गैरआवासीय नेपाली सङ्घ निर्वाचन गर्दै

काठमाडौँ, ३ कात्तिक । गैरआवासीय नेपाली सङ्घको छैटौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुदैछ । अध्यक्षका लागि तेन्जी शेर्पा र शेष घले लगायत अन्य ५ जनाले उमेद्वारी दिएका छन् ।महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि भोली र पर्सि छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ । महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । विश्वका ६५ मुलुकमा सङ्घको राष्ट्रिय परिषद् गठन भइसकेको छ ।
एक दशकअघि सङ्घ स्थापना भएको हो । राष्ट्रपति डा रामवरण यादवले विश्व सम्मेलनको आगामी सोमबार उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सामूहिक लगानी, वैदेशिक रोजगारी, परोपकार, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, निजी क्षेत्रसँगको साझेदारीलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी उनीहरूसँग नेपालका लागि आर्थिक उन्नतिका विषयमा छलफलसमेत गरिने बताइएको छ ।