एमाओवादी संविधानसभामा जान्छ : प्रकाश

२०७० मंसिर २६ गते, बुधबार


काठमाडौं, २६ मंसिर। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले शान्ति र संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो दल एमाओवादी संविधानसभाभित्रै रहने बताएका छन्। उच्चस्तरीय राजनीतिक समितिको बैठकले आफूहरू संविधानसभाभित्रै रहने सकारात्मक वातावरण बनाउने पनि उनले बताए।कांग्रेस र एमालेको विजयले आफूहरूका अग्रगामी राजनीतिक अजेन्डा नयाँ बन्ने संविधानमार्फत संस्थागत हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्ता लागेको उनको भनाइ थियो। ‘संविधानसभामा नजाने भनेका छैनौं, निर्वाचनमा धाँधली भएका केही आधार छन्, त्यसबारे छानबिन गरेर सत्यतथ्य ल्याऔं भनेका छौं’, श्रेष्ठले ललितपुर हात्तीवनस्थित निवासमा मंगलबार पत्रकारसँग भने, ‘संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्म निरपेक्षताजस्ता आन्दोलनका उपलब्धि संस्थागत हुन्छन् कि हुँदैनन् भन्ने हाम्रो चिन्ता हो।’श्रेष्ठले १२ बुँदे समझदारीका सहयात्री दलहरूबीच शान्तिप्रक्रिया र संविधान निर्माणबाट एमाओवादी टाढा नहुने बताएको अन्नपूर्ण दैनिकले प्रकाशित गरेको छ। एमाओवादीले समानुपातिक सभासद्को सूची नबुझाएको र संविधानसभामा सहभागी हुने कि नहुने भन्ने अन्योल रहेको सम्बन्धमा उनले भने, ‘शान्तिप्रक्रिया सफल पार्न, संक्रमणकाल छोट्याउन र संविधान निर्माणबाट हामी अलग र अविचलित हुने कुरै छैन।
संविधानसभाको पहिलो बैठकमा सहभागी हुने कि दोस्रो बैठकमा भन्ने प्रश्नै आउँदैन। अघिल्लोपटक पनि चार महिनासम्म संविधानसभाको बैठक बसेन, दुई, चार, साता दिन वा एक डेढ महिना पछाडि धकेलिनु ठूलो कुरा होइन।’
राजनीतिक दलबीच भइरहेको छलफललाई आफूहरूले सकारात्मक रूपमा टुंग्याउन चाहेको पनि उनले बताए। उनले भने, ‘हामी शान्ति र संविधान निर्माणप्रति प्रतिबद्ध छौं।’ निर्वाचनमा भएको पराजयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले धाँधलीको आशंका भएपछि छानबिन गरिनुपर्नेमा जोड दिए।निर्वाचन परिणामका विविध कारणबारे आफूहरूले गम्भीर र कठोर आत्मसमीक्षा गर्नुपर्ने उनले बताए। नेतृत्व तहबाटै सुधार गरेर अगाडि बढेमा बिग्रिएका तल्ला निकायका कार्यकर्ता स्वत: सुध्रिने उनको भनाइ थियो।

प्रतिक्रियाहरु

[anycomment]