बढ्दो भारत पाकिस्तान तनाव र भावी संकेतहरु
नेपालका छिमेकी र कूटनीतिक सम्बन्ध रहेका भारत र पाकिस्तान अनपेक्षित ढंगले युद्धमा होमिएका छन् । यता नेपालमा सबैभन्दा बढी दबाव बढ्दै गएको देखिएको छ । भारत–पाकिस्तान युद्धको पृष्ठभूमी अत्यन्त बिवादास्पद रहेको छ । बाहिर देखिँदा भारत प्रशासित कश्मिरको पहलगाममा गत अप्रिल २२ मा पर्यटकमाथि भएको आक्रमणलाई कारण जनाई पनि सो घटना हुनु अघि र पछिका घटनाक्रमहरुले गंभिर संकेतहरु गरेका छन् । बुझ्नुपर्ने कुरा केछ भने उक्त हमलाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । तथापि, मुस्लिम बहुल सो क्षेत्रमा सन् १९८९ देखि सशस्त्र आन्दोलन जारी रहेको छ । जसमा केही समूहहरु या त स्वतन्त्रता चाहन्छन् वा पाकिस्तानसँग एकीकरणको पक्षमा रहेका छन् । पाकिस्तानले कश्मीरको एक भागमा नियन्त्रण राखेको छ तर भारतजस्तै पुरै क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ । भारतको आधिकारिक तथ्यांकअनुसार सन् २०२४ मा मात्र करिब ३५ लाख पर्यटकले कश्मीरको भ्रमण गरेको पाइएको छ । भनिन्छ जसमा अधिकांश घरेलु पर्यटकहरु रहेका थिए । भारतले सन् २०२३ मा श्रीनगरमा कडा सुरक्षाबीच जी२० पर्यटन सम्मेलन आयोजना गरेको थियो । भनिन्छ त्यसको उद्देश्य सो क्षेत्र सामान्य अवस्था फर्किएको सन्देश दिनु थियो । सन् २०१९ मा भारत सरकारले कश्मीरको सीमित स्वायत्तता खारेजगरी प्रत्यक्ष शासन व्यवस्था लागूगरेपछि हिंसात्मक गतिविधिहरुमा केही कमी आएको देखिएको थियो । कश्मीर क्षेत्रमामात्र करिब पाँचलाख भारतीय सुरक्षाकर्मी स्थायी रुपमा तैनाथ रहेको अवस्था पनि छ । कश्मिरको पहलगाममा अप्रिल २२ मा झण्डै आधाघण्टा हमला भएको भनिएको छ । तर त्यहाँ कुनै पुलिस वा सैनिकको उपस्थिति थिएन । जबकी भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को शिविर उक्त हमला भएको भनिएको स्थानबाट सात किलोमिटर नजिक रहेको थियो । त्यसैगरी सेनाको राष्ट्रिय राइफल्स (आरआर)को शिविर पनि पाँच किलोमिटर नजिक थियो । तर उनीहरु तत्काल परिचालित भएनन् । जम्मु–कश्मीरमा भारतले कडा सुरक्षा प्रबन्ध गरेको भनिएको अवस्थामा त्यसदिन पहलगामको उक्त पर्यटनस्थल बैसरनमा सुरक्षा तैनाथी किन थिएन ? भन्ने गंभिर प्रश्न उठेको छ । भारतले प्रायः यस्ता घटनाहरुमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले उक्त आरोपहरु अस्वीकार गर्दै कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको पक्षपोषण मात्रै गर्ने बताउँदै आएको पाइन्छ । पहलगामको घटनापछि भारत निकै आक्रामक र पाकिस्तान रक्षात्मक देखिएका छन् । उक्त घटना घटेलगत्तै भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग टेलिफोनमा सम्पर्क गरेर सहयोगको आग्रह गरेको देखिएको थियो । नेपालको सरकार तथा नेकां र एमालेलगायतका दलहरुले औपचारिक वक्तव्य प्रकाशित गरेर तत्काल भारतीय कदमको समर्थन गरेका थिए ।
