चुनाब नउठ्न चेतावनी पत्र

२०७० भाद्र १४ गते, शुक्रबार

काठमाण्डौ, – नेकपा–माओवादी नुवाकोटले एमाओवादी, नेपाली कांग्रेस, एमाले र राप्रपाका संभावित उमेद्वारलाई निर्वाचनमा भाग नलिन संभावित उम्मेदवारलाई पत्र पठाएको छ ।माओवादीले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका संभावित उमेद्वारलाई निर्वाचनमा भाग नलिन आग्रह गरेको चेतावनी पत्र शुक्रबार पठाएको छ ।जिल्ला सेक्रेटरी मिना वाइवा र कार्यबाहक इन्चार्ज सुरेश तामाङद्वारा हस्ताक्षरित पत्रमा निर्वाचनले देशलाई सिक्किमीकरण, फिजीकरण र भुटानीकरणको दिशामा अघि बढाउने उल्लेख गर्दै उम्मेदवार बनेर राष्ट्रघाती कित्तामा नउभिनका लागि आग्रह गरिएको छ ।
नेकपा माओवादीले एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटी, हितबहादुर तामाङ, विमला सुवेदीलगायत २७ जनाको नाममा काटेको पत्र कार्यालय सचिव नवीन पुडासैनीलाई बुझाएको छ ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत लगायतका ६ जनाको नाममा काटेको पत्र जिल्ला कोषाध्यक्ष फैसिंङ तामाङलाई बुझाएको छ ।
यसैगरी नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, नारायणप्रसाद खतिवडा लगायत पाँच जनाको नाममा काटेको पत्र जिल्ला सदस्य श्रीमाया लामालाई बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीको नाममा काटेको पत्र जिल्ला प्रवक्ता रामकृष्ण भट्टलाई बुझाएको नेकपा माओवादीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]