एआईजी बढुवामा भाले भिडन्त

काठमाडौँ । नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरिक्षक -एआइजी) को सात रिक्त दरबन्दी भित्र पर्न प्रहरी नायव महानिरीक्षककाबीच चर्को भिडन्त सुरु भएको बताइएको छ । एआइजीको लागि २०४३ को भर्नाका प्रहरी नायव महानिरीक्षकका बीच अन्तिम प्रतिस्पर्धा चुलिएको छ । यसमा राजनीतिक ‘सोर्सको समेत भिडन्त हुँदा चुनाव सकिएको दस दिन नाघिसक्दा पनि बढुवाको निर्ण्र्ाहुन सकेको छैन । एआइजी बढुवामा वरियताक्रमले अगाडि रहेका डिआइजीहरु राजेन्द्रसिं भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रराज शाह र विज्ञानराज शर्माको सम्भावना बढी भएको बताइएको छ । बाँकी तीन स्थानका लागि २०४३ साल ब्याचका अन्य आठजना डीआइजीबीच चर्को प्रतिस्पर्धा चलिरहेको स्रोतको दाबी छ । पूवप्रहरी महानिरीक्षक कुवेरसिं राना अनिवार्य अवकाशमा जानुभन्दा एक साताअघि नै उनका उत्तराधिकारी तोकिएका वर्तमान आइजीपी उपेन्द्रकान्त अर्याल पनि त्यही ब्याचका हुन् । संविधानसभा निर्वाचनको संघारमै प्रहरीको नेतृत्व पाएका अर्यालले बिना एआइजी संगठन चलाएको दुइ साता बितिसकेको छ । एक एआइजीको दरबन्दी खाली रहेको अवस्थामा प्रतिष्पर्धामा सफल उत्रन समयोचित फाइदा पाएका उनलाई अहिले आफ्नै ब्याचका डिआइजीहरुको दौड मिलाउन हम्मे-हम्मे परेको छ । डीआइजीका रुपमा प्रतिस्पर्धामा रहेर आईजीपीको समेत दाबी गरेका वरिष्ठ महिला प्रहरीअधिकृतहरु पार्वती थापा र विमला थापा पाँच वर्षअवधि पूरा गरी गत साता अनिवार्य अवकाश पाइसकेका छन् । चुनावी व्यस्ततासँगै उनीहरुको अवकाश कुरेकै कारण पनि बढुवा ढिलो भएको गृहका अधिकारीहरु बताउँछन् ।