विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो । तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको यथार्थलाई प्रतिविम्बित गरेको छ ।
नयाँ साहसी संसारमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव -यो नारा केवल प्रविधिको विकासको चित्रण मात्र होइन, पत्रकारिता क्षेत्रभित्र फैलिएको अनिश्चितता, चुनौती र सम्भावनाको सङ्केत पनि हो । आजको पत्रकारितामा पुराना चुनौतीहरू अझ गहिरिँदै छन्—प्रेसमाथि राज्यको नियन्त्रण, सेन्सरसिप, पत्रकारमाथिका आक्रमण, र सत्य रिपोर्टिङ गर्नेहरूलाई कारवाही । यससँगै, नयाँ युगको एक अर्को चुनौतीको रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव देखा परेको छ, जसले समाचार उत्पादन, सम्पादन, तथ्य प्रमाणीकरणदेखि पाठक/दर्शकको बुझाइसम्म सबैमा असर पारिरहेको छ । सन् २०२५ को यो दिवसले मिडियालाई “साहसी” बन्नु आवश्यक छ भन्ने सन्देश दिएको छ । कारण के हो भने आजको युग केवल सूचना प्रवाहको मात्र होइन, सूचना युद्धको युग पनि हो । सत्य–असत्य, तथ्य–अफवाह, रिपोर्टिङ–प्रचारबीचको सीमाना धमिलो बनिरहेका बेला “साहस” भनेको केवल जोखिम लिने कुरा होइन, नैतिकता, सत्यता र उत्तरदायित्वमा अडिग रहने विवेक पनि हो ।
त्यस्तै, एआईको विकासले पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने सम्भावना पनि छ । तथापि, यसले मानव पत्रकारको भूमिकालाई चुनौती दिएको छ—विशेषगरी तथ्यको शुद्धता, स्रोतको प्रमाणिकता, पूर्वाग्रही एल्गोरिदम र गहिरो विश्लेषणको स्थानमा सतही स्वतः उत्पादनले पुर्याउने क्षतिलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।प्रेस स्वतन्त्रताको रक्षा केवल कानुनी वा नीतिगत स्तरमा मात्र होइन, प्राविधिक र नैतिक दृष्टिकोणबाट पनि हुनुपर्छ ।
कृत्रिम बुद्धिमत्ता, जब पत्रकारितासँग जोडिन्छ, तब त्यसको नियमन, उत्तरदायित्व र मानवीय हस्तक्षेप सुनिश्चित गर्नुपर्छ।
नेपाल र विश्वमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को सन्दर्भमा हेर्दा, नेपाल र विश्वका धेरै देशहरूमा प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण देखिन्छ । संयुक्त राष्ट्रसंघ, युनेस्को र अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता सूचकांक प्रकाशित गर्ने संस्था “Reporters Without Borders (RSF)” लगायतका संस्थाहरूको प्रतिवेदन अनुसार पत्रकारिताको स्वतन्त्रता पछिल्ला वर्षहरूमा खस्किँदो अवस्थामा छ ।
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। संविधानको धारा १७ र १९ मा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचना पाउने हक लगायतका अधिकार स्पष्ट रूपमा उल्लेख छन् । तर व्यवहारमा भने यी अधिकारहरू बारम्बार कुण्ठित भएका छन् । पछिल्लो समय सरकारले सञ्चारमाध्यममा हस्तक्षेप गर्ने, अनलाइन मिडियालाई दर्ता र नियमनको नाममा नियन्त्रण गर्ने, सामाजिक सञ्जालमा अभिव्यक्त विचारका आधारमा कारबाही गर्ने क्रम बढेको छ । विशेषगरी अनलाइन पत्रकारितामाथि थुप्रिएका