नेपाली विशेषताको समाजवाद नै किन ?
भूमिका
समाजवादी मोर्चा घोषणाको तत्कालीन सन्दर्भसँगै नेपाली विशेषताको समाजवाद बहसको विषय बनेको छ । यो बहसले संविधानमा उल्लेखित ‘समाजवादोन्मुखता’ र ‘सुधारिएको संसद’द्वारा यथास्थितिमा परिवर्तनको आवश्यकतालाई मुखरित गर्दछ । विगतमा संविधान निमार्णताका रहेका अपूर्णतालाई मध्यनजर गर्दै अबको बहस समग्र राजनैतिक व्यवस्थामा केन्द्रित गर्न र त्यसमा जनतासहित क्रान्तिकारीहरुको पहलकदमीको सुनिश्चितता आवश्यक छ । किन नेपाली विशेषताको समाजवाद आवश्यक छ ? यो कस्तो हुन्छ ? र कसरी प्राप्त गर्न सकिन्छ ? यी प्रश्नको उत्तर खोज्नु पर्ने आवश्यकतामा केन्द्रित बहसले समाजवाद बारेको मानिसहरुको बुझाइमा स्पष्टता र एकरुपता ल्याउन सहयोग गर्नेछ । जसले भावी परिवर्तनको सुनिश्चितता गर्नुका अतिरिक्त वर्तमान जीवन व्यवहारमा आवश्यक रुपान्तरण तथा परिवर्तनको मागलाई पनि सम्वोधन गर्नेछ ।
वर्तमान परिस्थिति र नया पक्ष
वर्तमान राष्ट्रिय र अन्तरास्ट्रिय परिस्थितिको चर्चा गर्दा आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक सूचकाङ्कहरुलाई विश्लेषण गरेर हेर्दा समानता, शान्ति, सुशासन, समन्याय र समृद्धि जस्ता मुख्य र आधारभूत क्षेत्रमा गम्भीर अन्तरविरोध, समस्या र चुनौतीहरु देखापर्दछन् । जसले वैज्ञानिक समाधान खोजिरहेका पनि छन् । तर यहाँ यी विषयहरुमा विस्तृत रुपमा प्रवेश नगरी केबल नयाँ पक्षकाबारे मात्र चर्चा गरिनेछ ।
अन्तर्राष्ट्रिय परिस्थिति र नया पक्ष
युक्रेन–रुस युद्ध इजरायल–इरान युद्ध र यसको प्रभाव र परिणाम, बहुध्रूवीय विश्वको निर्माण, २१औं शताब्दीमा विश्वशक्तिको रुपमा एशियाको उदय र चीनको नेतृत्वदायी पहलकदमी आदि चर्चा हुने र गर्नु पर्ने नयाँ पक्ष हुन् ।
युक्रेन–रुस युद्ध सापेक्षिक रुपमा लम्बिदै जाँदा अमेरिका त्यसलाई कुनै न कुनै रुपमा अन्त्य गरेर युद्धलाई एशियातिर सार्न चाहन्थ्यो । त्यो पनि उसले गरेको इरान माथिको गतिविधिले प्रष्ट नै पा¥यो । युक्रेन–रुस युद्धमा पछिल्लो अमेरिकाको प्रस्ताव र गतिविधिले यही तथ्यलाई पुष्टि गर्दछ । यो युद्धमा देखिएको देशहरुको पक्षधरता, तटस्थता र धुव्रीकरणले सन् १९९०मा सोभियत रुसको विघटनपछि कायम भएको अमेरिका केन्द्रित एक ध्रूवीय विश्वको पनि अन्त्य भएको छ । वस्तुतः अमेरिका केन्द्रित ध्रूव रक्षात्मक बन्दै गएको देखिएको छ । आर्थिक रुपमा चीन र भारतले गरेको प्रगति र चीनले लिइरहेको समग्र पहल कदमीले भावी एशियाको उदयको स्पष्ट सङ्केत र सन्देश दिइरहेको छ ।
राष्ट्रिय परिस्थिति र नया पक्ष
एमसीसीको जबरजस्त प्रवेश र कार्यान्वयन, पुरानो सत्ता र शाषकहरुको सङ्कट र असफलता, जनताको परिवर्तनको तीव्र चाहना र माग, कमजोर वैचारिक–राजनैतिक धरातल र उच्च महत्वकांक्षा सहित अगाडि आएको नयाँ शक्तिको दाबी, समाजवादी मोर्चाको घोषणा र १५ बुँदे प्रस्ताव र नेकपाद्वारा प्रस्तावित वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्ति आदि चर्चा हुने र गर्नु पर्ने नयां पक्षहरु हुन् ।
