माओवादी पहिचान मेटाउने खेल र प्रचण्डको भगौडापथ

२०८२ मंसिर १६ गते, सोमबार

सन्तोष सी

नेपालको क्रान्तिकारी यात्रा कुनै एक व्यक्ति, कुनै एक अभियान वा कुनै एक क्षणको जगमा उभिएको थिएन । माओवादी नामसँगै जनयुद्धको रगत, हजारौँ योद्धाको शहादत, अनगिन्ती परिवारको बलिदान र जनताको गहिरो आशा मिसिएको थियो । तर आज त्यही नामबाटै तर्सने, त्यही इतिहासलाई आफ्नै महत्वाकाङ्क्क्षाका लागि च्यात्न खोज्ने, जनयुद्धको रक्त पसिनालाई निजी व्यापारझैँ चलाउने पात्र नै प्रचण्ड स्वयं हुन पुगेका छन् योभन्दा ठूलो व्यङ्ग्य नेपाली कम्युनिष्ट इतिहासमा अर्को भेटिंदैन ।

माओवादी नामबाट भागेका, तर आपूmलाई आज पनि क्रान्तिको एक मात्र ठेकेदार देखाउन खोज्नेहरूको दम्भ बुझ्न गाह्रो छैन । तर समस्या के हो भने यी व्यक्तिहरू बढी बोल्छन्, तर कुराको आयु बिहानको कुहिरोभन्दा लामो हुँदैन । प्रचण्ड आज जुन ठाउँमा उभिएका छन्, त्यहाँ सत्य बोल्न खोज्नेहरू ‘रैती’ बन्नेछन्, र सत्ता र समझौताको दलदलमा डुबेकाहरू ‘नेता’ कहलिन्छन् । यही विकृत मनोविज्ञानमा प्रचण्डले माओवादी पहिचानलाई नै शत्रुवत् व्यवहार गर्न थालेका छन् ।

विप्लवले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नाम पुनः अंगीकार गर्नु केवल संगठनात्मक निर्णय मात्र होइन यो मेटिँदै गएको इतिहासको संरक्षण हो । यो नाम जनयुद्धपछि विस्तारै–विस्तारै भ्रष्ट नेतृत्वले बिगारिदिएको त्यो वैचारिक घरको पुनर्निर्माण हो । प्रचण्डले बनाएको ‘माओवादी केन्द्र’ नाम एउटा कार्यालयको बोर्डझैँ सजिलो ढङ्गले परिवर्तन भएको थियो, तर विप्लवको नेतृत्वमा माओवादी केवल नाम होइन एउटा प्रतिवद्धता हो ।

माओवादी नामबाटै तर्सनेहरूलाई आज धेरै फुइँ फाँक चलाउन सजिलो भएको छ । उनीहरूको राजनीति टनक–टनक आवाज निकाल्ने टिनका डब्बाजस्तै छ; भित्र केही छैन, तर बाहिर आवाज धेरै । तर इतिहास ठूला फोका होइन, ठूला बलिदानले लेखिन्छ । प्रचण्डको राजनीति आज सम्झौताका डगरमा उभिएको छ, जहाँ क्रान्तिको नाम बेचेर सत्ता किनिन्छ, नेता बेचेर पद किनिन्छ, र सिद्धान्त बेचेर महल किन्न सकिन्छ । यही कारणले माओवादी नाम उच्चारण गर्दा नै उनलाई डर लाग्छ किनकि त्यो नाममा उनको धोका, परित्याग र इतिहास–घातको दागहरू पोतिएका छन् ।

त्यसैले, माओवादी पहिचान जोगाउने प्रश्न आज केवल वैचारिक बहस होइन यो जनयुद्धको प्रतिष्ठाको प्रश्न हो । जब प्रचण्डले माओवादीबाट भागेका थिए, उनी आपूmलाई नयाँ ‘व्यवहारिक राजनीति’ को सूत्रदाता ठान्थे । आज उनी आफैँ आफैँबाट भागिरहेका छन्, किनकि जनता व्यवहारिक बन्न पुगेका छन् प्रलोभन होइन, काम माग्छन; भाषण होइन, चरित्र हेर्छन् ।

