दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न

२०८२ पुष ७ गते, सोमबार

हस्तबहादुर केसी

विश्वमा धेरै प्रकारका दर्शनहरु छन् । दार्शनिक फाँट अन्तर्गत दार्शनिक प्रणालीभित्र विभिन्न प्रणालीहरु रहेका छन् । सबै दर्शनहरु वर्गीय पक्षधरतामा आधारित छन् । विश्व मानव समाजमा वर्गको उत्पत्तिसँगै दर्शनको उत्पत्ति भएको प्रमाणित भइसकेको छ । दर्शनको पक्षधरतासम्बन्धी विषय ज्यादै महत्वपूर्ण विषय हो । यसलाई हचुवाको भरमा र टपर्टुईयाँ ज्ञानका आधारमा निष्कर्षमा पुग्नु अज्ञानता ठहर्दछ । त्यसैले यस लेखमा दार्शनिक प्रणाली भित्र दार्शनिक पक्षधरताको विषयलाई सर्वसाधारण अध्ययताहरु समेत अध्ययन गर्न र बुझ्न सजिलो होस् भनेर सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।

दार्शनिक फाँट अन्तर्गत दार्शनिक प्रणाली भित्र दार्शनिक पक्षधरताको विषयलाई यसको उत्पतिको जगमै पुगेर अध्ययन गर्न, व्याख्या र विश्लेषण गर्न र संश्लेषण गर्न जरुरी हुन्छ । आफ्नो उत्पत्तिसँगै दर्शनले वर्गीय पक्षधरता कायम राख्दै आएको छ । जब मानव समाजमा वर्षको उत्पत्ति तबदेखि नै विभिन्न वर्गहरुलाई आफ्नो वर्गको हित गर्ने, आफ्नो वर्गको पक्षपोषण र सेवा गर्ने र निश्चित वर्गले आफ्नो वर्गीय विश्वदृष्टिकोण निर्माण गर्नका लागि दर्शनको आवश्यकता परेकाले हरेक वर्गले आफ्नो वर्गीय दृष्टिकोण, आफ्नो हितानुकूल दर्शनलाई अंगाल्ने परिस्थिति सृजना भयो, जसका कारण विश्व मानव समाजमा दर्शनको आवश्यकता प¥यो । आज “दर्शनविनाको मानिस जराविनाको रुख” बन्न पुग्छ । त्यसैले सबै वर्गलाई दर्शन चाहिएको छ ।

वर्गसमाजमा दर्शनले निश्चित वर्गको पक्षधरता कायम गर्दै आएको छ र विश्व मानव समाजमा वर्ग रहेसम्म दार्शनिक दृष्टिकोण रहिरनेछ र मानव समाज वैज्ञानिक साम्यवादमा पुगेपछि वर्ग र राज्यको अन्त्य सँगै दर्शनको पनि अन्त्य हुनेछ । दर्शन कुनै ठाउँ विशेषको, दर्शन कुनै स्थान विशेषको हुँदैन । दर्शन वर्ग विशेषको हुन्छ । त्यसैले दर्शन वर्गीय विश्वदृष्टिकोण उपज हो ।

यहाँ दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको विषयलाई प्रमुख विषयसँग अन्तर्सम्बन्धित रहेर यो दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भएको के हो ? दर्शनको जन्म कहिले भयो ? र दर्शनको विकास कसरी भयो ? आदि विषयवस्तुबाट यो आलेख लेख्न शुरु गरिएको छ । र दर्शन ज्यादै वृहत् तथा गहन विषय भएकोले सबै विषयको व्याख्या– विश्लेषण गर्न संभव नभएकोले यहाँ संक्षिप्त रुपमा लेख्ने प्रयास गरिएको छ ।

उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगकोबीचबाट दर्शनको जन्म भएको हो । मानव समाजको विकासको क्रममा मातृसत्ता समाजको विघटन र पितृसत्तात्मक समाजको स्थापनासँगै दास मालिक समाजको विकासको प्रक्रियाकाबीचबाट प्राचीन युनान, भारत, नेपाल चीनमासँगसँगैजसो दर्शन विकसित हुँदै आएको पाइन्छन् । यसरी दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । दर्शनको शाब्दिक अर्थ– कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो । त्यसैले दर्शनलाई मानिसको भित्री आँखा भनिन्छ ।

विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीव, जन्तु तथा वनस्पति र मानिसको जन्म र विकास कसरी भयो ? यी आफै जन्मिएका हुन् कि यिनलाई जन्माउने कुनै ईश्वर र या काल्पनिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति कसरी भयो ? भविष्यमा विश्वको स्थिति के होला ? के मान्छेले प्रकृति र समाजको सम्पूर्ण ज्ञान प्राप्त सक्छ ? के मानिसले आफ्नो ज्ञानको सहाराले व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न सक्छ ? मानव जीवनका उद्देश्य, आदर्श, कर्तब्य र मूल्य के हुन् ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञाशाबृतिको उपज र अभिव्यक्ति नै दर्शन हो । अर्को शब्दमा दर्शन भनेको मानिसको जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने उसको दृष्टिकोण हो । त्यसैले दर्शनलाई मानिसको भित्री आँखा हो ।

तसर्थ दर्शन भनेको प्रकृति, मानव समाज एवं चिन्तनका चालक नियमहरुको अध्ययन गराएर उसको विश्वदृष्टिकोण निर्माण गर्ने साधन हो । अर्थात् दर्शन भनेको जीवन र जगतको तथा प्रकृति र मानव समाजको चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धति हो । अन्त्यमा दर्शनले जीवन र जगतकाबारेमा बुझ्ने र त्यसलाा बदल्ने र तथा बदलिएको वस्तुलाई कसरी संरक्षण गर्ने भन्ने कुरा सिकाउँछ ।

दार्शनिक फाँटका क्षेत्रमा एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफी शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्न पुग्यो, जसको अर्थ विवेक प्रेम हुन्छ । दर्शन शब्द संस्कृत भाषाको दृश् धातुबाट बनेको छ । दृश् को अर्थ हेर्नु, जाँच्नु र बुझ्नु हुन्छ । माक्र्स र एंगेल्सले यस प्रकारको दर्शनलाई “विश्वदृष्टिकोण” भन्नुभएको छ । दर्शनशास्त्रको पहिलो ग्रन्थ “नासदीय सूक्त” हो ।

अब दार्शनिक प्रणालीभित्र पर्ने दार्शनिक पक्षधरताको प्रश्नकाबारेमा प्रवेश गरौ । दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । यसको अर्थ वर्गसमाजमा सामाजिक चेतनाको रुप पनि वर्गीय हुन्छ । वर्गसमाजमा हरेक वर्गले आफ्नो विचार, इच्छा, आकांक्षा, मत, संकल्प भावना एवम् आफ्ना क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ । तसर्थ दर्शनले ठिक यसै आौचित्य पुष्टि गर्ने काम गर्दछ ।

मानव समाजमा वर्गको जन्म पश्चात् वर्गसंघर्ष चल्दै आएको छ । वर्गको विलोपीकरण, राज्यको विलोपीकरण नभएसम्म वर्गसंघर्ष जारी रहन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले यसको वैज्ञानिक रुपमा निरुपण गरिसकेको छ । त्यसैले दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ । यो स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक अर्कोमा टकराउँछन् र ती भिन्न भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन् । ती भिन्न विचारहरुको आधारशीलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ ।

दर्शनशास्त्रको मौलिक प्रश्नले स्पष्ट पारिसकेको छ कि दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद बीच मानव समाजमा जुन संघर्ष चल्दै आएको छ, त्यो नै यसै वर्गीय तथा वैचारिक संघर्षको प्रतिविम्बनको परिणाम हो ।

आज मुख्य गरेर यस संसारमा दुईवटा दर्शन छन्– आदर्शवाद र भौतिकवाद आदर्शवादी दर्शनले दासमालिकहरुको अर्थात् दास युगिन राज्यव्यवस्थाको पक्षपोषण गरेको थियो । सामन्तवादी युगमा सामन्तवर्ग र सामन्तवादी राज्यसत्ताको पक्षपोषण गरेर आएको छ भने आजको साम्राज्यवाद र सर्वहारा वर्गबीच संघर्षको युगमा पनि पूँजीवतिवर्ग र पूँजीवादी राज्यसत्ताको पक्षधरता र पक्षपोषण गरिरहेको छ । यसको साथमा पूँजीवादलाई यान्त्रिक भौतिकवादले पनि सेवा गरिरहेको छ ।

यसको ठिक विपरीत भौतिकवादले श्रमजीवी वर्गको, काम गरिखाने जनताको र सर्वहारा वर्गको पक्षधर र पक्षपोषण गर्दछ । माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो र माक्र्सवादी दर्शन सर्वहारा श्रमजीवी वर्गको दर्शन हो । काम गरिखाने आम जनताको दर्शन हो । भौतिकवादी दर्शनले आफ्नो उत्पतिकालदेखि नै श्रमजीवी वर्गको पक्षधर रहेर यही वर्गकै सेवा गर्दै आएको छ ।

आजको युग चरम वर्गमा विभाजित युग हो । साथै आजको युग साम्राज्यवाद र सर्वहारा बीच भीषण वर्गसंघर्षको युग हो । लेनिन कै शब्दमा आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेलाको युग हो । किनभने लेनिन कै शब्दमा साम्राज्यवाद सढेगलेको पूँजीवाद हो । मरनासन्न पूँजीवाद हो । त्यसैले साम्राज्यवादको अन्त्य अनिवार्य छ । त्यसपछि निर्माण हुने सामाजिक व्यवस्था भनेको वैज्ञानिक समाजवाद हुँदै वर्गविहिन, राज्यविहिन अति वैज्ञानिक, सुन्दर, समृद्ध साम्यवादी नौलो संसारको निर्माण हुने हो ।

यसरी मानव समाजको विकासको प्रक्रिया अन्तर्गत आजसम्म तमाम प्रकारका आदर्शवाद र भौतिकवाद तथा यान्त्रिक भौतिकवादका बीचमा जुन संघर्ष चल्दै आएको छ, त्यो तमाम प्रकारका प्रतिक्रियावादी र क्रान्तिकारी जनसमुदाय, साम्राज्यवादमा गिरिसकेको पूँजीपति वर्ग तथा विश्व सर्वहारा वर्ग बीचको जीवन मरणको वर्गसंघर्षको प्रतिबिम्बन र परिणाम हो ।

दर्शनशास्त्रको मौलिक प्रश्नको फाँटमा पक्षधर र गैर पक्षधरका विषयमा संश्लेषण गर्दै कमरेड माओ त्सेतुङले ।, “वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्षको हुने” भन्नुभएको छ , र “दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ, जग वर्गसंघर्षको नै हो । त्यसपछि मात्रै दर्ताको अध्ययनको कुरा आउँछ कसको दर्शन ? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको ? सर्वहारा वर्गको दर्शन माक्र्सवादी दर्शन हो ।”– माओ त्सेतुङ, दुर्लभ रचनाहरु, पृष्ठ ९१, खोजी प्रकाशन गृह, काठमाडौं, २०६४

कमरेड माओका माथिका भनाइबाट स्पष्ट हुन्छ कि वर्ग समाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । वस्तुतः वर्गीय समाजमा दर्शनको चरित्र वर्गीय हुने भएकोले आफ्नो वर्गहित, विचार र राजनीतिक उद्देश्यको सेवा गर्दछ ।

 कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा सन १८४८ फेब्रुअरी २१ का दिन विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी गरेपश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्त माक्र्सवाद प्राप्त ग¥यो । माक्र्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवादकाबारेमा लेनिनले भन्नुभएको छ, “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो ।” माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंगहरुको संश्लेषणबाट भएको छ ।

माक्र्सको आफ्नै दर्शन छ, त्यो हो माक्र्सवादी दर्शन माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिद्धान्त भौतिकवाद र यसको पद्धति द्वन्द्ववाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास, दोस्रो चरणमा लेनिनवादको विकास र तेस्रो र नयाँ चरणमा माओवादको विकास गरिसकेको छ । यसरी आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ ।

यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिँगो अभेद्य ईकाइको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ । यसको ठिक उल्टो आदर्शवाद, यान्त्रिक भौतिकवादलगायत दर्शनशास्त्रको फाँटमा मालेमावाद विरोधी धाराका रुपमा विकसित भएका विविध दार्शनिक धाराहरुले सबैखाले प्रतिक्रियावादी, साम्राज्यवादमा गिरिसकेको पूँजीपतिवर्गको पक्षधरता कायम राख्दै त्यही वर्गको सेवारत रहदै आएको छ भने मालेमावाद विश्व सर्वहारा वर्गको सेवा र पक्षधरता एवं पथप्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु