माक्र्सवादी दर्शन ः नयाँ विश्व दृष्टिकोण

२०८२ माघ २७ गते, सोमबार

हस्तबहादुर के.सी.

कार्ल माक्र्स (१८१८–१८८३) ले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद, विशेषतः कान्टदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मन शास्त्रीय दर्शन हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो । हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी धार्मिक नैतिक क्षेत्रमा आदर्शवादी थिए । माक्र्स एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नुभयो । त्यस्तै उहाँहरूले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भयो । यसरी माक्र्स–एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जित, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नुभयो ।

कार्ल माक्र्सद्वारा दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नको निम्ति प्रकृति विज्ञान र इतिहास विज्ञान बारे केही प्रष्ट हुन जरुरी छ । माक्र्सभन्दा पहिले यि दुवै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । माक्र्सले प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्त गरी स्वतन्त्र विज्ञानको हैसियत प्रदान गर्नुभयो र साथै दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभयो । त्यसरी नै माक्र्स एंगेल्सले इतिहास विज्ञानको क्षेत्रमा हात हाल्नुभयो र इतिहासको भौतिकवादी मान्यताको आविस्कार गर्नुभयो । इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै माक्र्स एंगेल्स कुन निष्कर्षमा पुग्नुभयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्ग संघर्षको इतिहास हो ।

माक्र्स एंगेल्सले दार्शनिक फाँटमा ठूलो क्रान्ति गर्नुभयो । उहाँहरूले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रोसँग उद्घाटन गर्नुभयो । प्रकृति, समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । अतः यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरी तिनलाई स्वायत्त विज्ञानको हैसियत प्रदान ग¥यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रुपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रुप दुवै दृष्टिले परिमार्जित गरी नयाँ ढंगले विकसित गर्ने काम भयो । तसर्थ यस प्रकारको नयाँ संश्लेष्णबाट सर्वहारा वर्गको वैचारिक अस्त्रका रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादूर्भाव हुन्छ, त्यो पुरानो ढंगको दर्शनशास्त्र नभई नयाँ विश्व दृष्टिकोण बन्न पुग्दछ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद

सर्वहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोणलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ, यो दर्शन हेगेल र फायरवाख सहित विगतका सबै दर्शन भन्दा गुणात्मक रुपमा भिन्नछ । माक्र्सले एकातिर फायरवाख सहितको यान्त्रिक भौतिकवादको आलोचना तथा खण्डन गर्नुभयो भने अर्कोतिर हेगेलको आदर्शवादलाई सुल्टो तुल्याउनु भयो । माक्र्सको द्वन्द्ववाद उहाँको आफ्नो भनाई अनुसार सारमा आलोचनात्मक र क्रान्तिकारी रहेको छ । यस प्रकारको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको असली सारतत्व माक्र्सका शब्दमा विश्वको केबल व्याख्या मात्र होइन, गाठी कुरा त त्यसलाई बदल्नु हो ।

          एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई माक्र्सवादी विश्वदृष्टिकोणको रुपमा उल्लेख गर्नुभएको छ । माक्र्सवादी विश्वदृष्टिकोणको महत्वमाथि प्रकाश पार्दै माक्र्सको शिक्षा सर्वशक्तिमान छ । किनभने त्यो सत्य छ । त्यो सम्पूर्ण तथा समग्रता पूर्ण छ र मानिसलाई एक यस्तो अखण्ड विश्वदृष्टिकोण प्रदान गर्दछ जुन कुनै पनि प्रकारको अन्धविश्वास प्रतिक्रियावादी प्रवृत्ति या पूँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कहर विरोधी छ भन्न भएको छ । ष्टालिनले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो भन्नु भएको छ ।

द्वन्द्वात्मक भौतिकवादले प्रकृतिका परिघटनाहरूलाई हेर्ने त्यसको अध्ययन गर्ने र बुझ्ने यसको तरिका द्वन्द्ववादी छ । प्रकृतिक परिघटनाहरूको यसको सिद्धान्त त्यस सबन्धित यसको धारणा भौतिकवादी छ । सामाजिक जीवनको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तहरूको विस्तार र प्रयोग र ऐतिहासिक भौतिकवाद हो । यो सर्वहारा क्रान्तिको विज्ञान, कम्युनिष्ट पार्टीको विश्वदृष्टिकोण, सर्वहारा वर्गको संघर्षको दर्शन र अन्तरविरोधको विज्ञान समेत हो । यस प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरूलाई द्वन्द्ववादी ढंगले अध्ययन गर्दछ र यस प्रकारका भौतिकवादी व्याख्या तथा द्वन्द्ववादी अध्ययनका आधारमा समग्र चिन्तन प्रणालीलाई एकीकृत विश्वदृष्टिकोणका रुपमा संश्लेषण गर्दछ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मूल विषयलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

पहिलो–द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त

दोश्रोः द्वन्द्वात्मक भौतिकवादको पद्धति

तेश्रोः द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त

चौथोः ऐतिहासिक भौतिकवादको सिद्धान्त ।

यस विषयमा माओ, भन्नुहुन्छ– “माक्र्सवादका तीन वटा संघटक अंगहरू हुन् वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थशास्त्र, त्यसको जग समाज विज्ञान र वर्गसंघर्ष हो ।”

द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तः

द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्द छ । द्वन्द्वात्मक भौतिकवादबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम पदर्थ र गति र काल तथा पदार्थ र चेतनाबारे संक्षिप्त रुपमा जान्न आवश्यक हुन्छ ।

क.     पदार्थ र गति

भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वको रुपमा अध्ययन गर्दछ । द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको यसको अध्ययन गर्दछ । यी दुवैको अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवाद हुन्छ । द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ ।

पदार्थ के हो भन्ने कुराको अध्ययन आवश्यक हुन्छ । पदार्थ के हो भन्ने विषयमा लेनिन भन्नु हुन्छ– “पदार्थ त्यस वस्तुपरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक प्रवर्ग हो जुन मान्छेमा उसका संवेदनाहरूद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरूबाट सवतन्त्र रुपले अस्तित्वमा रहेका तिनीद्वारा प्रतिलिपित फोटोचित्रित र प्रतिविम्बित गरिन्छ ।” अतः पदार्थ मान्छेको मनबाहिर स्वतन्त्र रुपले अस्तित्वशील र संवेदनाहरूद्वारा हाम्रो मनमा प्रतिविम्बिनत हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई प्रतिविम्बित हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई यसरी ने बुझ्नु पर्ने हुन्छ ।

गति के हो त ? गतिका बारेमा फेडरिक एंगेल्स भन्नुहुन्छ– “ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था आन्तरिक गुण, स्थानपरिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियाका रुपमा बुझ्नु पर्दछ ।” त्यस्तै अर्को ठाउँमा एंगेल्स भन्नुहुन्छ– “गति स्वयं एक अन्तरविरोध हो ।” अब हामीले समग्रतामा के कुरा बुझ्नु पर्दछ भने गति भनेको पदार्थको अस्तित्वको अवस्था, गुण र सबै परिवर्तनको कारक तत्व हो । अर्थात् गति पदार्थमा विद्यमान अन्तरविरोधको नाम हो भन्ने कुरा बुझ्नु पर्दछ । तसर्थ गति र पदार्थ एक अर्कासँग घनिष्ट रुपले गासिएका छन् । अतः पदार्थ र गति सम्बन्धि यस प्रकारको अध्ययनबाट कुन कुराको पुष्टि हुन्छ भने विश्वको अस्तित्व द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा आधारित रहेको छ । विश्वको जन्म र विकासका लागि कुनै ईश्वर, निरपेक्ष विचार, परमात्मा जस्ता काल्पनिक कुराको आवश्यकता पर्दैन ।

