असफल ब्यवस्था र नेतृत्वको बिकल्प बारे एक चर्चा
नेपाल २०६४ साल पछि गणतन्त्रात्मक लोकतान्त्रिक संसदिय ब्यवस्थाको प्रयोगमा छ । तिस बर्षे एकतन्त्रीय पन्चायती ब्यवस्था र करिव पन्ध्र बर्षसम्म चलेको संसदिय राजतन्त्रबाट नेपाली जनता सन्तुष्ट बन्न नसके पछि तथा सो ब्यवस्था जनउत्तरदायी रहन नसक्दा दश बर्षे जनयुद्ध र ०६२–०६३ को जनआन्दोन तथा जनताको शक्तिको तागतमा ति ब्यवस्थाहरुको बिकल्पमा गणतन्त्र स्थापना भएको हो । राजतन्त्रात्मक ब्यवस्था भन्दा लोकतन्त्रात्मक गणतन्त्र प्रगतिशिल ब्यवस्था थियो जनताले केही अधिकारहरु पनि प्राप्त गरे । गणतन्त्रको स्थापनाले नेपालका उत्पिडित शोषित र दमित शक्तिले सत्ता प्राप्त गर्दछ र सो सत्ताले नेपाल र नेपालीको भाग्य भविष्यको फैसला गर्न सक्दछ भन्ने थियो केही मात्रामा परिर्वतन पनि भयो । तर गणतन्त्र गणतन्त्र ल्याउने जनताको हातमा रहन सकेन सो गणतन्त्र सिमित नेताहरुको हातमा पुग्यो, गणतन्त्र ल्याउने नेताहरु नै दलालमा परिणत भए अन्ततः सो गणतन्त्र दलाल गणतन्त्रमा परिणत भयो । जव जनताको तागतद्धारा प्राप्त गणतन्त्र दलाल गणतन्त्रमा परिणत भयो जनतामा असन्तुष्टि र निराशा पैदा भएको छ । निराशाले मान्छेलाई कि पलायन बनाउछ कि त बिद्रोह पैदा गर्दछ । आज नेपाली जनता नेता र राजनिति भने पछि वाक्क भएका छन । नेता प्रति नेताकै पछाडी हिड्ने मान्छे पनि सन्तुष्ट देखिदैनन, राजनितिमा लागेकै इमान्दारहरु पनि सन्तुष्ट छैनन । दलाल शक्ति र दलाल प्रबृतिका राजनितिक नेता कार्यकर्ताहरु मात्र यो ब्यवस्थाका मालिक जस्ता बनेका छन सुख र बिलासीपूर्ण जिवन बिताएका छन आम जनता प्रताडित बन्दै गएका छन । आज भन्ने गरिएको लोकतान्त्रीक गणतन्त्रप्रति पनि नेपाली जनताको बिश्वास कमजोर बनेको छ । जनताको दैनिकीमा परिवर्तन हुने आशा राखेका नेपाली जनता निशास बन्दै गएका छन र कथित लोकतन्त्र नामाकरण गरिएको गणतन्त्र पनि असफल साबित हुदै गएको छ । संसदिय लोकतान्त्रीक गणतन्त्रको असफलताले के साबित गर्दछ भने अबको बिकल्प के ? भन्ने प्रश्न आम पंक्तिमा तेर्साइदिएको छ । नेपालका सचेत नागरिक र अग्रगामी सोच दृष्टिकोण राख्ने राजनितिक शक्तिले यसको गहिरो अध्ययन गरि जनताको चाहाना सम्बोधन हुन सक्ने नेपालकोे माटो सुहाउदो आजको संकटको बिकल्प प्रस्तुत गर्न जरुरी छ ।
यसको बिकल्प के ? प्रश्न अनुत्तरीत र महत्वपूर्ण छ । हरेक कुराको बिकल्प हुन्छ । पृथ्वीमा रहेका सबै चिज वा बस्तु परिवर्तनशिल छन हामी यो सार्बभौम कुरालाई मान्दछौ भने यो ब्यवस्थाको परिर्वतन वा बिकल्प पनि अनिवार्य छ । आज बिकल्पको कुरा गर्दा तिन बिकल्पमा बहस भैरहेको छ । १- पश्चगमन, २- यथास्थितिको सुधार, ३ -अग्रगमण ।
