नेपाली कमुनिस्ट आन्दोलनमा पुष्पलालको अतुलनिय योगदान
पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीकाध संस्थापक महासचिव हुनुहुन्छ । बिक्रम संवत् २००६ साल बैशाख ९ ( सन १९४९ अप्रिल २२ ) का दिन उनकै नेतृत्वमा निरन्जन गोविन्द वैद्य , नरबहादुर कर्मचार्य , नारायण विलास जोसी सहित चार जना मिलेर भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । मोतीदेवी श्रेष्ठ पछि पुग्नु भएको थियो भन्ने भनाई छ । नेपालमा जहानिया शासनको व्यापक दमन भएका कारण नेपालमा अप्ठ्यारो परिस्थिति भएकोले भारत प्रवासमा बसेर उनीहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु परेको बताइन्छ । चीनमा माओ त्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुन गइरहेको , अर्को छिमेकी देश भारतमा चारुमजुमदारको नेतृत्वमा तेलङ्गा सशस्त्र किसान संघर्ष चलिरहेको र रुसमा लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएर सफल कार्यान्वयन भएको विद्यमान अवस्थामा त्यसको असर नेपालमा पनि सोझै परिरहेको अवस्थामा त्यसको प्रत्यक्ष प्रभावमा परेर पुष्पलालहरुले नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेको कुरा जानकारहरु बताउने गर्दछन् । इतिहास पनि यही नै हो ।
त्यस किसिमको जटिल र कठिन परिस्थितिमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको जग हाल्ने , हिलान्यास गर्ने काम मात्रै गर्नु भएको थिएन । वहाँले महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक समाजवादसम्म नेपाली समाजलाई पुर्याउने बाटो कोरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अतुलनीय योगदान पुर्याउनु भएको छ ।
पुष्पलाल सहिद गंगालाल श्रेष्ठका महिला भाइ हुनुहुन्छ । १९९७ सालमा जहानिया राणा सरकारले गंगालाललाई हत्या गरिएको थियो । त्यस हत्याकाण्डको पुष्पलाललाई प्रभाव परेको थियो । उनकै प्रेरणाले पुष्पलाललाई राजनीतितिर होमिन प्रेरित गरेको बताइन्छ । किनकि १९९७ सालमा दाजु गंगालालको शाहदतको पूर्वसन्ध्यामा ” मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैंले प्रज्वलित गर्नेछसं ” भन्ने उपदेशले पुष्पलालको राजनीतिक जीवनमा एक युगान्तकारी चेतनाको बीउ बनेको थियो ।
बिक्रम संवत् १९८१ साल असार १५ गते पुष्पलालको जन्म भएको थियो भने २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा भारतको राजधानी नयाँ दिल्लीमा उनको मृत्यु थियो । पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर र अथक क्रान्तिकारी योध्दा हुन् । पञ्चायती व्यवस्थाको निरंकुशता र व्यापक दमनका कारण भारत प्रवासमा बसेर पार्टी काम गर्न बाध्य हुनु परेको थियो । उनी परिवारबाट पनि टाढै भएर प्रवासमा कठिन जीवन ब्यथित गर्नु परेको अवस्था होस् वा जटिल आर्थिक कारणले दु: खद जीवन निर्वाह गर्नु परेको अवस्थामा होस् र त्योभन्दा पनि पार्टी भित्र अवसरवादीहरुका कोपभाजनमा परेर अल्पमतमा परेको बेला होस् , कुनै पनि कठिनाइहरुमा अबचलित भएर काम गरेको र कहिल्यै पनि निरन्तर रुपमा देश र जनताको मुक्तिका लागि जीवन प्रयान्त लागिरहनु पुष्पलालको प्रमुख विशेषता थियो ।
जीवनका कठिनतम अवस्थाहरुमा पनि कहिल्यै पनि निराश नभएर अबचलित रुपमा देश र जनताको मुक्तिको निम्ति समर्पित पुष्पलालको नेपालको राजनीतिमा , नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको छ ।
