नेपाली हामी रहुँला कहाँ नेपालै नरहे
नेपाल नरहे नेपाली रहन्नन् ? हिमालको उचाईले नेपालीको उचाई बढाएको हो ? सन्झ्याल नरहे संसार चियाउन सकिन्न ? मादल नरहे नाच्न सकिन्न ? अन्य तालबाजामा नाच्दा हुन्न ? मानव सभ्यताको मुहान हिमाल मात्रै हो ? दशैं, तिहार, चुट्का, ख्याली मात्र नेपाली साँस्कृतिक धरोहर हुन ? तराईलाई सुनको टुक्रा, हिमाललाई हिराको उपमा दिएर हाम्रो आँत भरिन्छ ? अँध्यारोबाट उज्यालो, उज्यालोबाट अँध्यारो प्राकृतिक बनोटको सन्तुलन हो । प्रकृति सञ्चालनको निरन्तर नियम हो । उज्यालो नरहने–हराइ जाने कुरा कोरा कल्पना हो । सामयिक कर्तव्य गर्नु कुनै पौरख होइन । नेपालीहरुको पौरखको गाथा गाउनु आत्मरतिमा रमाउनु हो ।
कक्षा ११ र १२ मा नेपाली भाषा विषय शिक्षणको पाठ्यक्रममा पढाइने एउटा मार्मिक कविता छ । ‘राष्ट्र’ कवि माधव घिमिरेले लेखेको यो कविताको शीर्षक हो, ‘नेपाली हामी रहँुला कहाँ नेपालै नरहे ।’ यो कवितालाई बरिष्ठ संगीतकार नातिकाजी (मेलोडि किङ)ले संगीतमा कुँदेर गीतमा ढालेका छन् । गीतको बोल–मुखडा र अन्तरा शब्द संयोजनको हिसाबले बेजोड छ । सुगम संगीतको रसायनले गीतलाई उत्तिकै कर्णप्रिय बनाएको छ । गायकी लय पनि सहज छ । एक पटक सुन्नासाथ लय समाएर सुसेल्न सकिन्छ । तर, यो रचनाको अन्तर्यमा बग्रेल्ती प्रश्नहरु छन । ती प्रश्नको उत्तर खाप्दा नेपाल र नेपालीको हित अनुकुल देखिन्न । गीतको आरोह–अवरोहमा संगठित शब्द र तीनका अर्थले नेपालको विविधतालाई कतै सम्बोधन गर्दैन । सिङ्गो यो गीती–कविता परम्परागत एक नश्लीय विचारको स्वादिलो भजन बन्न पुगेको छ ।
नेपाल बाहिर नेपाली ः
कविले रचेको (वास्तविक अर्थमा कथेको) जस्तो नेपाल रहँदा मात्र नेपाली रहने भन्ने हुन्न । भारतलगायत विश्वभर नेपालीहरु छन् । त्यहाँ नेपाल नामको कुनै भूगोल छैन, हुने कुरा पनि भएन । यद्यपी नेपालीहरु, नेपाली भाषी नेपाली (वा गोर्खा), प्रवासी नेपाली, एनआरएन नेपाली (वा डायस्पोरा) आदि नामबाट नेपाली रहेकै छन् । भारतीय संविधानको आठौ अनुसूचीमा नेपाली भाषालाई मान्यता दिलाएर नेपाली भाषाको उन्नयनमा लागेकै छन् । डायस्पोरा नाममा नेपाली साहित्य सिर्जना गरेर विश्वभर फैलाइ रहेका छन । अतः नेपाली त्यति बेलासम्म अस्तित्वमा रहनेछन् जति बेलासम्म तीनको भाषा, सभ्यता र संस्कृति जिवन्त रहनेछ ।
नेपालको विविधता ः
मोटोरुपमा नेपाली चार नश्ल (आर्य, मंगोल, अष्ट्रो र द्रवीड), र चार भाषा (भारोपेली, भोट–बर्मेली, अष्ट्रो र द्रवीड) परिवारका असंख्य जाति समुदायहरु हुन । मोटामोटी उल्लेखित नश्ल र भाषा परिवारका समुदायको विविधतापूर्ण अनेक भाषा, सभ्यता, संस्कृति नै नेपाली राष्ट्रिय पहिचान हो । यही बहु–पहिचानको राजकीय राष्ट्रिय सम्मान नै नेपाली पहिचान हो । निरन्तर स्थापित यही बहु–पहिचानको राजकीय राष्ट्रिय सम्मानले नेपाल रहने कुराको निश्चितता दिन्छ । यसमध्ये कुनै एक नश्ल, एक भाषा, एक सांस्कृतिक समुदायको एकल पहिचानले समग्रतामा प्रतिनिधित्व गर्दैन । यो गीती–कविताले यस्तै एक नश्लीय विचारको प्रक्षेपण गरेको छ । हिमाल, पहाड, तराइ, दशैं, तिहार, सन्झ्याल, मादल, सूर्योदयको प्रतिक शब्द प्रयोग गरेर बहु–पहिचानयुक्त ‘नेपालीत्व’लाई गीती–कविताले खारेज गरेको छ ।
