अमर समाजवादी क्रान्तिको ध्येय र वर्तमान आवश्यकता

२०८२ कार्तिक २३ गते, शनिबार

लोकनारायण सुवेदी

विश्वले हरेक वर्ष महान् अक्टोबर समाजवादी क्रान्ति दिवस मनाउने गर्दछ । यो तत्कालीन रूसी पत्रो अनुसर ७ नोभेम्बरका दिन पर्दछ । यस वर्षको यो महान अक्टोबर क्रान्तिको वार्षिकोत्सवको अवसर(नोभेम्बर ७)लाई पनि विभिन्न किसिमले स्मरण गर्ने कार्यक्रम गरिँदैछ । त्यो क्रान्ति रुसी क्रान्तिकारी माक्र्सवादी चिन्तक तथा सुझबुझपूर्ण किसिमले जनताको संघर्षको सफल नेतृत्व गर्ने नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा विश्वलाई नै नयाँ मोड दिने र अपूर्व प्रभाव पार्ने यो श्रमजीवी जनताको एक अपूर्व वर्गीय क्रान्ति थियो र हो । विश्व मानव इतिहासमा त्यस पूर्वका सबै क्रान्तिहरुभन्दा गुणात्मकरुपले नै अत्यन्तै भिन्न र उन्नत स्तरको गम्भीर, गहन र गहिरो प्रभाव पार्ने क्रान्ति थियो त्यो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित वर्ग र समुदायका पद दलित–मजदुर किसान र समाजका अरु उत्पीडित समुदाय र क्षेत्रका जनताको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानव समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनै स्थिति नै नरहेको बिल्कुलै नयाँ समाजको निर्माण गरेको थियो । स्पष्टतः एउटा ‘शोषण मुक्त मानव समाज’ ! को सिर्जना गरेको थियो ।

 त्यसैले यो क्रान्ति पूववर्ती क्रान्तिहरुभन्दा उच्च, भिन्न र महान क्रान्ति भएको हो । रुस र बाँकी विश्वलाई नै अपूर्व नयाँ सन्देश, उत्साह र ऊर्जा प्रदान गर्ने १९१७ अक्टोबर २५ मा सम्पन्न यस क्रान्तिले ‘समाजवादी सोभियत संघ’नामको एउटा नयाँ समाज व्यवस्था स्थापना गरेको थियो र विश्वमा पहिलो पटक शोषित पीडित जनताको पहल र प्रयत्नमा एउटा छुट्टै र आफ्नै विल्कुलै नयाँ– शोषित पीडित वर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।

यद्यपि आज त्यो लेनिनले स्थापित र आरम्भ गरेको तथा क्रान्तिकारी नेता स्टालिनले निर्माण गरेको समाजवादी सोभियत संघ केबल इतिहासको एउटा अध्याय बनेको छ । तर, आम शोषित पीडित रुसी जनताकासाथै समाजवादी सोभियत संघमा आवद्ध देशका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र मनोरञ्जनलगायत सर्वतोमुखी मानवीय विकासको सुनिश्चितता प्रदान गर्ने, विश्व साम्राज्यवादलाई लल्कार्ने र साम्राज्यवाद, उपनिवेशबाद, नव उपनिवेशवादका आधारमा प्रभुत्व जमाउने र शोषण गर्ने शक्तिका विरुद्ध निर्धक्कका साथ खडा हुने सोभियत समाजवादी समाज आज अस्तित्वमा छैन । त्यसो हुनुमा गम्भीर सैद्धान्तिक विचलन र तदनुरुपका वयवहार खासगरी स्टालिनको देहाबसानपछि सुरु भएको संशोधनवादी खु्श्चोभी चिन्तनले महान अक्टोबर समाजवादी क्रान्ति तथा माक्र्सवाद लेनिनवादको मर्म र भावना अनुरुप नचलेको गम्भीर प्रतिप्रवाहकारी प्रकृतिको आन्तरिक स्थिति र बाह्य साम्राज्यवादी एवं प्रतिकृयावादी षड्यन्त्रका कारण त्यो शोषणरहित समाज पुनः शोषणयुक्त समाजमा परिणत भएर प्रतिगमन हुन पुग्यो । विश्वका मुक्तिकामी जनता र राष्ट्रका लागि यो अत्यन्तै ठूलो गम्भीर प्रतिगामी धक्का थियो र हो । त्यसको विश्वव्यापी असर प¥यो नै । यस बारेमा छुट्टै गम्भीर, गहन र गहिरो अध्ययन र विश्लेषण गरिनु अत्यावश्यक छ । तर त्यस धक्काले महान अक्टोबर समाजवादी क्रान्तिको मूल ध्येय– सबै किसिमका शोषण उत्पीडनबाट मानवताको मुक्ति र त्यसले विश्वव्यापीरुपमा पारेको अग्रगामी उत्साहकारी प्रभाव कमजोर भएको छैन । क्रान्तिकारी आमूल परिवर्तनको दिशामा केही क्षण ठूलो भ्रम सिर्जना गरेको र अल्मलमा पारेको भए पनि, फेरि पनि त्यसले त्यो मानव मुक्तिको दिशालाई बदल्न सक्ने कुरा थिएन । त्यसैले धक्कालाई ब्यहोर्दै र समीक्षा गर्दै विश्वभरी नै कम्युनिष्ट आन्दोलन फेरि पनि सबै किसिमका शोषणबाट मानव मुक्तिको ध्येयमा आ–आफ्नै किसिमले अघि बढ्दैछ र यसलाई पुनः माक्र्सवादी लेनिनवादी सार्वभौम क्रान्तिकारी नियमका आधारमा एकीकृतरुपमा साझा बिन्दू पहिल्याएर अझ सही र उन्नत दिशामा अघि बढाउन सुझबुझपूर्ण र साहसिक पहल प्रयत्न गर्नु पर्ने अत्यावश्यक कुरा छ । यसै सन्दर्भमा हामीले अक्टोबर क्रान्तिलाई सही परिपेक्षमा बुझ्नु बुझाउनु पर्दछ र सही दिशामा अघि बढ्न सिक्नु र सक्नु पर्दछ ।

अक्टोबर समाजवादी क्रान्तिको कुरा गर्दा हामीले के बिल्कुलै बिसर्न हुदैन भने त्यतिबेला रुसमा एकदमै निरंकुश राजतन्त्र जारको शासन थियो र त्यसलाई जारशाही भनिन्थ्यो । जमिन्दार वर्गको त्यो जार साम्राज्य त्यसबेलाको मध्य एयिशासम्मै फैलिएको थियो । तथ्यांक अनुसार रुसमा क्रान्तिपूर्वको सबैभन्दा पछिल्लो जार शासकको अधिनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो देशको जमिनमाथि स्वामित्व रहेको र २८,००० ठूला जमिन्दारहरु रहेको कुरा इतिहासमा अंकित छ । ती र अरु ठूला साना सबै जमिन्दारहरुको स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार एकड जमिन रहेको उल्लेख छ । त्यस्तो पुरानो सामन्ती स्थितिका साथै औद्योगिक र खानीको क्षेत्रमा प्रवेश भएको ठूलो पूँजीवादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्ध सामन्ती जमिन्दारी प्रणालीको रुपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पूँजीवादको विकास तीव्ररुपमा हुँदै गएको थियो तर यूरोपका अरु देशहरुसँगको तुलनामा त्यतिबेला पनि रुस मूलतः पिछडिएको अवस्थाबाटै गुज्रिरहेको थियो ।

त्यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो विश्व युद्ध(१९१४–१८)मा सामेल भएको थियो । विश्वलाई आ–आफ्ना स्वार्थ अनुकूल विभाजन गर्ने त्यो विश्वमा घटित पहिलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका श्रोत सानधहरुमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । त्यस क्रममा जारशाहीले रुसका लाखौ लाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती रुसी सेनामा भर्ना लिन र युद्धको अग्रिम मोर्चामा खडा भएर लड्न बाध्य तुल्याइरहेको थियो । त्यसले गर्दा हजारौं हजार रुसी सीपाहीहरुले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरीव तप्काका पनि सबैभन्दा गरीव किसानहरु त रुसी जमिन्दारका दास सरह मात्र थिए र प्रायः तिनले सधैजसो मालिकको कोर्रा खाने गर्दथे ।

त्यस्तो युद्ध र दासताको अन्त्यन्तै पीडादायक स्थितिमा रुसमा व्यापक जन असन्तोष फैलिरहेको थियो । त्यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खाशगरी रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका विरुद्ध जन विद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही नेतृत्व ग¥यो । त्यो आम जन बिद्रोहले फेबु्रअरी १९१७ मा ठूलो क्रान्तिको रुप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो । त्यसको स्थानमा पूँजीवादी प्रभुत्व भएको केरेन्स्कीको सरकार आयो । त्यो फेब्रुअरी क्रान्तिले जारशाही सत्ताको प्रतिकृयावादी तप्कासँग सम्झौताको नीति लियो र ठूला पूँजीपति वर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा केरेन्स्की नेतृृत्वको त्यो सरकारकाप्रति पनि जन असन्तोष तीव्ररुपले बढ्दै गयो, खाशगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो सरकार धेरै नै अप्रिय बन्न पुग्यो । यद्यपि त्यही फेब्रुअरी क्रान्तिको दौरानमा लोकप्रिय शक्तिकोरुपमा जनताका नयाँ पद्धतिहरु जस्तै सोभियतहरु–मजदुर, किसान र सैनिकहरुका सोभियतहरुलाई एउटा शसक्त शक्तिको विकासको पहलकोरुपमा अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख शहरहरु र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।

 बोल्शेभिक पार्टी—जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिष्ट पार्टीको रुपमा प्रकट भयो–ले श्रमजीवी जनता र सेनाका विभिन्न टुकुडीहरुका बीचमा बनेका सोभियतहरुबाट बढ्दो मात्रामा ठूलो समर्थन पाउदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो संक्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठूलो असन्तोषलाई झेल्नु परेको थियो । राजधानी पेत्रोग्राद र मास्को जस्ता शहरहरुमा सर्बहारा वर्गले आफ्नै सोभियतहरु खडा गरेका थिए, सैनिकहरुले सरकारको साथ दिन छोड्दै बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्रभरीनै त्यतिबेला ग्रामीण किसान र कृषि मजदूरहरुले जमिन्दार र तानाशाहरुको जमिन आफ्नो हातमा लिन शुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिकहरुले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररुपमा उठाइरहेका थिए । त्यस स्थितिलाई कुशलतापूर्वक नियालिरहेका निपूण र जनताका कुशल राजनेता लेनिनले सेनालाई सेनाको बर्दीमा यो किसानहरुकै जमात हो भनेर प्रष्ट दर्शाएका थिए ।

विकसित भएको ठिक यस्तो वस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ठोस परिस्थितिको एकदमै ठोस विश्लेषण गर्दै देश बुर्जआ क्रान्तिको पहिलो चरणबाट दोश्रो चरणतिर अघि बढिरहेको र यो दोश्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्वहारा वर्ग र गरीव किसानको सबैभन्दा बिपन्न तप्काको हातमा सुम्पनु पर्दछ भन्ने प्रष्ट घोषणा र दिग्दर्शन गराएका थिए ।

अन्ततः यसरी क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र आह्वानमा अक्टोबर २५ (पुरानो रुसी पात्रो अनुसर नोभेम्बर ७)का दिन मजदुरहरुको सेना(रेडगार्ड) र सेनामा भएका क्रान्तिकारी सैनिकहरु केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्यूत गर्न अघि बढे । यस क्रममा राजधानी पेत्रोग्रादमाथि कुशलतापूर्वक कब्जा गर्दै त्यो क्रान्ति सफलताका साथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरुमा लगातार मास्को र अन्य केन्द्रहरुमा अझैपनि जार समर्थक, भक्त र समर्पित प्रतिरोधीहरु र प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरी नै पुरानो जार साम्राज्य र सत्ताका अरु क्षेत्रहरुमा पनि सोभियत शक्तिको स्थापना गर्दै गयो । यस प्रकार क्रान्तिको समग्र बिजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने ‘जन कमिसार काउन्सिल’ स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो । यसले प्रष्ट पार्दछ कि क्रान्तिपछि शासक होइन, क्रान्तिकारी जन सेबक बन्ने हो ।

 संघर्षको बेला बोल्शेभिकहरुले जनतालाई ‘भूमि, शान्ति र भोजन’ भन्ने महत्वपूर्ण नाराको वरिपरी एकतावद्ध गरेका थिए । ठीक त्यही कुरालाई मूर्त र प्रष्टरुपमा अघि बढाउन लेनिन नेतृत्वको ‘जन कमिशार काउन्सिल’ले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधीहरुको ‘सोभियत’ समक्ष पहिलो पटक सबैभन्दा उच्च प्राथमिकताकासाथ ‘भूमि र शान्ति’ सम्वन्धि सबैभन्दा गम्भीर महत्वको आज्ञाप्ति जारी ग¥यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरुको सबै जमिन, चर्च र गुम्बाहरुको अधिनमा रहेका जमिन र जमिनसँग सम्वन्धित सम्पत्तिहरु स्थानीय र जिल्ला स्तरीय किसान सोभियत कमिटीरुलाई सुम्पनु पर्ने नियम बनाएर तदारुखताका साथ त्यसलाई लागु ग¥यो ।

अनि यस कदम सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति– ‘शान्ति सम्वन्धि आज्ञाप्ति’ले ततकाल युद्धको अन्त्य गर्न, र युद्धमा संलग्न सबै सम्बद्ध देशहरुसँग शान्ति वार्ता गर्न ठोस प्रस्तावका साथ जोडदार अपील ग¥यो । त्यो सोभियतहरुको नव गठित ‘जन कमिसार काउन्सिल’ले कुनै क्षतिपूर्ति र बिजित या पराजित भू–भागको कुनै कुरा बिना नै यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता व्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा ब्यक्त गरेर प्रकाशमा ल्यायो र यसरी शान्तिलाई सर्वोच्च प्राथमिकता दियो ।

क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जन कमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुबिधा सबैलाई तथा नयाँ समाजवादी सोभियत संघको निर्माण(यूएसएसआर) जस्ता थप कुराहरु समेत त्यो आज्ञाप्ति मार्फत प्रस्तुत गरियो ।

वास्तवमा जारकालीन रुस ‘विभिन्न जातिहरुका निमित्त एउटा बन्दी गृह’ जस्तै नै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरुलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त गरिदियो र तिनलाई समाजवादी सोभियत यूनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान गरेर उच्च चरणाको विकासाको बाटो खोलिदियो ।

तर, भर्खर जन्मिएको कलिलो समाजवादी सोभियत संघले यी कुराहरु अघि बढाउन पाउदा नपाउदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरुको तीव्र प्रतिरोधको सामना गर्नुपरेको थियो । वास्तवमा त्यतिबेला रुसमा एउटा जटील गृह युद्धको आगो दन्कियो । त्यसले गर्दा लाल सेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरुसँग भिड्नैपर्ने स्थिति आयो । बृटेन, जर्मनी र फ्रान्सलगायत १० वटा पूँजीवादी देशहरुले रुसको क्रान्तिविरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको निरन्तर ठूलो समर्थन र सयहयोग गरिरहेका थिए । चार वर्षसम्म यस्तो घनघोर लडाई चलेपछि लालसेनाले क्रान्तिविरोधी प्रतिकृयावादी शक्ति र श्वेत सेनामाथि बिजय हासिल ग¥यो । त्यस प्रकृयामा मजदुर किसानको भर्खरै स्थापित भएको सत्ताले अत्यन्तै ठूलो मूल्य चुकाउनु परेको र अभूतपूर्व बलिदान दिनु परेको थियो ।

यो आलेखको आरम्भमा नै भनिएको छ कि त्यो महान समाजवादी अक्टोबर क्रान्ति विश्वमा पहिला पहिला भएका विभिन्न प्रकृतिका क्रान्तिहरुभन्दा भिन्न, उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो र हो । १७८९ मा भएको प्रसिद्ध फ्रान्सेली क्रान्तिदेखि यता पनि विश्वमा अरु ठूल्ठूाल क्रान्तिहरु हुदै र तिनले सत्ता हातमा लिदै पनि आएका हुन् । तर ती क्रान्तिहरु मार्फत पुरानो सामन्त वर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ वर्ग अर्थात् पूँजीवादी वर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक वर्गको स्थानमा नयाँ शोषक वर्ग फेर्ने रुपमा मात्र ती पुराना क्रान्तिहरु भएका थिए । तर, महान अक्टोबर क्रान्ति ती क्रान्तिहरु भन्दा फरक क्रान्ति थियो र हो । निश्चय नै इतिहासका विभिन्न चरणमा विभिन्न ठूल्ठूला क्रान्तिकारी आन्दोलन र परिवर्तनहरु भएका हुन् । उदीयमान नयाँ शोषक वर्गले पुरानो शोषक वर्गलाई सत्ताबाट विस्थापित पनि गरेको हो । यही घटना सामन्त वर्गविरुद्ध पूँजीवादी वर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर, अक्टोबर समाजवादी क्रान्ति यस अर्थमा के फरक छ भने शोषक शासक वर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, विपन्न किसान जो शोषक वर्गबाट हर किसिमले प्रताडित थिए तिनले शोषक वर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक वर्गको सत्ता होइन कि शोषित पीडित वर्गको सत्ता विश्वमा पहिलो पटक स्थापित र आरम्भ भयो ।

रुसको त्यो महान समाजबादी क्रान्तिमा सर्वहारा श्रमजीवी वर्गको नेतृत्वदायी भूमिका रहेकोले गर्दा यो विश्वको पहिलो समाजवादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जति बेला पुरानो राज्य यन्त्र सबै किसिमले समाप्त हुन्छ र नयाँ जन राज्ययन्त्र स्थापित हुन्छ । ठीक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र नब स्थापित समाजबादी सोभियत संघ खडा गरेको थियो । जुन मजदुर, विपन्न किसानलगायत सबै वर्गीय शोषण र समाजिक उत्पीडनमा परेका वर्ग र समुदायको शासन सत्ता कायम भएको थियो । जहाँ उत्पादनका साधनहरुको समाजिककीरकण गरिन्छ र उद्योग, जमिन र कृषि तथा अन्य उत्पादनका साधनहरु राज्यको मातहतमा हुने र सबैले सामुहिक स्वामित्व ग्रहण गर्ने कुरा यसमा निहीत थियो । वास्तबमा समाजवादी उत्पादन पद्धति विश्वमा पहिलो पटक त्यही सोभियत सत्ताले व्यवहारमा उतारेको, कायम गरेको र सफल पारेको हो ।

यसरी विश्वको क्रान्तिकारी आमूल परिवर्तनवादी दर्शन माक्र्सवादलाई सही किसिमले बुझ्दै, पक्रिदै र लागु गर्दै तथा अझ विकसित तुल्याउँदै लेनिनले जुन समाजवादी सोभियत संघ स्थापित र विकसित गरेका थिए र स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहीत विश्व समाज आज रहेको छैन । सोभियत कम्युनिष्ट नेतृत्वमा आएको घोर सैद्धान्तिक बिचलन र बाह्य प्रतिकृयावादी शक्तिहरुको कारण शोषित पीडित जनताको त्यो विश्वको पहिलो राज्य व्यवस्था समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक तथा राजनीतिक मानवीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यबान परम्पराले आज पनि विश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ र सही, रचनात्मक र मानवीय बाटो देखाइरहेको छ । त्यो महान अक्टोबर समाजवादी क्रान्तिको ध्येय अमर रहोस् !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु