निर्वाचन विदेशीको ग्राण्ड डिजाईन अर्न्तगत: गुरुङ

काठमाडौं,१ कात्तिक । नेकपा-माओवादीका सचिव देव गुरुङ्गले मंसिर ४ को निर्वाचन विदेशीको ग्राण्ड डिजाईन अर्न्तगत हुन लागेको बताउदै मंसिर ४ को निर्वाचन ले नयाँ संविधान दिन नसक्ने दावी गरेका छन् । रिपोर्टर्स क्लव नेपालद्धारा आयोजित साक्षात्कारमा गुरुङले भने -’यो निर्वाचनले राष्ट्रियता कमजोर बनाउँछ । दलीय व्यवस्था र प्रजातन्त्र समाप्त गर्ने षड्यन्त्र हो । यस्तो चुनावले न त संविधान दिन्छ न त मुलुकलाई निकास नै दिन्छ ।’उनले आफ्नो पार्टीले शान्तिपूर्ण तर शसक्त र सक्रिय रुपमा चुनाव बहिस्कार गर्ने बताए । उनले भने -’शान्तिपूर्ण रुपमा चुनाव गराउने कि नगराउने भन्ने सरकारको क्रियाकलापमा भर पर्छ । शान्तिपूर्ण रुपमा सरकार प्रस्तुत भए हाम्रो विरोध पनि शान्तिपूर्ण नै हुन्छ ।’ सहमतिको आधारमा निर्वाचन गरि सहमतिकै आधारमा नयाँ संविधान लेखियोस भन्ने पक्षमा आफ्नो दल रहेको उल्लेख गर्दै उनले भने -’अहिले पनि हामी सहमतिकै पक्षमा छौं । सरकारले त्यसका लागि पहल गरोस भन्ने हाम्रो भनाई हो ।’
आफ्नो दललाई बाहिर राखेर चुनाव गर्न लागिएकोमा आक्रोश पोख्दै माओवादी सचिव गुरुङले भने ’हामीलाई बाहिर राखेर कसरी संविधान बन्दोरहेछ हामी पनि हेरौंला ।’ उनले संविधान अन्त कतै तयार भइसकेको भन्दै जसरी खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाउन दलहरुलाई २५ बुंदेमा हस्ताक्षर गराईयो, त्यसरी नै अन्त बनिसकेको संविधानमा दलहरुलाई हस्ताक्षर गराउन लागिएको दावी गरे ।