हेलो सरकारमा उजुरीको चाङ्ग

२०७० आश्विन १४ गते, सोमबार

काठमाडौं, १४ असोज – सरकारले दुई वर्षअघि स्थापना गरेको हेलो सरकारमा दिनहुँ थरीथरीका समस्या चाङ लाग्ने गरेका छन् ।सरकारले धेरै काम भएको दावी गरेपनि यस्ता गुनासा सम्बोधन भएको नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाका अनुसार भदौ महिनामा हेलो सरकारमा यस्ता गुनासा परेका थिए:विदेशबाट पति झिकाई पाउँ । लोडसेडिङ्गको तालिका भन्दा बढी बत्ति निभ्यो । सरकारी अस्पतालमा डाक्टरहरु समयमा आउँदैनन् । चोरी गर्ने उपर उचित कारवाही भएन । कर्मचारीको बानी व्यवहार अत्यन्त रुखो भयो । वैदेशिक रोजगारीमा लोभ देखाएर ठगियो । अवैध रुपमा ढुङ्गा, गिट्टी वालुवा निकासी भैरहेको छ । पूलको व्यवस्था होस् । पासपोर्ट बनाउँदा व्यापक अनियमितता हुन्छ । विद्यार्थीले सार्वजनिक यातायातमा छुट पाएनन् । एटीएमबाट पैसा आएन, तर व्यालेन्स भने घट्यो । चीनमा डाक्टर पढेर आएकाले इन्टर्न गर्न पाएनौं ।वनबाट रुख तस्करी भैरहेको छ । टेलिफोन सेवा गुणस्तरहीन भयो । सडकहरु जीर्ण भए । अपाङ्गले कार्ड पाएनन् । ट्रान्सक्रिप्ट पाउन कठिनाई भयो । खानेपानीको निकै समस्या छ । राजमार्गका रेष्टुराँले बेस्सरी ठगे । सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी बढ्यो । औषधि पसलले मूल्यमा ठगे । पूर्वी नेपाललाई बन्दले आक्रान्त पार्‍यो । सार्वजनिक बसले बढी स्पिड लिएर दुर्घटना गराए । युवा स्वरोजगार कोषवाट सहयोग पाईन । बैदेशिक रोजगारीमा ठगिएको उजूरी उपर कारवाही भएन । सार्वजनिक जमिन व्यक्तिले अतिक्रमण गरे ।खानेपानी नआएको सातदिन भयो । सामुदायिक विद्यालयले शुल्क बढाई रहे । उत्तर पुस्तिका हेर्न पाईन । सडकमा अत्याधिक जाम हुन थाल्यो । तरकारी बजारमा विचौलियाले दुःख दिए । नौविसे–काठमाडौं खण्डमा राती काम गरेर छिट्टै बाटो मर्मत हुनुपर्‍यो । सामुदायिक स्कूलमा शिक्षकको कमी भएकाले पढाईमा बाधा पर्‍यो । करार सेवामा थोरै तलब दिईयो । सडक फराकिलो पार्नुपर्‍यो । इजरायल जान खुलाउनु पर्‍यो । फोन गर्दा पसेलहरुले चर्को शुल्क लिए । भ्रष्टाचार रोक्नु पर्‍यो ।क्षतिपूर्तिसहितको नागरिक वडापत्र प्रभावकारी भएन । अवैध ढंगले पार्किङ्ग शुल्क उठाईरहेका छन् । दुर्गममा खाद्यान्न छैन । नागरिक वडापत्र धुलोले पुरियो । दशैंमा खाद्यान्नको सहज आपूर्ति हुनुपर्छ । वागमती खोलामा फोहोर फाल्न दिनु भएन । राजमार्गमा खाना ज्यादै महँगो भयो । एमबीबीएसको शुल्क ज्यादै बढी भयो । मूल्य वृद्धि रोक्नुपर्‍यो ।
सचिव बास्कोटाका अनुसार भदौ महिनामा हेलो सरकार कक्षले निम्न गुनासो सम्पादन गरेको छ:अनपेक्षित रुपमा अवरुद्ध भएको विद्युत सेवा संचालनमा ल्याईएको । लामो समयदेखि बिग्रिएको टेलिफोन मर्मत गर्न लगाएको । समयमै इन्टरनेट सुविधा जडान गर्न लगाएको । कारखानालाई आवाज कम गर्ने मेशिन जडान गर्न लगाई वातावरणमा स्वच्छता कायम गर्न लगाएको । समयमै नक्शा पास गर्न लगाएको । दुर्गन्धित फोहोरलाई बिर्सजन गर्न लगाएको ।
समयमै ट्रान्सक्रिप्टमा थर संशोधन गर्न लगाएको । सवारी दुर्घटनाको क्षतिपूर्ति दिलाएको । महिला हिंसामा कारवाही गर्न प्रहरीलाई क्रियाशील तुल्याएको । वैदेशिक रोजगारी कम्पनीमा राखिएको राहदानी सम्बन्धितलाई उपलब्ध गराएको । शीघ्र राहदानी पाउने विधिको जानकारी गराएको । विद्यार्थीलाई परीक्षा हुनुपूर्व नै प्रवेश पत्र हात परिदिएको । हराएको नापी नक्शा पुनः तयार गरी सम्बन्धितलाई दिलाएको । सुत्केरी व्यथा लागेकालाई अस्पतालमा बेड उपलब्ध गराएको । गैंडाको आक्रमणवाट घाईते भएकालाई एम्वुलेन्समा राखी अस्पताल पठाई उपचार गराउन सफलता हासिल भएको छ ।
२०७० भदौमा प्राप्त गुनासोहरु उपर हेलो सरकार कक्ष, उद्योग, उर्जा, कानून, कृषि, गृह, परराष्ट्र, पर्यटन, महिला, युवा, वन, वातावरण, शान्ति, सामान्य प्रशासन, सिंचाई, सहकारी तथा गरिवी निवारण मन्त्रालयहरु, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र र उच्च माध्यमिक शिक्षा परिषद्वाट शत प्रतिशत नै संवोधन भएको सचिव बास्कोटाले जानकारी दिए । मध्यमस्तरका गुनासो फछ्यौट गर्नेमा त्रिभुवन विश्व विद्यालय, अर्थ, भूमिसुधार, भौतिक पूर्वाधार, रक्षा, वाणिज्य, शिक्षा, श्रम, स्वास्थ्य, सूचना तथा संचार मन्त्रालय रहेका छन् ।सचिव बास्कोटाले हेलो सरकारमा भदौ मसान्तसम्ममा २५ हजार ३ सय ४४ वटा गुनासो प्राप्त भएकोमा २४ हजार ७ सय ५९ वटा फछ्यौट भै फछ्यौट दर ९७ प्रतिशत कायम रहेको जानकारी दिनुभयो । भदौमा ८ सय ४३ वटा गुनासो प्राप्त भएकोमा ६ सय ५१ वटा फछ्यौट भै १ सय ९२ वटा फछ्यौट हुन बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]