वर्तमान अवस्थामा वाम एकताका आधारहरु
नेपालमा वाम एकता सधैँका लागि आकर्षक नारा हुनेगरेको छ । तर वाम पार्टीहरुकाबीचमा दिगो र दरिलो एकता पनि हुनसकिरहेको छैन र हुने संभावना पनि छैन । हाल देशभरमा २० वटाभन्दा बढी कम्युनिष्ट पार्टीहरु रहेको अनुमान छ । कतिपय सञ्चार माद्यमहरुले त सूचीसमेत प्रकाशित गरेका छन् । संसदमा कूल १४ वटा पार्टी रहेकोमा कम्युनिष्ट पार्टी–समूहहरुको संख्यामात्र सात रहेको छ । सरकारको नेतृत्व र प्रमुख प्रतिपक्ष दुबैमा कम्युनिष्ट पार्टी रहेको अवस्था छ । तर पनि देशमा कम्युनिष्ट पार्टीको विश्वव्यापी मुल्य, मान्यता र आदर्शअनुसारका कामहरु हुनसकिरहेका छैनन् । कतिपय संसदवादी कम्युनिष्ट पार्टीले त मालेमावादको नामसमेत लिन छाडिसकेका छन् । कतिपयले मालेमावादको नाम लिए पनि त्यसको विपरीतका गतिविधि गर्नेगरेका छन् । संसदको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको गत १६–१९ मा भएको स्थायी समितिको बैठकले बढो विचित्र ढंगले केही कम्युनिष्ट पार्टीहरुकाबीचमा पार्टी एकता हुनैलागेको भन्ने अर्थमा ब्याख्या र विश्लेषण गरेको थियो । उक्त बैठकपछि जारी बक्तब्यमासमेत ति कुराहरु उल्लेख गरिएका थिए । तर नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गरेको थियोभने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले तत्काल माओवादी केन्द्रसँग पार्टी एकता नभएर कार्यगत एकतामात्र गर्ने आफ्नो अडान स्पष्ट गरेको थियो । खासमा नेपालका कम्युनिष्ट पार्टीहरुका बीचमा विभिन्न विभिन्नताहरु रहेका छन् । जसको छिनोफानो नगरी पार्टी एकता पनि हुन सक्दैन र एकता गर्नु पनि हुँदैन । कम्युनिष्ट पार्टीहरुलाई नामकै आधारमा एकैदेख्नु दृष्टिदोष र भ्रम सिर्जना गर्ने कुरामात्र हुन्छ । जस्तो संसदीय व्यवस्थालाई स्वीकार गरेर निर्वाचनमार्फत संसदमा पुगेका सातवटा कम्युनिष्ट समूहकैबीचमा मेल देखिएको छैन । उनीहरुमध्ये कतिपयले त बाम पार्टीलाईभन्दा नेपाली कांग्रेस, रास्वपा र राप्रपालाई मित्र शक्ति मान्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरुले संसद बाहिर रहेका कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकताको कुरा गर्नु आफैमा हास्यास्पद हुन्छ । संसदवादी र गैह्रसंसदवादी कम्युनिष्ट पार्टीहरु नदीका दुई किनारा भनेजस्ता हुन् । त्यसैले दुबै खेमाका कम्युनिष्ट पार्टीहरुले आपसमा पार्टी एकता हुन्छभनेर भ्रम छर्नुको कुनै औचित्य रहँदैन । उक्त दुईथरी पार्टीहरु अलग हुन् । उनीहरुकाबीचमा जहिले पनि भेदगर्नु उचित हुन्छ । संसदवाद मालेमावादको बिरोधी कुरा हो ।

क्रान्तिकारी खेमामा रहेका कम्युनिष्ट पार्टीहरु संसदवादलाई मानेर समयक्रममा दक्षिणपन्थी भाषमा फस्न सक्छन् । तर दक्षिणपन्थी भाषमा फसिसकेका नाममात्रका कम्युनिष्ट पार्टीहरु फेरी मालेमावादलाई मानेर कहिल्यै पनि क्रान्तिकारी धारमा फर्कन सक्दैनन् । हालसम्म विश्व राजनीतिक रंगमञ्चमा त्यस्तो दृष्टान्त देखिएको छैन । त्यसैगरी नेपालका सन्दर्भमा बिवादास्पद अमेरिकी योजना एमसीसीलाई मान्ने र नमान्ने कम्युनिष्ट पार्टीहरुकाबीचमा पनि आकाश जमिनको फरक रहेको छ । एमसीसी अमेरिकाको सैन्य रणनीतिमा आधारित