिएको वक्तव्यमा पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइने भनिएको थियो । पाकिस्तानले पनि भारतीय कूटनीतिज्ञहरुलाई देश छोड्न आग्रह गर्दै भारतीय नागरिकहरुको भिसा रद्ध गरेको छ । तर सिख तीर्थयात्रीहरुलाई छुट दिइएको छ । पाकिस्तानले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीररुपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनीसमेत दिएको छ । पाकिस्तानले आफ्ना आकाशमार्गहरुबाट भारतीय विमान कम्पनीका जहाज उड्नसमेत रोकलगाएको छ । पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ । सो सीमाबाट हुने सबै प्रकारको पारवहन रोकिएको अवस्था छ । पाकिस्तानले भारतसँग हुने सबैखालका व्यापारहरु तत्काल स्थगित गर्ने निर्णय पनि गरेको छ । भारतले लिएका पछिल्ला कडा निर्णयहरुको प्रतिक्रियामा पाकिस्तानले पनि दुई देशबीचका सबै द्विपक्षीय सम्झौताहरु निलम्बन गरेको छ । गतसाता बिहीबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले सन् १९७२ को शिमला सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो । यदि भारतले सिन्धु जल सन्धि रोके यसलाई युद्धको कार्य मानिने पाकिस्तानले चेतावनी समेत दिएको छ । पाकिस्तानले सार्कअन्तर्गतका भिसाहरुसमेत निलम्बन गरेको छ । पाकिस्तानको कृषि, पिउने पानी र बिजुली उत्पादनको ठूलो हिस्सा सिन्धु नदीको पानीमा निर्भर रहेको अवस्था छ । सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा सो सम्झौता भएको थियो । जसमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयुब खानबीच हस्ताक्षर भएको थियो । सो सम्झौतामा सिन्धु बेसिनबाट बग्ने छवटा नदीहरुलाई पूर्वी र पश्चिमी भागमा विभाजन गरिएको थियो । जसमध्ये ब्यास, रावी र सतलजलाई पूर्वी नदी मानिन्थ्यो र तिनीहरुको पानी भारतको लागि आरक्षित गरिएको थियो ।
सिन्धु, चेनाब र झेलमलाई पश्चिमी नदी मानिन्थ्यो र तिनीहरुको पानी पाकिस्तानको लागि आरक्षित गरिएको थियो । हाल भारतले उक्त सन्धि निलम्बन गरेका कारण भारतले पश्चिमी नदी सिन्धु, चेनाब र झेलमको पानी रोक्नसक्ने देखिएको छ । पाकिस्तानको ८० प्रतिशत खेतीयोग्य जमिन सिन्धु नदी प्रणालीको पानीमा निर्भर छ । पानीको ९३ प्रतिशत सिँचाइको लागि प्रयोग गरिन्छ । पाकिस्तानको राष्ट्रिय आयमा कृषि क्षेत्रले २३ प्रतिशत योगदान पु¥याउँछ, ६८ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । पाकिस्तानका प्रमुख शहरहरु कराँची, लाहोर र मुल्तान सिन्धु र यसका सहायक नदीहरुको पानीमा निर्भर छन्् । पाकिस्तानका तारबेला र मंगलाजस्ता विद्युत परियोजनाहरु सिन्धु नदीको पानी प्रयोग गरेर सञ्चालित छन्् । पाकिस्तान संसारको सबैभन्दा सुक्खा देशहरुमध्ये एक मानिन्छ । यस्तो अवस्थामा भारतले जे निर्णय गरेको छ, पहिलो त सो निर्णय कार्यान्वयन हुनसक्ने कुनै संभावना छैन । दोश्रो दुबै देशले गरेको पानी बाराबारको निर्णय मानवता विरोधी हो । आजको जमानामा शान्तिपूर्ण वार्तामा माध्यमबाट समस्याको समाधान गर्न–गराउन सकिने संभावना हुँदाहुँदै एकाएक युद्धको हुँकार गर्नु भारत र पाकिस्तान दुबैका लागि धेरै महँगो पर्ने देखिएको छ । भारत र पाकिस्तानकाबीचमा बढेको तनावले नेपालमा प्रत्यक्ष असर गर्ने देखिएकाले नेपालको सरकारले यो वा त्यो बिवादमा नअल्झी तत्काल आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । गत केही दिनअघि वीरगञ्जमा घटेको घटनाको शुक्ष्म विश्लेषण आजको आवश्यकता भएको छ ।