पुष्पलालले बिक्रम संवत् २००५ सालमा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ मा लण्डनबा घोषणा गरिएको विश्व विख्यात कम्युनिस्ट घोषणापत्र पहिलोपटक नेपाली भाषामा अनुवाद गरेर नेपालमा मार्क्सवादको व्यापक रुपमा प्रचारप्रसार गरेर ठूलो योगदान पुर्याउनु भएको थियो ।
२००६ सालमा पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु एक ऐतिहासिक र युगान्तकारी कदम थियो , जुन कदमले महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रम , कार्यनीति र रणनीति तर्जुमा गरेको थियो । पुष्पलाल स्वयंले त्यस प्रकारको आँट नगरेको भए शायद त्यो समयमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना नहुन पनि सक्थ्यो ।
अर्को महत्त्वपूर्ण योगदान पार्टी स्थापना भएको पर्सिपल्ट २००६ साल बैशाख १२ गते नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र जारी गरिएको थियो , जुन घोषणापत्रद्वारा महान् नयाँ नेपाली जनवादी क्रान्तिको कार्यक्रम घोषणा गरिएको थियो , जसमा कृषि क्रान्तिको खाका कोरिएको थियो । ” जमिन जोत्नेको , घर पोत्नेको” नारा पारित गरिएको थियो , त्यो नाराको आवश्यकता आजसम्म पनि उत्तिकै महत्त्व छ ।
त्यही समयमा पुष्पलालले नेपाली समाजको सही वर्ग विश्लेषण गर्नु भएको थियो । उहाँले नेपाल एउटा अर्ध सामन्ती र अर्ध उपनिवेशिक देश भएकोले घरेलुु शत्रुका रुपमा सामन्तवर्ग , दलाल तथा नोकरशाही पुँजीवाद रहेको र बाह्य शत्रुका रुपमा भारतीय विस्तारवाद र साम्राज्यवाद रहेको निर्क्योल गर्नु भएको थियो र यस प्रकारको अवस्था रहेको देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति भएको ठोस गरिएको थियो ।
नेपाली नयाँ जनवादी क्रान्तिको मोडल चिनिया नयाँ जनवादी क्रान्तिको मोडल रहेको ठोस गर्दै सशस्त्र क्रान्तिको बाटो ग्रामीण इलाकाहरुमा स्थानीय सत्ता निर्माण गर्ने , गाउँ देखि केन्द्रीय सत्ता कब्जा गर्न गुरिल्ला वारको कार्यनीति अबलम्बन गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने रणनीतिक योजना ठोस गर्नमा पुष्पलालको महत्त्वपूर्ण योगदान रहेको छ ।
२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । त्यस बेला पार्टी भित्र घुस्न पुगेका दरवारीय एवं राजावादीहरुले पार्टीको केन्द्रीय नेतृत्व कब्जा गर्न सफल भएकाले पुष्पलाललाई पार्टी महासचिवबाट हटाएका थिए । तर नेपाल क्रान्तिको कार्यक्रम भने पुष्पलालले पेस गरेको वर्गसंघर्ष र सशस्त्र क्रान्तिको राजनीतिक कार्यक्रम तथा नीति पारित भएको थियो । नेतृत्व भने राजावादी नजिकका र संशोधनवादी गुटले लिन सफल भएको थियोे । त्यही २००८ सालमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाटै नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवादी संशोधनवाद संस्थागत रुपमा घुस्न सफल भएको थियोे ।
२०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०१० साल माघ १३ गतेदेखि १७ गतेसम्म पाटनको ग्वावहलमा भूमिगत रुपमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा पनि राजापरस्त गुट तथा संशोधनवादीहरु कब्जा गर्न सफल भएका थिए राजापरस्त मनमोहन अधिकारीलाई महामन्त्रीमा निर्वाचित गरिएको थियो ।
२०१४ सालको जेठ महिनामा नेपाल कम्युनिस्ट पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा खुला वातावरणमा सम्पन्न भएको थियोे । दोस्रो महाधिवेशनमा पनि राजदरवार परस्त डा. केशरजंग रायमाझीलाई महामन्त्रीमा निर्वाचित गरिएको थियो । तर पुष्पलालले
प्रस्तुत गरेको नेपाली क्रान्तिको गणतन्त्रको कार्यक्रम पारित गरिएको थियो । विचार क्रान्तिकारी योध्दा पुष्पलालको थियो भने नेतृत्वमा चाहिँ राजदरबार परस्त चरम अवसरवादी संशोधनवादीहरु पुगेका थिए । यो नै नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना थियो । किनभने विचार क्रान्तिकारीको तर नेतृत्व भने संशोधनवादीहरुको ।
२०१५ सालमा सम्पन्न संसदीय निर्वाचन नेपाल कम्युनिस्ट पार्टीकोले भाग लिएको थियो । ४ वटा सिट जितेको थियो भने पुष्पलाल पराजित हुनु भएको थियो । नेपाली काँग्रेसले दुई तिहाई भन्दा बढी सिट जितेर बलियो सरकार बनाएको थियो । नेपाली काँग्रेसका नेता बिशेस्वर प्रसाद कोइराला प्रधानमन्त्री निर्वाचित हुनु भएकोमा थियो । तर २०१७ पुस १ गते राजा महेन्द्रले सैनिक ” कू ” गरी प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको जग बसाले । सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइयो । तत्कालीन प्रधानमन्त्री विशेस्वर प्रसाद कोइराला लगायत थुप्रै काँग्रेस – कम्युनिस्टका नेताहरुलाई गिरफ्तार गरिएको थियो । र जेलमा हालिएको थियो । सबै राजनीतिक दलहरू भूमिगत हुन बाध्य भए ।
त्यस विषम जटिल राजनीतिक परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टीको भारतको दरभंगामा प्लेनमको आयोजना गरियो । उक्त दरभंगा प्लेनम ३ महिनासम्म सञ्चालन गरिएको इतिहास छ । दरभंगा प्लेनमले पुष्पलालले पेस गरेको विघटित संसदको पुनःस्थापनाको प्रस्ताव पारित भएको थियो । यसरी जहाँ पनि पुष्पलालका सही थिए भन्ने पुष्टि भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीले तेस्रो राष्ट्रिय महाधिवेशन २०१९ साल बैशाख ४ गतेदेखि १५ गतेसम्म भारतको वाणरसीमा सम्पन्न भएको थियो । तेस्रो राष्ट्रिय महाधिवेशनले तत्कालीन महामन्त्री डा. केशरजंग रायमाझीलाई ” गध्दार ” घोषणा गरेर पार्टीबाट निकाला गरिएको थियो । त्यस महाधिवेशनले पार्टी स्थापनादेखि अगाडि सार्दै आएको नेपाली क्रान्तिको नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई परित्याग गरि राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम तदानुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको डिलमा पुर्याइएको थियो । संसदीय पुँजीवादी कार्यक्रम पारित गरेको थियो भने महासचिवमा तुलसी लाल अमात्यलाई निर्वाचित गरिएको थियोे ।
त्यसपछि पार्टीले गलत कार्यदिशा अंगीकार गरिएकोले सही नेतृत्व प्रदान गर्न नसकेपछि २०२१/ २०२२ सालबाट नेपाल कम्युनिस्ट फुटविभाजनको शिकार बन्न पुग्यो र दशौं टुक्रामा छरपस्ट हुन पुगेर दिशाविहिन भएको थियोे । देशव्यापी रुपमा निराशा र अन्योल छाएको थियो ।
पुष्पलाल जुनसुकै परिस्थितिमा पनि , पार्टी भित्र अल्पमतमा परेको बेलामा पनि आफ्नो क्रान्तिकारी अडानलाई कहिल्यै पनि तलमाथि नदिएकैे कारण वहाँका समकालीन नेताहरुले संधै एक्ल्याउने र होच्याउने गरेको बेलामा पनि पुष्पलाल कहिल्यै पनि विचलित हुनु भएन , यो पुष्पलालको सबैभन्दा सर्वोत्कृष्ट विशेषता थियो , जसले आज पनि पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर बन्न सफल हुनु भएको छ , अमर हुनु भएको छ ।
त्यही परिस्थितिमा पुष्पलालले अलग्गै नेपाल कम्युनिस्ट पार्टी ( पुष्पलाल समुह ) गठन गरेर विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने विचार अगाडि सार्नु भएको थियो । र त्यस उद्श्ये पूरा गर्ने योजनाका साथ २०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गर्नु भएको थियो । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास त पुष्पलाल असफल हुनु भयो । तर पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यक्रम ” नौलो जनवादी कार्यक्रम ” पारित गराउन सफल हुनु भयो । नेपाली कम्युनिस्ट आन्दोलनको ठूलो उपलब्धि थियो ।
यस अतिरिक्त पुष्पलालले निरंकुश राजतन्त्रको निर्दलीय , तानाशाही पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली काँग्रेससंग सहकार्य गरेर अगाडि बढ्ने ” संयुक्त जनआन्दोलन ” को विचार अगाडि सार्नु भयो । त्यस विषयमा अन्य कम्युनिस्ट समुह र व्यक्तिहरुले नेपाली काँग्रेससंग सहकार्य गर्ने नीतिलाई स्वीकार गरेनन् । उल्टै पुष्पलाललाई ” गध्दार पुष्पलाल ” सम्मको बिल्ला लगाइयो भने नेपाली काँग्रेस पनि कम्युनिस्टहरूसित सहकार्य गरेर जाने विषयमा तयार भएन। त्यही अबधिमा अर्थात् २०३५ साल साउन ७ गते पुष्पलालको देहावसान भयो ।
यसरी पुष्पलालले अगाडि सारेको संयुक्त जनआन्दोलनको विचार २०४६ सालको संयुक्त जनआन्दोलनमा पुगेर साकार बन्न पुग्यो । साथै पुष्पलालले अगाडि सारेको संयुक्त जनआन्दोलनको विचार र योजना २०६२/ २०६३ सालको संयुक्त जनआन्दोलनमा पुगेर कार्यान्वयन हुन पुग्यो । पुष्पलालको विचारहरु देश र जनताका लागि र महान् क्रान्ति पुरा नहुन्जेलसम्म सार्वभौम र अनिवार्य आवश्यक छन् । किनभने राजनीतिक शक्ति सन्तुलनका आधारमा वर्गीय समाजमा विभिन्न राजनीतिक पार्टीहरुका बीचमा सहकार्य र संयुक्त जनआन्दोलनको आवश्यकता परिरहन्छ । किनभने २००७ को राजनीतिक परिवर्तन , २०४६/ ०४७ को राजनीतिक परिवर्तन , २०६२/ ०६३ को राजनीतिक परिवर्तन सबै काँग्रेस – कम्युनिस्टहरूको सहकार्य र संयुक्त जनआन्दोलनको माध्यमबाट सम्भव भएको थियो । फेरि पनि यस्तै प्रकारको आवश्यकता नआउला भन्न सकिदैन । किनभने राजनीतिक परिघटना र परिवर्तनहरु गतिशील हुन्छन् ।
यस अतिरिक्त पुष्पलाल नेपाली मार्क्सवादी दार्शनिक भएका नाताले वहाँले नेपालमा मार्क्सवादी दर्शनको व्यापक प्रचारप्रसार गरेर नेपाली जनतालाई जागरुक र चेतनशील बनाउन ठूलो योगदान पुर्याउनु भएको छ । साथै पुष्पलाल द्वन्द्वात्मक भौतिकवादी दार्शनिक भएको नाताले वहाँले नेपाली समाजको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा नेपाली समाजको वर्ग विश्लेषण र महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यक्रम , कार्यदिशा र रणनीति ठोस गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।
पुष्पलालले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त जनआन्दोलनलाई कार्यान्वयन गर्ने सपना देख्नु भएको थियो , वहाँको जीवनमा नेपाली समाजको परिवर्तनका ती सुन्दर सपनाहरु अधुरै रहे । संयुक्त जनआन्दोलनका सपनाहरु भने आवश्यकता अनुसार कार्यान्वयन हुदै आएका छन् । तर नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर विशाल र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरेर महान् नेपाली क्रान्ति सम्पन्न सपनाहरु अहिलेसम्म पनि अधुरै छन् ।,किनभने आज नेपाली कम्युनिस्ट आन्दोलन करीब १५/१६ टुक्रामा विभाजित छ ।
आज विभाजित नेपाली कम्युनिस्ट आन्दोलन भित्रका नेताहरुले आफूलाई त्यागी र नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेको बताउन र नयाँ जनवाद , समाजवाद , वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादी समाज निर्माण गर्ने सवालमा अत्यन्तै गुलिया यथार्थवादी गफ दिन ज्यादै खप्पिस देखिन्छ । तर उनीहरूको व्यवहार र जीवन शैली भने विकृत पुँजीवादी ढर्रामा परिणत भैसकेको छ । पजेरो – प्राडो र महल संस्कृतिले सिमा नाघिसकेको छ , तर उनीहरू नै आज पुष्पलालका सच्चा अनुयायी र चेला भएर देखिदै छन् । यही हो वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना । किनभने महान् झापा सशस्त्र विद्रोहको जगमा उभिएर आएका हुन् वा महान् दस वर्षे जनयुद्धको विरासतमा उभिएर आएका हुन् या चौथो महाधिवेशन को आराबाट आएका हुन् अथवा पुष्पलालसंगको नाता र साथ संगत गरेर आएका नेपाली कम्युनिस्टहरू हुन् , सबैको चरित्र , जीवन शैली र व्यवहार उस्तै उस्तै छ ।
पुष्पलाल उच्च विचार र साधारण जीवन शैलीको धनी हुनुहुन्थ्यो । वहाँ कहिल्यै पनि व्यक्तिगत स्वार्थ र पारिवारिक सुखसुविधामा टाढै रहेर नमूना परस्तुत गर्नु भएको थियो । भारत प्रवासमा बसेर पार्टी चलाउने काममा वहाँ अनेक प्रकारका आर्थिक कठिनाईहरुको सामना गर्नु भएको थियो । त्यस प्रकारका कठिन परिस्थितिमा पुष्पलाल रत्तिभर विचलित नभएर सतिसाल झै स्पात भएर देश र जनताको मुक्तिका लागि अडिग रहनु भएको थियो । तर आज वहाँ अनुयायीहरु वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न धाराहरुका कम्युनिस्ट भनिएका नेताहरु संसदवाद र संसदीय व्यवस्थामा चुर्लुम्बै डुवेका छन् र अरबपति , खरबपति बनेर आलिशान महलहरुमा बसेर आनन्द मनाइरहेका छन् । नातागोता , इष्टमित्र र परिवारवादमा फसेर व्यक्तिवादी मात्रै छैनन् , घुस ,भ्रष्टाचारका सैयौं घटनाहरुमा जोडिएर भ्रष्ट , मानव तस्कर सम्मका विल्ला भिरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दूर्गन्धित बनाउँदासम्म पनि लाजै नमानेर आफूलाई कम्युनिस्ट भनाउन र पुष्पलालका अनुयायी , पुष्पलालका चेला हौं , पुष्पलाल स्कुलबाट प्रशिक्षित भएर आएका हौं भन्न लाज मानिरहेका छैनन् । यसका साथै पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन भित्र गुट उपगुट सिर्जना गर्ने प्रवृत्ति र आचरणको घोर विरोधी हुनुहुन्थ्यो । तर आज पुष्पलालका शालिकहरुमा फूलमाला चढाउन जानेहरु गुट- उपगुटमा नलागेकाहरु , जीवन शैली भ्रष्ट पुँजीवादीकरण नभएका एक जना पनि भेटाउन मुस्किल छ । किनकि नेपालका कम्युनिस्ट नेताहरुले वर्गीय धरातल त्यागी सकेका छन् । क्रान्तिकारी धरातल भूलि सकेका छन् । वर्ग उत्थानको परिणाम यही नै हो । नेपाली क्रान्तिका आधारभूत सिध्दान्तहरु भुलि सकेका छन् । यही नै हो आजको विद्यमान नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना । पुष्पलालले देखाएको सही बाटोमा हिडेमा मात्र पुष्पलाल प्रति सच्चा श्रध्दान्जली हुनेछ । धन्यवाद ।
लेखक : वरिष्ठ मार्क्सबादी दार्शनिक तथा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्।