दिशा र कालः

यहाँनेर वास्तविक कुरा के हो भने विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तरगत मात्रै कायम रहन सक्छन् । त्यस्तै दिशा र कालबारे आदर्शवादी र भौतिकवादीहरूका बीच ठूलो विवाद चल्दै आएको छ । सार संग्रहवादी डयूहरिङका विरुद्ध दिशा र कालसम्बन्धी प्रश्नमा एंगेल्सले दिएका तर्कमाथि ध्यान दिँदै लेनिन भन्नुहुन्छ– “के दिशा र काल वस्तुपरक हुन या आत्मपरक, के दिशा र कालसम्बन्धी हाम्रा सापेक्ष अवधारणाहरू सत्ताको वस्तुपरक रुपहरूका सन्निकट छन् या ती मानिसका विकसित, संगठित, सामञ्जस्यपूर्ण चिन्तनका उपज मात्र हुन् ? यही र यही र केबल यही ज्ञान मिमांसाको प्रश्न हो जसमा सही अर्थमा आधारभूत दार्शनिक प्रवृत्तिहरू विभक्त छन् । अतः यो नै दिशा र कालसम्बन्धी दर्शनशास्त्रको मूल प्रश्न हो । तसर्थ यस प्रश्नको जवाफ दिने क्रममा जसले दिशा र कालसम्बन्धी हाम्रा अवधारणालाई वस्तुगत यथार्थका अभिव्यक्ति मान्दछन्, ती भौतिकवादी हुन्, यसको उल्टो तिनलाई चेतना वा विचारको उपज मान्नेहरू आदर्शवादी हुन् ।

दिशा र कालसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी मान्यता प्रस्तुत गर्दै लेनिन भन्नुहुन्छ– “विश्वमा गतिमान पदार्थका अतिरिक्त अरु केही छैन र गतिमान पदार्थ दिशा र काल अन्तरगत नै गतिमान हुन सक्छन् । दिशा र कालका मानव अवधारणाहरू सापेक्ष छन्, तर यो अवधारणाहर मिले निरपेक्ष सत्य बनाउँछन् । यो सापेक्ष अवधारणाहरू विकसित हुँदै निरपेक्ष सत्यतर्फ बढ्दछन् र उत्तरोत्तर त्यसको नजिकै पुग्न जान्छन् ।”

लेनिनको यो कुराका आधारमा हामीले के भन्न सक्छौ भने जसरी गतिशील पदार्थ अनादि र अनन्त छ, असिर्जित र अविनासी छ, ठिक त्यसरी नै दिशा र काल पनि अनादि र अनन्त, असिर्जित र अविनासी छन् । दिशा र काल वस्तुगत जगतका, गतिशील पदार्थका अस्तित्वका रुप हुन्, ती मानव चेतना बाहिर वस्तुगत रुपमा स्वतन्त्र रुपले अस्तित्वमा छन् र तिनको हामीले संज्ञान प्राप्त गर्न सक्छौं । तसर्थ दिशा र कालसम्बन्धी हाम्रो ज्ञान वस्तुगत यथार्थ जस्तै सापेक्षता र निरपेक्षताको द्वन्द्वात्मक विकास प्रक्रियामा आधारित रहेको छ ।

पदार्थ र चेतना

पदार्थ र चेतनासम्बन्धी फरक–फरक दार्शनिक अवधारणाहरू छन् । आदर्शवादीहरू चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मान्दछन् । तर भौतिकवादीहरू पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन् । वा कोरा नक्कलका रुपमा ग्रहण गर्दछन् । तर द्वन्द्वात्मक भौतिकवादीहरू चेतनालाई पदार्थको सुसंगठित तथा गुणात्मक ढंगले विकासित प्रतिविम्बनको उच्च अभिव्यक्ति मान्दछन् ।

पदार्थबाट चेतनाको विकास हुन्छ । चेतना पदार्थ गतिको सर्वोच्च रुप हो । पदार्थबाट जीवन, जीवनबाट मस्तिष्क र मस्तिष्कबाट चेतनाको जन्म हुन्छ । चेतनाका विभिन्न रुपहरू हुन्छन् ती हुन् संवेदना, भावना, विचार, संकल्प चिन्तन, अवधारणा, सिद्धान्त, दृष्टिकोण आदि ।

भाषा र चेतनाः

मानव समाजको विकास लामो प्रक्रियाबाट अगाडि बढेको हो । मानव समाजको विकासमा श्रमशक्ति र बोली अर्थात् भाषाको महत्वपूर्ण भूमिका हुन्छ । साथै यसले चेतनाको विकासमा पनि गुणात्मक धक्का दिन्छ । भाषा र चेतना परस्पर सम्बन्धित रहेका छन् ।

अतः भाषा सूचनाको एक यस्तो व्यवस्थित प्रणाली हो जुन संकेतमा आधारित हुन्छ । श्रम प्रक्रियाको बीचमा मान्छेले दुई प्रकारको सम्बन्ध कायम गर्दछ एउटा प्रकृतिसँग र अर्को मान्छेहरू सँग मान्छेको प्रकृतिसँगको सम्बन्ध औजारहरू मार्फत अभिव्यक्ति हुन्छ, यो उत्पादक शक्तिहरूसँग सम्बन्धित विषय हो । मान्छेको मान्छेसँग सम्बन्ध भाषा मार्फत अभिव्यक्त हुन्छ, यो उत्पादनसँग सम्बन्धित विषय हो । माक्र्स भन्नु हुन्छ– “चिन्तनको जीवित अभिव्यक्तिको मूल वस्तु भाषा हो ।” भाषाले मानिसका अनुभूति, विचार र ज्ञानलाई भण्डारण वा सञ्चय पनि गर्दछ । मानिसले आफ्ना अनुभव र ज्ञानलाई पीढिं दर पीढिं जसरी सुरक्षित गर्ने काम गर्दै आएको छ यसका पछाडि भाषाको महत्वपूर्ण भूमिका रहेको छ । हामीले बुझ्नै पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसैगरी भाषाले विचारका साथै संस्कृतिको पनि भण्डारण गर्दछ ।

यसका अतिरिक्त द्वन्द्ववादका नियम र मूल तत्वहरू, माक्र्सवादी ज्ञान सिद्धान्तसम्बन्धी समग्र विषयवस्तुहरू र द्वन्द्ववादका प्रवर्गहरूका बारेमा समेत विषद प्रकाश पार्न आवश्यक हुन्छ । तर यहाँ यो सानो लेखमा यी सबै विषयवस्तुहरू समावेश गर्न असमर्थ भएकाले ती विषयहरूलाई माक्र्सवादको मूल विषयवस्तुसँगै जोडेर अध्ययन गर्न जरुरी हुन्छ ।

दर्शनशास्त्रको इतिहासमा हामीले के पाउँदछौं भने द्वन्द्ववाद मूलतः तीन रुप र चरणमा प्रकट हुँदै विकसित भएको छः प्राचीन दर्शनशास्त्र विशेषतः युनानी दर्शनशास्त्रको द्वन्द्ववाद, काण्टदेखि लिएर हेगेलसम्मको शास्त्रीय जर्मन दर्शन शास्त्रको द्वन्द्ववाद र माक्र्स, एंगेल्स, लेनिन तथा माओद्वारा विकसित द्वन्द्ववाद । यी सबै चरणका सबै रुपमा द्वन्द्ववादले आफ्नो समयका आ–आफ्ना विशिष्टता सहितका अधिभूतवादका विरुद्ध लड्दै आएको हामीले पाउँदछौं । तर अधिभूतवादका विरुद्ध क्रान्तिकारी ढंगले निर्णायक लडाइ लड्नेमा तेश्रो चरणको द्वन्द्ववादकै प्रमुख भूमिका रहेको छ । दर्शनशास्त्रको इतिहासमा द्वन्द्ववाद र अधिभूतवादका बीच निरन्तर संघर्ष चल्दै आएको छ । अधिभूतवादका विरुद्ध द्वन्द्ववादको लडाइलाई ठिकसित बुझ्नका लागि प्रकृतिविज्ञान र इतिहास विज्ञानबारे राम्रोसित बुझ्न आवश्यक हुन्छ ।

प्रकृति विज्ञान र दर्शन, इतिहास र दर्शन, अधिभूतवाद र द्वन्द्ववादका ऐतिहासिक रुपहरू र भौतिकवादी द्वन्द्ववादका बारेमा अध्ययन गर्न जरुरी हुन्छ । यसै भित्र संकेतद्रुत रहेर परिवर्तन र स्थिरताः दुई भिन्न दृष्टिकोण, शून्यवाद र द्वन्द्ववाद, यान्त्रिकतावाद र द्वन्द्ववाद, भँडुवा विकासवाद र क्रमभङ्गको पद्धति, सारसंग्रहवाद र द्वन्द्ववाद, बहुलावाद र एकत्ववाद, एकमनावाद र द्वन्द्वात्मक एकत्ववाद र विखण्डनवाद र अखण्डतावादका बारेमा राम्रोसित अध्ययन गर्न आवश्यक हुन्छ ।

यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के छ भने कार्ल माक्र्सद्वारा विकसित भौतिकवादी द्वन्द्ववाद नै नयाँ द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववाद माक्र्सवादी दर्शनको चिन्तन पद्धति हो । अतः सारमा यो वस्तुको विकासप्रक्रियालाई सही ढंगले अभिव्यक्त तथा प्रस्तुत गर्न सर्वहारा वर्गको विश्व दृष्टिकोण हो ।

काल माक्र्स (सन् १८१८–१८८३) र फेडरिक एंगेल्स (सन् १८२०–१८९५) ले सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट लिग मार्फत कम्युनिष्ट घोषणा पत्र जारी गरेर माक्र्सवाद प्रतिपादन गर्नुभयो । माक्र्सवादको यस ऐतिहासिक प्रतिपादनले दर्शनको क्षेत्रमा महान् क्रान्ति ल्याइदियो । माक्र्सवादी दर्शनको जन्म मानव चिन्तनको उज्जवल तथा प्रगतीशील परम्परालाई आत्मसात गरेर भएको हो । वर्गीय समाजमा प्रत्येक दर्शन वर्गीय हुने कुरा माक्र्सवादी दर्शनमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन सर्वहारावर्गको दर्शन हो । यस दर्शनलाई ष्टालिनले माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रुपमा परिभाषित गरेका छन् । माक्र्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यकताबाट भएकोले सर्वहारावर्गका लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पूरा गर्ने गरी माक्र्सवादको प्रतिपादन हुनुले माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले पुरानो पूँजीवादको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि सर्वहारावर्गलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको न्यायोचित आधार र निर्देशन प्रदान गरेको छ । यसमा विश्व सर्वहारा वर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले भनेका छन्– “माक्र्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो जसले मानवजातीलाई र खास रुपले मजदूरवर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ ।” मानव समाजमा सर्वहारावर्ग सबैभन्दा शक्तिशाली वर्ग हो । यस विषयमा कार्लमाक्र्स स्वयंले यसरी व्याख्या गरेका छन्– “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” त्यसैगरी माक्र्सवादको दार्शनिक पक्षको हत्वलाई माओत्सेतुङले यसरी दर्शाएका छन्– “माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरि सकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।

माक्र्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रुधोको सुधारवाद एवं अवसरवाद र ब्लाङ्की तथा बाकुनिनको उग्रवामपन्थी अराजकतावाद जस्ता दुईथरी गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्दै त्यसलाई समृद्धशाली तुल्याउनु भयो ।

प्रतिक्रियाहरु

[anycomment]