नारामा बाम एकता ब्यवहारमा फुट र बिभाजन
पछिल्ला दिनमा नेपालमा खासगरी राजनीतिक क्षेत्रमा बिचित्रका घटनाहरु हुनथालेका छन् । नारा एकातिर ब्यवहार अर्कातिर हुने नेपालको पार्टी राजनीतिको बिशेषता नै हुनथालेको छ । कतिपयले त जे बोल्ने हो, त्यो नगर्ने र जे गर्ने हो, त्यो नबोल्ने कुरालाई आफ्नो घोषित नीतिनै बनाएको देखिएको छ । जसलेगर्दा समाजमा बिभिन्न किसिमका भ्रमहरुको सिर्जना भएको छ र त्यसबाट पार्टीहरु नै बेलाबखत समस्यामा पर्नेगरेको देखिएको छ । हालैमात्र एकजना नेताले केही अन्य पार्टीको नामदिँदै बृहत बाम एकता हुनलागेको बताउनु भएको थियो । उहाँले आफूहरु निरन्तर बाम एकताकै प्रयासमा लागेको पनि बताउनु भएको थियो । तर यथार्थमा सो पार्टीको कुनैपनि अन्य बाम पार्टीहरुसँग पार्टी एकताका लागि कुरा नै चलेको थिएन । हालसम्म चलेको पनि छैन । सबैले के बुझ्ने गरेका छन्भने नेपालमा केही बाम पार्टीका नेताहरुले जब, जब बाम एकताको कुरा गर्दछन्, तव अब कुन पार्टी फुटाउन लागेको हो ? भन्ने जिज्ञासा राख्दछन् । नभन्दै उक्त नेताले बाम एकता गर्दैछौ भनेको तीन दिन पनि बित्न नपाउँदै पूर्बं एमालेहरुको एउटा समूहमा बिद्रोह भयो । त्यही बिद्रोहीहरु आफ्नो पार्टीमा प्रबेश गरेको कुरालाई बाम एकता भएकोभन्दै ठूलो प्रचार गरिएको थियो । कुनै स्वार्थ समूह एउटा पार्टीबाट अर्को पार्टीमा प्रबेश गर्दैमा त्यसलाई बृहत् पार्टी एकता भएको भन्नु दिउँसै रातपार्ने कुरा हो । त्यतिबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग पार्टी एकता हुनैलागेको भनेर प्रचार गरिएको थियो । तर हालसम्म त्यस्तो एकताका लागि ति पार्टीहरुसँग घनिभूत ढंगले छलफल भएका कुनै समाचारहरु बाहिर आएका छैनन् । यसलाई राजनीतिक ब्ल्याकमेल भनेमा फरक पर्दैन । यसअघि एकीकृत समाजवादीसँग पार्टी एकता हुनलागेको प्रचार गरेको एक हप्तामै सो पार्टीको चितवन जिल्ला समितिमा बिभाजन गराइएको थियो । यसअघि पनि यस्ता घटनाहरु धेरै भएका थिए । यस्तै झुठामुठा कुरा धेरै आउन थालेकाले हालैमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नै नरहेको बताउनुभएको थियो । गतसाता बिहीवार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधनगर्दै उहाँले त्यस्तो बताउनुहुँदा सबै आश्चर्यचकित भएका थिए । किनकी यतिबेला नेपाली कांग्रेस दुईटा कम्युनिष्ट पार्टीको बैशाखी टेकेर राजनीतिक अस्थित्वमा रहँदै आएको छ । नेपाली कांग्रेसका प्रायः प्रमुख नेताहरुको दिनचर्या पनि संसदवादी कम्युनिष्ट पार्टीलाई जुधाउने र बझाउनेमै बित्ने गरेको छ ।
देउवाले यसअघि कहिल्यै पनि कम्युनिष्टहरुकाबारेमा त्यसरी खुलेर बोल्नु भएको थिएन । उहाँले त्यसक्रममा कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउन पनि पछिपर्नु भएको थिएन । उहाँले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरुजस्तो नरहेको टिप्पणी पनि गर्नुभएको थियो । कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै उहाँले आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क पनि गर्नुभएको थियो । उनीहरु संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिष्टममा आइसकेको हुनाले कम्युनिष्ट भनिरहनु नपर्ने देउवाको दाबि थियो । सभापति देउवाले नेपालका अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट नरहेको र उनीहरुले नाममात्रै बदल्न बाँकी रहेको टिप्पणी पनि गर्नुभएको थियो । खासमा नेपाली कांग्रेस बृत्तबाट त्यो पनि शीर्ष तहबाट त्यस्तो मूल्यांकन हुनु नेपालका कम्युनिष्टहरुका लागि ठूलो चुनौतको बिषय हो । तर उहाँको सो भनाईको हालसम्म कसैले पनि प्रतिवादगर्ने प्रयाससम्म पनि गरिरहेका छैनन् । मौन सम्मति जनाएको जस्तो देखिएको छ । त्यसो त यसअघि नेपाली कांग्रेसबाट कम्युनिष्ट पार्टीमा प्रबेश गरेर फेरी नेपाली कांग्रेसतिरै फर्कनु भएका एकजना नेताले पनि आगामी १५ बर्षमा नेपालमा कम्युनिष्ट नामका पार्टीनै नरहने बताउनु भएको थियो । उहाँले सो बिचार प्रक्षेपण गरेको करिव दुई बर्ष ब्यतित भएको छ । पछिल्लो समयमा नेपालकै कतिपय कम्युनिष्ट नेताहरुलेसमेत कम्युनिष्ट नरहने खालका अभिब्यक्तिहरु दिनेगरेको देखिएको छ । त्यसैले यसबाट के बुझ्नुपर्ने भएको छभने नेपालमा कम्युनिष्ट पार्टी र राजनीतिलाई समाप्त गराउन केही पार्टी र शक्तिहरु औपचारिक रुपमै परिचालित भएका छन् ।
उनीहरु कसरी चलिरहेका छन्, त्यो आजको प्रमुख ब्याख्या र बिश्लेषण लगायत बिषय भएको छ । ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा नेपालका सात संसदवादी पार्टीहरुसँग १२ बुँदे सहमति गर्ने÷गराउने बहानामा जनयुद्धलाई बिसर्जन गरिएपछि नेपालका कम्युनिष्टलाई सिध्याउन अन्तराष्ट्रिय खासगरी साम्राज्यवादी शक्ति बिभिन्न किसिमले खेल्नथालेको देखिएको छ । पहिलो सकेसम्म कम्युनिष्ट पार्टीहरुमा घुसेर उनीहरुलाई छिन्न भिन्न बनाउने, दोश्रो कम्युनिष्ट पार्टीमा रहेका नेता तथा कार्यकर्तामध्ये खास बिचारवान र क्रान्तिकारीलाई पार्टी संगठनबाट किनारा लगाउने, तेश्रो पार्टीमा चाकडीबाजहरुलाई अगाडि बढाउने । त्यसैगरी चौथोमा कम्युनिष्ट राजनीतिका अन्तराष्ट्रिय मूल्य, मान्यता र आदर्शलाई समाप्त पार्ने रहेको देखिएको छ । ०४६ सालको परिवर्तनदेखि नै नेपालका संसदवादी पार्टीहरुमा झोले प्रबृत्तको सिर्जना गरेर राम्रैसँग मलजल गरेको देखिएको थियो । अझएमालेले त हालैमात्र झोले दर्शनकै प्रतिपादनसमेत गरेको छ । अन्य पार्टीमा पनि झोले प्रबृत्ति छ । तर एमालेका अध्यक्ष केपी ओलीलेभने त्यसलाई औपचारिकरुपमै मान्यता दिनुभएको छ । उहाँले गत ०७८ मा चितवनमा भएको आफ्नो पार्टीको महाधिवेशनमा खुलेरै आफ्नो पार्टी थ्यौरिटिक ( सिद्धान्तनिष्ट) कम्युनिष्ट नभएर पपुलिष्ट अर्थात नाममात्रको कम्युनिष्ट भएको सार्बजनिकरुपमै स्वीकार गर्नुभएको थियो । एमालेमा पनि खासगरी ०६३ पछि झोलेहरुलाई अगाडि बढाउने र अन्यलाई पछाडि हटाउने प्रबृत्ति बढेर गएको छ । ०४६ को परिवर्तनदेखि हालसम्मका घटनाक्रमहरुलाई हेर्ने होभने तत्कालीन नेकपा (माले) मा काम गरेका सिपि मैनाली, आरके मैनाली र मोदनाथ प्रश्रितलगायतका चर्चित नेताहरुलाईनै कसरी किनारा लगाइयोभन्ने उदाहारण रहेको छ । कुनैबेला चर्चामा रहेका बामदेव गौतमहरु हाल वल्लो घाट न पल्लो तिरको अवस्थामा पुगेको देखिन्छ । झण्डै १५ बर्ष एमालेको नेतृत्व गर्नुभएका माधव नेपालहरुको हालको अवस्था सबैलाई जानकारी भएको बिषय छ । पछिल्ला दिनमा त उहाँको समग्र राजनीतिनै धरापमा पर्ने संकेतहरु देखापरेका छन् । गंभिर प्रकृतिका भ्रष्टाचार मुद्धामा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको नाम जोडिनु आफैमा शोचनीय बिषय भएको छ । यसरी पुराना नेताहरुलाई छिन्नभिन्न बनाएर पनि एमालेमा पद हत्याउ अभियानको अन्त्य हुनसकेको छैन । पछिल्लो समयमा प्रधानमन्त्रि पदमा रहनु भएका एमालेका अध्यक्ष केपी ओली र तत्कालीन उपाध्यक्ष तथा पूर्बराष्ट्रपति बिद्यादेवी भण्डारीको पद हत्याउ बिवाद सतहमा आएको देखिएको छ । हेर्दा उक्त बिवाद उहाँहरु बीचको फाटोझै देखिएपनि नजिकबाट नियाल्ने कतिपय नेताहरुले त सो खासै बिवाद नभएर कोही, कसैलाई किनारा लगाउन मञ्चन गरिएको नाटक भएको बताउने गरेका छन् । ०६३ पछि कुनै बेलाका चर्चित कम्युनिष्ट नेताहरुले कम्युनिष्ट पार्टी र राजनीति दुबै परित्याग गरिसकेको अवस्था छ । कतिपयले कम्युनिष्ट राजनीति छाडिसके पनि पार्टीभने छाडेका छैनन् । उनीहरुको प्रयास अझै पनि समाजमा भ्रम छर्न सकिन्छ कि ? भन्नेमा केन्द्रित रहेको देखिएको छ । अझैपनि कतिपयको प्रयास जसरी हुन्छ, नेपालको कम्युनिष्ट राजनीतिलाई छिन्नभिन्न बनाउनेमै केन्द्रित रहने गरेको देखिन्छ । उनीबाट कम्युनिष्ट पार्टीहरुले प्रयोग गर्नेगरेको धर्म निरपेक्षता र समानुपातिक निर्वाचन पद्धतिको घोर दुरुपयोग भैरहेको छ । बोल्दा आफूलाई चर्को क्रान्तिकारी देखाउने र कामगर्दा चर्को दक्षिणपन्थी काम गर्ने÷गराउने प्रयासहरु भैरहेका छन् । कतिपय कम्युनिष्ट पार्टीका नेताले हालै आफ्नो पार्टीमा एमाले र नेपाली कांग्रेसको रोग सल्किएको स्वीकार गर्नुभएको थियो । सो रोग सल्काउने र आफ्नो पार्टीमा अभ्यास गराउने ब्यक्तिकाबारेमा भने कुनै टिकाटिप्पणी भैरहेको छैन ।
खासमा त्यस्तो प्रबृतिको सिर्जनागर्ने र हुर्काउन मलजल गर्नेहरुकाबारेमा लेखाजोखा हुनसक्नु पर्ने हो । कतिपय अन्य कम्युनिष्ट पार्टीका नेताहरुले पनि बिभिन्न किसिमको नाटक मञ्चन गर्नेगरेको देखिएको छ । हाल विश्वमा कम्युनिष्ट अन्तराष्ट्रिय बिघटनको अवस्थामा रहेको छ । नेपाललगायत विश्वका धेरै कम्युनिष्ट पार्टीहरु संयुक्त राष्ट्रसंघको नीति र निर्णयअनुसार चल्न थालेको देखिएको छ । ०४६ सालको परिवर्तन अघिको अवस्थामा कम्युनिष्ट पार्टीहरुले राष्ट्रसंघलाई हेर्ने भिन्न खालको दृष्टिकोण रहेको थियो । नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुले राष्ट्रसंघलाई प्रतिक्रियावादी र मुख्यत साम्राज्यवादी मुलुकहरुको बोलवाला भएको संगठनकारुपमा लिने गरेका थिए । नभन्दै उक्त संगठनको हरप्रयास शक्ति राष्ट्रका नीतिहरु कार्यान्वयन गर्ने-गराउनेमा केन्द्रित रहने गरेको छ । नेपालमा संघीयता, जातीय समाबेशी, धर्म निरपेक्षता र समानुपातिक निर्वाचन पद्धति लागूगराउनेमा राष्ट्रसंघका ०६३ सालपछि नेपाल आएका प्रतिनिधिको हात रहेको देखिएको छ । यदि साँच्चै नेपालमा बृहत् कम्युनिष्ट एकता कायम गर्ने-गराउने होभने सबै समूहहरुले आआफ्नो पार्टी कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मान्यता र प्रचलनअनुसार चले-नचलेको समीक्षा गर्नुपर्दछ । आफ्ना गतिबिधि पार्टीको विधानअनुसार चले÷नचलेको जाँच गर्नुपर्दछ । समयमै पार्टीहरुलाई दाहिने र देब्रे गल्तीबाट जोगाउँदै अगाडि नबढाउने होभने कुनैपनि बेला दुर्घटना हुनसक्छ । यो बिचारणिय कुरा हो ।