हिमाल, पहाड, तराई यी चार किल्ला भित्रको भूगोलले मात्र नेपालीको रक्षा गर्दैन । यो भूगोलभित्र एकत्व मनोविज्ञान हुन जरुरी छ । क्षेत्रीय अखण्डता, स्वाधिनता जस्ता विषयको व्यवस्थापन बहु–पहिचानयुक्त राजकीय स्वाभिमानले गर्ने हो । नेपाली भनेको यिनै नश्ल, भाषा, सभ्यता, सांंस्कृतिक परिवारको कुल जोड हो ।
नेपालीत्वको अन्तरसम्बन्ध विविधतापूर्ण पहिचानको एकत्व हो । यसैलाई हामी ‘राष्ट्र’ भनेर चिन्छौं । एकल भाषा, सभ्यता, संस्कृतियुक्त एकल पहिचानको राजकीय सम्मान राष्ट्रिय पहिचान होइन । यसैले वीपी कोइरालाले बेलैमा भनेका थिए, ‘राष्ट्र भनेको कुनै भू–भागको ढुंगा, माटो, खोलानाला र साँध सीमा होइन, त्यहाँ बस्ने जनताको सभ्यता र मनोभाव हो ।’
विगतका गलत पाठ ः
विगत राजतन्त्रात्मक युगका संविधानले राष्ट्रको परिभाषा नै गलत गरेकोले यस्ता उच्छृङ्खल पाठ पढ्न बाध्य बनाइयो । त्यसै समयदेखि साहित्य शिक्षामा वेतुकका अनर्थपूर्ण पाठ पढाएर दिग्भ्रमित बनाइयो ।
विसं २०१९ सालको संविधानमा राष्ट्रको परिभाषा ‘जुन सुकै धर्म, वर्ण, जातको भएपनि राजमुकुट प्रति आस्थाद्वारा एकताको सूत्रमा आवद्ध समस्त नेपाली जनता समष्टीरुपमा एक राष्ट्र हो’ यस्तो पदावलीमार्फत राष्ट्रको परिभाषा गरियो । राजमुकुटमा आस्था राख्ने बाहेक नेपाली वा राष्ट्रका रुपमा रहेनन् । विसं २०४७ सालको प्रजातान्त्रिक संविधानमा केही फरक परिभाषा आयो तर त्यो पनि अमूर्त र अपुग थियो । माथिकै परिभाषामा थप नयाँ ‘नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताप्रति आस्थावान’ हुने नेपाली जनतालाई राष्ट्रको दर्जा दिइयो । यिनै संविधानले दिएको राजनैतिक निर्देशन नेपालको शैक्षिक पाठ्यक्रममा आजपर्यन्त जस्ताको तस्तै छ ।
सुधारिएको पाठ ः
तर, विसं २०६३ को अन्तरिम संविधान र २०७२ को नयाँ संविधानले लगभग एकै भाषामा राष्ट्रको परिभाषा गरेको छ । संविधानको धारा ३ ‘राष्ट्र’मा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त….. एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टीमा राष्ट्र हो ।’ यसरी पछिल्लो पटक राष्ट्रको परिभाषा नेपाली सामाजिक बनोट अनुसार वैज्ञानिक ढंगमा गरियो । तर शैक्षिक पाठ्यक्रम तदनुकुल भएन । यसर्थ संविधानले निर्देशन गरेको प्रस्थानबिन्दू विपरितको शिक्षा पद्धतिले दिने दिक्षा नकारात्मक हुनु स्वभाविकै हो । यसैले यतिखेर वर्तमानको उपलब्धिलाई नकारेर उही पुरानो बन्दबस्तीको फगत आकर्षणमा झुम्मिने नयाँ पुराना पुस्ता देखिनु अनौठो होइन । यो गीती कविता त प्रतिनिधि उदाहरण हो । खोज्दै जाने हो भने यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन ।