समानुपातिक सभासदको नामावली बुझाउन सात दिन थप

२०७० पुष १ गते, सोमबार

काठमाडौं, १ पुस ।निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ ।आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको उनले बताए ।
त्यसअघि सोमबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समिति बैठकको निर्णयअनुसार दलहरुले सहमतिका लागि वार्ता र संवादको प्रक्रिया जारी रहेको भन्दै समानुपातिक उम्मेदवारको नामावली पेस गर्ने समयावधि एक साता थप्न निर्वाचन आयोगसमक्ष औपचारिक आग्रह गरेका थिए ।
आयोगले संविधानसभाको प्रमुख दल काँग्रेसको आग्रहमा पहिलोपटक थपेको समयसीमा ३ पुसमा सकिंदैछ । समानुपातिक सभासदका आकांक्षी धेरै भएपछि काँग्रेस–एमालेले सूची बुझाउन सकेका छैनन् ।
एकीकृत माओवादीसहित साना १६ दल भने निर्वाचनमा भएको भनिएको धाँधली छानविन नभएसम्म समानुपातिक सूची नबुझाउने र संविधानसभामा पनि नजाने अडानमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]