झाको राजीनामा अस्वीकृत
काठमाडौं- एमाले पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो सदस्य रामचन्द्र झाको राजीनामा अस्वीकृत गरेको छ । बैठकले झालाई काममा फर्कन आग्रह गरेको छ ।बैठकपछि झाको राजीनामा अस्वीकार गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । राज्य पुनर्संरचनामा एमाले अस्पस्ट भएको भन्दै झाले गत चैत ८ गते पार्टी परित्याग गरेका थिए । एमालेले उनलाई पार्टी काममा फर्कन आग्रह गरेको छ ।
झा एमाओवादीमा जाने बताइए पनि जनयुद्ध लडेका मधेसी नेताहरुको विरोधपछि पार्टी प्रवेश अनिश्चित भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र केही ‘नवप्रवेशी’ मधेसी नेताहरुले सचिव बनाएर पार्टी प्रवेश गराउने तयारी गरेका थिए । तर जनयुद्ध लडेका मधेसी नेताहरुले झालाई सचिव बनाए सामूहिक राजीनामा दिने धम्की दिएपछि पार्टी प्रवेश अनिश्चित भएको हो ।
एमालेले निर्वाचन तयारीका लागि छलफल तीब्र पार्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार चैत २६ र २७ गते पोलिट्ब्युरो बैठक र वैशाख दुईदेखि पाँच गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय एमालेले गरेको छ ।एमालेले निर्वाचनका लागि सरकारले आवश्यक तयारी सुरु नगरेको भन्दै असन्तुष्टि जनाएको छ । ‘निर्वाचनमा चाहिने कुराहरु गरिएको छैन,’ पोखरेलले भने, ‘यस विषयमा हामी अन्य दलसँग पनि छलफल गर्छौं ।’बैठकले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्न माग गरेको छ । राजनीतिक नियुक्ति गरिएका व्यक्ति पदमै रहँदा राज्यको स्रोत साधन दुरुपयोग हुन सक्ने उनको भनाइ थियो ।