कानुनी तथा प्राविधिक जटिलताले स्वतन्त्र रिपोर्टिङमा बाधा पुर्याएको छ । त्यस्तै, प्रदेश र स्थानीय तहमा सञ्चारकर्मीहरूलाई राज्यका निकायहरूसँग सूचना माग्दा जवाफ नपाइने, राजनीतिक समूहद्वारा रिपोर्टिङ रोक्ने, वा धम्की दिने प्रवृत्ति बढेको देखिन्छ । नेपाल पत्रकार महासङ्घको २०२५ को प्रतिवेदनअनुसार गत एक वर्षमा मात्रै पत्रकारमाथि ६० भन्दा बढी आक्रमण, दुर्व्यवहार वा दमनका घटना भएका छन् ।
दण्डहीनता र निषेधको संस्कृति
सबैभन्दा चिन्ताजनक पक्ष भनेको पत्रकारमाथिका हिंसात्मक घटनामा संलग्न व्यक्तिहरू सजाय नपाउने दण्डहीनता हो । केही घटनामा त राज्य संरचनाका अंगहरू स्वयं संलग्न देखिएका छन्, जसमाथि निष्पक्ष अनुसन्धान हुने सम्भावना कमजोर हुन्छ । यसले स्वतन्त्र प्रेसका लागि भयको वातावरण सिर्जना गर्छ ।
विश्वस्तरमा प्रेस स्वतन्त्रताको परिदृश्य
नेपाल मात्र होइन, दक्षिण एशियाका अन्य देशहरू भारत, बंगलादेश, श्रीलंका लगायतमा पनि पत्रकारमाथि दमन बढ्दो छ । भारतमा पत्रकारहरूलाई राष्ट्रविरोधी गतिविधिको आरोपमा जेल हालिने, बंगलादेशमा डिजिटल सुरक्षा ऐन (DSA) मार्फत पत्रकारितामाथि निगरानी गरिने, पाकिस्तानमा सेंसरसिप र पत्रकारको अपहरण हुने गरेका घटनाहरू यथार्थ हुन् । अर्कोतर्फ, म्यानमार, अफगानिस्तान, बेलारुस, चीन, र रुस जस्ता देशमा स्वतन्त्र पत्रकारिताको अवस्था अत्यन्तै जोखिमपूर्ण छ । पत्रकारहरूलाई गिरफ्तार गर्नु, यातना दिनु, वा मार्नु सरकारको रणनीतिक औजार बनेको देखिन्छ । पश्चिमी मुलुकहरूमा प्रेस स्वतन्त्रताको कानुनी संरचना बलियो भए पनि, मिडियाको व्यापारिककरण, राजनीतिक ध्रुवीकरण, र एआईद्वारा सञ्चालित अफवाह अभियानहरूले सत्य पत्रकारिता संकटमा परेको छ ।
महामारीपछिको परिदृश्य
कोभिड–१९ महामारीपछि मिडिया संस्थाहरू आर्थिक सङ्कटमा परे । विज्ञापन घट्नु, पाठक घट्नु र कार्यबलमा कटौती हुँदा, स्वतन्त्र अनुसन्धानमूलक पत्रकारिताको स्थानमा सस्तो, चटपटे सामग्रीको बाढी आएको छ । यसले सूचना प्रणालीमा विश्वासको सङ्कट पनि ल्याएको छ ।
पत्रकारमाथिका आक्रमण र दण्डहीनताको समस्या
प्रेस स्वतन्त्रताको मौलिक शर्त भनेकै पत्रकारहरूले डर, धम्की वा आक्रमणबिना रिपोर्टिङ गर्न पाउनु हो । तर, आजको यथार्थ यस विपरीत छ । सन् २०२५ मा आइपुग्दासम्म पनि पत्रकारमाथि आक्रमण, गिरफतारी, साइबर हमला र हत्या हुने क्रम रोकिएको छैन । झन झन्, अपराधीहरूलाई कारबाही नहुनु — अर्थात् दण्डहीनता — प्रेस स्वतन्त्रताको सबैभन्दा गम्भीर खतराको रूपमा देखा परेको छ ।
नेपालमा पत्रकारमाथिका आक्रमण
नेपाल पत्रकार महासङ्घका अनुसार, गत एक वर्षमा मात्र पत्रकारमाथि ६० भन्दा बढी प्रकारका हिंसात्मक वा दमनात्मक घटनाहरू भएका छन् । यीमध्ये केही घटना यस्ता छन् जसम:
. अनुसन्धानमूलक समाचार लेखेकै कारण पत्रकारलाई स्थानीय नेताहरू वा व्यवसायिक समूहबाट धम्की ।
. केही अनलाइन पोर्टलका सम्पादकहरूलाई साइबर क्राइमको मुद्दा।
. सडक रिपोर्टिङका क्रममा सुरक्षाकर्मीले पत्रकारमाथि हातपात ।
