भ्रष्टाचार विरुद्धको दिवस मनाईदै
काठमाडौ, २४ मंसिर – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस , ‘शून्य भ्रष्टाचार शतप्रतिशत विकास’ नाराका साथ मनाइंदैछ ।नेपालमा भने दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति शोक व्यक्त गर्दै मंगलबारसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेकाले दिवसका अवसरमा सरकारले कुनै कार्यक्रम आयोजना गरेको छैन ।संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।
न्यायसंगत, समावेशी र थप समृद्ध भविष्य निर्माणका लागि इमानदारिता, पारदर्शीता, जवाफदेहिता र असल शासनको संस्कृतिलाई बढावा दिनुपर्नेमा उहाँको जोड छ । नेपालले गएको वर्ष भ्रष्टाचार निवारणको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले निकालेको सूचकांकमा नेपाल १ सय ३९ बाट १ सय १६ औं स्थानमा उक्लिएको छ ।तर अझै पनि भ्रष्टाचार रोक्नका लागि भएका प्रयास प्रभावकारी हुन नसकेको विज्ञले बताएका छन् । उनीहरुले राजनीतिक अस्थिरता, स्थानीय निकाय प्रतिनिधी बिहिन हुनु जस्ता कारणले भ्रष्टाचार न्यूनीकरणमा अवरोधका रुपमा देखिएको उनीहरुको भनाई छ ।