संकटहरुले बिद्रोह पैदा गर्दछन । बिद्रोहहरुले सत्तामा परिवर्तन ल्याउने गर्दछन । बिद्रोहहरु अग्रगमनको लागि मात्र हुन्छ भन्ने हुदैन बिद्रोहहरुले समाजलाई पछाडी फर्काइ दिन पनि सक्दछन तर नेपालको आजको अवस्था त्यहाँ भने छैन । गत चैत्र १५ गते राजावादीहरुले तिनकुने क्षेत्रमा एक प्रकारको पश्चगामी अराजक बिद्रोह पैदा गरे त्यो पश्चगमनकारी अराजकताको पराकाष्ठा थियो त्यो बिकल्प समाज परिवर्तनको दृष्टिकोणले सहि विकल्प होइन । राजावादीहरुलाई मलजल गर्ने काम भने आजका संसदवादीहरुले नै गरेका हुन । सत्ता सञ्चालन सहि रुपमा गरेको भए, गरिव जनताका मुद्धाहरु शंवोधन गर्न सकेको भए, जनताका अधिकारहरु सुनिश्चित गर्न सकेको भए सायद त्यो स्थितीको सृजना हुने नै थिएन । यसको मतलव आजका शाषकहरु राजा भन्दा निस्कृष्ट हुन भन्न खोजिएको होइन । राजतन्त्र झन निकृष्ट र अपराधिक ब्यवस्था हो । कतिपय शक्ति र ब्यक्तिहरु आजको ब्यवस्था र नेतृत्वको संकटको निकास राजा सहितको ब्यवस्थाको कुरा गर्ने गर्दछन, नेपाली जनताको तागतले बढारिएको ब्यवस्था र ब्यक्ति आजको निकास हुन सक्दैन र सम्भव छैन ।
अलि ठुलो र हाल सत्ताको वरपर घुमिरहेको एउटा शक्ति यथास्थितीको सुधार नै आजको ब्यवस्थाको बिकल्पको रुपमा प्रस्तुत गर्ने गरेको देखिन्छ । लोकतन्त्रको बिकल्प लोकतन्त्र, ब्यवस्था हैन अवस्थाको सुधार, ब्यवस्था सही हो तर यसको नेतृत्व सही हुन सकेन जस्ता भ्रमपूर्ण र अन्तरबिरोधी नाराहरु दिईरहेको छ । के यो ब्यवस्था नै समाज रुपान्तरण र परिवर्तनको लागी अन्तिम ब्यवस्था हो त ? के यो ब्यवस्थाको बिकल्प केही हुन सक्दैन ? यो कुरा सत्य होइन । अहिले नेपालमा चलिरहेको ब्यवस्था र यसको नेतृत्व नै असफल सिद्ध भैसकेको छ । न यो ब्यवस्था जनताको ब्यवस्था हो, न यि नेता जनताका सफल नेताहरु हुन । राजतन्त्रात्मक ब्यवस्था भन्दा यो ब्यवस्था सहि भएता पनि खास जनताको ब्यवस्था बन्न सकेन । राजा भन्दा तुलनात्मक यि नेताहरु राम्रा भएता पनि धेरै आकास पतालको भिन्नता पनि नभएको कुरा जनताले बुझिसकेका छन । त्यसकारण यथास्थितीको सुधार पनि जनताको जिवनमा परिवर्तन ल्याउन सक्ने जनतालाई सन्तुष्ट बनाउन सक्ने र आजका संकटहरुको समाधान दिन सहि बिकल्प हैन । संसदवादले आफुलाई श्रेष्ठ बनायो ब्यक्तिलाई शक्तिशाली बनायो तर आम जनताको ब्यवस्थाको रुपमा ब्यक्त गर्न सकेन । पुँजीवाद मुटिठभर मालिकको ब्यवस्थामा परिणत भयो । अन्तत यो ब्यवस्था पनि असफल सिद्ध हुदै गयो । यहि असफल बन्दै गएको ब्यवस्थामा रगंरोगन गरेर सुन्दर बनाउन त सकिन्छ वा अहिलेका मालिकहरुलाई परिवर्तन गरेर अरु कोहीलाई मालिकको कुर्सिमा बसाउन सकिन्छ । तर आम नागरिकको पिडा भने जस्ताको त्यस्तै रहने छ । त्यसकारण यथास्थितिको सुधार मात्र पनि आजको उत्तम बिकल्प होइन ।