. अपमानजनक सामाजिक सञ्जाल पोस्ट वा ट्रोलिङको शिकार
यी घटनामध्ये धेरैजसोमा कुनै औपचारिक कारबाही भएको छैन । पीडित पत्रकारहरूले उजुरी गरे पनि, अनुसन्धान लम्ब्याउने, मुद्दा फिर्ता गराउने, या दबाब दिने प्रवृत्ति कायमै छ ।
दण्डहीनताको चक्र
एकपटक कुनै पत्रकारमाथि आक्रमण भयो भने त्यो केवल व्यक्तिको अधिकारको उल्लंघन हुँदैन; त्यो राज्यप्रति, लोकतन्त्रप्रति र नागरिकको सूचना पाउने अधिकारप्रति आक्रमण हो । तर जब हमला गर्नेहरू राजनीतिक संरक्षणमा हुन्छन् वा सुरक्षाकर्मी नै आक्रमण हुन्छन्, तब अनुसन्धान निष्पक्ष हुँदैन । धेरै पत्रकारमाथिका आक्रमणहरू “सम्झौता” मा टुंगिने गरेका छन् । कतिपय अवस्थामा पत्रकारले आफैं आत्मरक्षा स्वरूप मुद्दा फिर्ता गर्छन् वा मौन बस्न बाध्य हुन्छन् ।
विश्व परिदृश्य
दण्डहीनताको समस्या नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा फैलिएको छ । युनेस्कोका अनुसार, पछिल्ला १० वर्षमा हत्या गरिएका ८० प्रतिशत पत्रकारका हत्यारा कहिल्यै कानुनी कारबाहीको दायरामा परेनन् । मेक्सिको, फिलिपिन्स, अफगानिस्तान, सीरिया, र रुस जस्ता देशहरूमा पत्रकारमाथि लक्षित हत्या सामान्य बनिसकेको छ । सन् २०२३ मा मात्र संसारभर ८७ जना पत्रकारको हत्या भएको थियो ।
उदाहरणका लागि फिलिपिन्समा रेडियो पत्रकारहरूलाई गोली हानिएको थियो
रुसमा एलेक्सी नेवल्नीसम्बन्धी रिपोर्ट गर्ने पत्रकार बेपत्ता पारिएको थियो ।
इरानमा महिला अधिकारको विषयमा लेख्ने पत्रकारलाई मृत्युदण्ड सुनाइएको थियो ।
यी घटना सबैले देखाउँछन् कि पत्रकारितामाथि हिंसा बढ्दैछ र अपराधीहरू सजायबाट जोगिँदैछन् ।
दण्डहीनता रोक्न के गर्नु पर्छ ?
प्रेस स्वतन्त्रताको रक्षा गर्न विशेष पत्रकार सुरक्षा ऐनको खाका आवस्यकता छ ।
पत्रकारमाथि हुने आक्रमणलाई गम्भीर अपराधको रूपमा हेर्नु र छिटो निष्कर्षमा पुर्याउनु पर्दछ ।
राजनीतिक संरक्षणमा हुने आक्रमणहरूलाई खारेज गरेर स्वतन्त्र अनुसन्धान समिति गठन हुनुपर्छ ।
सुरक्षाकर्मी, प्रशासन र पत्रकारबीच नियमित संवाद र तालिम कार्यक्रम हुनुपर्छ ।
मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव: अवसर र चुनौती
कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) ले अहिले हरेक क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । मिडिया र पत्रकारिता पनि यसको अपवाद होइन । समाचार लेखनदेखि सम्पादन, तथ्य प्रमाणीकरणदेखि पाठकसँगको अन्तर्क्रियासम्म, एआईले पुरानो कार्यपद्धतिलाई नयाँ दिशामा मोडिरहेको छ । सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता दिवसले यो विषयलाई केन्द्रीय रुपमा उठाउनुको कारण यही हो – प्रेस स्वतन्त्रता र एआईको सम्बन्ध गहिरो, जटिल र भविष्यनिर्धारण गर्ने खालको छ ।
एआईद्वारा सञ्चालित मिडिया: अवसरहरू
समाचार लेखन र अनुवादमा सहयोग
अहिले धेरै मिडिया हाउसहरूले एआईलाई सामान्य समाचार लेख्न प्रयोग गरिरहेका छन् — जस्तै खेलकुदको स्कोर रिपोर्ट, आर्थिक आँकडा, मौसम रिपोर्ट आदि । यस्ता समाचारहरूमा तथ्य स्पष्ट र ढाँचा निश्चित हुने भएकाले एआईका लागि उपयुक्त क्षेत्र हुन् ।