परियोजना हो । जसलाई आइपिएसको एउटा अंग मान्ने गरिन्छ । एमसीसीको पक्षमा रहेका नेपालका कम्युनिष्ट पार्टीहरु कुनै न कुनैरुपमा अमेरिकाको संस्थापन पक्ष र सैन्य संगठन नेटोसँग जोडिएका हुन्छन् । उनीहरुको मूलध्ये भनेकै नेपालमा अमेरिकी गतिविधि बढाउनु र यहाँका कम्युनिष्ट पार्टीहरुलाई छिन्नभिन्न बनाउनु हो । तर अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले खुलेर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेका हुन्छन् । यस्तो अवस्थामा उक्त दुई खेमालाई कुनै कार्यक्रममार्फत एकै ठाउँमा मिसाउन खोजियोभने त्यसले जनतामा भ्रमको सिर्जना गर्दछ । त्यसैगरी एमसीसी पक्षधर कम्युनिष्ट पार्टीहरुलाई अमेरिकालाई समेत नेपालका सबै कम्युनिष्ट पार्टीलाई हामी घुमाउन सक्छौं भनेर भ्रम दिन सहज हुन्छ । एमालेले आपूmलाई बैचारिक नभएर पपुलिष्ट अर्थात नाममात्रको कम्युनिष्ट बताउँदै आएको छ । जसले पार्टीको औपचारिक बैठकबाटै माओ बिचारधारालाई परित्याग गरेको निर्णय र घोषणा गरेर जनताको बहुदलीय जनवाद अर्थात संसदीय राजनीतिलाई औपचारिक र पूर्णरुपमा स्वीकार गरिसकेको छ । जस्तो एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले समेत माओवाद वा माओ बिचारधारा मान्ने कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता त के सहकार्यसमेत नगर्ने बताउँदै आएको छ । तर कतिपय कम्युनिष्ट पार्टीले संसदीय सुखसुविधा पनि लिने र चर्को क्रान्तिकारी नारा पनि दिने गर्दै आएका छन् । कतिपयले त नेपालमा नेपाली कांग्रेस र अन्तराष्ट्रिय रुपमा भारत र अमेरिकालाई मित्र शक्ति मानेको देखिएको छ । कतिपयले गत ०७९ मंसिर चारको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी भनेका उस्तै पार्टी हुनभन्दै नेकांको पक्षमा मतसमेत मागेका थिए । उनीहरुले नेपाली कांग्रसको झण्डामुनी रहेर भाषण गरेका चित्रहरु आज पनि विभिन्न विद्युतीय सञ्चारमाध्यममा सुरक्षित रहेका छन् । यस्तो अवस्थामा उनीहरुले क्रान्तिकारी खेमाका अन्य कम्युनिष्ट पार्टीहरुसँग कार्यगत एकतासमेत गर्न सक्दैनन्भने कसरी सहकार्य र पार्टी एकता हुनसक्छ ? त्यसैले कम्युनिष्ट एकताको कुरा गर्दा एमसीसी मान्ने र नमान्नेहरुका बीचमा पनि भेद गरिएको हुनुपर्छ । खासमा नेपालमा वाम एकता आजको मुख्य आवश्यकता हो । तर त्यस्तो एकता हचुवाका भरमा र प्रचारात्मक ढंगले नभई यथार्थ र बिचारमा आधारित हुनुपर्दछ । त्यसैले बाम एकताको आधारकाबारेमा बृहत छलफल हुनु आजको आवश्यकतानै भएको छ । नेपालका सबै कम्युनिष्ट पार्टीहरुका बीचमा एकता सम्भव छ ? भन्ने गंभिर प्रश्न उठेको छ ।
राजनीतिक विश्लेषकहरु नेपालमा कम्युनिष्ट पार्टीको एकता तत्काल सम्भव नभएको बताउँछन् । कतिपय पार्टीको अवस्था हेर्दा भविष्यमा कम्युनिष्ट सिद्धान्त र बिचारधाराकै मूल्य, मान्यतालाई तहसनहस गर्ने अवस्था आउनसक्ने देखिएको छ । एमाले र माओवादी केन्द्रले ०७५ को जेठमा एकाएक पार्टी एकताको घोषणा गरेका थिए । तर, त्यसले कुनै सकारात्मक परिणति दिन सकेन । बरु काफि हदसम्म तिक्तता बढाउने काम गरेको थियो । हुँदाहुँदा कतिपयले माइतिघरको सडकमा बसेर एकले अर्कोलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको घोषणासमेत गरे । ०७७ फागुन २२ गतेको अदालतको एक फैसलालाई बहाना बनाएर उनीहरु आ–आफ्नो बाटो लाग्न बाध्य भएका थिए । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दाको सहमतिपत्रमा ‘फरक–फरक पृष्ठभूमिका साथ अघिबढेका हामीहरु राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षागर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणगर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाजको निर्माण गर्दै समाजवादका आधारहरु तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं । नेपाली जनताले एकतावद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक अघिबढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमि र जनताको चाहना एवं आवश्यकताले पनि हामीलाई एकतावद्ध हुन र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हामी हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न सहमत भएका छांै’ भनेका थिए । तर उपरोक्त कुनै कुराको पनि पालना र कार्यान्वयन भएन । नेपालमा कम्युनिष्ट पार्टीकाबीचमा एकताको कुरा गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सन्दर्भमा भए–गरेका घटनाहरुलाई सधै याद गर्नुपर्दछ । नेपालमा कम्युनिष्टको खोल ओडेका कम्युनिष्ट विरोधीहरु पनि छन्भन्ने कुरालाई सधैँ ख्याल गर्नुपर्दछ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने नाममा त्यतिबेला जनताको बहुदलीय जनवाद र माओवाद दुबै छाडेका थिए । बरु केही समय सिजिन पिङ बिचारधाराको अध्ययन भएको थियो । तर त्यसले पनि निरन्तरता पाउन सकेन । त्यतिबेला दुई पार्टीले निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवादमात्र रहने भनेका थिए । त्यसैगरी एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र माओवादी केन्द्रका पनि शान्ति सम्झौता र त्यपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता हासिल गर्नेलगायतका मान्यतामा समान धारणा रहेको भनिएको थियो । तर व्यहारमा ति कुनैपनि संझौता र सहमतिको कुनै गुञ्जायस रहेन ।
हाल नेपालका विभिन्न बाम समूहका विभिन्न धारहरु रहेका छन् । जस्तो एमालेको आफ्नै धार रहेको छ । त्यसबाट फुटेर बनेका एकीकृत समाजवादी, आम जनता पार्टी र मातृभूमि जागरण अभियानका आ–आफ्नै ताल र सुर रहेका छन् । नेकपा एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीमा समाहित हुनासाथ फेरी फुटका नगराहरु बज्नथालेका छन् । त्यसैगरी माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी) , विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, लोकनारायण सुवेदी नेतृत्वको नेकपा, चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्त, मोहनबिक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नारायणमान बिजुक्छें नेतृत्वको नेमकिपा लगायतका बीचमा समानता र पृथकताहरु पनि राम्ररी केलाउन सक्नुपर्ने अवस्था रहेको छ । संसदीय राजनीतिमा रहेका सातवटा कम्युनिष्ट पार्टीका पनि अवस्थाहरु फरक रहेका छन् । त्यसैले कोही कसैले पनि कम्युनिष्ट एकताको आकर्षक नारा दिएर जनतामा भ्रम सिर्जना गर्ने–गराउने प्रयासगर्नु राम्रो होइन ।