भारत र पाकिस्तान प्रत्यक्षरुपमा मुठभेडमा उत्रिएपछि विश्वका शक्तिशाली तथा अन्य राष्ट्रहरुले दुवै राष्ट्रलाई संयमता अपनाउन आग्रह गरेको पाइएको छ । चीन, अमेरिका, रुस, टर्की, फ्रान्स, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान, टर्की, इरानलगायत देशहरुले दुवैलाई संयमता अपनाउन आग्रह गरिसकेका छन् । उनीहरुको भनाईमा भारत र पाकिस्तानले वार्ता र सम्वादमार्फत आपसी समस्या सुल्झाउनु पर्छ भन्ने रहेको छ । तर भारतका छिमेकी र सार्क राष्ट्रका मुख्यत चार मुलुक भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशले मौनता साँधेको देखिएको छ । अफगानिस्तानले भारत र पाकिस्तान दुबैलाई संयमता अपनाउन र वार्ताका माध्यमबाट अगाडि बढ्न भनेको छ । त्यसैगरी तालिबानले भारत र पाकिस्तान युद्ध तत्काल समाधान नभए पूरै दक्षिण एशियामा अशान्ति छाउने चेतावनी दिइसकेको छ । नेपाल यतिबेला सार्क सँगठनको अध्यक्ष राष्ट्र भएपनि उसले सबैलाई मिलाएर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने–गराउने भूमिका निर्वाह गर्न सकिरहेको छैन र सक्ने संभावना पनि देखिएको छैन । गत बिहीबारमात्र नेपालको परराष्ट्र मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी आतंकवाद विरुद्धको लडाइँमा नेपालको समर्थन रहेको जनाएको थियो । जसमा पहलगाम आक्रमणमा नेपालले पनि भारतसँग पीडाको ऐक्यबद्धता गरेको उल्लेख छ । परराष्ट्र मन्त्रालयले पहलगाम आक्रमणमा नेपालले एक नागरिकसमेत गुमाएको र तत्कालै उक्त आक्रमणको कडा शब्दमा भत्र्सना गरेको उल्लेख गरेको छ । नेपालले दुई देशबीच बढ्दो तनाव कम हुने आशा व्यक्त गरेको छ । सो वक्तव्यमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपाल प्रतिवद्ध रहेको र नेपालले आफ्नो भूमि छिमिकीहरुका विरुद्ध प्रयोग गर्न नदिने लगायतका कुराहरु अगाडि सारेको छ । सो वक्तव्यले यहाँ दबाव बढेको र नेपालले भारतीय पक्षधरता लिएको स्पष्ट गरेको छ । जबकी नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाशमीले भारतले पाकिस्तानमाथि अप्रत्याशित आक्रमण गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाइसक्नु भएको छ । गत बिहीबार काठमाडौंस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली पूर्वछात्रहरुको एक भेलामा बोल्दै उहाँले भारतको अप्रत्याशित आक्रमणले पाकिस्तानको सार्वभौमसत्ता, संयुक्त राष्ट्र संघको वडापत्र र अन्तर्राष्ट्रिय कानूनको स्पष्टरुपले उल्लंघन गरेको प्रशंग उठाउनु भएको थियो । भारतले पाकिस्तानमाथि गरेको आक्रमणले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीररुपमा खतरामा पारेको पाकिस्तानी ठहर रहेको देखिएको छ । यसै समयमा अमेरिकाले एकातिर लाहोरमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा सर्न भनिसकेको छ भने अर्कातिर भारत–पाकिस्तान युद्धको मध्यस्तता गर्न सक्ने संकेत गरेको छ । लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ड्रोन विष्फोट र भारतद्वारा सम्भावित हवाई घुसपैठलाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले उपरोक्त सूचना जारिगरेको देखिएको छ । अब यस क्षेत्रमा कस्तो प्रकारको स्थिति उत्पन्न हुनेछ र भारत–पाकिस्तान युद्धले कुन रुप धारण गर्ने छ ? भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ । वार्ताबाट समाधान गर्न सकिने मामिलामा भारतले युद्धको थालनी गरेर गंभिर प्रकारको गल्ती गरिसकेको छ । आजकोजस्तो विश्व परिवेशमा भारतले कुनै सानो घटनालाई आधार बनाएर युद्ध थाल्नुहुने थिएन । हालको अवस्थामा भारतले युद्धको थालनी गरिसकेकाले उक्त दुई देशको ठूलो क्षति हुने कुरामा द्विमत छैन । यस परिघटनाले दक्षिण एशियालाई नै असर गरेको कुरालाई पनि नजरअन्दाज गर्न सकिँदैन ।
भारतले पछिल्लो समयमा आतंवादीमाथि आक्रमण गरेको प्रचार गरेपनि सो आक्रमणबाट धेरै संख्यामा बालबालिका र निर्दोष मानिसहरुको हताहती भएको छ । यो ठूला मानवता विरोधी हर्कत हो । दक्षिण एशियाका सन्दर्भमा भारत र पाकिस्तान दुबै आणविक शक्तिसम्पन्न राष्ट्र मानिन्छन् । यस्तो अवस्थामा अणुबमकोसमेत प्रयोग नहोला भन्न सकिन्न । यदि त्यस्तो अवस्था आयोभने त्यसबाट यस क्षेत्रमा ठूलै क्षति हुनसक्ने अवस्था पनि छ । पहलगाममा भएको घटना अत्यन्त निन्दनीय रहेको छ । तर त्यसको सतहमा पुगेर छानविन नगरी भारतले जुन कदम चालेको छ, त्यो पनि निन्दनीय काम भएको छ । भारतजस्तो मुलुकले कम से कम शुरुमा वार्ताका माध्यमबाट समस्याको सधान गर्ने प्रयास गरेको हुनुपर्ने थियो । छानविन गर्दा पाकिस्तानले नै सो घटना गराएको प्रमाणित भयो र उसले त्यसलाई स्वीकार गरेन भनेमात्र युद्धका कुराहरु आउँथे । भारत र पाकिस्तानको बिवादको पाटो अलग्गै छ भने कश्मिरका जनताका कुराहरु पनि अलगै रहेका छन् । उनीहरुले विगत लामो समयदेखि जनमत सँग्र्रहद्वारा आफ्नो अवस्थाको फैसला गर्ने आत्मनिर्णयको अधिकारको माग गर्दै आएका छन् । विश्व जनमतले कश्मिरको स्वतन्त्रताको सवाललाई पनि ध्यान दिनुपर्ने अवस्था छ । उक्त देशको इतिहास भारत र पाकिस्तानको भन्दा पुरानो र गौरवपूर्ण रहेको पाइन्छ । हाल आएर त्यसलाई भारत र पाकिस्तानले कब्जा जमाएका छन्भने कश्मिरकै विषयलाई लिएर सधँै कलह पनि गर्दै आएका छन् । जसले गर्दा कश्मिरका जनता ती दुबै देशबाट पीडित रहेका छन् । सन् १९४७ पछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भारत र पाकिस्तान दुबै देशको सहमतिमा कश्मिरका जनतालाई जनमत सँग्र्रहद्वारा भारत र पाकिस्तानमध्ये कुनै देशमा मिल्ने वा स्वतन्त्र रहनेभन्ने निर्णय गर्न दिने सम्झौता नै भएको थियो । तर भारत र पाकिस्तान दुबैले त्यसलाई विभिन्न बहानामा टार्दै आएका छन् । जसले गर्दा कश्मिरी जनताले झण्डै सात दशकदेखि अन्योलमा रहनु परेको अवस्था छ । हालै भारत र पाकिस्तानका बीचमा तनाव शुरुभएपछि राष्ट्रसंघलेसमेत आपसमा संयम अपनाउन र वार्ताका माध्यमबाट समस्याको समाधान गर्न दुबै देशलाई औपचारिकरुप मै आग्रह गरिसकेको छ ।
त्यसैले कुनै पनि बेला राष्ट्र संघबाट हस्तक्षेप हुने संभावना पनि रहेको छ । कश्मीरकै कारण सन् १९४७–४८ मा पहिलो भारत–पाकिस्तान युद्ध भएको थियो । त्यसपछि सन् १९४७–४८, १९६५, १९७१ र १९९९मा पनि युद्धहरु भएका थिए । त्यसैले हाल शुरु भएको भारत–पाकिस्तान युद्ध पुरानो घाउ बल्झिएकोरुपमा पनि लिन सकिने अवस्था छ । गत अप्रिल २२ को हमलाको केही घण्टाभित्रै भारतीय सुरक्षाकर्मीहरुले आक्रमणकारीहरुको नाम तथा चित्र सार्वजनिक गरेपनि हालसम्म उनीहरुलाई पक्राउ गरिएको छैन । उपरोक्त सबै घटनाक्रमहरुलाई केलाएर हेर्दा हाल शुरु भएको भारत पाकिस्तान युद्ध सुनियोजित रहेको देखिएको छ । हाल सो युद्ध जुन ढंगले अगाडि बढिरहेको छ, त्यसले तेश्रो विश्वयुद्धसमेत भड्किन सक्ने संकेत गरेको छ । त्यसैले नेपालले युद्धमा होमिएका दुबै देशलाई मध्यस्तताका लागि प्रस्ताव गर्नु आवश्यक छ । यदि उक्त युद्धमा अमेरिका वा राष्ट्रसंघको प्रवेश भयो भने त्यसले दीर्घकालीन रुप लिने र त्यो थप अप्रिय हुने निश्चित छ ।