भाषा रूपान्तरण र पहुँच विस्तार
एआईद्वारा सञ्चालित अनुवाद प्रणालीले समाचारलाई विभिन्न भाषामा छिटो अनुवाद गर्न सकिन्छ, जसले सिमाना र भाषागत अवरोधलाई तोड्न मद्दत गर्छ ।
फ्याक्ट–चेकिङ र तथ्य प्रमाणीकरण
झुटा समाचार (fake news) को बाढीमा एआईले सत्य र असत्य छुट्याउन ‘fact-checking algorithms’ विकास गरिरहेको छ। जस्तै, फोटो वा भिडियोको वास्तविक स्रोत पहिचान गर्न एआई प्रविधि प्रयोग गरिन्छ ।
डाटा पत्रकारिता र विश्लेषण
ठूला डाटासेटहरूबाट अर्थपूर्ण समाचार निकाल्न, गहिरो अनुसन्धान गर्न एआई टूलहरू (जस्तै Natural Language Processing र Sentiment Analysis) निकै उपयोगी छन्।
पाठकसँग अन्तरक्रिया र सामग्री सिफारिस
एआईले पाठकको रुचिअनुसार सामग्री सुझाव दिने, खोज परिणाम अनुकूल गर्ने, र व्यक्तिगत समाचार अनुभव निर्माण गर्ने काम गर्छ । यसले पाठक संलग्नता बढाउँछ ।
तर, यी अवसरसँगै गम्भीर चुनौतीहरू पनि छन् :
पत्रकारको स्थानमाथि खतरा
एआईले सामान्य समाचार लेख्न थालेपछि कतिपय मिडिया संस्थाले संवाददाताको स्थानमा प्रविधिलाई प्राथमिकता दिन थालेका छन् । यसले रोजगार कटौती र पेशागत असुरक्षा निम्त्याएको छ ।
पूर्वाग्रही एल्गोरिदम र सूचना विकृति
एआई प्रणालीहरू प्रशिक्षित डाटामाथि आधारित हुन्छन् । यदि डाटा पूर्वाग्रही छ भने (जस्तै, जातीय, लैङ्गिक वा सांस्कृतिक दृष्टिले असमान), त्यसले उत्पन्न समाचार वा विश्लेषण पनि पूर्वाग्रही हुन्छ ।
झुटा समाचार निर्माणमै एआई प्रयोग
Deepfake भिडियो, झुटा लेख वा नक्कली वेबसाइटहरू निर्माणमा पनि एआई प्रयोग हुन थालेको छ । यस्तो प्रविधि यदि गलत उद्देश्यमा प्रयोग भयो भने, त्यसले लोकतन्त्र र प्रेस स्वतन्त्रतामा ठूलो खतरा निम्त्याउँछ ।
उत्तरदायित्वको अभाव
एआईद्वारा तयार समाचारमा गल्ती भएमा त्यसको जिम्मेवारी कसले लिने ? मानव पत्रकार वा एआई विकासकर्ताले ? यसको स्पष्ट मापदण्ड अहिले पनि विश्वव्यापी रूपमा स्थापित भइसकेको छैन ।
छोटो, सतही सामग्रीको बाढी
एआईले उत्पादन गरेको सामग्री प्रायः तथ्य–आधारित भए पनि, विश्लेषणात्मक गहिराइ र संवेदनशीलताको अभाव हुन्छ । यसले पाठकमा ‘Clickbait’ प्रवृत्ति बढाउने खतरा छ ।
नीतिगत सुधार र भविष्यको बाटो
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को मूल नारा — “नयाँ साहसी संसारमा रिपोर्टिङ: प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव” — केवल समस्याको चित्रण मात्र होइन, समाधानको खाका निर्माण गर्ने अवसर पनि हो । नेपाल र विश्वले स्वतन्त्र पत्रकारिता र प्रविधिको सह–अस्तित्वलाई सुनिश्चित गर्न नयाँ नीति, संरचना र व्यवहारको आवश्यकता छ ।
प्रेसमैत्री कानुनी संरचना विकास
नेपालमा पत्रकारिता नियन्त्रण गर्न प्रयोग हुने कानुनहरू जस्तै प्रेस काउन्सिल ऐन, सूचना प्रविधि ऐन, राष्ट्रिय सूचना आयोग सम्बन्धी प्रावधानहरूलाई प्रेस स्वतन्त्रताप्रति सम्मानजनक तरिकाले पुनरावलोकन गर्न जरुरी छ । प्रेसमाथि प्रतिबन्ध होइन, सहजीकरण गरिने नीति आवश्यक छ ।
