जेन–जी पुस्ताको आन्दोलन र तथाकथित अन्तरिम सरकार
नेपालको जेन–जी पुस्ताद्वारा यही २०८२ साल भाद्र २३ गते (सन् २०२५ सेप्टेम्बर ८) का दिन जुन नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको केपी शार्मा ओली नेतृत्वको फाँसीवादी, तानाशाही सरकारले चरम भ्रष्टाचार, कुशासन, बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध राजधानी काठमाडौंको माइतीघर मण्डेलामा शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम राखिएको थियो । उनीहरू विरोध प्रदर्शनकै क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिणी गेटमा पुगेर “भ्रष्टाचार नियन्त्रण गर, सुशासनको व्यवस्था गर, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवद्ध तुरुन्त हटाऊ, आफ्ना छोराछोरीहरुलाई महंग र सुविधायुक्त स्कुल र कलेजहरुमा र विदेशमा पढाउने, उचित शिक्षा, महंगो शिक्षाको शिकार भइरहने, यी सबै बेथितिहरुलाई तुरुन्तै हटाऊ” भन्दै कापी कलम, पुस्तकहरु बोकेका, स्कुल, कलेज कै ड्रेसमा शान्तिपूर्ण नारा लगाइरहेको सामान्य अवस्थामा पुलिस चलायो । उक्त गोली काण्डमा तत्कालै १९ जना होनहार युवाहरुको बर्बरतापूर्ण तरिकाले हत्या गरियो । करीब ५०० जति विद्यार्थीहरुलाई घाइते बनाइयो ।
जेन–जी पुस्ताले हत्यारो प्रधानमन्त्री केपी शर्मा ओली र अर्को हत्यारो गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको थियो । गृहमन्त्री लेखकले त्यसै दिनको राति पदबाट राजिनामा दिए भने प्रधानमन्त्री ओलीले राजिनामा दिनु त कहाँ हो कहाँ उल्टै विद्यार्थीहरुलाई गिंज्याउदै र होच्याउने खालका अभिव्यक्ति मात्र दिएनन्, उनले हेपाह र अहंकारी तथा घमण्ड प्रदर्शन गर्दै मलाई कसले के गर्न सक्छ भन्ने अभिव्यक्ति दिए ।
त्यसरी जेन–जी पुस्ताले अगाडि सारेका जायज मागहरुलाई पुरा नगरेर उल्टै उत्यजित हुने व्यवहार प्रदर्शन गरेपछि जेन–जी पुस्ताको आक्रोश जनविद्रोहमा परिणत भयो । जसका कारण महाभ्रष्ट नेताहरुका आवास र आलिसान महलहरुमा आगजनी र तोडफोड, ढुंगामुढा शुरु भयो । यसका साथै सरकारी भवनहरु सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, पुलिस कार्यालयहरु समेत देशैभर सैयौं सरकारी भवन, अदालतहरु जलाइए । त्यस्तै उच्च घराना र दलाल व्यापारीहरुका घर, डिपार्टमेन्ट स्टोरहरुमा पनि आगजनी र तोडफोड गरिएको थियो । ती घटनाहरुमा घुसपैठ भयो र सम्पत्ति लुटपाट भएको अवस्था पनि रहयो । यस प्रकारका दुखत घटना घट्नुमा, राज्य पक्ष नै जिम्मेवार रहेको छ । केपी ओलीको राष्ट्रघात, जनघात, कुशासन, पाखण्डीपन, नम्छरो प्रवृत्ति, अहंकार, घमण्ड, तानाशाही, निरंकुश तथा फासीवादी चरित्र नेपालको जेन–जी पुस्ताद्वारा यही २०८२ साल भाद्र २४ गते (सन् २०२५ सेप्टेम्बर ८) का दिन गरियो शान्तिपूर्ण जनविद्रोह संसार कै पहिलो घटना हो । किनभने मानव समाजको विकासको क्रममा ईपू ७१ वर्ष पहिले रोमन दास स्पार्टाकसले गरेको दास विद्रोह, सन् १८७१ को पेरिस कम्युन, सन् १९१७ को महान् रुसी अक्टोबर समाजवादी, क्रान्ति, सन् १९४९ सम्पन्न महान् चिनियाँ नयाँ जनवादी क्रान्तिका, भियतनामी क्रान्ति, व्युवाली क्रान्ति भएका थिए, जुन क्रान्तिहरुले नयाँ युगको सूत्रपात गरेका थिए । संसारमै पहिलोपटक सर्वहारा वर्गलाई राज सत्ताको मालिक बनाइएको थियो र सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो ।