विप्लवले माओवादी नाम पुनस्र्थापना गर्नु भनेको पहिचान पुनःजागरण पनि हो, र माओवादी इतिहासलाई दलदलमा फाल्नेहरूको विरुद्ध एउटा मौन तर शक्तिशाली प्रतिरोध पनि हो । प्रचण्डले एमालेसँगको एकतामा माओवादी आत्मा गुमाएका थिए–तर आज इतिहासले फेरि अर्को प्रश्न तेस्र्याइदिएको छः

यो पटक पनि त्यही भागदौड दोहोरिन्छ ? एमालेसितको एकता झैँ फेरि नदोहोरियोस् । किनकि प्रचण्डले कहिल्यै स्थायी गन्तव्य बनाएका छैनन् उनका गन्तव्यहरू केवल अस्थायी चौकी मात्र हुन् । एक दिन एमालेसंगै ‘एकता एकता’ खेल, अर्को दिन कांग्रेससँग ‘राष्ट्रियता राष्ट्रियता’ को अभिनय, अनि तेस्रो दिन विदेशी शक्तिको ‘स्थिरता स्थिरता’ को मन्तव्य सबै उसको व्यक्तिगत अस्तित्व जोगाउने उपकरणबाहेक केही थिएन ।

विप्लवको पार्टीमा माओवादी नाम फर्किनु भनेको यही रङ परिवर्तन, यही अविराम समझौता–यात्रा र यही वैचारिक भगौडापनको प्रतिवाद हो । प्रचण्डले माओवादी नाम चलाएका थिए, तर माओवादी पहिचान मारे । विप्लवले माओवादी पहिचान बचाइरहेका छन्, भलेस, आजको सत्ता–भाषणले उनीहरूलाई ‘कट्टर’ भन्लान्, ‘कठोर’ भन्लान्, तर इतिहासले कमजोरहरूलाई कहिल्यै आदर दिँदैन । इतिहासले स्पष्ट धारणाहरूलाई मात्र आवश्यक ठान्छ ।

 यदि नामले मात्र डर लाग्छ भने, सिद्धान्तसँग त के कसरी सामना गर्नुहुन्छ ? किनकि माओवादी केवल ‘नाम’ होइन यो वर्गसंघर्षको घोषणा हो, सामन्तवाद विरुद्ध उठेको रगतको प्रमाण हो, जनयुद्धको जनतासित गरिएको वाचा हो । नाम परिवर्तन गरेर इतिहास बदलिँदैन; तर नाम बचाएर इतिहास बचिन्छ– यसै कारण विप्लवले माओवादी नाम पुनःस्थापना गर्नु इतिहासको पुनर्जन्म हो ।

आज प्रचण्डको राजनीतिक यात्रा एउटा दिशाहीन रेल झैँ छ, बन्दरगाह भेट्टाउन नसक्ने, कहिले–कहीले राजा–दरबार तिर घुम्ने, कहिले–कहीले विदेशी दूतावासको पार्किङमा अडिने, कहिले–कहीले जनताको नाममा जनतालाई नै धोका दिने । यस्तो यात्रा फेरि नदोहोरियोस्, फेरि एमालेसितको एकताको त्यो दयनीय खेल फेरि नचलोस् यही चेतावनी आजको माओवादी आन्दोलनले दिनुपर्नेछ । विप्लवको माओवादी नाम चयन केवल अतीतको सम्मान होइन यो भविष्यको दिशानिर्देश पनि हो ।

माओवादी पहिचान जोगाउनु भनेको क्रान्तिको मुल आत्मा जोगाउनु हो । अनि यही आत्मा मेटाउन लागिपरेका तर आज ठूलो–ठूलो फुइँ फुकिरहेकाहरूलाई अब बुझाउनुपर्ने कुरा सरल छ इतिहास नाम बोकेर भाग्नेहरूबाट होइन, नाम बोकेर उभिनेहरूबाट लेखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]