आगामी भविष्य समाजवादीहरूकै हो
नेपालमा अहिले एकदमै उकुसमुकुसको अवस्था छ । संकट किन पैदा भयो ? आज त कस्तो भएको छ भने संकटको जवाफ दिन विभिन्न वर्गहरू मैदानमा उत्रिएका छन् । यो त्यतिकै निस्किरहेको होइन, संकटको समाधान हो यो भनेर विभिन्न खालका प्रवृत्तिहरू सडकमा निस्किएका छन् । ती प्रवृत्तिहरूले जवाफ दिन थालेका छन् र त्यसमा ‘२०४७ सालको संविधान चाहियो’ भन्ने एउटा प्रवृत्ति पनि देखापरेको छ । ‘होइन, त्योबाट हुँदैन, अहिलेको संविधानलाई टालटुल पारेर दुईवटा पार्टी मात्रै बनाउनुप¥यो’ भन्ने खालका प्रतिनिधिहरू पनि देखापरेका छन् । ‘धेरै पार्टी भएर यो समस्या आयो, पराजयको कारण धेरै पार्टी भएर हो । त्यसैले दुईवटा पार्टी मात्रै हुनुपर्छ’ भन्ने पनि छ । त्यसका प्रतिनिधिहरू पनि जवाफ दिन कोसिस गरिरहेका छन् ।
अर्को एकाएक एउटा यस्तो प्रवृत्ति देखापरेको छ, ‘कांग्रेस पनि होइन, कम्युनिस्ट पनि होइन, नयाँ । नयाँमा जानुपर्छ, नयाँमा जानुपर्छ । पुरानो नेता होइन, पुरानो पार्टी होइन, नयाँ पार्टी, नयाँ नेताहरू ।’ यसरी पनि आइरहेका छन् र तिनका प्रतिनिधिहरू पनि हामीले सडकमा देखेका छौँ । कम्युनिस्ट पार्टीहरूले आ–आफ्नो तरिकाले पनि जवाफ दिन कोसिस गरेका छन् र त्यहीमध्ये हामी यहाँ उपस्थित भएकाले पनि एउटा जवाफको मेसो निकाल्न खोजेका छौँ । यो कति पारि पुग्छ, कति पुग्दैन, कति हुन्छ, त्यो छुट्टै कुरा । हामीले लुकाउनुपर्ने कुरा केही पनि छैन । हामी जवाफ दिन चाहन्छौँ । हामीले आफैँ जवाफ दिँदै आएका छौँ ।
२०४७ सालको संविधान, जो हाम्रो आँसु, रगत र पसिनाले ध्वस्त पारेको छ, के त्यो संविधान फेरि समाधान हुन सक्छ ? या नेपालमा अहिले दुईवटा पार्टी बनाएर, ठुला दलहरूले गठबन्धन गरी बहुमतका नाममा नेपाली जनताको टाउकोमा जबर्जस्ती लादेर निकास निस्कन्छ ? या अमूर्त, विचारविहीन, मार्गविहीन, दृष्टिकोणविहीन तरिकाले ‘नयाँ–नयाँ’ भन्नेहरूको हावाको झोकाको भरमा दौडेर मात्रै समाधान हुन सक्छ ? या हामीले कसरी सोच्नुपर्छ ? हामीले कसरी जनतालाई भन्नुपर्छ ? नेपाली जनता को हुन् ? यिनले इतिहासमा के गर्दै आएका छन् ? अहिलेसम्मको परिवर्तनमा नेपालका श्रमिक जनता, तपाईँ हाम्रो भूमिका के हो ? त्यसको हिसाब हुनुपर्छ कि पर्दैन ? त्यसको जवाफ हामीले कति पायौँ र हामीले कति पाएनौँ ? आजको संकटको कारण भनेको अमूक नेता मात्रै हो या हाम्रा दृष्टिकोण, विचार, परिवर्तित सन्दर्भमा चलिरहेका प्रणालीहरू के हुन् ? त्यसको कुरा छ नि त ।
त्यसकारण के तपाईँ हामी चुपचाप कसैलाई स्वीकार गरेर जान सक्छौँ ? हामी जवाफ दिन त्यति जिम्मेवार छौँ कि छैनौँ ? अवश्य हामी हुनुपर्छ । के ‘नयाँ–नयाँ’ भनेर मात्रै जवाफ आउनेवाला छ ? एकछिन हावाको महल खडा गरेर नेपाललाई ध्वस्त गर्ने बाटो कतै आउन त छैन फेरि ? जसले यो परिवर्तनसम्म यत्रो बलिदान गरेर आएको मानिस रनभुल्ल भएर के हामी गलत मार्गमा भड्किन सक्छौँ ? के हो ? सहिदको मूल्य के हो ? बेपत्ताहरूको मूल्य के हो ? जेल परेका हामी नेता कार्यकर्ताको जीवन के हो ? सायद यो हलमा आएका तपाईँहरू सबैले निकै दुःख भोग गर्नुभएको छ । यो रुपन्देहीमा तपाईँहरू नै यो लड्ने मञ्च खडा भयो । मलाई लाग्छ, आज यहाँ बढी रुपन्देहीकै हुनुहुन्छ । अन्यत्र नजिकका छिमेकीका साथी पनि होलान् ।
तर हामीले गरेको योगदानको मूल्यांकन हामी आफैँ गर्नुपर्छ कि पर्दैन ? हामीले बुझेर खडा गरेको आन्दोलनको मूल्य के हो ? के कसैले सडकमा दिएको जवाफले हाम्रो रगत, आँसु, पसिनाको मूल्य पाउन सक्छ ? जसको योगदान छैन, जसले नेपाली जनतालाई बुझेको छैन, जसले केही लगानी गरेको छैन, केही मानिस र पार्टीहरूको असफलताबाट फाइदा उठाएर हामी के आफ्नै आन्दोलनविरुद्धमा जान सक्छौँ ? के हामीले अचेततापूर्वक वा भूलवश गरेको आन्दोलन हो त्यो ? नेपालका समाजवादीहरूले विगतमा गरेका आन्दोलन के हुन् ? ती लहडबाजीमा गरेका आन्दोलन हुन् ? यो हामीले भन्नुपर्छ ।
नेपाल दिग्भ्रमित भयो या दिग्भ्रमित हुँदै छ । त्यसको गाँठो कहाँ कहाँ छ, त्यो हामीले जनतालाई भन्नुपर्छ । हाम्रो कारणले कति गाँठो प¥यो । हाम्रो कारणले के–के ठुला–ठुला समस्याहरू आए ? तर नेपालका नेताहरूको कारणले के भयो ? नेपालको वामपन्थीहरूको कारणले के भयो ? कम्युनिस्ट नेता र पार्टीहरूको कारणले के भयो ? त्यो हामीले लेखाजोखा र निर्णय गर्नुपर्छ । तर त्यसको जवाफ २०४७ सालबाट सम्भव छैन, नेपालको आन्दोलनको छेउमेसो नपाएका मानिसहरूबाट सम्भव छैन । त्यसको जवाफ जसले सचेत बलिदान गरेको हो, जसले सचेत एउटा आदर्श, एउटा आकांक्षा, एउटा आस्था, मूल्य, विचार, दृष्टिकोणमा गरेको हो, उसले खोज्नुपर्छ । जवाफ पनि पालोपालो आउँछ । हामी सकेनौँ, भोलि अरू कसैले पनि सकेन भने अरूको पनि आउँछ, आउनैपर्छ । नेपाली समाजको रुपान्तरण, राज्यको पुनर्गठन, पुनर्संरचना, परिवर्तन ती कुराहरू हुन्, त्यसको जवाफ हामी लडेका मानिसले दिन पाउनुपर्छ ।
नेपाली जनतालाई हामी दिन चाहन्छौँ, हामीले चाहेको कस्तो हो भन्ने हामीले दिन बाँकी छ । हामीले किन रगत बगायौँ र हामीले कस्तो समाज बनाउन चाहेका थियौँ, हामी बनाउन चाहन्छौँ । हामी कसरी लड्यौँ ? कसरी बलिदान गर्यौँ ? कसरी दुःखकष्ट उठायौँ ? गणतन्त्रसम्म कुन मूल्यले आयो ? र यसपछि अगाडिको भविष्य के हो भन्ने कुरा हामीले दिनुपर्छ । नेपालको राजनीतिक बहस भनेको व्यक्ति विशेषको कुरा होइन । म काठमाडौँमा कस्तो देख्छु भन्दा, काठमाडौँमा कुनै पार्टीले ठिक गर्न सक्दैन । सरकारमा बसेको होस् कि सडकमा, ठुलो होस् वा सानो, सबै पार्टीमा लडाइँ छ । कम्तीमा पनि दुई–दुई जना मानिस भएर मुखामुखी नगरेका पार्टी नै छैनन् अहिले । नेपालको समाज नै अहिले ठुलो बहसमा छ । त्यसको प्रतिविम्ब त पार्टीमा हुने हो नि । त्यो बहस छ ।
त्यसैले हामीले यो अन्तक्रियाबाट केही कुरा भन्न खोजेका छौँ । एक–दुईवटा कुरा ठोस ढंगले भन्न खोजेका छौँ । त्योचाहिँ नम्बर एक, नेपालको राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित छ, यो रणभुल्लजस्तो भएको छ । एउटा दिशानिर्देश चाहिएको छ अथवा दिग्दर्शन । दिग्भ्रमबाट दिग्दर्शन हामीलाई चाहिएको छ । त्यो कति शक्तिशाली होला, कस्तो होला, त्यो छुट्टै कुरा हो । तर आजको दिनमा नेपाली जनतालाई, नेपालका नेता कार्यकर्तालाई एउटा दिग्दर्शन चाहिएको छ । कुन बाटो हो, जसले नेपाली जनताले विश्वास गरून् ? कुन बाटो हो, जसले हामीलाई उज्यालोतिर डो¥याओस् ? कुन बाटो हो, जसले हामीलाई एकताबद्ध गरोस् ? कुन बाटो हो, जसले नेपाली श्रमिक जनताको चाहना र आकांक्षाको प्रतिनिधित्व गरोस् ? र त्यसले आमूल र अग्रगामी रुपान्तरण पनि गरोस् । के हुन सक्छ ?
राजनीतिक आन्दोलनमा ठुलो दिग्भ्रम छ अहिले । समस्या र संकट छ । कम्युनिस्ट पार्टीहरूमा दिग्भ्रम छ र संकट छ । हरेक संगठनभित्र बहसहरू छन्, यसको जवाफ हामीले खोज्नैपर्छ । संकट किन पैदा हुन्छ ? नेपालको संकट के हो ? हामीले भनेका छौँ । जब एउटा वर्गले नेतृत्व कायम गर्न सक्दैन, त्यसपछि संकट पैदा हुन्छ । कि त जनताको प्रतिनिधिले नेतृत्व कायम गरेको हुनुपर्छ, कि त चलनचल्तीका प्रतिक्रियावादीहरूले प्रभुत्व कायम गरेको हुनुपर्छ । कि त पूँजीपतिहरूले नेतृत्व कायम गरेको हुनुपर्छ, कि त कम्युनिस्टहरूले, समाजवादीहरूले नेतृत्व कायम गरेको हुनुपर्छ । जनतालाई बाटो देखाउने काम कसले गर्ने ? त्यो स्पष्ट हुनुपर्छ ।
यहाँ एकातिरबाट गणतन्त्र आयो, कम्युनिस्टहरू प्रधानमन्त्री छन्, सरकारमा छन् । तर नेपालको अर्थतन्त्र जकडिएका दलालहरूको कब्जामा छ । तिनै मानिस राजतन्त्रमा पनि थिए, तिनै मानिस बहुदलकालमा पनि थिए । हामी जनयुद्धअगाडि पनि थियौँ, एमालेकालमा पनि थियौँ, एमालेले बहुदलीय जनवाद भन्दै गथ्र्यो । तिनै मानिसले आज पनि गणतन्त्रपछि पनि नेपालको सम्पूर्ण अर्थतन्त्र नियन्त्रण गरेका छन् । पछिल्लो कालमा जम्मा दशदेखि बीस परिवारको हातमा आधा नेपालको सम्पत्ति गइरहेको छ । समस्या त यो हो नि । लड्नेबेला सुकुमबासी लड्यो, लड्ने बेला जनजाति, दलित, महिला, हामी सबै लड्यौँ । क्षेत्री बाहुन सबै, बुद्धिजीवी सबै लडेको हो । तर आज नेपालको अर्थतन्त्र जनताको हातमा फर्किएन नि । अर्थतन्त्र त झन् पछि झन् मुठ्ठीभर मानिसको कब्जामा गयो ।
