आज सप्तरी बन्द

२०७० कार्तिक २१ गते, बिहीबार

राजविराज, २१ कार्तिक – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी सभालाई सम्बोधन गर्न आउने भएपछि नेकपा–माओवादीले आज सप्तरी जिल्ला बन्द गरेको छ ।चुनावी सभालाई बिथोल्ने प्रयासस्वरुप नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले एक विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्दका कारण आज बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारीसाधन ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।अध्यक्ष दाहालसहितका एमाओवादी नेताहरू सो पार्टीले भारदह, कञ्चनपुर, राजविराज, कल्याणपुरमा सञ्चालन गर्ने चुनावीसभालाई सम्बोधन गर्न झापा, मोरङ, सुनसरी जिल्ला हुँदै आज सप्तरी आउने कार्यक्रम छ ।
एमाओवादीले संविधानसभा चुनावलाई लक्षित गर्दै मेचीको काँकडभिट्टादेखि महाकालीको महेन्द्रनगरसम्मको ‘मेची महाकाली राष्ट्रिय जागरण अभियान’ बुधबारदेखि सुरु गरेको हो ।यसैबीच, मोटरसाइकलका कारण आपराधिक घटना हुन सक्ने भन्दै सप्तरी जिल्ला प्रशासनले आजबाट जिल्लामा भारतीय मोटर साइकल सञ्चालनमा निषेध गरेको छ । आसन्न संविधानसभाको निर्वाचनमा आपराधिक व्यक्तिहरूको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मङ्सिर ४ गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]