पत्रकारमाथि हुने आक्रमणलाई “गम्भीर अपराध” को रूपमा परिभाषित गर्ने कानुन ल्याइनुपर्छ ।
प्रेस स्वतन्त्रतामाथि असर पार्ने कुनै पनि कानुनी प्रस्ताव अघि सार्दा अनिवार्य रूपमा मिडिया क्षेत्रको परामर्श लिनु पर्ने व्यवस्था हुनुपर्छ ।
एआई नीति र मिडिया नियमन
कृत्रिम बुद्धिमत्ताको प्रयोगले सूचना उत्पादन र उपभोगको प्रकृति नै बदलिरहेको छ । यसलाई नियन्त्रण गर्नेभन्दा पनि उत्तरदायी बनाउने रणनीति अवलम्बन गर्नुपर्छ । AI Transparency Framework: मिडिया संस्थाले एआई प्रयोग गरिएका सामग्रीमा स्पष्ट रूपमा खुलासा गर्ने नीतिको विकास आवश्यक छ । Human-in-the-Loop (HITL) प्रणाली: समाचार उत्पादनमा एआईले भूमिका खेले पनि अन्तिम निर्णय मानव सम्पादक वा पत्रकारको हुने सुनिश्चितता हुनुपर्छ । डेटा गोपनीयता र पूर्वाग्रह न्युनिकरण: एआई प्रणाली प्रशिक्षित गरिने डेटाबेसलाई निष्पक्ष, विविधतापूर्ण र उत्तरदायी बनाउन वैज्ञानिक र नीतिगत सहयोग आवश्यक छ ।
मिडिया साक्षरताको प्रवर्द्धन
आजको समयमा नागरिक मात्र पाठक होइनन्, सामग्रीका उत्पादक र प्रवाहकर्ता पनि हुन थालेका छन् । त्यसैले, समाचारको मूल्यांकन, झुटा समाचारको पहिचान, तथ्य प्रमाणीकरण र उत्तरदायित्वबारे आम नागरिकमा चेतना जगाउने कार्यक्रम आवश्यक छ । विद्यालय र विश्वविद्यालय तहमा “मिडिया साक्षरताको पाठ्यक्रम” अनिवार्य गरिनुपर्छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई ‘fact-checking tools’ को प्रयोग सिकाउने डिजिटल क्याम्पेन चलाइनुपर्छ ।
पत्रकार सुरक्षाका लागि संरचनागत सुधार
पत्रकार संरक्षणका लागि स्वतन्त्र “पत्रकार सुरक्षा इकाइ” गठन हुनुपर्छ, जसमा कानुनी, मनोवैज्ञानिक र तालीम विशेषज्ञहरूको टोली समावेश गरिनुपर्छ । महिला, अल्पसंख्यक र सिमान्तकृत समुदायका पत्रकारहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न अतिरिक्त नीति चाहिन्छ ।
स्वतन्त्रता र प्रविधिको सह–अस्तित्व: भविष्यको बाटो
पत्रकारिता अब प्रविधिबाट टाढा बस्न सक्दैन । तर, प्रविधिले मानव पत्रकारको विवेक, आत्मा र सत्य खोज्ने क्षमताको विकल्प लिन सक्दैन । त्यसैले भविष्य यस्तो हुनुपर्छ जहाँ: प्रविधि र पत्रकारबीच सहकार्य हुन्छ, प्रतिस्पर्धा होइन ।स्वतन्त्र पत्रकारिताले सत्य बोल्न डराउँदैन, न राज्यको कारण, न प्रविधिको कारण । मिडिया संस्थाहरू व्यापारिक दबाबभन्दा पनि सामाजिक उत्तरदायित्वमा अडिग हुन्छन् ।
सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता दिवस एउटा नयाँ मोडमा आएको छ — जहाँ परम्परागत जोखिम (राजनीतिक दमन, हिंसा, दण्डहीनता) र प्रविधिजन्य चुनौती (एआईको प्रभाव, एल्गोरिदम, झुटा समाचार) एकैसाथ देखिएका छन् । यस्ता अवस्थामा पत्रकारिता अझ साहसी, जिम्मेवार र समावेशी बन्ने छ — जब सरकार, मिडिया, प्राविधिक क्षेत्र र नागरिक समाजले मिलेर स्वतन्त्रताको आधारभूत मूल्यहरूको रक्षा गर्नेछन् ।
– लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन्