नेपालको कम्युनिष्ट आन्दोलनको सान्दर्भिक यात्रा
नेपालको राजनीतिक इतिहास हेर्दा समाज रुपान्तरणका सबै महत्वपूर्ण अध्यायहरूमा कम्युनिष्ट आन्दोलनको निर्णायक भूमिका रहेको देखिन्छ । जनयुद्ध, जनआन्दोलन, वर्ग वर्गीय संघर्ष, प्रतिरोध, किसान श्रमिकको हकहितलगायतका संघर्षले नेपाललाई आजको रुप ल्याउन महत्वपूर्ण योगदान दिएका छन् । तर समसामयिक परिस्थितिमा एउटा ठूलो बहस उठेको छ कम्युनिष्टहरूले चुनावमा जानु भनेको संसदवादी हुनु हो कि क्रान्तिकारी मार्गकै एउटा अङ्ग हो ?
संसदवादीहरूले आरोप लगाउँछन् चुनावमा जाँदा क्रान्ति हुँदैन चुनावमै लागेपछि त संसदवादी भइहालिन्छ । तर क्रान्तिकारीहरूले भन्छन् चुनाव कुनै अन्तिम लक्ष्य होइन, यो जनसंगठन जनचेतना र जनअधिकारका लागि उपयोग गर्ने एउटा राजनीतिक मार्ग हो ।
यो बहसलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव सीले हालसालै स्पष्ट रूपमा व्याख्या गर्दै भन्नुभएको छ, चुनावमा जाँदैमा संसदवादी भइहालिन्छ भन्ने बुझाइ गलत हो । क्रान्तिकारीहरूले हरेक सम्भावित मार्ग प्रयोग गर्छन् । संसदवादी र क्रान्तिकारी बाटो दुवै जनताको हितमा उपयोग गर्न सकिन्छ ।
यही दृष्टिकोणलाई राजनीतिक विश्लेषणका आधारमा भन्न सकिन्छ कि चुनाव मूलतः शासन व्यवस्था परिवर्तन गर्ने अन्तिम औजार होइन ।
तर कुनै पनि समाजमा राजनीतिक प्रभाव, जनकमाण्ड, संगठन विस्तार, वैचारिक ध्वजाकारण, वर्गीय हित र नेतृत्व सुदृढीकरणका लागि चुनाव एक महत्वपूर्ण राजनीतिक अवसर भने अवश्य हो । क्रान्तिकारीहरूको दृष्टिमा चुनाव उपयोग गर्ने माध्यम हो, जनतासँग प्रत्यक्ष सम्पर्कमा पुग्ने सबभन्दा ठूलो अभियान हो ।
नेपालको राजनीतिक इतिहास विशेषगरी कम्युनिष्ट आन्दोलनको यात्रा सदैव संघर्ष त्याग र जनताप्रति पूर्ण समर्पणका धागोले बुनेको छ । कम्युनिष्ट आन्दोलनले चुनावलाई कहिल्यै केवल सत्तामा पुग्ने साधनको रूपमा हेरेन बरु जनतासँग प्रत्यक्ष संवाद गर्ने उनीहरूको कष्ट दुख बुझ्ने र परिवर्तनका लागि जनमत निर्माण गर्ने माध्यमको रूपमा ग्रहण ग¥यो ।
यद्यपि विगतका केही गलत बुझाइ प्रतिक्रियावादी प्रचार र जनमतलाई भ्रमित गर्ने प्रयासहरूले कम्युनिष्ट चुनाव गएसँगै बहसमा आउछन । कम्युनिष्टले जनताको एजेन्डा भुले भन्ने आरोपहरु फैलाइन्छ । यस्तो बुझाइ न त सैद्धान्तिक सत्य हो, न त ऐतिहासिक यथार्थ कम्युनिष्ट पार्टी जनताबाटै जन्मिएको जनताबाटै निर्देशित र जनताकै आदेशले सञ्चालन हुने संगठन हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सिका अनुसार ठोस राजनीतिक विश्लेषणलाई आधार मान्दा चुनावमा जाने कि नजाने भन्ने प्रश्न मूलतः वैचारिक स्पष्टीकरण र रणनीतिक आवश्यकतामा आधारित हुन्छ । चुनाव भनेको जनताको तटस्थ मैदान होइन, यो शक्तिसम्बन्धी एक निर्णायक युद्ध हो, जहाँ साम्राज्यवाद दलाल वर्ग र प्रतिक्रियावादी शक्तिहरू आफ्नो प्रभाव जमाउन चाहन्छन् ।
त्यसैले माओवादीहरूले बारम्बार भनेझैँ, चुनावमा जानु भनेको दुई कुरामा निर्भर हुन्छ । साम्राज्यवाद दलाल बुर्जुवावादलाई जनतामाझ खुला प्रतिस्पर्धामा ल्याउने वैचारिक–राजनीतिक शक्ति रहन्छ कि रहँदैन भन्ने मूल प्रश्न हो । चुनावमार्फत जनताको राज्य निर्माण गर्ने सम्भावना हुन्छ कि हुँदैन । यदि हुँदैन भनेवल प्रयोग अर्थात् सशस्त्र जनविद्रोह नै विकल्प बन्छ ।