एमसीसीले राष्ट्रिय एकतालाई भत्काएको छ । देशलाई विभाजित गरेर नव उपनिवेशीकरणतर्फ धकेलेको छ । देशको असंलग्न परराष्ट्र नीति तोडेको छ र विश्वशक्ति केन्द्रको शक्ति संघर्षको स्थल–एशियाली युक्रेन– बनाउने कुत्सित मनसाय बोकेको छ । यसले हस्तक्षेपकारी अमेरिका र नेपाली श्रमिक जनताबीचको प्रधान अन्तरविरोधलाई मुखरित गर्दछ । २०७९ सालको चुनावमा स्वतन्त्र नामका पार्टी र केही व्यक्तिको विजयले पुरानो सत्ता र शासकको सङ्कट र असफलता, जनताको, खासगरी नयाँ पुस्ताको परिवर्तनको चाहना, माग र नयाँ भनिएका शक्तिको कमजोर वैचारिक–राजनैतिक धरातललाई एकैसाथ उजागर गरेको छ । यसले २०७२मा जारी संविधानद्वारा निर्देशित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विद्यमान देश र जनताका जीवनका समस्याहरु समाधान गर्न असमर्थ छ भन्ने पुष्टि गर्दछ । परिणामस्वरुप शासन–प्रणालीमा भ्रष्टाचार, समाजमा बेरोजगारी, जनसमुदायमा निराशा र देशमा युवा–विद्यार्थीको पलायनता डर लाग्नेगरी बढेर गएको छ । जसले विष्फोटक रुप लिएर भविष्यमा महासङ्कट निम्त्याउने निश्चित जस्तै छ ।
यो संसदीय लोकतान्त्रिक गणतन्त्रले नेपाली समाजमा विद्यमान आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक अन्तरविरोध तथा समस्याहरु हल गर्न सक्दैन र जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत नेपाली जनताहरुले गरेको संघर्षको वास्तविक मर्मलाई पनि पक्रिन सक्दैन । बरु यसले नयाँ रुपमा पुरानो संसदीय दलाल पूँजीवादी राज्यसत्तालाई निरन्तरता दिन्छ, भन्ने विश्लेषणको आधारमा त्यसको विकल्प वैज्ञानिक समाजवादलाई अघि सारेर त्यो प्राप्तिको लागि नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी बढाउदै र बहस गर्दै आइरहेको छ । यो क्रान्तिको एकदम नयाँ, मौलिक र वैज्ञानिक कार्यदिशा हो । जसले २ वर्षको सरकारी प्रतिबन्धको सामना गर्दै । समाजवादी मोर्चामा समेल हुदै । त्यसको नेतृत्व गर्न पनि सम्भव बनाएको छ र एक प्रकारले पूरै देशलाई यथास्थितिबाट परिवर्तन गर्न आवश्यक छ भन्ने निष्कर्षमा पु¥याएको छ । त्यस विषयमा वा नेपाली विशेषताको समाजवादको विषयमा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत मात्र सम्भव छ भन्ने कुराको पनि घनिभुत तरिकाले बहसहरु पनि चलाइ नै राखेको छ ।
