वार्ताको ढोका बन्द भएको छैन

काठमाण्डौ ,१२ भदौ। उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ता जारी राख्ने निर्णय गरेको छ ।बुधवार विहान काँग्रेस सभापति एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको समितिको वैठकले चुनावी प्रक्रियामा ल्याउन माओवादीलगायतका असन्तुष्ट दलहरुसंगको वार्ता र सम्वाद जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वार्ता, छलफल र सहमतिमा पुग्ने अझै ‘स्पेस’ रहेको बताe । उनले भने , ‘सहमतिमा पुग्ने स्पेस अझै छ । नेकपा-माओवादी र अशोक राईजीको पार्टीसंग अझै बार्ता हुन सक्छ । वार्ताका लागि ढोका बन्द भएको छैन ।’
गच्छदारले ३३ दलीय मोर्चा र अशोक राईको संघीय समाजवादी पार्टीसँग आन्तरिक छलफल भइरहेको र सहमति गरी चुनावमा ल्याउने प्रयास जारी रहेको बताए ।
यसअघि राजनीतिक समितिको वैठकमा चुनावमा जान ३३ दलीय मोर्चाले राजनीतिक समितिको खारेजी, वर्तमान सरकार विघटन, चुनाव स्थगन लगायतका ५ बुँदे माग पेश गरेपछि राजनीतिक समितिले माग सम्बोधन गर्न नसकिने वताएपछि वार्ताको प्रक्रिया भंग भएको थियो । यस्तै मंगलबार अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसंग भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको थियो ।