आज बिहान पनि हामी न्युज पढ्दै थियौँ, एकातिर काठमाडौँका बैंकपतिहरूले बोनस बाँडेर खाइरहेका छन् । थोरै होइन, अर्बौँ फाइदा भयो रे उनीहरूलाई । त्यसपछि आफ्ना कर्मचारी, आफ्ना लगानीकर्तालाई बोनस बाँडिरहेका छन् । अर्कोतिर नेपाली जनतालाई हेर्नुस् त, तल गाउँमा हालत के छ ? सामान्य फोनमा रिचार्ज गर्ने स्थिति पनि छैन । यहीँ भाडा लिएर आउने मानिस पनि हामीसँग कमै–कमै होलान् । कैयौँ हाम्रा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरू गाउँबाट भाडा नभएको कारण यहाँसम्म आउने स्थिति पनि छैन । यथार्थ अवस्था हो यो । अर्थतन्त्र कहिल्यै रूपान्तरण हुन सकेन ।
कानुनको अवस्था हेर्नुस् त ! आज पनि पुरानै २०२८, २०१०, २०३५ सालका कानुनहरू बोकेर हिँड्नुपरेको छ । र ती कानुनहरू खारेज गर भनेर शिक्षकले लड्नुपरेको छ, अथवा अरू सबै हामी भनिरहेका छौँ, कुनैले पनि सुन्नेवाला छैन । उल्टो कर्मचारीतन्त्रले मानिसलाई मुर्ख बनाएको छ । बादलजी रक्षामन्त्री हुँदा एउटा जर्नललाई हटाउनुपर्छ भनी पठाएको फाइल सिंहदरबार पुग्दा ‘नहटाउनु’ भन्ने बनेको किस्सा छ । यसले कर्मचारीतन्त्र कसरी निर्णयलाई प्रभावित पार्छ भन्ने देखाउँछ । हालै कुलिङ पिरियडको उदाहरण हेर्नुस्, जहाँ प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा पुग्दा उल्टो निर्णय भयो, जसले गर्दा सदनमा चर्को विवाद उत्पन्न भयो । यस्ता घटनाले जनतालाई बेबकुफ बनाउने र मूर्ख बनाउने कानुनको अवस्था देखाउँछ ।
नेपालको समग्र क्षेत्रमा संकटको कारण के हो ? गणतन्त्रअनुसार नेपालको आर्थिक ढाँचा के हो ? नेपालको कानुनी ढाँचा हुनुपर्ने के हो ? त्यो सर्वसाधारण नागरिकले, गरिबले गएर बोल्ने ठाउँ कहाँ हो ? न्याय पाउने ठाउँ कहाँ हो ? संस्कृतिमा हेर्नुस् । एउटाले अर्कोलाई उछितो काढेर ध्वस्त पार्न तानातान गर्ने प्रवृत्ति बढ्दै गएको छ, यी सबै विकृति र संकटको कारण यही हो कि गणतन्त्रले कुन वर्ग, कुन विचार, कुन नेतृत्व भन्ने कुरा निश्चित गरेको छैन । यसको समस्या नै यही हो । गणतन्त्रसम्मको परिवर्तन अग्रगामी नै हो, यसलाई हामीले मान्नुपर्छ । तर, गणतन्त्रपछि नेपाली जनताले आफ्नो वर्ग, आफ्नो विचार, आफ्नो प्रतिनिधि चाहन्थे । त्यो उनले पाएका छैनन् । जसले गर्दा नेपालका श्रमिक जनताहरू प्रतिनिधिविहीन अवस्थामा रहेको पीडापूर्ण अनुभूति गरिरहेका छन् । जनताले कतैबाट पनि सन्तुष्टि पाउन सकेनन्, किनकि झन्डा फरक भए पनि प्रवृत्ति र सोच एउटै देखियो । अनि जनताले कहाँबाट न्याय खोज्ने ? कहाँबाट परिवर्तन खोज्ने ? कहाँबाट एउटा मानिसले समानता, स्वतन्त्रता, उद्धारता प्राप्त गर्ने ?
