एमाओवादी र एमालेबीच दोहोरो झडप

२०७० कार्तिक ८ गते, शुक्रबार

गोरखा ,८ कात्तिक । गोरखाको स्वाँरा गाविसमा एमाओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति ८ः३० बजेको समयमा भएको सो झडपमा दुवै पक्षका गरी १२ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय माझथर माविका शिक्षक रामबहादुर चौधरीसमेत रहेका छन् । स्वाँरा गाविसको थारचोकमा स्थानीय क्लबले तिहारको शुभसन्ध्यामा गर्न लागेको कार्यक्रमबारे छलफल भइरहँदा ताकुकोट, धावा र आरुघाटबाट गएका नेकपा (एमाले)का कार्यकर्ताहरूले एक्कासि आक्रमण गरेको एमाओवादी गोरखाले बताएको छ ।
उता, नेकपा (एमाले) गोरखाले भने आफ्ना कार्यकर्ताहरू चुनाव प्रचारका लागि राति हिँडेको बेला बाटोमा एमाओवादीका कार्यकर्ताले कुटेको बताएको छ । घटनामा एमालेका ताकुकोट गाउँ पार्टी अध्यक्ष भीमबहादुर थापा, उपाध्यक्ष धनप्रसाद गुरुङ, धावा गाविसका अध्यक्षलगायत घाइते भएका छन् । एमाओवादीतर्फ महेन्द्र तामाङ, अनु गुरुङ तामाङ, रिना तामाङ र सुजन गुरुङ घाइते भएका छन् । उनीहरूको उच्च सुरक्षाका साथ गोरखा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्थाबारे गोरखाका प्रहरीनायब उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोलीले जानकारी लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]