सेनाको औपचारिक धारणा – राष्ट्रिय सेनालाई विवादमा नतान

२०७० मंसिर २० गते, बिहीबार


काठमाडौं, २० मंसिर – एमाओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा धाँधलीको आरोप लगाएपछि नेपाली सेनाले औपचारिक धारणा सार्वजनिक गरेको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली गरेको भन्दै आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानिएको जनाएको छ ।
‘नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा,’ विज्ञप्तीमा लेखिएको छ, ‘केही सञ्चार माध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’
नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको सेनाको भनाइ छ ।
सरकारले दिएको कार्यदेशअनुसार इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले भूमिका निर्वाह गरेको विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा सेनाले भनेको छ, ‘नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, सञ्चारजगतलगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।’
सैनिक जनसम्पर्क निर्देशनालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार छ – “सम्पन्न संविधानसभा निर्वाचन २०७० र नेपाली सेनाले निर्वाह गरेको भूमिका :
१. नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई, ‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ नेपाली सेनालाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको तथ्य सबै सामु छर्लङ्ग छ ।

नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, संचारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।

२. नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही संचार माध्यम मार्पmत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ ।”

प्रतिक्रियाहरु

[anycomment]