एनआरएन छैटौं अधिवेशन हुदै
काठमाण्डौ ,२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं अधिवेशन आजदेखि काठमाण्डौको सोल्टी होटलमा सुरु हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ भने गैरआवासीय नेपाली संघको दर्ताका लागि बिधानसमेत संसोधन गर्ने छ ।एनआरएन र सरकारी ऐनमा गैरआवासीय नेपालीसम्बन्धि परिभाषामा फरक पर्दा संघको दर्ता हुन सकेको छैन् । सरकारी ऐनअनुसार दुई बर्षभन्दा बढि बिदेश बस्नेलाई मात्र एनआरएन मान्ने गरी बिधान संसोधन प्रस्ताव लैजाने तयारी भइरहेको बताइएको छ ।गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेका अनुसार आइतवार निर्वाचन प्रकृयामार्फत् नेतृत्व चयन भएपछि सोमबार गैरआवासीय नेपालीहरुको बिश्व सम्मेलन सुरु हुने छ । ‘निर्वाचन र सम्मेलन एकैसाथ गर्दा सम्मेलनका महत्वपूर्ण बिषयमा प्रतिनिधिहरुको ध्यान जान नसकेका कारण पहिले नेतृत्व चुन्न लागेका हौं’ लामिछानेले बताए ।
प्रतिनिधि दर्ताका लागि शुक्रबार साँझसम्म दिइएको समयभित्र ५० मुलुकका करिव १ हजार ३ प्रतिनिधिले नाम दर्ता गराएका छन् । यसले एनआरएनप्रति आर्कषण र रुची बढेको देखिएको लामिछानेले बताए । एनआरएन अभियान सुरु भएको दशौं बर्ष पुगेको अबस्थामा आयोजना हुन लागेको अधिवेशन र सम्मेलनले बिगतको समिक्षा गर्दै आगामी बर्षका लागि मार्ग स्पष्ट पार्ने लामिछानेले बताए ।निर्वाचन समितिका अनुसार प्रतिनिधिको नाममाथि दावी बिरोधका लागि शनिबारसम्मको समय दिइएको छ । त्यसपछि उम्मेदवारी दर्ता र दावीबिरोधको कार्यक्रम रहने छ । आइतवार बिहानैदेखि नयाँ नेतृत्व चयनका लागि मतदान प्रकृया सुरु हुनेछ । अध्यक्ष पदमा सर्वसम्मतिका लागि प्रयास भए पनि त्यसको सम्भावना निकै झिनो रहेको बताइएको छ ।
‘सहमतिका लागि हामीले मात्र प्रयास गरेर हुँदैन उम्मेदवारहरु आफैं पनि पहल गर्नुपर्छ’ एनआरएन संस्थापक डा. उपेन्द्र महतोले भने -’सहमतिका लागि अधिकतम पहल गर्छौं तर सहमति हुन सकेन भने पनि चिन्ता गर्नुपर्दैन । किनकी हारजित स्वीकार्ने परिपाटी एनआरएनमा बिकाश भइसकेको छ ।’
अध्यक्षका लागि शेष घले, हितमान गुरुङ, रामप्रताप थापा, रामेश्वर साह र तेन्जी शेर्पा प्रतिस्पर्धामा छन । यस्तै उपाध्क्षका लागि भवन भट्ट, भवानी ओली, प्रल्हाद केसी लगायत प्रतिस्पर्धामा छन् ।
नयाँ नेतृत्व चयनसँगै सोमबार बिहान साढे ८ बजे राष्ट्रपति डा. रामबरण यादवले गैरआवासीय नेपाली संघको छैटौं बिश्व सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बिभिन्न सत्रमा छलफल हुने छ । मंगलबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सम्मेलनको समापन गर्ने बताइएको छ ।