वर्तमान राज्य प्रणालीले न स्थिरता दिन सक्यो न त जनतालाई सन्तुष्ट बनाई भविष्यप्रति आशावादी नै बनाउन सक्यो । परिणामतः यथास्थितिमा परिवर्तन विना कुनै पनि जनपक्षीय राजनैतिक शक्तिको अस्तित्व नरहने निश्चित जस्तै भयो । त्यसैले वर्तमान व्यवस्थामा विद्यमान ‘वित्तीय एकाधिकारी र दलाल पूँजीवादको शोषणको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद र समाजवादी बाटो तय गर्ने’ सार सहितको १५ बुँदे आफ्नो प्रस्ताव सहित समाजवादी मोर्चाको जन्म भएको छ । यो विद्रोही–क्रान्तिकारी शक्ति र सरकारको उदार तथा प्रगतिशील शक्ति एकीकृत भएर परिवर्तन तथा रुपान्तरणको अभियान सञ्चालन गर्ने नयाँ प्रयोग हो । यो पुरानो सत्ता र नेतृत्वको सङ्कटको परिणाम र नेताहरुको आत्मसमीक्षा, रुपान्तरण र नयाँ प्रतिवद्धताको उपज पनि हो । त्यसैले समाजवादी मोर्चा निर्माण पछि नेपाली जनतामा नयाँ उत्साह, आशा र लहर देखापरेको छ । यो नयाँ आशा र उत्साहलाई नयाँ शक्तिमा बदल्न नेपाली विशेषताको समाजवादबारे घनीभूत बहस, छलफलका साथै क्रान्तिकारी व्याक्तिहरु, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु, विभिन्न परिवर्तन चाहने (समाजवादी व्यवस्था चाहने)संघ तथा संस्था र समाजवाद चाहने समुहहरु बिच ब्यापक सहकार्य, ध्रूवीकरण र एकता एकीकृत जनक्रान्तिको कार्यदिशा सहितको आज आवश्यक छ । त्यसो भयो भने मात्र नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशाले एउटा हाइट लिने छ । नेपाली जनताको श्रमबाट उत्पादित वस्तुले आत्मनिर्भरको अर्थतन्त्रको निर्माण गर्दै समाजवादी राज्यप्रणाली वा राज्य वयवस्था निर्माण गर्ने आधार तयार पार्ने छ र दलाल पूँजीवादको अन्त्य गर्ने छ । तब मात्र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र समृद्धी हासिल गर्न सकिन्छ । त्यसैले आज र सच्चा क्रान्तिकारी कम्युनिष्टहरु र कम्युनिष्ट वामपन्थीहरु बिच एकताको अपरिहार्यता छ ।
२) नेपाली विशेषताको समाजवाद
इतिहास
नेपाली विशेषताको समाजवादको लागि नेपाल र समाजवादको सामान्य संक्षिप्त इतिहास उल्लेख गर्नु आवश्यक छ ।
नेपाल एक प्राचीन सुन्दर देश हो । पृथ्वीको जन्म अनुमानित ४ अर्व ६० करोड वर्ष भएको मानिन्छ भने नेपालका पर्वत श्रृखलाको जन्म १३ करोड वर्ष पहिले भएको मानिन्छ । बुटवलमा फेला परेको मानव पुर्खा रामापिथेकसको अवशेष १ करोड वर्ष पुरानो मानिएको छ । सबभन्दा पहिले नेपाल शब्दको प्रयोग अथर्ववेद परिशिष्टमा भएको पाइन्छ । जसको समय इसापूर्व ५००–६०० को बीचमा भएको मानिन्छ । मुख्य कुरा इतिहासमा नेपाल साम्राज्यवादी बाह्य शक्तिको कहिल्यै पनि उपनिवेश नबनी सधैभरि स्वतन्त्र रहेको देश हो । भौगोलिक र सामाजिक रुपमा विविधतायुक्त देश नेपाल हो ।
सगरमाथाले नेपालको भौगोलिक उच्चता र सुन्दरताको प्राचीन आयामको नेतृत्व गर्दछ । त्यस्तै बुद्धवादले शान्ति र समानताको प्राचीन नेपालको वैचारिक आयामलाई स्पष्ट गर्दछ भने प्राचीन सीमित स्वतन्त्र देशमध्ये नेपालको अस्तित्व रहनु अर्को प्राचीन राजनैतिक आयाम हो । जेसुकै कारणले भएपनि नेपाल वीरजातिको देश भनेर पनि चिनिएको छ । यसरी समग्रमा नेपालको प्राचीन इतिहास गौरवशाली रहेको छ । आधुनिक नेपाली इतिहासको विशिष्टता, कम्युनिस्ट चेतना र समाजवादी जनमत बलियो रहेको मान्नु पर्छ । प्राचीन नेपाली समाजको सामूहिक र समानताको परम्परा र आधुनिक नेपालको कम्युनिस्ट समाजवादी विचारको प्रभावलाई एकीकृत गरेर नेपाली विशेषताको समाजवादको विश्लेषण गर्नु सही हुनेछ ।
ख) समाजवाद–साम्यवादको इतिहास
समाजवाद–साम्यवादको इतिहास जब मानिस सचेत भयो र उसले समाजमा समस्या देख्यो तब समाज केन्द्रित भएर सामाजिक रुपमा नै त्यसको समाधान गर्न लिएको अग्रसरताको विचार र विन्दुबाट शुरु भएको मान्नु पर्छ । ‘वसुधैव कुटुम्बकम्’ र ‘मानवाः वान्धवाः सर्वे स्वदेश्च भूवनः त्रयम्’को वैदिक मान्यता, ‘संघम् शरणम् गच्छामी’को बुद्ध परम्पराको पुर्वीय समाजवाद–साम्यवादको इतिहास छ भने पश्चिममा प्लेटोनि साम्यवाद, १८औं शताब्दीमा थोमस मुरको युटोपिया र रोबोट ओमेनीय समाजवादको इतिहास छ ।
समाजवाद शब्द सन् १८०१मा इटलीमा प्रयोग गरिएको थियो । १८२२मा इगल्याण्डमा, १८३१मा फ्रान्समा र अन्तिममा १८३५मा फ्रान्सको शब्दकोशमा समावेश गरिएको थियो । जे भए पनि माक्र्सपूर्वका सबै किसिमका समाजवाद (धार्मिक र सामन्ती समाजवाद, गील्ट र फेबियन समाजवाद) काल्पनिक समाजवाद थिए । समाजवादलाई वैज्ञानिक आधार कार्ल माक्र्स र फ्रेडेरिक एगेल्सले दिए । उनीहरुले द्वन्द्वात्मक भौतिकवादी दर्शन, अतिरिक्त मुल्य र वर्ग संघर्षको आर्थिक र राजनैतिक सिद्धान्तद्वारा त्यो आधार दिएका हुन् । नेपालको सन्दर्भ भनेको पुरानो संसदीय दलाल पूँजीवादी राज्यव्यवस्था संकटग्रस्त बन्दै असफलता उन्मुख भएपछि र उल्टै त्यसको दोष समाजवादीले लिनु पर्ने भएपछि सङ्कटको अग्रगामी, साझा र सहज निकासको रुपमा नेपाली विशेषताको समाजवादको बहस अगाडि आएको हो ।
नेपाली विशेषताको समाजवादका राजनीतिक विशेषताहरु ः
– विचार निर्देशित र जनता केन्द्रित राज्यप्रणाली
– श्रमिक र बौद्धिक जनता तथा उत्पादक शक्तिलाई शासकमा रुपान्तरण
– पूँजीको नेतृत्वदायी भूमिकाको खारेजी र त्यसमा मानिसको भूमिकाको स्थापना
– दलीय प्रतिस्पर्धा, समावेशी तथा समानुपातिक निवार्चन र प्रत्यक्ष कार्यकारेको व्यवस्था
– पुरानो उत्पादन सम्बन्धको अन्त्य र नयाँको स्थापना, स्वाधीनताको रक्षा र बिकाश
आर्थिक विशेषताहरु
– आत्मनिर्भर–अन्तरसम्बन्धित, गतिशील तथा स्वाधीन राष्ट्रिय उत्पादनमा केन्द्रित अर्थतन्त्रको निर्माण
– राज्यको नेतृत्वदायी भूमिका अन्तर्गत व्यक्तिगत स्वामीत्वको स्वतन्त्रता, जनताको आधारभूत आवश्यकताको सुनिश्चितता ।
– अत्यधिक समृद्धि, उसको क्षमता, आधारभूत आवश्यकता पूर्ति राज्यको दायित्वको मान्यता, राष्ट्रिय हितमा विदेशी पूँजीको परिचालन ।
– कृषि र उद्योगको एकीकृत परिचालन, जमिनमाथि राज्यको स्वामित्व, प्रगतिशील कर प्रणाली, काम गर्नेलाई मामको सुनिश्चितता
सामाजिक विशेषताहरु
– सामुहिकता र वलिदानको मान्यता स्थापित गर्ने, वर्गविहीन, जातिविहीन, धर्मविहीन नयाँ मानव जातिको निर्माण गर्ने ।
– गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सूचना र रोजगार जस्ता विषयमा राज्यले समान अधिकार कायम गर्ने ।
सास्कृतिक विशेषताहरु
– विज्ञानमा आधारित राष्ट्रिय जनसंस्कृतिको सिर्जना, विकास र संरक्षण गर्ने ।
– भिकारी र चाकरी संस्कृतिको अन्त्य र जनताको पौरखी र गौरवशाली जनसंस्कृतिको संरक्षण र विकास
अन्र्तराष्ट्रिय नीतिका विशेषताहरु
– विगतका सबै असमान संन्धि–संम्झौताहरुको खारेजी र पंञ्चशील, पारस्परिक सम्मान र समान हितको सिद्धान्तका आधारमा मैत्री सम्बन्ध कायम गर्ने ।
– विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एंवम समृद्धिका पक्षमा सहकार्यको नीति अवलम्बन गर्ने ।
शैक्षिक र स्वास्थ्यसम्बन्धी
– स्वास्थ्यको सबै दायित्व राज्यले लिने र निश्चित मान्यतामा निजी क्षेत्रलाई सहयोगी बनाउँदै समानता कायम गर्ने,
– वैज्ञानिक, प्राविधिक, जीवनोपयोगी शिक्षाद्वारा बेरोजगारी एवम् अदक्षताको अन्त्य गरी इतिहास र नैतिक शिक्षा अनिवार्य बनाउने
प्राकृतिक साधन–स्रोत, विज्ञान–प्रविधि र पर्यावरण संरक्षणका विशेषताहरु
– देशको प्राकृतिक स्रोत–साधनको असुरक्षित, अनियन्त्रित एवम् अराजक दोहनको अन्त्य, आफ्नै उन्नति र समृद्धिका लागि संरक्षण र सदुपयोग ।
– विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र प्रयोगलाई आम नागरिक विशेषतः नयाँ पिँढीका लागि अनिवार्य प्रयोग गर्ने विषय बनाउने ।
– प्राकृतिक पर्यावरणलाई मानवोचित बनाइराख्न त्यसको संरक्षणको नीति लिने र विश्वव्यापी पर्यावरणीय समस्या विरुद्ध सहकार्य गर्ने ।
नेपाली विशेषताको समाजवादसँग अन्तरसम्बन्धित नेकपाका नयाँ संश्लेषणहरु
– दर्शनमा अनिश्चय र संम्भावना, रक्षा र रुपान्तरणको नियम
– अर्थतन्त्रमा एकीकृत स्वामीत्वको संश्लेषण
वैज्ञानिक समाजवादमा, एकीकृत निवार्चन प्रणाली, सी जातिको निर्माण र एकीकृत जनक्रान्तिको संश्लेषण
नेपाली विशेषताको समाजवाद प्राप्तिको साधन र बाटो
पूँजीवादले समाजवाद विरुद्ध हजारौं तरिका, साधन र मोर्चा प्रयोग गर्दै लडिरहेको सन्दर्भमा समाजवादीहरुले पनि पूँजीवाद विरुद्ध लड्दा हजारौं तरिका, साधन र मोर्चा प्रयोग गरेर लड्न तयार हुनु पर्दछ । संसदीय कि गैर–संसदीय ?, यो तरिका र साधन कि त्यो तरिका र साधन ? भन्ने बहस पुरानो भैसकेको छ । बरु नेपालमा संसदीय मोर्चाको कम्युनिस्ट उपस्थितिलाई सकारात्मक रुपमा लिएर सदुपयोग गर्ने विचार र नीति आवश्यक छ । तर मुख्य यसलाई बनाउनु हुँदैन ।
जनबल तथा संघर्षको मोर्चा नै मुख्य हुन्छ । विगतमा यहाँनेर गल्ती र कमजोरी भएका छन् । अब सम्पूर्ण मोर्चा, तरिका र साधनलाई एकीकृत गरेर मात्र पूँजीवादलाई परास्त गर्न सकिने यथार्थलाई आत्मसात् गर्नु पर्छ । विगतमा आर्थिक क्रान्तिको नारा भ्रष्टाचार (भुटानी शरणार्थी काण्ड), घुस(कर्मचारी तन्त्र), कमिसन (सेक्युरिटी प्रेस काण्ड) तस्करी (सुनकाण्ड), नीतिगत भ्रष्टाचार (गिरीबन्धु टी स्टेट काण्ड), ठगी (कोरोनाको औषधी र सामग्री खरिद काण्ड)को उत्कर्षमा पुगेर भएको असफलताबाट पाठ सिकेर अर्थतन्त्र, अर्थप्रणाली र उत्पादनको स्वामीत्व जस्ता सबै मोर्चामा आत्मनिर्भर उत्पादनको मोर्चा बनाउनु व्यावहारिक र प्रभावकारी हुने देखिन्छ । जुन मोर्चामा नेकपाले लिइरहेको पहल सकारात्मक छ । किनभने आर्थिक आत्मनिर्भरता विना जनबलको मोर्चा छोडेर केवल संसदीय मोर्चाबाट मात्र समाजवादमा पुग्ने र संसदीय मोर्चा छोडेर केवल जनबलको मोर्चाबाट मात्र समाजवादमा पुग्ने दुबै प्रयोग नेपालमा अपूर्ण र एकहदसम्म असफल देखिएका छन् । माओवादी जनयुद्धले खाएको धक्का र २०७४पछि केपी ओली सरकारको असफलताले यही तथ्यलाई पुष्टि गरेको छ । त्यसैले सम्पुर्ण मोर्चाबाट सबै परिवर्तन पक्षधरहरु एक भएर समाजवाद प्राप्तिको संघर्ष अगाडि बढाउने क्रान्तिको नयाँ र मौलिक कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा नै उपयुक्त हुने देखिन्छ । राजनैतिक कार्यदिशाको बहसमा बन्दुकको बहस पनि पछि परिसकेको छ । किनभने बन्दुक जनता र क्रान्तिकारीको रोजाइ होइन कि बाध्यता मात्र हो ।
निष्कर्ष
आज देश चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रिय स्वाधीनता सर्वाधिक सङ्कटमा छ । अर्थतन्त्र चौपट भएको छ । भ्रष्टचारले देश चुर्लुम डुबेको छ । जनतामा निराशा व्याप्त छन् । नयाँ पिढीको पलायन डरलाग्दो गरी बढेको छ । खासगरी देश र जनताको जीवनमा देखा परेका सामान्यदेखि जटिल समस्याहरु हल गर्न पुरानो संसदीय दलाल पूँजीवादी सत्ता र नेतृत्व असफल र असक्षम साबित भएको छ । त्यसको ज्वलन्त उदहारण हालै भयको जेन–जी आन्दोल्न र त्यस आन्दोलनबाट उत्पन्न भयको राष्ट्रिय परिस्थिति अन्योलता, पार्टीहरुको बैचारिक धरातल, सत्ताको अस्थिरता र सत्ता संञ्चालकहरुको गतिविधि देखि नै स्पष्ट प्रमाणित भएको छ । त्यसैले यो सङ्कटको अग्रगामी र वैज्ञानिक समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो । किन समाजवाद ? कस्तो र कसरी समाजवाद ? भन्ने जनबहसद्वारा जनताको एकीकृत शक्ति सिर्जना गरेर नै समाजवादलाई सार्थक बनाउन सकिनेमा विश्वाश गर्न सकिन्छ र केवल वैज्ञानिक समाजवादले मात्र २१ औं शताब्दीमा स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, समृद्धि भ्रष्ट्रचार मुक्त सामाज र भ्रष्ट्रचार मुक्त राज्य प्राप्त वा हासिल गर्न सकिन्छ । त्यसको लागि नेपालमा भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु, वामपन्थी पार्टीहरु, समाजवादी पार्टीहरु, बुद्धीजिवीहरु, र सम्पुर्ण समाजवादी शक्तिहरु बीचको एकता, धू्रवीकरण बीच बाटा नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नु पर्ने प्रमुख आजको आवश्यक्ता हो । यो कम्युनिष्ट केन्द्रबाट मात्र नेपालमा समाजवाद प्रप्त गर्न सकिन्छ र संम्भव पनि छ ।