त्यसैले कुन वर्गको देश हो यो ? कुन वर्गले एकचोटि हाँक्नुपर्ने हो ? कुन विचार, कुन समाज, कस्तो व्यवस्था बनाउने हो भन्ने कुरा फैसला भएन । नेताले जनतालाई गरेको भाषणले जनतालाई भ्रमित पा¥यो । त्यसैले यो गणतन्त्र र प्रगतिशील कुरा हो, यसलाई फर्किन दिनुहुँदैन भनेर स्पष्ट पारेका हौँ । तर नेपाली जनताका अधिकारहरू सुनिश्चित भइसकेका छैनन् । नेपालको राज्य रुपान्तरण भइसकेको छैन । राज्यबाट सबै निर्धारित हुने संस्थाहरू, नेताहरू, प्रतिनिधिहरू पनि रुपान्तरित भएनन् भन्ने कुरा नै आजको समस्या हो ।
दोस्रो कुरा, राजनीतिक आन्दोलन त एकदम अनैतिक भएर गइसक्यो । घरको मुलीले बाटो बिरायो भने घर अनुशासित हुँदैन । अरूलाई सरापेर त्यसको केही अर्थ हुँदैन । जसले यो देशको नेतृत्व गर्ने मौका, अवसर वा जिम्मेवारी पाएको छ । उसले अरूलाई सरापेर देश कहीँ पनि पुग्दैन । उसको ड्युटी हो नि देशलाई बाटो कुन हिँडाउने ? जनतालाई कसरी विश्वस्त बनाउने ? कसरी राम्रो बनाउने भन्ने कुरा त उसको हो नि । जब जनतातिर औँलो ठड्याएर, ‘तिमीहरू बेबकुफ हौ, खराब हौ’ भनेर प्रतिनिधि बनेका मानिसहरूले आलोचना गर्न थालेपछि त्यो अनुशासनको कुनै लेखाजोखा हुँदैन । त्यसैले राजनीति आज मूल्यविहीन बनेको छ । आज जोसँग पैसा छ, उसैको राजनीति गर्न खोज्दै छ । हुँदाहुँदै यो रुपन्देहीको उपनिर्वाचनमा खुलमखुला नयाँ भन्नेले ‘मचाहिँ एक करोड खर्च गर्छु, टेलिभिजनमा’ भन्यो । पुरानोले त भन्दैन, भित्र–भित्रै गर्छ । नयाँ त कस्तो आयो भने ठाडै ‘मसँग २ करोड छ, म खर्च गर्ने हो, मलाई भोट देऊ’ भन्छ । नेपाली जनतालाई सही बाटो बुझाउन सकेनौँ भने भीरबाट खस्ने खतरा छ । आवेगमा आएर गलत मार्गमा हिँड्नु विनाशकारी हुन सक्छ । त्यसैले कुन बाटोले गन्तव्यसम्म पु¥याउँछ भनेर हेर्नु अत्यावश्यक छ ।
दृष्टिकोण, विचारको लडाइँलाई हामी कमजोर हुनुहुँदैन । कहिलेकाहीँ लु आउँछ, कहिलेकाहीँ सिरेटा आउँछ, कहिलेकाहीँ दुर्गन्धी हावा आउँछ, सब खप्नुपर्छ, तर स्वच्छ हावाकै खोजी गर्नुपर्छ । हामी दुर्गन्धी हावाको पछि लाग्नुहुँदैन ।
त्यसकारण मूल्य, मान्यता, सिद्धान्तको अलिकति अपहेलना भएको छ, अगुवा नेताहरूले बाटो बिराएका छन् र उनले अपहेलित गरेका छन् भनेर सिद्धान्त विचारहरूलाई हामीले कहिले पनि न्यूनीकरण गर्नु हुँदैन । सिद्धान्त भनेको आँखा हो, यो कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ । तपाईँको आँखा ठीक छैन भने तपाईँले दिशा निर्धारण गर्न सक्नु हुँदैन । सिद्धान्त विचार चाहिन्छ ।
हामी काठमाडौँमा पढ्दा कम्युनिस्ट कार्यकर्ताहरू भोकभोकै संघर्ष गर्ने विगत थियो । राजनीतिको आदर्श र नेता–कार्यकर्ताप्रति जनताको सम्मान उच्च थियो । कम्युनिस्टहरूले गाउँमा संघर्ष गर्थे, मेहनत गर्थे, कसैलाई दुःख दिँदैनथे । उनीहरूको जीवनशैली त्यागपूर्ण थियो । तर आज कम्युनिस्टहरूको त्यो जीवनशैली समाप्त भएको छ । दुःखका साथ भन्नुपर्छ, ज्ञानेन्द्र शाहले बस्ने स्टाइल र हाम्रा कम्युनिस्ट नेता बस्ने स्टाइल पनि उस्तै लाग्छ ।
हामीले नपाएर कम्युनिस्ट आन्दोलनमा लागेको होइन, यो कुरा राम्रोसँग ख्याल राख्नुपर्छ । हामीले पैसा नपाएर, हामीले पद नपाएर, हामीले कुनै सुविधा नपाएर, दुई छाक खानका लागि या दुई–चार हजार कमाउन कम्युनिस्ट आन्दोलनमा लागेको होइन । तर आज हामी देख्छौँ, कम्युनिस्ट आन्दोलनमा आदर्श ढल्दै छ, तर यो ढल्न हुँदैन । कम्युनिस्ट सकियो भन्नेहरूलाई हामी भन्छौँ– यो सकिँदैन । यो हाम्रो दृढ विश्वास हो । हामीले केपीजीलाई पनि भनेका छौँ, जनतालाई दिएको वचनमा सबै टिक्नुपर्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा केही प्रश्नहरू उठेका छन् । केही मान्यताहरूमा ह्रास आएको छ, त्यसले हामी सबैलाई दुःखी बनाउँछ । कहिलेकाहीँ हाम्रो दिमागमा ठुलाठुला तरंगहरू पनि उठ्छन् र निद्रा पनि लाग्दैन, तर कुरा त्यो होइन । हामीले धैर्यतापूर्वक फेरि पनि आजको पूँजीवादी विश्वबाट केही पनि आशा राख्नुहुँदैन । सम्भव छैन । पूँजीवादीहरूको नेतृत्वको यो प्रजातन्त्रबाट संसार र मानवजातिले नयाँ जीवन र नयाँ सभ्यता कहिले पनि पाउनेवाला छैन । उनीहरूको पछि लाग्नु भनेको भयंकर ठुलो युद्धमा, विध्वंसमा जानु हो, फस्नु हो ।
कम्युनिस्टहरूले मेहनत गर्नुपर्छ । ‘म पनि उम्मेदवार बन्न पाइहाल्छु’ भनेर दौडिने होइन । उम्मेदवारको कुरा छोड्दिनुस् न, नेपाल डुब्दै छ, केको उम्मेदवार ? नेपाल तहस नहस हुँदै छ । यसलाई पार लगाउने गरी सोच्नुप¥यो । एउटा अग्रगामी आन्दोलन चाहियो, चुनाव ८४ मा होला नहोला, छोड्दिनुस् । तर आजको दिनमा भ्रष्टाचारीले नेपाललाई त खायो नि त । नेपालको अर्थतन्त्रमा दिमागै हल्लिने खालका घटनाहरू आएका छन् त ? अनि हामी त्यतिकै चुपचाप सहेर बस्ने हो ? रमेश लेखकजीको नाममा त्रिभुवन विमानस्थलबाट दैनिक ५० लाख रुपैयाँ बुझाउनुपर्नेजस्ता आरोप आउनुले देशको भ्रष्टाचारको भयावह अवस्था देखाउँछ । हामीले तिर्ने कर र उठाउने पैसामा यस्तो लुछाचुँडी, अराजकता र स्वेच्छाचारिता नेपाली जनताले सहनु असम्भव छ । पहिले पनि नारायणकाजीजी गृहमन्त्री हुँदा एयरपोर्टमा सेटिङको कुरा उठेको थियो, अब हामीले हेर्नुपर्छ कि पर्दैन ? नेपालको स्थिति के छ ?
त्यसैले हामीले यो कम्युनिस्ट मुभमेन्टलाई फेरि नयाँ ढंगले पुर्नजागृत, पुर्नसंगठित गर्नैपर्छ । कम्युनिस्ट आन्दोलन सकिँदैन, सकिन दिनु हुँदैन । एकचोटि यो प्रयोगमा नगएसम्म यो देशले समाजवादी मोडेलको अर्थतन्त्र, समाजवादी मोडेलको कानुन, समाजवादी मोडेलको राजनीति अभ्यास नगरेसम्म लाखौँ–लाख नेपाली जनताले दिएको समर्थनलाई त्यतिकै खेर जान दिनु हुँदैन । केपीजीले कति गर्नुभयो ? प्रचण्ड कमरेडले कति गर्नुभयो ? अरू हामीले कति गर्यौँ, त्यो लेखाजोखा पनि गरौँला । तर हामीलाई चित्तबुझ्दो ढंगले समाजवादको अभ्यास नेपालमा भइसकेको छैन । यो चुनौतीको जवाफ दिनेगरी हामीलाई मौका दिनुपर्छ ।
यत्रो दुःख गरेका नेता कार्यकर्ताले केही गल्ती भयो भन्दैमा जवाफै नदिएर हामी हार्न सक्दैनौँ । खराब परिस्थिति र खराब प्रतिनिधिहरूलाई देशको जिम्मा दिएर हिँड्नु सम्भव छैन । कुन पार्टी वा नेता आयो भने देशमा के हुन्छ भन्ने हामीलाई राम्रो ज्ञान छ, त्यसैले हामीले यो लडाइँ हापेर हिँड्नु हुँदैन । त्यसकारण यो संकटको निकास भनेको समाजवाद हो । यो हामीले जनतालाई भन्नुपर्छ । पार्टी पु¥याउनु र लागु हुनु छुट्टै कुरा हो । तर समाजवाद लागु गर्ने गरी जनताले तयारी गर्नुपर्छ । हामी नेता कार्यकर्ताहरू, सबै साथीहरूले वास्तविक समाजवादको अभ्यास गर्ने वातावरण बनाउनुपर्छ, संघर्ष गर्नुपर्छ, भित्रैबाट गलत चिजहरूलाई रुपान्तरण गर्नुपर्छ, फेर्नुपर्छ । हामी समाजवादतिरै जानुपर्छ ।
इजरायल र मध्यपूर्वको हालत हेर्नुस्, जहाँ सयौँ भवनहरू क्षणभरमै ध्वस्त हुन्छन्, हजारौँ मानिसको ज्यान जान्छ । सिरियामा लाखौँ मानिस मरे । युक्रेनमा भइरहेको युद्ध र दक्षिणपूर्वी एसियाका तनावहरूले के देखाउँछन् भने पूँजीको बल, अहङ्कार, शक्ति र प्रविधिको अहङ्कारमा शासन गर्ने विचारले दुनियाँको नेतृत्व गर्न सक्दैन । यसले शान्ति दिन सक्दैन । दृष्टिकोण चाहिन्छ, केवल पैसा र प्रविधिले संसारलाई चलाउन सकिँदैन, जब जनता आफ्नो निमित्त उठ्छन्, त्यसको जवाफ दिनैपर्छ ।
जार सम्राटले सायद कहिले पनि कल्पना गरेनन् कि श्रमिक मजदुरहरूले फेरि जितेर आउँछन्, सर्वहाराको सत्ता खडा हुन्छ भन्ने । तर त्यस्तो इतिहासले ल्याइदियो नि । जारलाई खरानी बनाउने, त्यही श्रमिक मजदुर वर्गबाट प्रतिनिधिहरू खडा भएर आयो नि । आज नेपालमा हाम्रो अप्सन, हाम्रो विकल्प, अग्रगामी विकल्प बाँकी छ भनेर ठान्नुपर्छ । नेपालका बुद्धिजीवी, विद्यार्थी, युवाहरूलाई केवल दासता मात्रै होइन, नेपाल अमेरिकाले आएर बनाइदिने होइन भन्ने गरेको छु । नेपाल कुनै विदेशीले जागिर दिएर, २–४ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएर बन्ने पनि होइन । यहाँ कसैले एनजीओ, आइएनजीओ खोलेर उसको झोला बोकेर उसको दास बनेर बन्ने पनि होइन । नेपाल बन्ने हो भने नेपालको धर्तीमा उभिएको शक्ति चाहिन्छ । नेपाली जनतासँग मन मुटु जोडिएको, प्राण जोडिएको शक्ति चाहिन्छ र प्रतिनिधिहरू चाहिन्छ । त्यो हामीले बनाउने, हामीले बरु कति दुःख गर्नुपर्छ, हामी तयार हुनुपर्छ । कति मेहनत गर्नुपर्छ, हामी तयार हुनुपर्छ ।
देशलाई कसैले दासत्वमा ठेल्न खोज्छ भने रातारात फेरि लड्नुपर्छ । विद्रोह गर्न पनि तयार हुनुपर्छ । त्यहाँ सम्झौता हुन सक्दैन । राजनीति भनेर अलग हुनेले मात्रै सोच्नु हुँदैन । देशको भविष्यमाथि प्रश्न उठेको बेला, सबैले नयाँ ढंगले सोच्नुपर्छ, जुन चिज नेपालमा आउँदै छ ।
वामपन्थ दक्षिणपन्थमा बदलियो । एउटा खतरा त्यो पनि त छ । जसलाई अग्रगामी भन्थे, त्यो पश्चगामीमा बदलिन खोज्यो । वामपन्थीहरू चाहिँ दक्षिणपन्थीमा बदलिन खोजे । कम्युनिस्टहरू पूँजीपतिमा बदलिन खोजेजस्तो भयो । हाम्रा केही गल्तीहरूले गर्दा जनतालाई भ्रम छ । आज पूँजीपति भन्ने पार्टी र कम्युनिस्ट पार्टीका नेताको जीवनशैली उस्तै–उस्तै देखेपछि जनता भ्रममा परेका छन् । यसलाई परिवर्तन गर्नुपर्छ । वामपन्थी छुट्टै हो । देशभक्त, समाजवादी, एकतावद्ध भएर देशलाई निकास दिनतिर सोच्नुपर्छ र नेपालका श्रमिक जनताहरूको भविष्य त्यसमै छ । त्यसकारण समाजवाद, यही कम्युनिस्टले भनेजस्तो नेपाली विशेषताको हुनुपर्छ । रुसी मोडेलको समाजवाद हुनुपर्छ । यो चिनियाँहरूले प्रयोग गरेको जस्तो समाजवादको यो हुँदैन । यो नेपाली जनता, यहाँको विविधता—क्षेत्रगत, जनजाति, दलित, मधेस, पहाड, धार्मिक विविधता (मुस्लिम, हिन्दु, क्रिश्चियन), सांस्कृतिक, भाषिक, क्षेत्रीय विविधता—अनि बजेट विविधता, सुकुमबासी, मध्यम वर्ग, राष्ट्रिय पूँजीपति–यी सबै छन्, यसको बिचबाट हामीले खोज्ने हो भने नेपाली समाजवाद खोज्ने हो । त्यो सकिन्छ भन्ने हामीलाई छ । हामीले साँच्चै नै अहिलेसम्म प्रयोग नभएको, नेपाली जनताले चाहेको, एउटा सबभन्दा असल विकल्प प्रस्तुत गर्न सक्छौँ । त्यो विकल्प भनेको समाजवाद हो । त्यसकारण सबैलाई विश्वस्त बनाएर यसरी गयौँ भने ठीक हुन्छ । र संकटको निकास त्यतातर्फ सोच्न आह्वान गर्छौँ । नेकपा भनेको खोरिया फाडेर जन्मिएको, अनेक घेराबन्दीका बाबजुद टिकेर आएको पार्टी हो । हामी कसैको अगाडि लत्रिनुपर्दैन । हाम्रो पौरख र मेहनतमा विश्वास छ । ज्ञान, बुद्धि र विवेकको प्रयोग गरी नयाँ ढंगले अगाडि बढ्न सकिन्छ र समाजवादीहरूलाई एकताबद्ध गर्न सकिन्छ । आगामी भविष्य समाजवादीहरूकै हो । कमजोरीहरूलाई स्वीकारेर समस्याहरूलाई रुपान्तरण गरेर विश्वस्त भएर अगाडि जानुपर्छ, यिनमा सबैलाई एकतावद्ध गर्नुपर्छ ।
(नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सहिद बेपत्ता स्मृति प्रतिष्ठानद्वारा गत भाद्र १२ गते, बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा राखेको धारणाको सम्पादित अंश सान्दर्भिक भएकोले प्रकाशन गरिएको हो – सम्पादक )