ती संसारलाई परिवर्तन गर्ने राजनीतिक घटनाहरु निश्चित दर्शन, निश्चित सिद्धान्त, विचार, विश्वदृष्टिकोण र लक्ष्य, उद्देश्यका सात योजनावद्ध ढंगले सञ्चालन गरिएका थिए र ती राजनीतिक परिवर्तनहरु सम्पूर्ण मजदुर, किसान, श्रमजीवी वर्ग, उत्पीडित जनसमुदायहरुको बिशाल सहभागीमा दास विद्रोह बाहेक क्रान्तिहरु कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा गरिएका थिए ।
विद्यार्थी आन्दोलन कुरा गरिरहँदा चीनको ४ मे विद्यार्थी आन्दोलनलाई लिइन्छ । सन् १९१९ मे ४ का दिन चिनियाँ विद्यार्थीहरुले राजधानी पेकिङमा बिशाल प्रदर्शन गरेका थिए । त्यस विद्यार्थी आन्दोलनमा कमरेड माओत्सेतुङ पनि सहयोगी हुनुहुन्थ्यो भन्ने इतिहास छ । त्यस विद्यार्थी आन्दोलनले सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी निर्माणमा कोसेढुङणगाको काम गरेको थियो र २८ वर्षपछि अर्थात् सन् १९४९ अक्टोबर १ दिन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो जुन क्रान्ति विश्वको राजनीतिक इतिहासमा एक ऐतिहासिक, अविस्मरणीय र प्रेरणादायी रहेको छ ।
यस अतिरिक्त नेपालमा पनि २०३५–३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन, २००७ को जनआन्दोलन, २०४६–४७ सालको संयुक्त जनआन्दोलन, २०६२–६३ सालको १९ दिने जनआन्दोलन सम्पन्न भएका थिए र ती तीनवटै जनआन्दोलनको बलमा सत्ता पनि परिवर्तन भएको इतिहास ताजै छ । तर जेन–जी पुस्ताले गरेको विद्रोह ती क्रान्तिका तरिका भन्दा फरक थियो र मागहरु पनि माथि नै उल्लेख गरिएको छ सिमित र फरक थिए । तर राज्य पक्षले जुन सवैया देखायो, बर्बर हत्याकाण्ड मच्चायो र सरकार नै अपदस्त हुन पुग्यो, जसका कारण यो विश्वकै पहिलो र ऐतिहासिक घटना बन्न पुग्यो । संसारभर कै युवा पुस्ता र जनताका लागि प्रेरणाको श्रोत बन्न पुगेको छ । यसको यस प्रकारको गौरवमय इतिहासलाई संसारको कुनै पनि ताकतले मेट्न सक्ने छैन ।
विडम्बना ती नेपाली आमाका असल र आँटी छोराछोरीहरु अर्थात् नेपाली धर्तीका ती होनहार युवा योद्धाहरुको रगत खेर गयो । ती महान् युवा सहिदहरूको रगतलाई उहीँ पुरानै घोर तानाशाही, घोर अत्याचारी, घोर फाँसीवादी दलाल संसदीय व्यवस्थालाई ब्यूँऊताएर ती महान् युवा सहिदहरुको रगतलाई पानी तु्ल्य बनाइयो । घटना घटेकै दोस्रो दिन २०८२ साल भाद्र २४ गते (सन् २०२५ सेप्टेम्बर ९) दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबै भूपू प्रधानमन्त्रीहरु भागेर ज्यान सुरक्षाको निम्ति नेपाली सेनाको क्याम्पमा सरणार्थीमा पुगे । त्यसै दिन रातिदेखि नेपाली सेनाले देशलाई कब्जामा लियो । त्यसपछि साम्राज्यवादी तथा विस्तारवादीहरुको नांगो हस्तक्षेप भयो । र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको ग्राण्डडिजाइन र निर्देशनमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा तथाकथित अन्तरिम सरकार गठन गरियो । र, संसद विघटन गरियो र आगामी फागुन २१ गतेका लागि तथाकथित मध्यावधि निर्वाचनको घोषणा गरिएको कलाहिन नाटक मञ्चन गरियो । सुशीला कार्की नेतृत्वको कथित चुनावी सरकार संसदवादी दलहरू नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको सल्लाह र सहमतिको आधारमा बनेको छनक पाइएको छ । किनभने प्रधानमन्त्री र मन्त्रीहरुमा प्रधानमन्त्री नेपाली काँग्रेसको कोटाबाट बनेको स्पस्टै छ । सुशीला कार्की काँग्रेस हो र अन्य मन्त्रीहरु जो भूपू व्युरोक्र्याट र अन्य क्षेत्रबाट ल्याइएको छ, ती तीनवटै दलहरु नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र निकटका व्यक्तिहरु ल्याइएको छ । ती तीन दलको भागवण्डामा ल्याइएको प्रष्टै छ ।
कार्की सरकार जुन सरकार बनाउने बेला जेन–जी पुस्ताले यही भाद्र २३ र २४ गते घटाइएको हत्याकाण्डको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर हत्याराहरुलाई पक्राउ गरेर तुरुन्तै जेल हाल्ने र हदैसम्मको सजाय दिलाउने, २०४६ सालपछि र हालसम्म उच्च ओहदामा रहेकाहरु, सभाषद, मन्त्री, नेता, राजनीतिक नियुक्ति पाएका व्यक्तिहरु, संवैधानिक अंगमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरु, सबै भ्रष्ट ब्युरोक्र्याटसहरु सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र भ्रष्टहरुलाई कानुन बमोजिम कार्यवाही गर्ने सहमति भएको थियो । तर अस्थायी कार्की सरकार जेन–जी पुस्तासँग भएका ती महत्वपूर्ण सहमतिहरलाई लत्याएर फागुन २१ गरिने भनिएको मध्यावधि चुनावको तानाबाना बुन्नमै सम्पूर्ण ताकत लगाइरहेको छ । यस परिणामले होनहार युवाहरूको रगतमाथि तुषारापात भएको छ । यसलाई क्रान्तिकारी धारमा रुपान्तरण गरेर महान् नेपाली क्रान्ति र आमूल सामाजिक क्रान्तिप्रति परिलक्षित यो महान् तथा बलिदानीपूर्ण जनविद्रोहलाई क्रान्तिकारी नेतृत्व गर्ने शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभावले गर्दा उपलब्धिको रक्षा हुन सकेन । एउटा कुरा यो रह्यो भने अर्को कुरा क्रान्ति सचेतनापूर्ण तयारी र योजनाका सात मात्र सम्पन्न गरिने माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यता छ । यो युवा विद्रोह आकस्मिक घटना जस्तो भए पनि २६ वर्षे दलाल संसदीय व्यवस्थाले गरेको राष्ट्रघात र जनघातको परिणाम थियो । तर पनि यसलाई परिणाममुखी बनाउने कम्युनिस्ट पार्टीको वस्तुगत अवस्था परिपक्व हुँदाहुँदै पनि आत्मगत अवस्थामा कमी र अपुगका कारण केही पनि हुन सकेन । यो नै महान् नेपाली क्रान्तिको कठिन तथा जटिल अवस्थाको विडम्बना नै हो । यस जनविद्रोहलाई पहलकदमी र नेतृत्व प्रदान गर्ने अवस्थामा कमि हुनुको मुख्य कारण महान् दस वर्षे जनयुद्धको रक्षा गर्न नसक्नु, नेतृत्वमा आएको वैचारिक विचलनका कारण मुख्य नेतृत्वले साम्राज्यवाद, विस्तारवादलगायतका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरेर सत्ता लिप्साको लालचामा फसेर संसदीय भाषामा चुर्लुम्ब डुबेपछि माओवादी आन्दोलन विसर्जन हुनु, माओवादी आन्दोलन भित्र कै क्रान्तिकारी खेमा भित्र पनि फुट, विभाजनका श्रृङखलाहरु थपिँदै जानु, बाँकी क्रान्तिकारी धाराले पनि कमीकमजोरी बाबजुद क्रान्तिको तयारी र क्रान्तिका कामलाई अगाडि बढाउन नसक्नु कुराहरु छन् । त्यसैले अबको विकल्प के हो त ? भन्ने कुरा आउँछ । यसमा यस दलाल संसदीय व्यवस्थाको नयाँ जनवादी व्यवस्था हो । सैद्धान्तिक रुपमा भन्नु पर्दा संघीय जनगणतन्त्रात्मक व्यवस्था हो । अर्थात् महान् नयाँ नेपाली जनवादी क्रान्ति हो । त्यसपछि वैज्ञानिक समाजवादी व्यवस्था हुँदै वैज्ञानिक साम्यवादमा पुग्ने कुरा हो ।
यसको प्राप्तिका लागि हाम्रोजस्तो देशमा माथि कार्ल माक्र्स, लेनिन, माओत्सेतुङकै शब्दमा भन्नु पर्दा क्रान्तिका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यक पर्ने, क्रान्तिका निम्ति क्रान्तिकारी विचार आवश्यक पर्ने भएकोले नेपालका कम्युनिस्टहरूले यी सर्तहरु पुरा गरेको विशाल, एक एकीकृत कम्युनिस्ट पार्टी, एक लडाकु कम्युनिस्ट पार्टी, एक क्रान्तिकारी कम्युनिस्ट पार्टी, एक अनुशासनवद्ध, एक मिलिट्यान्ट पार्टी निर्माण गर्न आवश्यक छ । महान् नेपाली क्रान्ति अवश्यम्भावी छ । यी कामहरु गर्ने हो भने सेप्टेम्बर विद्रोहका महान् सहिदहरुलगायत सम्पूर्ण नेपाली क्रान्तिका महान् सहिदहरुको रगत पानीसरह खेर जाने छैन ।
लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।