तेश्रो तथा अन्तिम बिकल्प बारे हामी यहाँ चर्चा गरौ, राजतन्त्र जनताको ब्यवस्था होइन । पुँजीवादी संसदिय ब्यवस्था जो अहिले चलिरहेको छ नेपाली जनतालाई सन्तुष्टी प्रदान गर्न सकेन र सक्दैन पनि । अहिलेको ब्यवस्था नितिगत रुपमा नै असफल भैसकेको छ । आफ्नै पार्टी भित्र समेत लोकतन्त्रको अभ्यास नगरेका नभएका राजनितिक पार्टी र तिनिहरुको हातमा नै सधै सत्ताको बागडोर रहिरहेको सन्दर्भमा त्यसले जनतालाई लोकतन्त्र प्रदान गर्ने तथा जनताको प्रतिनिधि सत्ताको रुपमा स्थापना हुने भन्ने कुरा कल्पनाको कुरा नै थिएन । पूजिंवाद आम जनताको प्रतिनिधि ब्यवस्था नै होइन । पुँजीवाद केवल पुँजीपति बर्ग र सत्ता संचालकहरुको सहवासको ब्यवस्था हो । पुँजीवादमा पूजिंले सत्ताको नेतृत्व गर्ने गर्दछ । त्यसकारण आजको नेपाली राजनितिक संकटको उत्तम र बैज्ञानिक बिकल्प आम श्रमिक उत्पिडित आम नागरिकको ब्यवस्था समाजवाद हो । सत्ताको संकटको विकल्प समाजवाद हो भने राजनितिक नेतृत्वमा आएको संकटको बिकल्प विप्लव हो ।
नयाँ दार्शनिक मान्यता र नयाँ नयाँ शंश्लेषणहरु सहित अगाडी आएको नेपालको राजनितिक शक्ति आजसम्म कतै पनि बिवादमा नतानिएको स्वच्छ र क्षमतावान नेतृत्वले मात्र आजको नेपालको नेतृत्व प्रदान गर्न सक्दछ । यो ब्यवस्था र अहिलेका सबै नेताहरु परिक्षित भैसकेका छन करिव सबै नेताहरु जनताको आखामा पास हुन सकेनन, ति नेताहरुवाट आजको नेपालको नेतृत्व प्रदान गर्न सम्भव छैन । करिव सात दशक पार गरिसकेका सामन्ती सोचवाट ग्रसित आजको नेपालको राजनितिको नेतृत्व प्रदान गरिरहेको पुस्तालाई ससम्मान विदाई गर्दै युवा पुस्तालाई नेतृत्व प्रदान नगर्ने र युवा पुस्ताले पनि राजनितिक पहलकदमी नलिने हो भने नेपाली जनताले परिवर्तनको आकांक्षा हैन निरास बनेर पलायनताको वाटो रोज्नु पर्ने छ । आजका संसदिय राजनितिक पार्टीभित्र सामन्तवाद नै हावि देखिन्छ, त्यसको संस्थागत अभिब्यक्ति हिजो ब्यवस्था राजतन्त्रको नाममा थियो भने आज पार्टी सत्ता संचालनमा देखिरहेको छ । आजिवन पार्टी नेतृत्व हस्तान्तरण गर्न नसक्ने, अर्को कसैलाई बिश्वास नगर्ने, आफुलाई सर्बेसर्बा ठान्ने आखिर यि प्रबृती पनि हिजोका राजाका भन्दा धेरै भिन्नतामा देखिदैनन । आज नेपाल सामन्ती सोचवाट ग्रसित पुँजीवादी ब्यवस्थामा छ । सामन्तवादको मुल प्रबृती ब्यक्ति नै सर्बेसर्बा हुनु हो । जो प्रक्रिया बिगत केही दशक देखि चलिरहेकै छ । ब्यक्तिमा अर्थ केन्द्रित गरेर ब्यक्ति धनि बन्ने र समाज र संस्था गरिबीको रेखामुनि भाँसिदै जाने आजको पुँजीवादी सत्ता पनि जनताको नजरमा पूर्णरुपमा बिस्थापित हुँदै गएको छ । जो हिजो राजतन्त्रको अवस्था थियो । गरिवीको रेखामुनि रहेका जनताको शक्तिलाई माथी उठाउन नसक्ने अवस्थामा सत्ताको रुपान्तरण वा परिवर्तन अनिवार्य बन्न जान्छ । आज जुन बिषम संकटपूर्ण परिस्थिति छ त्यसको दोषी सत्ता र नेतृत्व दुवै बन्न जान्छन वा हुन । यि सबै समस्याहरुको प्रगतिशिल समाधान समाजवादी सत्ता नै हो । आजको नेपालको संकटको समाधान चाहन्छौ भने पछाडी फर्केर वा यथास्थितिमा मात्र रमाएर सम्भव छैन । पूर्ण जनताको स्वामित्व रहेको सत्ता र नयाँ जोस जाँगर र स्पृट सहितको नेतृत्व नै उत्तम निकास हो । त्यसकारण आजको समाजको प्रबृतीले के साबित गर्दै गएको छ भने सत्ता संकटको निकास नेपाली बिशेषताको समाजवाद र नेतृत्व संकटको निकास क. बिप्लव सी हो ।