सम्राज्यवादका सम्राट र शहरका विद्रोही
सम्राज्यवादका सम्राटहरूको चाहना सधैं एउटै रह्यो–शहरमा सन्नाटा होस्, सडकहरू केवल उनीहरूको जुलुसले भरिऊन्, भीडहरू नाचून् तर गीत उनीहरूको बजोस् । शहरका जनता र विद्रोहीहरू एउटै चोकमा भेटिए भने इतिहास तात्छ, तानाशाहीको किल्ला भत्किन्छ, त्यसैले उनीहरू सधैं डराउँछन्–भेट हुन नदिन ।
शहरको हरेक टावर, हरेक पुल, हरेक चौकमा उनीहरूको निगरानी छ । सीसीटिभीको आँखाभन्दा पनि डरिलो हुन्छ उनीहरूको भय । उनीहरूका लागि जनताको भीडभन्दा खतरनाक कुनै हतियार छैन, किनभने विद्रोह शब्दले उनीहरूको सिंहासन हल्लाउँछ । त्यसैले उनीहरू “सुरक्षा” को नाममा विद्रोहको स्पन्दन मार्न खोज्छन् । तर शहरभित्र अदृश्य आवाजहरू उठिरहेका छन् । गली–गलीमा कविताले ज्यान पाउँछ, भित्तामा लेखिएका नाराले भुइँमुनिको कम्पन सुनाउँछन् । विद्रोहीहरू कवि बनेका छन्, कलाकार बनेका छन्, उनीहरू गाउका हिलो लिएर शहरको काँक्रो सडकमा इतिहास लेखिरहेका छन् ।
सम्राटहरूलाई थाहा छ–सत्यलाई मार्न सकिँदैन, केवल ढाक्न सकिन्छ । त्यसैले उनीहरूले मिडिया किन्दछन्, प्रहरी पठाउँछन्, विद्रोहीलाई आतंकवादी भन्छन् । तर जनताको चेतनाले कुरा बुझिसकेको हुन्छ । जब गरिवका पेटमा भोक हुन्छ, जब असमानताले गला थिच्छ, तब कुनै प्रचारले पनि घाम ढाक्न सक्दैन । बिद्रोहीहरू शहरका अँध्यारो गल्लीमा भेट्छन् । उनीहरूको योजना कुनै हतियारको होइन, चेतनाको हुन्छ । उनीहरू किताब बोलाउँछन्, गीत बोलाउँछन्, चित्र बोलाउँछन् । शहरका बत्ती निभिँदा उनीहरूका आँखा बल्छन् । सम्राटहरू ढोका बन्द गर्छन्, उनीहरू भित्ताबाट पस्छन् ।
सम्राज्यवादको स्वरूप बद्लिएको छ–पहिले सैनिक बुटले कुचिन्थ्यो, अहिले पूँजीले कुचाउँछ । पहिले बन्दुकको नलीबाट शासन गर्थे, अहिले बैंक र कम्पनीबाट गर्छन् । शहरका नागरिकहरू उपभोक्तामा परिणत छन्, स्वतन्त्रता किनबेच हुने वस्तु बनेको छ । तर बिद्रोहीहरू त्यो बजारमा मूल्य तोड्न आएका छन्–स्वतन्त्रताको मूल्य शून्य हुनुपर्छ, किनभने त्यो जन्मसिद्ध अधिकार हो ।
सम्राटहरूको चाहना–शहरभित्र आवाजहरू फरक–फरक रहुँन् । वर्गीय विभाजन, जातीय विभाजन, भाषिक र धार्मिक भेदहरूले जनता छुट्टिइरहन् । किनभने जब जनता एक हुन्छ, सम्राट ढल्छ । उनीहरूले भन्छन्, “जात तिम्रो चिनारी हो”, “धर्म तिम्रो गौरव हो”, “अन्तर तिम्रो पहिचान हो ।” तर यथार्थमा ती सब विभाजनका बाँडफाँड हुन्, जसले विद्रोहको एकतालाई तोड्छ ।
विद्रोहीहरू अब बुझिसकेका छन–वर्गको लडाइँ केवल बन्दुकको होइन, विचारको पनि हुन्छ । विचार जब जाग्छ, तानाशाहीको टेबल हल्लिन्छ । त्यही भएर सम्राटहरू स्कूल कब्जा गर्छन्, विश्वविद्यालयलाई बजार बनाउँछन् । उनीहरू पढाइमा “सफलता” सिखाउँछन्, “संघर्ष” होइन ।
शहरका युवा अब विस्तारै जाग्दैछन् । उनीहरूले देख्न थालेका छन्–डिग्रीले होइन, दृष्टिले संसार बदलिन्छ । उनीहरूले कवितामा बिद्रोह लेख्न थालेका छन्, चित्रमा प्रतिरोध रचेका छन्, गीतमा क्रान्तिको धुन बजाउन थालेका छन् । सम्राटहरू तर्सन थालेका छन्–किनकि कलाले तिनको सिंहासनमा दरार पार्दैछ ।
सम्राज्यवाद अब केवल बाह्य शक्ति होइन, हाम्रो भित्रको उपभोगी संस्कृतिमा पनि पसिसकेको छ । हामी आपूmलाई ब्रान्डले परिभाषित गर्छौं, र त्यो परिभाषा नै दासत्व हो । विद्रोहीहरूले अब लड्नुपर्छ केवल शासन विरुद्ध होइन, आफैंभित्रको उपभोगी बानीसँग पनि । जबसम्म चेतनाको शुद्धिकरण हुँदैन, तबसम्म क्रान्ति अधुरो रहन्छ । शहरका गल्लीहरूमा विस्तारै नयाँ जनयात्रा सुरु हुँदैछ । स्कुटरको आवाजबीच नाराहरू बज्छन्, बत्तीमुनि पर्चा झर्छ, कविताले चर्को प्रतिवाद गर्छ । विद्रोहीहरू ‘साइलो’ होइनन्, तिनीहरू ‘नेटवर्क’ हुन–विचारको । जुन नेटवर्क बन्द गर्न सकिँदैन ।
सम्राटहरूलाई अन्ततः बुझ्नै पर्छ–शहरमा जनता र विद्रोही अलग गर्न खोज्नु असम्भव छ, किनभने जनता नै विद्रोहको ऊर्जाश्रोत हुन् । शहरको भीडभित्र, ट्राफिकको आवाजभित्र, हरेक मजदुरको पसिनामा, हरेक विद्यार्थीको प्रश्नमा विद्रोह लुकेको छ । र जब यो चेतना सामूहिक रूपले जाग्छ, सम्राटहरूको सबै योजना ध्वस्त हुन्छ । त्यस क्षणमा शहर केवल शहर रहँदैन–यो आन्दोलन बन्छ । सडकहरू कविताको रगतले रङिन्छन्, भित्ताहरू इतिहासको घोषणापत्र लेख्छन् ।
सम्राज्यवादका सम्राटहरूको चाहना जति गहिरो हुन्छ, विद्रोहीहरूको सपना त्यति उँचो हुन्छ । उनीहरूले सधैं सोच्दछन–जनतालाई नसोच्न देऊ । तर चेतना एकपटक उठिसकेपछि, त्यसलाई कुनै करारले, कुनै सम्झौताले, कुनै गोलीले पनि रोक्न सकिँदैन । अब शहरका जनताले थाहा पाइसकेका छन्–सम्राटहरू न त देशका हुन्, न जनताको । उनीहरू केवल नाफाका हुन् । र जनता अब घाटा सहन तयार छैन । उनीहरू उठ्न थालेका छन्, मौनता फुट्दैछ, डर विस्तारै हराउँदैछ । यस विद्रोहको आवाजले एकदिन सबै साम्राज्य हल्लाउनेछ । किनभने शहरका जनता र विद्रोहीहरू अब एउटै मञ्चमा भेटिएका छन् । त्यही मञ्च इतिहासको मञ्च हो–जहाँ सम्राज्यवादका सम्राटहरूको अन्त्य लेखिँदैछ ।
जब विचार आफ्नै मस्तिष्कभित्र घाउ बनिन्छ, त्यसबेला सिद्धान्त शवघरसम्म पुग्छ र जब सिद्धान्त मर्छ, त्यसपछि बाँच्ने कुरा हुन्छ व्यक्तिगत स्वार्थ, गालीगलोज र विकृत आवेग । यस्तो अवस्थामा विचारको रक्तसञ्चार रोक्छ र क्रान्तिको मुटुमा रक्तको साटासाट बन्द हुन्छ । तर मालेमावादको आत्मा कहिल्यै मर्दैन । त्यो पुनःजागरण हुन्छ जब कोही एक व्यक्ति “अनिश्चय, संभावना, रक्षा र रूपान्तरण” भन्ने विधि सम्झन्छ । यही विधि हो जुन अन्धकारमा पनि दिशा देखाउँछ । “तथ्यद्वारा रूपान्तरण” भन्ने विप्लवी विधिले यही देखाउँछ ।
वास्तवमा परिवर्तन कुनै आदर्श नारा होइन, त्यो त वास्तविकता र तथ्यबाटै निस्कने सत्य हो । विप्लवको नेतृत्वमा गरिएको विद्रोहले यिनै चार स्तम्भहरूमा आफ्नो यात्रा तय गरेको छ । त्यो विद्रोह केवल बन्दुकको आवाज होइन, त्यो आवाज हो विचारको पुनर्जन्मको । तीनवटा महान अंग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद– यी सबै क्षेत्रमा नयाँ संश्लेषणको यात्रा सुरु भयो ।
दर्शनले बुझायो कि चेतन र वस्तुगत वास्तविकता बीचको सम्बन्ध स्थिर छैन । राजनीतिक अर्थशास्त्रले देखायो कि उत्पादन सम्बन्ध बदल्न बिना चेतनाको रूपान्तरण अधुरो रहन्छ र वैज्ञानिक समाजवादले बुझायो । जनताको चेतना नै उत्पादनशक्ति हो, जसले समाजलाई नयाँ उचाइमा पु¥याउँछ । आजको युगमा वैचारिक स्खलन नयाँ रोगजस्तै फैलिएको छ । सिद्धान्तका नाममा आत्मप्रशंसा, बहसका नाममा गाली, आलोचनाका नाममा व्यक्तिगत हिनता यिनीहरू सब मालेमावादका विपरीत बीउ हुन् ।
जब विचार व्यक्तिगत वैरको विषय बन्छ, त्यो क्रान्ति होइन, त्यो भनेको आत्मघात हो । त्यो क्षणमा सिद्धान्त माफ गर्छ, तर इतिहास माफ गर्दैन । हामीले बुझ्नैपर्ने कुरा के हो भने राजनीतिमा कुनै पनि व्यक्ति सदाका लागि मित्र हुँदैन, सदाका लागि शत्रु पनि हुँदैन । यो द्वन्द्वको सिद्धान्त हो, जहाँ विरोध नै रूपान्तरणको माध्यम बन्छ । माक्र्सले भनेझैं, सबै कुरा परिवर्तनशील छन् । त्यो चेतनामा लागू गर्न नसक्ने हो भने हामी केवल नारावादी हुन्छौं, क्रान्तिकारी होइन । विप्लवले यही कुरा व्यवहारमा उतारेर देखाएका छन् । उनको विद्रोहले मालेमावादलाई नयाँ भाषामा अनुवाद गरेको छ । यो भाषामा बन्दुक, विचार र तथ्य एकै वाक्यमा बस्छन् । यो भाषामा “सत्ता” केवल कब्जा गर्ने वस्तु होइन, त्यो त “मानव चेतना रूपान्तरण गर्ने प्रक्रिया” हो ।
हामीले बुझ्नुपर्छ, सिद्धान्त स्थिर शब्द होइन । त्यो प्रयोग, संघर्ष र असफलताबाट निस्कने शक्ति हो । जब सैद्धान्तिक बहस ठप्प हुन्छ, त्यतिबेला पार्टी निदाउँछ । जब बहस पुनःजागृत हुन्छ, पार्टी फेरि बाँच्न थाल्छ । त्यसैले आजको प्रमुख कार्य हो–विप्लवी संश्लेषणहरूमा गम्भीर बहस गर्नु, नारा होइन, तथ्य बोल्ने बहस, स्लोगन होइन, प्रयोग देखाउने बहस ।
२१औं शताब्दीको नयाँ कम्युनिष्ट घोषणा–पत्र पुरानो पुस्तिकामा होइन, नयाँ चेतनाको पाना–पानामा लेखिँदैछ । यो घोषणा केवल शब्द होइन । यो त भविष्यको प्रतिज्ञा हो, जहाँ वर्गसंघर्षको अर्थ केवल सत्ताको कब्जा होइन, बरु चेतनाको मुक्ति हो । रूपान्तरणको कुरा गर्दा, हामीले आफ्नै मनभित्रको जडता तोड्नैपर्छ । क्रान्तिको पहिलो मोर्चा बाहिर होइन, भित्रको सोचमा हुन्छ ।
भित्रको डर, द्वन्द्व, शंका । यिनै हुन् प्रतिक्रान्तिका मूल जरा । तिनलाई जित्न सकेनौं भने, हामी जति नाराले मुख ढाकौँ पनि, त्यो केवल मुखुण्डो हो, अनुहार होइन ।
आजको युगमा मालेमावादको पुनर्जागरण विचारको युद्ध बनेको छ । मिडिया, प्रोपेगान्डा, भ्रम यी सबै नव–साम्राज्यवादी हतियार हुन् । तिनीहरूले सत्यलाई धूमिल पार्छन् र मस्तिष्कलाई थकित बनाउँछन् । त्यो थकानबाटै जन्मिन्छ वैचारिक स्खलन । त्यसैले, हामीले “सैद्धान्तिक अनुशासन” लाई पुनःस्थापित गर्नैपर्छ । त्यो अनुशासन न हो भने, क्रान्तिको सैद्धान्तिक मेरुदण्ड भाँचिन्छ ।
विप्लवी संश्लेषण कुनै चमत्कार होइन, यो निरन्तर अभ्यासको परिणाम हो । “अनिश्चय” भित्र पनि संभावना खोज्ने क्षमता, “रक्षा” गर्दै रूपान्तरण गर्ने क्षमता, र “तथ्यद्वारा प्रमाणित” परिवर्तन यही हो नयाँ मालेमावादको आत्मा । यो आत्मा कुनै ग्रन्थबाट होइन, जनताको दुःख र संघर्षबाट जन्मिएको हो । आजको मालेमावाद, विप्लवकै शब्दमा भनौँ भने “विचारलाई जीवनमा उतार्ने विज्ञान” हो ।
त्यसैले हामी सबैले सोध्नैपर्छ, हाम्रो सिद्धान्त कति व्यवहारमा पुगेको छ ? हाम्रो व्यवहार कति सिद्धान्तसँग मेल खान्छ ? यो आत्मसमिक्षा नै क्रान्तिको स्थायी ऊर्जा हो । विप्लव भनेको परिवर्तन होइन, परिवर्तनको सत्यतिरको यात्रा हो । त्यो यात्रा कहिल्यै सजिलो हुँदैन तर त्यसमा हिँड्न नसक्ने हो भने हामी इतिहासका केवल दर्शक मात्र बनिन्छौं । तर हामी दर्शक होइनौं, हामी निर्माणकर्ता हौं । र निर्माणकर्ताको हातमा हुन्छ । कलम पनि, बन्दुक पनि, चेतना पनि ।
अन्त्यमा, सिद्धान्त र व्यवहार बीचको दूरी घटाऔं । “तथ्यद्वारा रूपान्तरण”लाई जीवनको सूत्र बनाऔं । वैचारिक स्खलन होइन, वैचारिक पुनर्जन्मको दिशा लिऔं । कारण सरल छ– विप्लव मर्छ जब विचार मर्छ र जब विचार पुनःजागृत हुन्छ, त्यो क्षणमा नै समाज पुनर्जन्म लिन्छ ।

